यूएईमा नेपाली मिडिया र नेपाली समाजलाई एकसूत्रमा जोड्ने उद्देश्यसहित आयोजित “कृति तथा क्यालेन्डर बिमोचन कार्यक्रम” सम्पन्न भएको छ। कार्यक्रममा सेतोमसीबाट प्रकाशित पत्रकार कमला अर्यालद्वारा लिखित “नारी नेतृत्व” कृतिको साथै लुम्बिनी पाना मिडियाको क्यालेन्डर बिमोचन गरिएको थियो।
कार्यक्रमको अध्यक्षता लुम्बिनी पाना मिडियाका बिदेश बिभाग प्रमुख निशान्त पाठकले गरेका थिए भने प्रमुख अतिथिका रूपमा नेपाली समाज यूएईका अध्यक्ष राम मोक्तानको उपस्थिति रहेको थियो। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा लुम्बिनी प्रदेश समाज यूएईका अध्यक्ष नारायण अधिकारी सहभागी रहेका थिए।
त्यसैगरी अतिथिहरूमा एनआरएनए एनसीसी यूएईका उपाध्यक्ष तथा ट्रस्टेड की टाइपिङ सेन्टरका सञ्चालक रुद्र थापा, भेराइटी मोमोका सञ्चालक आशिष पुरुष, पाल्पाली सेवा समाज यूएईका सदस्य राजु बस्याल, स्याङ्जा सेवा समाज प्रमुख सह सचिव कल्पित भण्डारी, देवदह सेवा समाज यूएईका अध्यक्ष श्याम बस्याल, सगरमाथा टुर्स एण्ड ट्राभल्सका सञ्चालक ताराप्रसाद खनाल, पर्वत समाज यूएईका अध्यक्ष पूर्णप्रसाद भुसाल, धौलागिरि टुर्स एण्ड ट्राभलका संचालक उमेश भुसाल, तथा तपस्या एकाउन्टिङकी एकाउन्ट म्यानेजर एवं देवदह सेवा समाज यूएईकी प्रतिनिधि बिन्दु अधिकारीलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमका अध्यक्ष निशान्त पाठकले स्वागत मन्तव्यसहित कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै यूएईमा रहेका नेपालीहरूको संघर्ष, सफलता र प्रेरणादायी कथालाई सञ्चारमाध्यममार्फत उजागर गर्नु मुख्य लक्ष्य रहेको बताए। उनले प्रवासमा रहेका नेपाली समुदायको सहयोग, सहकार्य र सहभागिताले यस्ता सिर्जनात्मक तथा सामाजिक अभियानलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।
कार्यक्रममा बोल्ने विभिन्न अतिथिहरूले यूएईमा आफ्नो अनुभव सुनाउँदै लुम्बिनी पाना र सेतोमसीले नेपाली समुदायका आवाज, अनुभव र गतिविधिलाई उजागर गर्ने दिशामा सकारात्मक सुरुआत गरेको बताए। समाचार तथा सामग्री प्रकाशन गर्दा अध्ययन, अनुसन्धान र तथ्यमा आधारित भएर प्रस्तुत गर्न सुझावसमेत दिएका थिए।
प्रमुख अतिथि राम मोक्तानले नेपालबाट विदेशमा आएपछि पनि कामसँगै समाजसेवा र सामुदायिक गतिविधिमा सक्रिय रहन सकिने धारणा व्यक्त गरे। उनले कुनै पनि काम असम्भव नहुने उल्लेख गर्दै इमानदारी, निरन्तरता र मेहनतका साथ अघि बढे सफलता हासिल गर्न सकिने बताए। साथै, नेपाली समाज यूएई तथा व्यक्तिगत रूपमा आफूबाट हुनसक्ने सहयोग र सहकार्य निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे।
आयोजकका अनुसार सेतोमसीबाट प्रकाशित कमला अर्यालको “नारी नेतृत्व” कृतिले महिलाको नेतृत्व, क्षमता विकास, सामाजिक भूमिका तथा सशक्तिकरणका विविध पक्षलाई समेटेको छ। त्यसैगरी बिमोचन गरिएको लुम्बिनी पाना क्यालेन्डरलाई मिति हेर्ने माध्यम मात्र नभई नेपाली कला, संस्कृति, पहिचान तथा सामाजिक सम्बन्धलाई जोड्ने माध्यमका रूपमा प्रस्तुत गरिएको थियो।
साहित्य, कला र सिर्जनाले समाजलाई सभ्य, सुसंस्कृत र जागरूक बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै आयोजकले यस्ता कार्यक्रमले प्रवासमा रहेका नेपाली समुदायलाई अझ नजिक ल्याउने विश्वास व्यक्त गरेका थिए।











