बाबा के दिउँ उपहार आज

  • खै बाबा, के दिउँ उपहार आज कुशेऔंसीको दिन?
    हेर्नुस् त, बाबा, मेरा हातहरू आज पनि खाली नै आएका छन्। तर, हजुरको लामो आयु र हजुरकै लागि यी हातहरू जोडिन बाहेक अरू कुनै मन्दिर बाँकी छैन।
    हजुर सधैं भन्नुहुन्थ्यो, “दुःखपछि सुख आउँछ, आतिएर केही हुँदैन। समयसँगै आफूलाई ढाल्दै जानुपर्छ।” बाबा, म त्यही समयको पर्खाइमा छु अझै पनि।

    हजुरको लगनशीलता र त्याग म कहिल्यै बिर्सन सक्दिनँ। कलिलो उमेरमै परिवारको जिम्मेवारी बोकेर बाहिरिनुभएको हजुर, अनि त्यहाँ गरेको सङ्घर्ष म कसरी बिर्सन सकुँला र?
    हजुरको लगन, मेहनत, र समर्पणकै कारणले आज यहाँसम्म आइपुगेका छौं।
    हरेक बाटो सजिलो लाग्छ हामीलाई, किनकि कठिनाइको काँडा पन्छाउन हजुर नै अगाडि हिँड्नुभएको छ।

    बाबा, हजुरको हातको स्पर्शले अझै पनि मेरो मनमा अनौठो सान्त्वना दिन्छ। हजुरको माया र हेरचाहले मलाई कहिल्यै एक्लो महसुस हुन दिएको छैन। समयले कति धेरै कुरा परिवर्तन गर्‍यो, तर हजुरको अनुहारको त्यो मुस्कान अझै पनि मेरो हृदयमा गढेर बसेको छ। हजुरको आँखा भरिएको माया सम्झँदा मेरा आँखा पनि आँसुले भरिन्छन्।

    आज मलाई त्यो कुराको महत्त्व अझ बढी महसुस भएको छ, जुन हजुरले सधैं भन्नुहुन्थ्यो, “मानिस भएपछि व्यावहारिक हुनुपर्छ। किताबको ज्ञान त जसले पनि लिन सक्छ।”
    तर, जीवनको यात्रा कठिन हुन्छ, र जब थकानको आभास हुन्छ, तब किताबमा लेखिएको शब्दभन्दा पनि जीवनको पाठ अझ धेरै सम्झना आउँछ।
    बाबा, हजुरको हँसिलो अनुहारले मलाई सधैं हिम्मत र उमंग दिएको छ। हजुरको साथले मनमा शान्ति र बल दिन्छ, जसले मलाई अघि बढ्न प्रेरित गर्छ।

    मेरो शक्ति भनेकै हजुर नै हो, बाबा।
    जब केही कुरा बारम्बार असफल हुन्छन्, र म हार मान्न थाल्छु, त्यो बेला हजुरले सधैं मलाई साहस, हिम्मत, र आत्मबल दिनुहुन्छ।
    “माया गर्छु” भन्ने शब्द सानो लाग्न सक्छ, बाबा। तर एक दिन म पनि सफल हुनेछु, र हजुरले देखेका सपनाको एउटा अंश म पूरा गर्नेछु।

    कमजोर छैन म, बाबा, यति छिटो हार मान्ने छैन। विश्वास गरेर बस्नुस्, हजुरको संस्कारमाथि औंला उठाउने मौका सकेसम्म कसैलाई दिने छैन।

    आजको विशेष दिनमा हजुरको त्यो बोली, “छोरी, म सधैं तिम्रै साथमा छु,” अझै मेरो कानमा गुञ्जिन्छ। आजको विशेष दिनको विशेष शुभकामना, बाबा। हजुरलाई धेरै धेरै माया अनि सम्झना।

    -इरा अर्याल

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?


    © 2026 खोजप्रेस : नेपाली अन्लाईन पत्रीका All right reserved Site By : Himal Creation