देवदह । राष्ट्रिय सहमतिमा मात्र संविधान संशोधन हुने सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुव्वा गुरुङ्गले बताएका छन । उनले संविधान संशोधनको कुरा प्रतिपक्षले अनावश्यक प्रचार गरेको दावी गरे ।
मन्त्री गुरुङ्गले राजनीतिक स्थिरता, संविधान रक्षाको लागि काग्रेस र एमाले मिलेर बर्तमान सरकार बनेको बताए । उनले नागरिकले देखिने गरी सरकारले काम गर्न नसकेपनि तहसनहस भएको देशको अर्थतन्त्र सुधार गर्न बर्तमान सरकार लागिरहेको बताए ।
सोही अवसरमा बोल्दै प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले देवदहवासीको भूमि सम्वन्धी समस्या समाधान गर्न सरकारको ध्यान जान आवश्यक रहेको औल्याए । उनले देवदह क्षेत्रमा रहेका पुरातात्विक एवं ऐतिहासिक स्थलहरुको उत्खनन गरी प्रचार प्रसार गर्नु पर्नेमा जोड दिए । पुर्वमन्त्री समेत रहेका सांसद विश्वकर्माले नागरिकलाई अफठ्यारो परेका कुराहरुको सुधार गर्न सरकार तयार हुनु पर्नेमा जोड दिए ।
देवदह व्यापार संघका अध्यक्ष कोेषबहादुर गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा लुम्विनी प्रदेश सभा सदस्य निर्मलादेवी चौधरी, देवदह नगरपालिका प्रमुख धु्रवप्रसाद खरेल, व्यापार संघ लुम्विनी प्रदेशका अध्यक्ष टंकप्रसाद पोखरेल, देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, देवदह उद्योग बाणिज्य संघका अध्यक्ष हरि भण्डारी लगायतले आ–आफना भनाई राखेका थिए। कार्यत्रममा प्रतिवेदन प्रस्तुत गर्दै संघका अध्यक्ष गुरुङ्गले महोेत्सवले देशको अर्थतन्त्र चलायमान गर्न टेवा पुर्याउने बताए । उनले औद्योगिक र पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न महोत्सवले महत्वपूर्ण भूमिका खेल्नेमा जोड दिए । उनले ६ लाख दर्शकले महोत्सवको अवलोकन गर्ने र करिव १० करोड बरावरको आर्थिक कारोवार गर्ने आयोजकले लक्ष्य लिएको जानकारी दिए ।
देवदह नगरपालिका–७, शितलनगरबाट शुरु भएको विभिन्न झाकी सहितको र्याली देवदह मण्डपमा पुगेर सभामा परिणत भएको थियो । संघका बरिष्ठ उपाध्यक्ष माधव ढकालको स्वागत र महासचिव हरिलाल भण्डारीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।