साहित्य

जन्मिएपछि किन नबाँच्ने

चरीले पनि एक मौसममा गुँड सार्नुपर्छ,
फूलले आफ्ना सारा पातहरू झार्नुपर्छ,
घामकै पनि चिसो याममा अस्तित्व नै मेटिन्छ त,
हेर आफ्नै वरपर कहाँ एकनास भेटिन्छ त ?

बुझी हेर, हर कोहीसँग हर्षित जीवन कसले प्रस्ट्याउँछ?
बाली पनि हावाहुरी, पानी अनि हिमपश्चात् फस्टाउँछ!
सङ्घर्ष नै जीवन र जीवन नै सङ्घर्ष भए, सङ्घर्षसँग किन भाग्ने ?
सोच त! जन्मिएपछि किन नबाँच्ने ?

जरुरी छैन, हरपल मनलाई चोटले छोइदिन्छ,
एक पल मुस्काउँछ ओठ त अर्को पल आँखा रोइदिन्छ।
सङ्घर्षको अघि घुँडा टेक्नुभन्दा घुँडा घसेर किन नबाझ्ने?
सोच त! जन्मिएपछि किन नबाँच्ने ?

जन्मिनुमा तिम्री आमाको मिठो अभिलाषा हुन सक्छ,
मुहारमा तिम्रो उनले देखेको सुनौलो आशा हुन सक्छ।
पीडा सम्झँदै धिक्कार्नुभन्दा, मुस्कुराउन मिठा सम्झना किन नसाँच्ने?
सोच त ! जन्मिएपछि किन नबाँच्ने ?

  • प्रकाशित मिति :- शनिबार, चैत्र ८, २०८१
  • ऋचा भट्टराई

    ऋचा भट्टराई खोज प्रेस साहित्यमा कलम चलाउनु हुन्छ ।

    लेखकबाट थप
    © 2025 Khojpress Media Pvt.ltd | All right reserved
    स्रोतहरु खुलाइएका बाहेक खोजप्रेसमा प्रकाशित सम्पूर्ण सामग्रीहरु खोजप्रेस मिडिया प्रा.लिका सम्पत्ति हुन् |