दुबई । पाल्पाली समाज यूएईले आयोजना गर्न लागेको प्रथम पाल्पाली भलिबल कप–२०२६ को टाइसिट सार्वजनिक गरिएको छ।
सन् २०१४ मा स्थापना भएको यूएईस्थित पाल्पालीहरूको साझा संस्था पाल्पाली समाज यूएईले आयोजना गर्न लागेको प्रतियोगितामा १५ टोलीको सहभागिता रहने प्रतियोगिता संयोजक कृष्णप्रसाद तिमल्सिनाले जानकारी दिए।
प्रतियोगिताअन्तर्गत पहिलो खेल आइतबार बिहान ९:३० बजे कास्की आदर्श समाज र रूपन्देही बुटवल भलिबल टिमबीच हुनेछ। प्रतियोगिता आइतबार बिहान ९ बजेदेखि दुबईको अल खवानिज–२ स्थित स्पार्ट स्पोर्ट्स एकेडेमीमा सञ्चालन हुनेछ।
खेलकुदमार्फत आपसी एकता, ऊर्जा र सामाजिक सद्भावलाई थप सुदृढ बनाउने उद्देश्यका साथ पाल्पाली समाज यूएईले पहिलोपटक उक्त प्रतियोगिताको आयोजना गर्न लागेको जनाएको छ।
टाइसिट सार्वजनिक कार्यक्रममा पाल्पाली समाज यूएईका संरक्षक खुमबहादुर आले, वेदप्रसाद अर्याल, व्यवसायी तथा समाजसेवी एकेन्द्रबहादुर थापा तथा प्रतियोगितामा सहभागी विभिन्न टोलीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।











