Category: स्थानीय तह

स्थानीय तह

  • बागलुङमा बने दुई वर्षमा ४१ झोलुङ्गे पुल

    बागलुङमा बने दुई वर्षमा ४१ झोलुङ्गे पुल

    ढोरपाटन (बागलुङ) ।  बागलुङमा पछिल्लो दुई वर्षमा ४१ वटा झोलुङ्गे पुल निर्माण भएका छन् । आर्थिक वर्ष २०७९/८० मा २५ र चालु आर्थिक वर्षमा १६ वटा झोलुङ्गे निर्माण भएका हुन् ।

    झोलुङ्गे पुल निर्माणपछि जोखिम मोलेर यात्रा गर्ने हजारौँ स्थानीय लाभान्वित भएका छन् । जिल्लाका १० पालिकामा प्रदेश र स्थानीय तहको लगानीमा झोलुङ्गे पुल निर्माण भएका हुन् ।

    पूर्वाधार विकास कार्यालय बागलुङका इञ्जिनियर गोपाल चापागाईंले यस वर्षभन्दा अघिल्लो वर्ष धेरै पुल निर्माण भएको जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्षमा बागलुङ नगरपालिकामा दुई र अघिल्लो वर्ष चार गरी छ पुल निर्माण भएका छन् ।

    गलकोट नगरपालिकामा अघिल्लो र यस वर्ष एक/एक गरी दुई पुल बनेका छन् । ढोरपाटन नगरपालिकामा अघिल्लो वर्ष चार र यस वर्ष दुई गरी छ पुल निर्माण भएको उनको भनाइ छ । जैमिनी नगरपालिकामा अघिल्लो वर्ष तीन र यस वर्ष दुई गरी पाँच झोलुङ्गे पुल बनेको इञ्जिनियर चापागाईंले बताए ।

    चापागाईंका अनुसार निसीखोला गाउँपालिकामा अघिल्लो वर्ष पाँच र यस वर्ष चार गरी नौ वटा पुल बनेका छन् । तमानखोला गाउँपालिकामा अघिल्लो आर्थिक वर्षमा दुई र चालु वर्षमा एक गरी तीन वटा पुल बनेको उनले जानकारी दिए ।

    बडिगाड गाउँपालिकामा गत वर्ष एक र यस वर्ष यस वर्ष चार गरी पाँच वटा पुल बनेको इञ्जिनियर चापागाईं बताउछन् । ताराखोला गाउँपालिकामा गत वर्ष तीन वटा पुल बनेका थिए । काठेखोला गाउँपालिकामा अघिल्लो वर्ष दुई र यस वर्ष दुई गरी चार वटा पुल बनेको चापागाईंले बताए ।

    पुल निर्माण भएपछि खोला वारपारमा निकै सहज भएको ढोरपाटन नगरपालिका–९ का बलबहादुर घर्ती मगरले बताए। उत्तरगङ्गा नदीमा सीमित ठाउँमा मात्रै पुल हुँदा स्थानीयले सास्ती खेप्दै आएकोमा अहिले ठाउँ ठाउँमा पुल बनेपछि समस्या समाधान भएको उनको भनाइ छ । बर्खाको समयमा उत्तरगङ्गा नदीले बर्सेनि दुई/तीन जना बगाउने गरेको भन्दै अब कोही पनि बगेर मृत्युवरण गर्नु नपर्ने घर्तीमगर बताउछन् ।

    उनले भने, “हिउँदका समयमा बस्तुभाउ वारिपारि खोलाबाटै गराइन्थ्यो, मान्छे पनि खोला तरेरै वारपार गर्थे, बर्खा लाग्थ्यो बने खोला बढेर माथिमाथि आउँछ, तर्न त के छेउमा जान पनि सकिँदैन, पुल नहुँदा यहाँका धेरै नागरिकले दुःख पाए, अहिले त पुल बनेको छ, केही सुबिस्ता होला भन्ने आशा गरेका छौँ, केटाकेटीहरू पनि सजिलै वारपार गर्नेछन् ।”

     

  • बडीकेदार गाउँपालिकाद्वारा एम्बुलेन्स सेवामा पूर्ण छुट, तेलको मात्र पैसा लाग्ने

    बडीकेदार गाउँपालिकाद्वारा एम्बुलेन्स सेवामा पूर्ण छुट, तेलको मात्र पैसा लाग्ने

    डोटी ।  डोटीको बडीकेदार गाउँपालिकाले एम्बुलेन्स सेवा प्रयोग गरे बापतको रकममा सत प्रतिशत मात्रामा छुट गरेको छ । पालिकाले सञ्चालन गरेको एम्बुलेन्स सेवामा तेल खर्च मात्र लिने अन्य सेवा शुल्क निःशुल्क रहेको बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरव बहादुर साउदले बताए ।

    आम नागरिकले स्वास्थ्य सेवा पाउनु नैसंगिक अधिकार बमोजिम पालिका बासीले स्वास्थ्य सेवा उपचारमा सहजता होस भन्ने हेतुले एम्बुलेन्स सेवामा तेल खर्च बाहेक अन्य शुल्कमा सत प्रतिशत छुट गरेको अध्यक्ष  साउँदले बताए । पालिकाले नयाँ कायम गरेको दर रेड अनुसार तेल खर्च बापत कच्ची सडक भएको स्थानमा प्रति किलोमिटर ५० रुपैयाँ र पक्की सडकमा प्रति किलोमिटर ४० का दरले लिने गरेको जनाएका छन् । एम्बुलेन्स मर्मत सम्भार, चालकको सेवा सुविधा अन्य व्यवस्थापन कार्य पालिकाले आफै गर्ने समेत अध्यक्ष साउदले बताए ।

    पालिकाले स्वास्थ्य, शिक्षा लगायतका सवाललाई मुख्य प्राथमिकता दिएको बडीकेदार गाउँपालिकाकी उपाध्यक्ष डम्बरी विष्ट कलेलले बताइन् । उनले भनिन् बडीकेदार गाउँपालिका भौगोलिक रूपमा बिकट जटिल स्वास्थ्य उपचार गर्न धनगढी जानुपर्ने बाध्यताका बाबजुद एम्बुलेन्स सेवामा छुट गरेको बताइन् ।

    एम्बुलेन्स सेवा प्रयोग बापत साबिकको मुख्य अनुसार वडा नम्बर ४,५ र ३ का विभिन्न स्थानबाट एकतर्फी रूपमा १५,१६ हजार पर्ने गरेको थियो हाल उक्त रकम ६०,७० प्रतिशतले घटेको सेवा ग्राहीले जनाएका छन् ।

    हाल बडीकेदार गाउँपालिका सबै भन्दा टाढाको दुरीमा रहेको वडा नम्बर ५ केदारमाण्डौ बाट धनगढी सम्म ६ हजार २ सय मात्र कायम गरिएको पालिकाले जनाएको छ ।

    त्यस्तै गरी वडा नम्बर ३ को सबै भन्दा टाढाको स्थान मुलेचौर ओखलढुङ्गा बाट धनगढी सम्म ५ हजार ६ सय ९० वडा नम्बर ४ को सबै भन्दा टाढाको स्थान बाइखोला बरालगाँउ  देखी धनगढी सम्म ५ हजार ४ सय १०, वडा नम्बर २ को सबै भन्दा टाढाको स्थान तारी देखी धनगढी सम्म ४ हजार ८ सय ६० रहेको छ भने वडा नम्बर १ को सबै भन्दा टाढाको स्थान टुनकट्टे कडवानी देखी धनगढी सम्म ३ हजार ८ सय ७० रुपैयाँ कायम गरेको पालिकाले जनाएको छ ।

    गर्भवती महिला पालिका अन्तरगतका स्वास्थ्य संस्थाहरूमा गर्भवती हुन नसकी बाहिर रिफर गरेको अवस्थामा तेलको पैसा समेत नलाग्ने सबै सेवामा सत प्रतिशत छुट दिई निःशुल्क रूपमा सेवा दिने गरेको समेत पालिकाले जनाएको छ ।

    पालिकाले स्वास्थ्य सेवालाई प्राथमिकता दिई एम्बुलेन्स सेवामा दिएको छुटले आर्थिक स्थिति कमजोर भएका गरिब बासीन्दाहरुलाई सहुलेत हुने पालिकाको  उदाहरणीय निर्णय भएको सेवाग्राहीले प्रतिक्रिया दिएका छन् ।

     

  • बुटवल- नारायणघाट खण्ड अवरुद्ध भए एक घण्टा भित्र सुचारु गरिने

    बुटवल- नारायणघाट खण्ड अवरुद्ध भए एक घण्टा भित्र सुचारु गरिने

    नवलपरासी । नारायणघाट-बुटवल सडक खण्डअन्तर्गत दाउन्नेमा पहिरोका कारण सडक अवरुद्ध भए एक घण्टाभित्र सुचारु गर्ने गरी व्यवस्था मिलाइने भएको छ । मनसुन भित्रिएसगै पुर्व तयारी स्वरुप पश्चिम् र पुर्वी खण्डको सिमानामा पर्ने दाउन्नेमा यात्रा सहज बनाउनका लागि पुर्वी र पश्चिम् नवलपरासीका सुरक्षा निकाय र आयोजना कम्पनी बिच सोमबार बिनयी त्रिबेणी गाउँपालिकामा भएको छलफलले सडक सहज बनाउने निर्णय गरेको हो ।

    पुर्वी नवलपरासी र पश्चिम नवलपरासी गरि दुबै जिल्लाका प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा बर्षायाममा हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै यात्रा सहज गर्ने बिषयमा विभिन्न छलफल भएको पश्चिम् नवलपरासीका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जानकारी दिए ।

    पहिरो जोखिम क्षेत्रमा नियमित ढङ्गबाट सडक सुचारु गर्नका लागि यान्त्रिक उपकरण र मानवीय स्रोतको व्यवस्थापन आयोजनाले गर्ने निर्णय भएको पश्चिम् खण्डका आयोजना प्रमुख शसाङ्क मिश्रले बताए । “दश किलोमिटर क्षेत्रमा अलि समस्या हुन सक्छ,बर्षातमा पहिरो जाने,सवारीसाधन फस्ने हुँदा तुरुन्तै यात्रा सहज गर्न हामिले ५ स्थानमा  जनशक्तिसहित यान्त्रिक उपकरणको ब्य्वस्था मिलाएका छौ ।” मिश्रले भने ।

    आयोजनाबाट उपलब्ध यान्त्रिक उपकरण र अपरेटरको विवरण जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)लाई आयोजनाले उपलब्ध गराउनुपर्ने र २४ घण्टा नै तयारी अवस्थामा रहनु पर्ने बैठकमा निर्णय भएको छ ।

    सडक खण्डअन्तर्गत पर्ने दाउन्ने सडक खण्डमा पानि आउदा हिलाम्मे भएर बाटो जाम हुने समस्या आउने स्थानीयहरुको गुनासो छ ।

  • झोलुंगे पुलमा फसेका खच्चडको उद्धार

    झोलुंगे पुलमा फसेका खच्चडको उद्धार

    सुर्खेत ।  कर्णाली नदीमाथिको झोलुंगे पुलमा अड्किएका खच्चडको उद्धार सुरु गरिएको छ। आइतबार बिहान पुुलको लठ्ठा चुँडिएर फसेका खच्चडको पुलको तार काटेर उद्धार सुरु गरिएको हो।

    अहिलेसम्म पाँचवटा खच्चडको उद्धार भइसकेको छ। बाँकीलाई तार काटेर नदीमा झार्दै निकाल्नेगरी काम अघि बढाइएको दैलेख प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सुनिल दाहालले जानकारी दिए।

    ‘सुरुमा टुचनले पुल सोझ्याउन खोज्दा पनि धेरै लोड भएका कारणले सकिएन,’ उनले भने, ‘त्यसपछि पाँचवटालाई नदीमा खसालेर उद्धार भइसकेको छ।’

    उद्धारका लागि अछाम र दैलेखका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र र स्थानीय तहका जनप्रतिनिधि सहित स्थानीय खटिएका छन्।

    पुलको एकातर्फको लठ्ठा कमजोर रहेको र धेरै खच्चडहरू एकैपटक चढ्न थाल्दा लठ्ठा चुँडिएको  थियो।

  • देवदह खयरडाडामा भेटियो साँढे ३ मिटर गहिरो प्राचिन इनार

    देवदह खयरडाडामा भेटियो साँढे ३ मिटर गहिरो प्राचिन इनार

    बुटवल । स्थानीयहरुले बुद्धको मावली कोलिय गणराज्यको दरबार क्षेत्र दावी गर्दै आएको रुपन्देहीको देवदह स्थित खयरडाडाँमा प्राचिन साँढे तीन फिट गहिरो इट्टाको इनार भेटिएको छ ।

    देवदह नगरपालिकाको आर्थिक सहयोगमा लुम्बिनी विकास कोष, पुरातत्व विभागले जेठ १६ गतेदेखि शुरु गरेको उत्खननका क्रममा पूर्ण आकारमा रहेको प्राचिन इट्टाको इनार भेटिएको हो ।

    गत वर्ष लुम्बिनी विकास कोषले उत्खनन गर्दा इट्टाको माथिल्लो भाग मात्रै देखा परेको थियो । २ मिटर चौडाई र साँढे ३ मिटर गहिरो इट्टाको प्राचिन इनार भेटिएको लुम्बिनी विकास कोषका बरिष्ठ पुरातत्व अधिकृत हिमालकुमार उप्रेतीले जानकारी दिए । ‘गत वर्ष इनारको माथिल्लो भाग मात्रै भेटिएको थियो, यो वर्ष इनारको बेस(तल्लो भाग) सम्म जाने योजना अनुसार उत्खनन गर्दा इनारको पूर्ण आकार भेटिएको छ’ उप्रेतीले भने । उनका अनुसार प्राचिन इनार भएपनि कुन समयको भन्ने कुरा कार्बनडेटिङपछि मात्रै यकिन हुनेछ ।

    इनारको दक्षिणतर्फ प्राचिन पर्खालहरु भग्नाअवशेषहरु भेटिएको उप्रेतीले बताए । उत्खननका क्रममा खयरडाडा क्षेत्रमा माटाका भाडा, प्राचिन इट्टाले लगाईको पर्खालका भग्नाअवशेषहरु भेटिएको छ । स्थानीयहरुले पुरातात्विक स्थल भन्ने थाहा नहुँदै इट्टाहरु लगेको र त्यसरी इट्टा निकाली खाडल बनेका संरचनाहरु देखिएको उप्रेतीले बताए ।

    बुद्धको मावली कहाँ हो भन्नेबारेमा अहिले नै निक्र्यौल गर्न नसक्ने बताउँदै पुरातात्विक उत्खनन र अन्वेषण अझै बढाउनुपर्ने उनले बताए । रोहिणी पूर्वका नागरिकहरुले देवदहबासीका रुपमा भन्न मिल्ने उप्रेतीले बताए । तर, बुद्धका समय र त्यो भन्दा अगाडिका माटाका भाँडा, टुक्राहरु पण्डितपुरमा भेटिएको छ । रुपन्देही देवदहका स्थानीयहरुले भने बुद्धको मावली देवदहको दरबार नै यहाँ रहेको दावी गर्दै आएका छन् ।

    प्राचिन कोलिय राज्यका क्षेत्रहरुमा निरन्तर उत्खनन अध्ययनको आवश्यकता रहेको पुरातत्व विभागका अधिकृत राजेश परियारले बताए । उनले खयरडाडामा उत्खननबाट प्राप्त ऐतिहासिक तथ्य र प्रमाणलाई अध्ययन गरी आगामि दिनमा थप कदमहरु अगाडि बढाउने बताए ।

    देवदह नगरपालिका– ९ स्थित खयरडाँडामा क्षेत्रमा देवदह नगरपालिकाको १० लाख बजेटबाट अहिले उत्खनन गरिएको हो । स्थानिय पालिकाले साझेदारीमा उत्खनन गरेको यो पहिलो रहेको बताइएको छ ।

    लुम्बिनी विकास कोषका पुरातत्व महाशाखा प्रमुख बरिष्ठ पुरातत्व अधिकृत हिमाल उप्रेतीको नेतृत्वमा पुरातत्व अधिकृत राजेश परियार, लुम्बिनी विकास कोषका नमराज अधिकारी, चन्द्रप्रकाश पाठक, अन्तरहुसेन मुसलमान र विज्ञका रुपमा शुभेच्छा पोख्रेल उत्खननमा खटिएका छन । उत्खनन आगामी अझै एक महिना चल्ने जनाइएको छ ।

  • देवदह : मकै एक परिकार अनेक 

    देवदह : मकै एक परिकार अनेक 

    देवदह। रुपन्देहीको देवदहमा एक दिने दोश्रो मकै महोत्सव सम्पन्न भएको छ । देवदह मकै पकेट क्षेत्रको पहिचान, मकैको बजारीकरणमा हाम्रो अभियान भन्ने नाराका साथ दोश्रो मकै महोत्सव सम्पन्न भएको हो ।

    मकै महोत्सव मूल समितिको आयोजना र देवदह नगरपालिकाको आर्थिक सहयोगमा देवदहलाई मकैमा आत्मनिर्भर बनाउने र उत्पादीत मकैको बजारीकरण गर्ने गरी मकै महोत्सवको आयोजना गरेको हो । देवदह नगरपालिका क्षेत्रमा अहिले ५२ विगाहा क्षेत्रफलमा मकैको खेती हुदै आएको छ । देवदह नगरपालिकाले देवदह-५, कोलुवालाईउ मकै पकेट क्षेत्रको रुपमा घोषणा गरेर अगाडि बढिरहेको छ ।

    सोही अवसरमा बोल्दै देवदह नगरपालिका नगर प्रमुख धुर्व प्रसाद खरेलले परम्परागत भन्दा आधुनिक र व्यवसायीक रुपमा कृषि गर्न आवश्यक रहेकोमा जोड दिए। उनले यस क्षेत्रमा उत्पादीत मकैलाई विविधिकरण गर्न आवश्यक रहेको बताए ।

    महाेत्सवमा राखिएको स्टलमा मकैबाट बनाइएको परिकार मकैको सेलरोटी, मकैको बटुक, मकैको चटपट, मकैको बटुक, पकौडा, चुकौनी, खिर, सातु, जेरी, चाट आदि परिकार बिक्री वितरणका लागि राखिएको मकै महोत्सवमा स्थानीयको उत्साहजनक सहभागिता रहेको थियो।

  • देवदहको खयरडाडामा उत्खनन शुरु

    देवदहको खयरडाडामा उत्खनन शुरु

    लुम्बिनी। बुद्धको मावली कोलीय गणराज्यको दरबार क्षेत्र अनुमान गरिएको रुपन्देहीको देवदहस्थित खयरडाँडामा स्थानीय सरकारको साझेदारीमा उत्खनन बुधबारदेखि सुरु गरिएको छ । देवदह नगरपालिकाको आर्थिक तथा लुम्बिनी विकास कोष र पुरातत्व विभागको प्राविधिक सहयोगमा देवदह नगरपालिका– ९ स्थित खयरडाँडामा क्षेत्रमा उत्खनन शुरु गरिएको हो ।

    देवदह नगरपालिका नगरप्रमुख धुव्र खरेल र लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले संयुक्त रुपमा कुटोले भुईँ खनेर शभारम्भ गरेका हुन् । बजेट अभावका कारण पुरातात्विक स्थलहरुको उत्खनन, अन्वेषणमा हुन नसकिरहेको बेला देवदह नगरपालिकाले १० लाख बजेट छुट्याएर उत्खनन थालिएको छ । स्थानिय पालिकाले साझेदारीमा उत्खनन गरेको यो पहिलो रहेको बताइएको छ ।

    उत्खनन शुभारम्भमा बोल्दै नगरप्रमुख खरेलले पुरातात्विक क्षेत्रको उत्खननमा देवदह नगरपालिकाले प्राथमिकताका साथ काम गर्ने बताए । उनले उत्खननका लागि आगामि बर्षमा पनि बजेट छुट्याएर काम गर्ने बताए । नगरप्रमुख खरेलले स्थानीयसँगै देवदह क्षेत्रका पुरातात्विक स्थलहरुको उत्खनन र अन्वेषणका लागि प्रदेश सरकारले समेत बजेट छुट्याउनुपर्ने बताउँदै त्यसका लागि आफुहरुले पहल गर्ने प्रतिबद्धता जनाए ।

    यस्तै कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष भट्टराईले पुरातात्विक स्थलको उत्खननमा साझेदारी गरेर देवदह नगरपालिका पहिलो स्थानीय तह बनेको बताए । उनले देवदहको भग्नावशेष क्षेत्रहरुमा उत्खनन हुँदा यसले पुरातात्विक सम्पदाको संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा समेत ठूलो टेवा पुग्ने बताए ।

    भट्टराईले देवदहको खोजीका लागि रुपन्देही र नवलपरासीका क्षेत्रहरूको पुरातात्विक उत्खनन गर्नुपर्ने बताउँदै त्यसैका लागि कोषले गत वर्षदेखि उत्खननलाई प्राथमिकतामा राखेको बताए । गत वर्ष जेठ १७ गतेदेखि गरेको उत्खननमा प्राचिन पर्खाल र प्राचीनतम इनारका संरचना फेला परेका थिए । लुम्बिनी विकास कोषका पुरातत्व महाशाखा प्रमुख बरिष्ठ पुरातत्व अधिकृत हिमाल उप्रेतीको नेतृत्वमा ५ जनाको टोली उत्खननमा खटिएको छ । पुरातत्व विभागका पुरातत्व अधिकृत राजेश परियार, लुम्बिनी विकास कोषका नमराज अधिकारी, चन्द्रप्रकाश पाठक, अन्तरहुसेन मुसलमान र विज्ञका रुपमा शुभेच्छा पोख्रेल उत्खननमा खटिएका छन । उत्खनन आगामी आगामि एक महिनासम्म चल्नेछ ।

  • सडक कालोपत्र भएपछि स्थानीयलाई आवागमनमा सहज

    सडक कालोपत्र भएपछि स्थानीयलाई आवागमनमा सहज

    म्याग्दी । जिल्लाको रघुगंगा गाउँपालिकाको पिप्ले र भगवती जोड्ने सडक कालोपत्र भएपछि स्थानीयलाई आवागमनमा सहज भएको छ । 

    रघुगङ्गा–३ पिप्लेको रघुगंगा माविबाट वडा नं २ को मैदान हुँदै जैसीखोरसम्मको सडक कालोपत्र र ढलान भएपछि यात्राअवधि छोटिएको, भाडादर घटेको, धुलो र हिलोबाट उनीहरूलाई मुक्ति मिलेको हो । 

    ‘साँघुरो र ग्रेड नमिलेको कच्ची सडकमा यात्रा गर्दा हिउँदमा धुलो र बर्खामा हिलोले सास्ती भएको थियो’, भगवती मैदानका बासिन्दा रिम मल्लले भने, ‘सफा सडकमा सहज र सुरक्षित यात्रा गर्न पाउँदा खुसी भएका छौँ ।’ विसं २०६६ मा निर्माण भएको राहुघाटबाट पिप्ले हुँदै भगवती जोड्ने सडक १५ वर्षपछि स्तरोन्नति भएपछि  कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटेको यातायात व्यवसायी रमेश भण्डारीले बताए ।

    ‘पिप्लेबाट भगवती पुग्न पहिले ४५ मिनेटदेखि एक घण्टा लाग्थ्यो’, उनले भने, ‘यात्राअवधि १० मिनेटमा छोटिएको छ । यसअघि बेनीदेखि भगवती पुग्न प्रतियात्रु रु तीन सय भाडा रहेकामा हाल दुई सय ५० कायम गरिएको छ । 

    गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक आयोजना’ मार्फत २०७६ सालमा सुरु भएको गलेश्वर-पिप्ले-भगवती-बेग सडक आयोजना सम्झौता भएको पाँच वर्षपछि सम्पन्न हुने चरणमा पुगेको छ । यस सडकबाट पिप्ले, भगवती र बेगखोलाका तीन वडाका तीन हजारभन्दा बढी परिवार प्रत्यक्ष लाभान्वित भएका म्याग्दी-१ ९१० बाट निर्वाचित पूर्वप्रदेशसभा सदस्य विनोद केसीले बताए । प्रदेश सरकारले प्रत्यक्ष निर्वाचित सांसदको सिफारिसमा सबै निर्वाचन क्षेत्रमा एक-एक वडा सडक आयोजना सञ्चालन गरेको छ ।

    जिल्ला पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णु पौडेलले पिप्ले-भगवती खण्डमा पाँच किलोमिटर डिबीएसडी प्रविधिको कालोपत्र र पाँच सय मिटर ढलान सकिएको जानकारी दिए । पिप्लेको फूलबारी क्षेत्रमा थप पाँच सय मिटर सडक ग्राभेल भइरहेको छ । खड्का-कृष्ण जेभीले १८ करोड ४९ लाख आठ सय ३८ मा ठेक्का लिएको यो सडक २०७८ जेठ २४ गते सम्पन्न गर्ने लक्ष्य थियो । कोरोना महामारी, प्राकृतिक विपद्, नदीजन्य निर्माण सामग्रीको अभाव, सामाजिक समस्यालगायत कारणले ढिलाइ भएको हो ।

    पहिरो प्रभावित राहुघाटबाट रघुगङ्गा माविको भवन अगाडिसम्मको दुई किलोमिटर पाँच सय मिटर सडक आयोजनाबाट हटाइएको छ । गलेश्वरबाट बगैँचासम्मको सडक पहिराको जोखिम र बगैँचाबाट रघुगङ्गा माविसम्मको सडक राहुघाट जलविद्युत् आयोजना प्रभावित क्षेत्रअन्तर्गत पर्ने भएकाले आयोजनाबाट हटाइएको हो ।

    भगवतीका पूर्ववडाध्यक्ष रिम कटुवालले भगवतीबाट बेगखोलातर्फ स्तरोन्नति गर्न आयोजनालाई निरन्तरता दिनुपर्ने बताए । जलविद्युत् आयोजना प्रभावित क्षेत्रको सडक जलविद्युत् आयोजनामार्फत नै स्तरोन्नति गर्न पहल गर्नुपर्ने उनले बताए ।

  • महेन्द्रनगरमा अवैध संरचना हटाउन थालियो

    महेन्द्रनगरमा अवैध संरचना हटाउन थालियो

    महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगर बजार क्षेत्रमा स्थानीय तह र स्थानीय प्रशासनको सक्रियतामा सार्वजनिक जग्गामा बनाइएका अवैध संरचना हटाउने काम धमाधम भइरहेको छ ।

    भीमदत्त नगरपालिकाका जनप्रतिनिधि र प्रहरी प्रशासनको अगुवाइमा यहाँ नगरविकास समितिको जग्गामा अवैधरूपमा बनाइएका घर-टहरालगायत संरचना हटाउने कार्य भइरहेको भीमदत्त नगरपालिका–४ का वडाध्यक्ष सुशील भट्टले जानकारी दिए । 

    लामो समयदेखि महेन्द्रनगर नगर विकास समितिको बजार क्षेत्रका जग्गा भाडामा दिएर मिलेमतोमा बनाइएका पक्की संरचना हटाउने काम भइरहेका उनले बताए ।

    वडाध्यक्ष भट्टले दोस्रो चरणमा दोस्रो चरणमा बसपार्कलगायत स्थानका अवैध व्यापारिक संरचना हटाइने योजना रहेको बताए । ती संरचना खाली गर्न नगरपालिकाले मङ्गलबार सात दिने सूचनासमेत जारी गरिसकेको छ । 

    यसअघि पनि अवैधरूपमा बनाइएका संरचना भत्काउन स्थानीय प्रशासनले पहल गरेको थियो । त्यसविरुद्ध व्यापारीहरू सर्वोच्च अदालत गएका थिए । 

    अदालतले उनीहरूको रिट खारेज गर्दै महेन्द्रनगर नगरविकास समितिका केही पूर्वअध्यक्ष तथा कर्मचारीलाई कारबाहीको दायरामा ल्याएपछि स्थानीय सरकारलाई अवैध संरचना हटाउने बाटो खुलेको हो ।

    कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले अभियानकै रूपमा सार्वजनिक जग्गामा बनेका संरचना हटाउने कार्य भइरहेको बताए । 

    यसअघि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा बसेको सर्वदलीय-सर्वपक्षीय बैठकले जिल्लाभर सरकारी सम्पत्तिको संरक्षण गर्दै अतिक्रमण हटाउने निर्णय गरेको थियो ।

    सोही निर्णयअनुसार बेल्डाँडी गाउँपालिका र बेलौरी नगरपालिकाले पनि अतिक्रमण खाली गराउने काम छिटपुटरूपमा गरिरहेको छ ।

  • लगातार चौथो पटक एपीएफ च्याम्पियन

    लगातार चौथो पटक एपीएफ च्याम्पियन

    काठमाडौँ । विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबले शनिबार ललितपुर मेयर कप महिला ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । शनिबार सुदूरपश्चिम प्रदेशमाथि दुई रनको रोमाञ्चक जित निकाल्दै एपीएफ च्याम्पियन भएको हो ।

    एपीएफ पहिलोदेखि चौथो संस्करणसम्म च्याम्पियन बन्न सफल रह्यो । कुल पाँच टोली सहभागी प्रतियोगिताको लिगमा पनि एपीएफले सुदूरपश्चिमलाई हराएको थियो । फाइनल निकै प्रतिस्पर्धात्मक भए पनि सुदूरपश्चिमले जित निकाल्न भने सकेन । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एपीएफले दिएको एक सय ५६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ५३ रन मात्र जोड्न सक्यो ।

    खराब शुरुवात बाबजुद सुदूरपश्चिमका लागि कविता जोशी र लक्ष्मी साउदले शतकीय साझेदारी गर्दै जित आशा देखाए । ६.४ ओभरमा सुदूरपश्चिम ४९÷५ को अवस्थामा थियो । तर, कविता र लक्ष्मीले छैटौँ विकेटका लागि १०४ रनको साझेदारी गरे । तर अन्तिम ओभरमा पाँच रन बनाउन असफल हुँदा सुदूरपश्चिमले हार व्यहोर्‍यो । कविता ६७ रन र लक्ष्मी २९ रनमा अविजित रहे । आक्रामक ब्याटिङ गरेकी कविताले ४५ बलमा सात चौका र ३ छक्का प्रहार गरे । सुस्त खेलेकी लक्ष्मीले ३५ बलमा दुई चौका हिर्काइन् ।

    त्यसअघि कप्तान विन्दु रावल १९, सम्झना खड्का १० र सावित्री धामीले १२ रन जोडे । अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । एपीएफको बलिङमा करुणा भण्डारीले दुई र सुमन विष्टले एक विकेट लिए । करुणाबाहेक सबै बलर महँगा रहे पनि एपीएफले लक्ष्य पूरा गर्न दिएन । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित ओभरमा चार विकेट गुमाउँदै १५५ रन जोड्यो । एपीएफका ओपनरद्वय राजमति ऐरी र सीता रानामगरले अर्धशतक बनाउँदै राम्रो योगफलतर्फ अग्रसर गराए । राजमति ५० रन र कप्तान सीता ७४ रनमा आउट भए ।

    यी दुईबीच पहिलो विकेटका लागि ९१ रनको साझेदारी बन्यो । राजमतीले ४६ बलमा सात चौका हिर्काइन् । ५५ बल खेलेकी सीताको इनिङमा सात चौका रह्यो । इनिङको अन्त्यसम्म ब्याटिङ गर्दै सीताले राम्रो स्थितिमा पुर्‍याइन् । ममता चौधरी १० रनमा नटआउट रहिन् । यी तीनबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । सुदूरपश्चिमको बलिङमा ऋतु कनोजिया, बिन्दु रावल र राधिका पुजराले समान एक विकेट लिए ।

    लिगमा अपराजित एपीएफ पहिलो र सुदूरपश्चिम दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका हुन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी एपीएफकी कप्तान सीता रानामगर घोषित भइन् । उत्कृष्ट ब्याटर सुदूरपश्चिमकी सम्झना खड्का र उत्कृष्ट बलर ललितपुर मेयर्स–११ की कृतिका मरासिनी घोषित भए । सिंगल राउण्ड रोबिनका आधारमा भएको प्रतियोगितामा ललितपुर मेयर्स,  कोसी प्रदेश र बागमती क्रमशः तेस्रोदेखि पाँचौँ स्थानमा रहे । यी तीनैले समान एक खेल जितेका थिए ।