स्वार्थको संसार

  • समाजको तीतो सत्य यहीनै रहिछ,
    जति तिमी निउरीन सक्छौ,
    त्यति नै तिम्रो प्रशंसा र आशा हुन्छ।
    दुई-चार शब्द बोल्ने बित्तिकै,
    सबै नाटक र यथार्थ छुट्टाउन थालीन्छ।

    यहाँ सँगै मर्ने र बाँच्ने वाचा गरेकाले नै घात गर्छन्,
    भने तिमी बाटोमा भेटिएको बटुवाबाट के आशा गर्छौ?
    हजारौं सम्बन्ध अनि साथ निभाउँदा पनि,
    कसैको मन जित्न नसक्ने समयमा,
    तिमी किन आफूलाई मार्छौ?

    पैसाले नै सबैथोक किन्न सकिने समयमा,
    तिमी असल नाता खोजेर कहाँ पाउँछौ?
    दुःख-सुख पोख्ने साथीहरू परदेशमा रमाउन थाले,
    भने तिमी बाटोमा भेटिएका मानिसबाट के आशा गर्छौ?

    गुन लगाएर पनि तिम्रो गुन नदेखिने समाजमा,
    तिमी भोलीको सहाराको आशमा बसेर के पाउँछौ?
    सहाराको लागि औंला दिएकी थिएँ,
    मेरो हात नै तानियो,
    तैपनि म चुप नै रहेँ।
    आज गरेको कर्म भविष्यमा फर्केला भन्दै चित्त बुझाएँ,
    तर समय र सन्दर्भ सबै फेरिए।

    सँगै हातेमालो गरेर हिँडेको दोस्ती,
    अहिले पैसामा इमान बेच्न थालेको छ,
    रूपैयाँको घमण्ड बढ्न थालेर होला बोलि बोल्दा पनि पैशै खस्ला जस्तो गर्छन्।
    घण्टौंसम्म बोल्दा पनि नथाक्ने सम्बन्धहरू,
    आज एकअर्काको अव्सथा अनि एक अर्कालाई नसोधी फोन काट्न थालिएको छ।

    जुन मुहानको पानीले तिर्खा मेटिन्थ्यो,
    आज त्यही पानी पिउन घिन लाग्न थालेको छ रे।
    देवता भनी पूजा गरिएको मूर्ति पनि,
    माग पूरा भएपछि फाल्ने चलन छ भने,
    तिमी हामी त मान्छे,
    आवश्यक नपरेसम्म काम नै नलाग्ने।

    नाता-गोटा, कुटुम्बहरूले धन रोजे,
    आफ्ना इष्ट-मित्र सबै पैसामा बिके,
    साथी-सङ्गी सबै आफ्नो गन्तव्य फरक छ भन्दै हिँडे,
    अन्त्यमा म, न यहाँ बिके, न उता बिके।

    जीवनको यात्रामा जीवन एक्लै चल्दो रहेछ,
    गन्तव्यमा पुग्नसम्म सबैको साथ छुट्दो रहेछ,
    विभिन्न हारहरूमा आफैं लड्नुपर्दो रहेछ।
    छैनन् कोही मेरा यहाँ,
    यो मन मात्र मेरै,
    अनेकौं पाठ सिकाएर गए।
    जे-जस्तो भए पनि,
    धन्यबाद भन्नु मेरो कर्तव्य हो।

    आवश्यक पर्दा “मेरो हजुर” भन्ने समाजमा,
    काम पूरा भएपछि चिन्नै गाह्रो भयो।
    हिजोसम्म “ठीकै थियो” भन्नेहरूको मन,
    र आँखामा बिजाउने हुनु,
    मेरो गल्ती हो कि उनीहरूको घमण्ड हो?

    सुन्न, अतुर हुने यी कान,
    र देख्न आतुर हुने यी आँखाको अगाडि,
    बारम्बार झुटो बेली बेलीएको छ।
    हजारौं पटक सम्झाउँदा पनि नबुझ्ने,
    खै कस्तो बानी परेक रहेछ।
    सक्छौ भने, आफैं बाँच्ने प्रयास गर,
    सक्दैनौ भने अरूको लागि,
    आफूलाई बारम्बार मार्ने प्रयास नगर।

    आफ्ना त आफ्ना हुन्छन्,
    दिए पनि,थिकै नदिए पनि थिकै।
    स्वार्थ र बैमान गर्ने त खै,
    को हुन् कुन्नि।
    अँध्यारोमा उज्यालो खोज्दै हिँड,
    यहाँ लगाएको गुन त बिर्सिने खालका छन्।
    तिमी अरूमा भन्दा पनि,
    आफूमै ध्यान राख।

    मैले सिकेको नमिठो पाठ,
    ज्ञानका कुरा त सबै गर्छन्,
    तर जीवनमा लाग्ने प्राय: कमै पाइन्छ।
    “म छु तेरो लागि” भन्ने त धेरै हुन्छन्,
    तर अन्त्यमा एक्लै बनाई छोड्छन्।
    दुःख पर्दा कोही आउँदैनन् साथमा,
    तर सफलतामा बधाई दिन भने,
    सबै आउँछन्।

    समय फेरिएसँगै,
    रूप पनि फेरीएर होला,
    यहॅा सबै कुरा लुकाउन खोज्छन्॥
    भुल मेरो भयो आफ्नो को खोजीमा हिडेको म बिचबाटोमै लुप्त भयो ॥

    – ईरा अर्याल

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?


    © 2026 खोजप्रेस : नेपाली अन्लाईन पत्रीका All right reserved Site By : Himal Creation