हरेक पटक छोरी घरबाट माइती फर्किएर आँगन मुनी, घरभन्दा अलि पर आइपुग्दा जुन खुशी देख्नुहुन्छ नि, छोरी घरमा पनि त्यति नै खुशी छिन् कि छैनन् भनेर कहिल्यै बुझ्नु भएको छ आमा ?
अरू खबर सोध्नु भन्दा अघि “ज्वाइँ, बुबाआमा सबै आराम कुशल हुनुहुन्छ ? घरतिर सबै ठीक छ नि ?” भनेर सोध्दै गर्दा कहिल्यै “छोरी कस्तो छ तिमीलाई? सबै ठीक छ नि ?” भनेर मनदेखिको कुरा खोतल्ने, सोध्ने गर्नु भएको छ बुबा ?
बिहे गरेर गएपछि दिदीबाट झन् धेरै आशा राख्ने भाइले “दिदी आज के ल्याइदिस?” भनेर सोध्दै गर्दा “तँलाई सबै कुराको खुशी छ नि है, दिदी ?” भनेर सोध्ने गरेको छौ कहिल्यै?
कमै खबर सोध्ने तर माइतीबाट सबैभन्दा बढी बहिनीको चासो राख्ने, नभनी खबर राख्ने दाइले कहिल्यै बहिनीलाई “बहिनी, ठीक त छस् नि तँ, भित्रबाटै ?” भनेर सोध्ने गर्नु भएको छ कि छैन?
छोरी, दिदी, बहिनी माइती आउँदा मात्र खुशी हुन्छिन् कि घरमा पनि त्यस्तै हुन, खुशी मिलेको छ कि छैन भनेर बुझ्ने कोसिस गर्नु भएको छ कि छैन ?
सोध्ने गर्नु भएको छ, बुझ्ने गर्नु भएको छ भने त एकदमै राम्रो। छैन भने पनि बुझिदिने कोसिस गर्नुहोस्, उसले नभने पनि।
उसले त जति नै दुःख पाएको भए पनि, जति नै भित्र मरेर बाँचेकी भए पनि माइत आउँदा सारा खुशी भुलिदिन्छे र लुकाइदिन सक्छे पहाड भन्दा ठूला पीडाहरू पनि !
कहिलेकाहीँ भन्दै नभने पनि बुझिदिने कोसिस गरिदिनुहोस्, उसले लुकाएका पीडाका धर्साहरू !
थाहा छ बुबाआमा, दाजुभाइ, दिदीबहिनीले खुशी नै खोज्नुहुन्छ आफ्नो छोरीको लागि। तर कहिलेकाहीँ त्यही खुशी खोज्ने क्रममा हामी छोरीको इच्छा, छोरीको चाहना भुलिदिन्छौं, र गलत हातमा सुम्पिदिन्छौं उसको हात !
सबैको त भन्दिन तर अचेल धेरैजसो, छोरी आफ्नो घरमा खुशी छैन भने इज्जत, मान प्रतिष्ठालाई बचाउने चक्करमा छोरीलाई घरमा जे भए पनि सहन र जे पनि स्वीकार्न बाध्य बनाउँछौं र धकेलिदिन्छौं अन्धकारमा उसको जिन्दगी।
कतै सुनेको थिएँ “Divorced daughter is better than a dead daughter!”
– अनिता रेग्मी