Category: स्थानीय तह

स्थानीय तह

  • बबईमा डुबेर दाजुभाइको मृत्यु

    बबईमा डुबेर दाजुभाइको मृत्यु

    तुलसीपुर । पौडी खेल्ने क्रममा डुबेर  दाजुभाइको मृत्यु भएको छ । बबई नदीमा पौडी खेल्ने क्रममा बबई गाउँपालिका–७ ओदाले घाटमा डुबेर दाजुभाइको मृत्यु भएको हो ।

    भारतबाट फूपूको घरमा आएका १८ वर्षीय दीपक परियार र १६ वर्षीय दिपेश परियारको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक अजयजङ्ग थापाले बताए ।

    दीपकको उपचारका क्रममा प्रादेशिक अस्पताल तुलसीपुरमा र दिपेशको घटनास्थलमै मृत्यु भएको हो । मृतकका परिवार कामको सिलसिलामा भारत बस्ने गरेका थिए ।

  • घरेलु मदिरा ब्रान्डिङ गरी विश्व बजारमा निर्यात गरिने

    घरेलु मदिरा ब्रान्डिङ गरी विश्व बजारमा निर्यात गरिने

    काठमाडौँ । सरकारले घरेलु मदिरा ब्रान्डिङ गरी विश्व बजारमा निर्यात गर्ने नीति लिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै घरेलु मदिराको गुणस्तर सुनिश्चित गरी नियन्त्रित उत्पादन गरिने बताएका हुन्।

    सरकारले ब्रान्डिङ तथा निर्यात गर्न विशेष कार्यक्रम सञ्चालन गरिने नीति लिएको उनको भनाइ छ ।

    आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत सरकारले घरेलु मदिरालाई वैधानिकता दिने नीति लिएको छ ।

  • सातै प्रदेशमा गाईभैंसी पालन स्रोत केन्द्र खाेलिने

    सातै प्रदेशमा गाईभैंसी पालन स्रोत केन्द्र खाेलिने

    काठमाडौं । सरकारले प्रत्येक प्रदेशमा १/१ हजार गाईभैंसी पालनका लागि पूर्वाधारसहितको स्रोत केन्द्र खोल्ने भएको छ । स्थानीय, प्रदेश र केन्द्र सरकारको सहकार्यमा केन्द्रहरु खोलिने भएको हो ।

    मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताए ।

    त्यस्तै, स्थानीय तहमा पशु अस्पताल स्थापना गरिने तथा २ वर्षभित्र पशुमा लाग्ने खोरत रोग नियन्त्रण गरिने पनि राष्ट्रपति पोडेलले उल्लेख गरे ।

    बजेटभन्दा पहिले संयुक्त सदनमा राष्ट्रपतिले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ ।

  • विषादी प्रयोगबारे सचेत बन्दै कैलालीका किसान

    विषादी प्रयोगबारे सचेत बन्दै कैलालीका किसान

    कैलाली । रासायनिक मलको प्रयोगले मानव स्वास्थ्य र वातावरणमा प्रतिकूल प्रभाव पार्ने भएकाले कैलालीका किसान जैविक विषादीको प्रयोग गर्न थालेका छन् । कैलालीका किसानले रोग कीरा नियन्त्रण गर्न रासायनिक विषादीको साटो जैविक विषादीको प्रयोग गर्न थालेका हुन् ।

    विगतमा तरकारीमा कीरा लागेमा रासायनिक विषादी प्रयो गर्ने किसान आजभोलि स्वास्थ्य, वातावरण र माटो सुरक्षाका लागि सचेत बन्न थालेका छन् ।

    तरकारी तथा अन्नबालीमा रोग कीरा लाग्यो की बजारबाट रासायनिक विषादी ल्याएर प्रयोग गर्ने गोदावरी नगरपालिका–४ बास्कोटाकी दुर्गा मल्ल आजभोलि घरमै जैविक विषादी बनाएर प्रयोग गर्ने गरेको बताउँछन् ।

    ‘बाली बिरुवामा विनाशकारी कीरा, सुलसुले, जुका, चिप्लेकीरा, शङ्केकीरा, मुसा, चरा, अवान्छित झार तथा रोग सार्ने सूक्ष्म जीवाणु ढुसी, ब्याक्टेरिया, भाइरसलगायतको समस्या रहन्छ’, उनी भन्छन्, ‘विगतमा यी प्राणीलाई नाश गर्न रासायनिक विषादी प्रयोग गर्ने गरिन्थ्यो, आजभोलि घरमै बनाएर जैविक विषादी प्रयोग गर्ने गरेका छौँ ।’

    गोदावरी–४ खैरानाकी रेश्मीदेवी चौधरीले रोग कीरा लाग्यो की आफ्नै घरमा बनाएको जैविक विषादी प्रयोग गर्छिन् । ‘रासायनिक विषादीले गर्ने असरबारे जानकार थिइनँ, त्यसैले जथाभावी प्रयोग गरिरहेकी थिएँँ’, रेश्मीदेवीले भनिन्, ‘आजभोलि विषादी प्रयोगबारे सचेत भएकी छु । विषादी प्रयोगमा सावधानी नअपनाएमा वा उचित रुपमा उपयोग नगरिएमा यसले उपयोगकर्ता, मानिस, घरपालुवा पशु, वन्यजन्तु र लाभकारी कीरालाई समेत हानी पु¥याउँछ भनेर घरमै बनाएको विषादी प्रयोग गर्न थालेकी हुँ ।’

    किसानले जैविक विषादीका साथै मोहनी पासोसमेत थापेर कीरा नियन्त्रण गर्ने अभ्यास गरिरहेका छन् । यसले पनि बारीमा लगाएको बाली बचाउन सकिने उनीहरु बताउँछन् ।

    ‘जैविक विषादी तथा विभिन्न किसिमका पासोहरु थापेर कीरा नियन्त्रण गर्न सकिएन भने मात्र अलिकति रासायनीक विषादी प्रयोग गर्छौं, नभए गर्दैनौँ’, चुरे गाउँपालिका–३ काफल गैराका तेजबहादुर बोहराले भने, ‘जैविक विषादी प्रयोग गर्नु मानव स्वास्थ्यका लागि राम्रो हो । लामो र स्वस्थ जीवनका लागि जैविक विषादीको प्रयोग गर्नुपर्छ ।’

    जैविक विषादी खर्चका हिसाबले पनि राम्रो, मानव स्वास्थ्यलाई पनि हानी नगर्ने हुँदा जैविक विषादी प्रयोग गर्ने गरेको काफल गैराकै किसान मीनबहादुर शाहीको भनाइ छ । ‘मोहनी पासो र फेरोमन ट्रयापलगायतका प्रविधि कीरा नियन्त्रणमा प्रयोग गरिरहेको छु’, उनले भने, ‘तरकारीमा किसानले नजानेर धेरै विषादी प्रयोग गर्ने रहेछन्, यसबाट मानव स्वास्थ्य सङ्कटमा पर्छ ।’

    सहजपुरका किसान डबलबहादुर खडायत पनि २०५८ सालदेखि तरकारी तथा फलफूल खेती गरिरहेका छन् । उनले पहिले तरकारी तथा फलफूल खेतीमा रोग, कीरा लागेमा रासायनिक विषादी किनेर प्रयोग गर्थे । तर अहिले उनले जैविक विषादीबाहेक आफ्नो बारीमा अरु विषादी प्रयोग गर्दैनन् ।

    ‘घर वरिपरि पाइने झारपातको प्रयोग गरेर विषादी बनाउँछु’, उनी भन्छन्, ‘गाउँघरमा अहिले किसानले रासायनिक विषादी प्रयोग गर्न थाले यो नराम्रो हो भनेर सिकाउन समेत थालेको छु । रासायनिक विषादी प्रयोगले फाइदाको साटो बेफाइदा गरिरहेको छ ।’

    कैलालीको चुरे गाउँपालिकाले पनि रासायनिक विषादीको साटो जैविक विषादी प्रयोगमा किसानलाई प्रोत्साहन गरिरहेको छ । जैविक विषादीबारे पालिकाका सबै किसान जानकार भएमा सहज हुने चुरे गाउँपालिका कृषि शाखा प्रमुख दीपक पाण्डे बताउँछन् । रासायनिक विषादीका असर धेरै रहेकाले किसानलाई सचेत गराउन थालिएको उनी बताउँछन् ।

    ‘पालिकाले रासायनीक विषादीको साटो जैविक विषादीमा जोड दिइरहेको छ । जैविक विषादीको फाइदा धेरै भएकाले यसको प्रयोग बढाउन किसानलाई सुझाव छ’, प्रमुख पाण्डे भन्छन्, ‘जैविक विषादी शत्रुजीवलाई मार्न प्रयोग गरिने जैविक वस्तु हुन् । जैविक वस्तुमा विभिन्न उपयोगी जीव, मित्रजीव एवं सूक्ष्म जीवहरू पर्नुका साथै विभिन्न जीव तथा वनस्पतिको तत्व, उत्पादन वा सक्रिय तत्वहरू मिसाएर बनाइन्छ ।’

    प्रमुख पाण्डेका अनुसार जैविक विषादी वातावरण मैत्री र वातावरणीय पक्षबाट स्वस्थ हुने गर्दछ र एकीकृत शत्रुजीव व्यवस्थापनको महत्वपूर्ण अंश मानिन्छन् ।

    कृषि बाली उत्पादन गर्दा र भण्डारणमा देखिने रोग कीरा नियन्त्रण गर्न सम्भव भएसम्म रासायनिक विषादीको विकल्प खोज्नुका साथै विषादीबाट स्वास्थ्यमा हुने अल्पकालीन र दीर्घकालीन असर न्यून गर्न सचेत हुनुपर्छ । -रासस

  • ९२ लाखको लागतमा खानेपानी आयोजना निर्माण

    ९२ लाखको लागतमा खानेपानी आयोजना निर्माण

    म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–२ ¥यालेखोर र भाइवाङमा ९२ लाख रुपैयाँको लगानीमा ‘एक घर, एक धारा’ अभियानअन्तर्गत खानेपानी आयोजना निर्माण भएको छ ।

    नेपाल स्वास्थ्यका लागि पानी (नेवा) संस्था, मङ्गला गाउँपालिका र उपभोक्ताको ९२ लाख २४ हजार नौ सय ८७ रुपैयाँका लागतमा निर्माण भएको आयोजनाबाट एक सय घरपरिवार लाभान्वित भएका छन् ।

    उपभोक्ता समितिका अध्यक्ष तेजिन्द्र आचार्यले सय घर र विद्यालय, सामुदायिक भवन तथा खेलमैदानमा थप आठ वटा निजी धारा जोडेर खानेपानी वितरण गरिएको जानकारी दिए ।

    मुहान र वितरण पाइपलाइनलाई व्यवस्थित गरेपछि सीमित स्रोतले पनि सबैले सहजरुपमा खानेपानी उपभोग गर्न पाएका अध्यक्ष आचार्यले बताए ।

    नेवा संस्थाको ३८ लाख ७१ लाख ३०७, मङ्गला गाउँपालिकाको २७ लाख अनुदान र उपभोक्ताको २२ लाख ७८ हजार ४६८ श्रमदानबाट आयोजना निर्माण भएको उपभोक्ता समितिले जनाएको छ ।

    अध्यक्ष आचार्यका अनुसार उपभोक्ताको श्रमदानका अलावा थप तीन लाख ७५ हजार २१२ रुपैयाँ नगद सङ्कलन गरिएको थियो ।

    त्रिभुवन मङ्गला मावि र ¥यालेखोर बस्तीका लागि पहिराको मुहानबाट पानी तानेर र भाइवाङ बस्तीमा पँधेराको मुहानको वितरण गरिएको हो ।

    नेवा संस्थाको सहयोगमा मङ्गला गाउँपालिकाको थप दुई ठाउँमा खानेपानी आयोजना निर्माणाधीन छन् ।

    संस्थाका प्राविधिक गोर्खबहादुर शाहीले खानीगाउँ र हिदीमा निर्माणाधीन आयोजना अन्तिम चरणमा रहेको बताए । खानीगाउँका ३७ घर, एक विद्यालय र हिदीका ६४ घरमा निजी धारासहितको खानेपानी वितरण गरिने उनको भनाइ छ ।

  • चैते धानप्रति दाङका किसानको आकर्षण बढ्दो

    चैते धानप्रति दाङका किसानको आकर्षण बढ्दो

    घोराही । बङ्गलाचुली गाउँपालिका–४ गहतेरा निवासी डोरबहादुर घर्तीले यस वर्ष पनि चैते धान रोपेका छन् । चैते धानले उनको जीविकोपार्जनमा सहयोग भएको छ । हरेक वर्ष आम्दानी बढेपछि चैते धानखेतीलाई निरन्तरता दिएको उनी बताउँछन् ।

    बर्सेनि चैते धान रोप्दै आएका घर्तीले हिजो रोपाइँ सकेका हुन् । उनले भने, “सिँचाइको सुविधा छ, उत्पादन पनि मनग्ये हुने भएकाले पहिलेदेखि नै चैते धानखेती गर्दै आएका छौँ ।” चैते र बर्खे धान गरेर वर्षमा दुई बाली धान र एक बाली गहुँखेती गर्दै आएका घर्तीले बर्खे धानको तुलनामा चैते धान अधिक फल्ने बताए । उनले यस वर्ष ११ रोपनी क्षेत्रफलमा धान रोपेका छन् ।

    बङ्गलाचुलीका अर्का किसान मुगा डाँगी पनि अहिले चैते धान रोप्न व्यस्त छन्। चार रोपनी जग्गामा रोपाइँ जारी छ । थोरै जमिनबाट धेरै उत्पादन लिन पनि आफूले प्रत्येक वर्ष धानखेती गर्दै आएको उनले बताए । स्थानीय सरकारबाट सहयोग नभएको गुनासो गर्दै उहाँले त्यसो भएमा उत्पादन बढाउन सहज हुने बताए।

    चैते धानबाट प्रशस्त आम्दानी हुने भएपछि आफूलगायत गाउँका अधिकांश किसानले चैते धान लगाउँदै आएको उनी बताउँछन् । वर्षमा दुई बाली धानखेती गर्ने स्थानीयवासीले बर्खेभन्दा चैते धानबाट धेरै आम्दानी गर्ने गहतेरा निवासी चूर्ण डाँगी बताउँछन् । चैते धान प्रवर्द्धन गर्न स्थानीय वा प्रदेश सरकारले अनुदानको व्यवस्था गर्नुपर्नेमा उनको जोड छ ।

    कृषि ज्ञान केन्द्रका अनुसार घोराही उपमहानगरपालिका– १, बङ्गलाचुली गाउँपालिका–३ र ४ सँगै देउखुरीका केही स्थानमा चैते धानखेती हुने गरेको छ । जिल्लामा करिब दुई हजार पाँच सय हेक्टरमा चैते धानखेती हुने गरेको छ ।

  • म्याग्दीको पन्थोकमा सिँचाइ आयोजना बन्दै

    म्याग्दीको पन्थोकमा सिँचाइ आयोजना बन्दै

    म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–५ पन्थोकमा एक दशकअघि सुरु भएको सिँचाइ आयोजना निर्माणले बल्ल गति लिएको छ ।

    सिँचाइ आयोजनाका लागि बजेट विनियोजन नहुँदा र पहिरोका कारण त्यसलाई अघि बढाउन सकिएको थिएन ।  गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा २० लाख बजेट विनियोजन गरेपछि निर्माणले गति लिएको हो ।

    ‘तत्कालीन जिविसले सुरु गरेको योजनाले निरन्तरता नपाएको र पहिरोले क्षति गरेपछि सात वर्षदेखि अलपत्र थियो । यसपालि प्रदेश सरकारबाट बजेट विनियोजन भएकाले सिँचाइ योजनालाई पूर्णता दिन लागिपरेका छौँ’, स्थानीय अगुवा एवं पूर्ववडासदस्य दिलबहादुर पुनले भने ।

    सात वर्षअघि १३ लाख खर्चेर जङ्गलेखोलाको मुहाबाट करिब एक किलोमिटर पाइप लाइन बिछ्याइएको थियो । उपभोक्ता समितिका सचिव केमबहादुर मल्लले मुहानबाट पाँच सय मिटर दुई सय मिलीलिटर क्षमताको पाइपबाट पानी चलाइसकेको र कुनलेखर्कसम्म थप तीन सय मिटर पाइप लाइन जडान  भइरहेको जानकारी दिए ।

    खानेपानी सिँचाइ तथा जलस्रोत डिभिजन कार्यालय म्याग्दीका सबइन्जिनीयर अन्जन खत्रीका अनुसार सो योजनाबाट पन्थोकको ५० हेक्टरभन्दा बढी जमिनमा सिँचाइ सुविधा पुग्नेछ ।

    उपभोक्ता समिति र स्थानीयवासी गरी दैनिक १२ देखि २० जनाले श्रमदान गरेर पाइप लाइन खन्ने र जोड्ने काम गरिरहेका छन् । योजनाको शनिबार अनुगमन गरेका खानेपानी, सिँचाइ तथा जलस्रोत डिभिजन कार्यालयका प्रमुख झलकमोहन ओझाले गौराखोलालगायत म्याग्दीका ६० वटा सिँचाइ आयोजना निर्माणाधीन रहेका  बताए ।

  • गोरखाका महिलाद्वारा सीप सिकेर गाउँमै सेनेटरी प्याड उत्पादन

    गोरखाका महिलाद्वारा सीप सिकेर गाउँमै सेनेटरी प्याड उत्पादन

    गोरखा । गोरखाको सहिदलखन गाउँपालिकाका विपन्न तथा सिमान्तकृत महिलाले समूहमा मिलेर गाउँमै सेनेटरी प्याड उत्पादन गर्न सुरु गरेका छन् ।

    व्यावसायिक सीपमूलक तालिमबाट सिकेर महिलाले सामूहिकरुपमा लगानी गरी प्याड उत्पादन गर्न थालेको सहिदलखन–५ स्थित नवपालुवा कोसिस महिला समूहका अध्यक्ष गीता परियारले जानकारी दिइन् ।

    “नेपाल दलित महिला उत्थान सङ्घ (एड्वान) ले प्रदान गरेको सेनेटरी प्याड बनाउने तालिम लिएपछि गाउँमै प्याड उत्पादन गर्न सकिन्छ भन्ने लाग्यो”,उनले भनिन्, “तालिमसँगै वडा कार्यालय र एड्वानकोसमेत आर्थिक सहयोगमा समूहमा आबद्ध महिलाले पनि लगानी गरेर आवश्यक मेसिन खरिद गरी प्याड उत्पादन गर्न सुरु गरिएको हो ।”

    उद्योगबाट नवपालुका कोशिस महिला समूहमा आबद्ध २१ महिला प्रत्यक्षरुपमा आयआर्जनसँग जोडिन पुगेको उनको भनाइ छ । उद्योगमा उत्पादन गरिएका प्याड स्थानीय बजारमा बिक्री गर्नसमेत थालिएको छ ।

    “भर्खरै मात्र उत्पादन थालेकाले उत्पादन भएजति सबै बजारमा बिक्री हुने गरेको छ”, परियारले भनिन्, “अहिलेसम्म उद्योगमा करिब दुई हजार थान प्याड उत्पादन गरिसकिएको छ, सबै स्थानीय बजारमा नै खपत भएको छ । कतिपय स्थानीय व्यापारीले उद्योगमै आएर पनि बिक्रीका लागि किनेर लैजान थालेको उनको भनाइ छ ।

    “फागुन महिनामै उत्पादन सुरु गरी बजारमा पठाउने तयारी भए पनि प्याडको बाहिरी प्याकेट आउन अलि ढिलो भयो”, उनले भनिन्, “उत्पादन माघ महिनाबाट नै सुरु गरिएको हो ।” उद्योगमा जोडिएका समूहका सदस्य पालैपालो उद्योगको काममा खटिने गरेको उनको भनाइ छ ।

    प्याकिङका लागि तयारी अवस्थामा रहेको प्याड पनि केही दिनमै प्याकेटमा राखेर बजार पठाउने तयारी भइरहेको छ । समूहले ठूलोमात्रा प्याड उत्पादन गरी त्यसको बजार व्यवस्थापन गर्न गाउँपालिकासँग पनि आवश्यक समन्वय गरिरहेको परियारले जानकारी दिइन् ।

    उद्योगमा अहिले प्रयोग गरिएको मेसिनले प्रतिमिनेट ३० थान सेनेटरी प्याड उत्पादन गर्नसक्ने उनको भनाइ छ । “नियमितरुपमा उत्पादन गर्न सकियो भने जिल्लाभित्रका अन्य पालिकामा पुर्याउन सक्छौँ भन्ने लागेको छ”, परियारले भनिन्, “तत्कालका लागि सेनेटरी प्याडको बाहिरी प्याकेट चितवनबाट छपाइ गरेर ल्याउने गरेका छौँ ।”

    उत्पादित प्याड परीक्षणका लागि बजारमा  ५० रुपैयाँ प्रतिप्याकेटका दरले बिक्री गर्न थालिएको छ । “बाहिरबाट ल्याएको सेनेटरी प्याड अहिले स्थानीय बजारमा प्रति प्याकेट  ७० मा बिक्री हुँदै आएको छ”, उनले भनिन् ।

    उद्योग सञ्चालनका लागि अहिलेसम्म  १५ लाख ५० हजारभन्दा बढी लगानी भइसकेको छ । वडा नम्बर ५ का वडाध्यक्ष चन्द्र रानामगरले समूहलाई उद्योग सञ्चालनका लागि ताक्लुङमा रहेको सामुदायिक भवन उपलब्ध गराइएको बताए । उनका अनुसार महिला समूहले भर्खरैमात्र उत्पादन सुरु गरेकाले त्यसको बजारीकरणका लागि आवश्यक पहल स्थानीय सरकारले पनि गरिरहेको छ ।