Category: समाचार

समाचार

  • देशभर आंशिक बदली, तीन प्रदेशमा भारी पानी पर्ने पूर्वानुमान

    देशभर आंशिक बदली, तीन प्रदेशमा भारी पानी पर्ने पूर्वानुमान

    काठमाडौं । हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    अहिले मुलुकका पहाडी भागमा आंशिक बदली रही बागमती र कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको तथा बाँकी भूभागमा आंशिक बदली रहेको छ ।

    विभागका अनुसार आज दिउँसो देशभर आंशिक बदली हुनेछ ।कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै बाँकी प्रदेशको केही स्थानमा मेघगर्जन,चट्याङ र हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    यसैगरी आज राती देशभर आंशिक बदली हुनेछ । कोशी, मधेस बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन,चट्याङ र हुरीसहित हल्कादेखि मध्यम वर्षाका साथै बाँकी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन,चट्याङ र हुरीसहित हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

    आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै बाँकी प्रदेशका केही भागमा मेघगर्जन,चट्याङ र हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकोले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

  • डाले घाँसको बीउ पाएपछि मटिहानीका किसान दंग

    डाले घाँसको बीउ पाएपछि मटिहानीका किसान दंग

    महोत्तरी । आफ्नै घरआँगनमा डाले घाँसको बीउ पाएपछि मटिहानीका पशुपालक किसान दंग छन्। पशुबस्तुका लागि पोसिलो मानिने मेनदोला, भटमासे र बकाइनोको बीउ पाएपछि यहाँका किसान दंग भएका हुन्।

    किसानलाई मटिहानी नगरपालिका र हेफर प्रजेक्टको ‘कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता विकास परियोजना’ले सोमबार डाले घाँसको बीउ वितरण गरेको हो।

    विभिन्न समूहमा आबद्ध महिला किसानलाई जनही मेनदोला- ५५०, बकाइनो–१५० र भटमासे–१२० ग्राम दिइएको परियोजना संयोजक महेश यादवले बताए। डाले घाँसको बीउ मटिहानी नगरक्षेत्रका २०० बढी महिला किसानले पाएका छन्।

    आफ्नै घरआगनमा पोसिलो घाँसको बीउ पाएपछि अब पशुबस्तुका लागि घाँस खोज्न चिन्ता हराएको बीउ लिएका महिला बताउँछन्।

    ‘प्रतिकूल मौसममा पनि घाँस काट्नुपर्थ्याे,’ मटिहानी- २ की पशुपालक किसान विमला खत्वे भन्छिन्, ‘अब आफ्नो घर नजिकको बारीमा घाँस हुर्काएपछि निकै सजिलो हुनेछ।’

    खत्वेजस्तै मटिहानी- ३ की ललितादेवी मण्डल र मटिहानी–९ की बच्चीदेवी साफीले पनि घरपालुवा पशुबस्तुलाई आफ्नै बारीमा उत्पादित पोसिलो घाँस ख्वाउन पाइने बताइन्। मटिहानीमा विभिन्न समूहमा आबद्ध महिला किसानले परियोजनाको सहयोगमा उन्नत जातका बाख्रा र कोरली पाल्दै आएका छन्।

    महिला किसानलाई आय आर्जनमा उत्प्रेरित गर्न यो परियोजनाले सघाउ पुर्‍याएकाे मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डल बताउँछन्। पशुपालनमा लागेपछि उनीहरू आर्थिक रूपमा आत्मनिर्भर भएका छन्।

    मटिहानी नगरपालिकाले बर्सेनि कृषिलक्षित कार्यक्रम सञ्चालन गर्दै आएको छ। विगत पाँच वर्षदेखि बर्सेनि मौसमअनुसारका फलफूल, तरकारी र अन्नका बीउबिरुवासँगै प्रविधिक सहयोग पनि प्रदान हुँदै नगरप्रमुख मण्डलले बताए।

    पछिल्लो समयमा परियोजनाको सहयोगले हौसिएका नगरका महिला बाख्रा, कोरली पालनमा जुटेका छन्। ‘हामी अब आफै केही गर्न सक्ने भयौंजस्तो लागेको छ,’ मटिहानी- २ की पशुपालक किसान सुजिता यादव भन्छन्, ‘परियोजनाले हामीलाई आत्मनिर्भर बनाउँदैछ।’

    यसैगरी, सोमबार नै परियोजनाले सातवटा महिला सहकारी संस्थालाई अभिलेख राख्न सहयोग पुग्ने उद्देश्यले ल्यापटप, प्रिन्टरसहितका सामग्री प्रदान गरेको छ। महिला सहकारीलाई उत्पादित फलफूल र तरकारी सुरक्षित राख्न र बजारसम्म पुर्‍याउन ‘क्यारेट’ पनि उपलब्ध भएको छ।

  • रुपन्देहीमा अनलाइन सट्टेबाजी खेलाउने १३ भारतीय पक्राउ

    रुपन्देहीमा अनलाइन सट्टेबाजी खेलाउने १३ भारतीय पक्राउ

    रुपन्देही । रुपन्देहीमा अनलाइन गेम खेलाएर सट्टेबाजी गर्ने १३ जना भारतीय नागरिक पक्राउ परेका छन् ।

    बुटवल उपमहनगरपालिका- ९ को कालिकानगरमा घर भाडामा लिएर अनलाइन गेम खेलाउने र सट्टेबाजी गराउनेलाई बुटवल प्रहरीले पक्राउ गरेको हो ।

    पक्राउ परेका युवाहरूले फ्ल्याट भाडामा लिएर अवैध गतिविधि गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुटवल र वडा प्रहरी कार्यालय रामनगरको टोलीले छापा मारेको थियो ।

    प्रहरीले १३ जना भारतीय नागरिक र उनीहरूले प्रयोग गर्ने मोबाइललगायतका सामान नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख विजयराज पण्डितले १३ जना भारतीय पक्राउ गरेको र उनीहरूको बारेमा अनुसन्धान भैरहेको जानकारी दिए ।

    -पत्रपत्रिका बाट

  • महोत्तरीबाट करिब ५० किलो गाँजा बरामद

    महोत्तरीबाट करिब ५० किलो गाँजा बरामद

    महोत्तरी । औरही नगरपालिका-८ टिमकियाबाट अवैध लागूऔषध गाँजा करिब ५० किलो सोमबार बिहान प्रहरीले बरामद गरेको छ ।

    इलाका प्रहरी कार्यालय बर्दिबास समेतबाट खटिएको प्रहरीले एमएच् ४३ एबि ०५६६ नम्बरको कारलाई जाँच गर्ने क्रममा कार नरोकी औरहीतर्फ भागे पश्चात् प्रहरीले पिछा गर्दै जाँदा टिमकियास्थित बाटोमा कार फेला पारी तलासी गर्दा डिक्की र पछाडिको सिट मुनी रहेको उक्त गाँजा फेला पारी बरामद गरेको हो ।

    प्रहरीले हाल फरार कार चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

  • आज दिनभरको मौसम कस्तो रहला ?

    आज दिनभरको मौसम कस्तो रहला ?

    काठमाडौं ।  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ।

    महाशाखाका अनुसार अहिले गण्डकी र कोशी प्रदेशका केही भूभागमा फाट्टफुट्ट वर्षा भइरहेको छ। काठमाडौं उपत्यकासहित देशका अधिकांश भूभागमा बदलीको अवस्था छ।

    आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

    कोशी र गण्डकी प्रदेशका थोरै स्थान तथा  बाँकी पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    यसैगरी, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

    तराईलगायत केही पहाडी भूभागमा हावाहुरीसमेत चल्ने महाशाखाले जनाएको छ ।

    आज सूर्योदय बिहान ५ बजेर २० मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ४१ मिनेटमा हुनेछ ।

  • गण्डकीका मुख्यमन्त्रीले पाए विश्वासको मत

    गण्डकीका मुख्यमन्त्रीले पाए विश्वासको मत

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएका छन् ।

    मुख्यमन्त्री अधिकारीले प्रदेशसभामा पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा ३० सांसदले समर्थन जनाएका थिए । त्यसपछि सभामुख कृष्णप्रसाद धितालले मत अधिकार भएको भन्दै प्रस्तावको पक्षमा मत हाल्दै मुख्यमन्त्री अधिकारीले विस्वासको मत पाएको घोषणा गरे ।

  • प्रदिप भन्छन् : प्रेमको ट्याग हटेर मैतबहादुर हुँदैछु

    प्रदिप भन्छन् : प्रेमको ट्याग हटेर मैतबहादुर हुँदैछु

    बुटवल। चकलेटी अभिनेता केहि बर्ष अगाडी प्रेमको नाममा परिचित भए। यस्तो लाग्छ कि दर्शकले उनलाई बाटोमा हिड्दा समेत प्रेम भनेर बोलाउन लागे। आफ्नो बास्तबिक नाम समेत अभिनयका कारण फेरिएका प्रदिपको अब नाम फेरिने गरी अझै कसरत भएको बताउछन चलचित्र पुजार सार्कीमा ! एक पछि अर्को सुपरहिट फिल्म खेल्दै आएका प्रदीप खड्का नेपाली फिल्मका वर्तमान समयका सुपरस्टार हुन् । ‘प्रेमगीत’बाट अभिनेताको रूपमा पहिचान बनाएका खड्का नेपाली फिल्म बलिउडसम्म पुर्‍याउन सफल छन् । सन्तोष सेनाले निर्माण तथा निर्देशन गरेको उनको फिल्म ‘प्रेम गीत ३’ बलिउडमा रिलिज भएको थियो ।पछिल्लो समय फिल्म ‘प्रकाश’ अभिनयबाट माउथ पब्लिसिटीका कारण समीक्षागत रूपमा पनि चर्चा कमाएका उनी करिब ४ वर्षपछि ‘पूजार सार्की’ मार्फत दर्शक माझ आएका छन् । फिल्म समीक्षागत र व्यावसायिक दुवै रूपमा सफल हुने उनको अपेक्षा छ । ‘पूजार सार्की’मा अहिलेसम्मकै फरक र स्वतन्त्र क्यारेक्टर निर्वाह गरेको उनी बताउँछन् ।

    विभिन्न तरिकाले पुजार सार्कीको प्रमोशनमा व्यस्त प्रदिप आर्यन सिग्देल र पल शाहसंगै गीत संगीत सारबजनिक भएसंगे नयाँ लुकमा दर्शक रिझाउदै छन्। स्वतन्त्र पात्रले समाजमा राम्रो स्थान पाउँदा त्यसको सकारात्मक या नकारात्मक कुन दिशा तिर जान्छ भन्ने बिषयमा मैतबहादुर तल्लिन रहेको प्रदिप बताउछन। फिल्म ‘प्रेम गीत’ पछि पनि धेरै फिल्ममा फरक फरक भूमिका निर्वाह गरेका प्रदिपले आफ्नो चरित्रले परिचय फेर्न नसकेको बताउंदै ‘पूजार सार्की’मा गरेको ‘मैतबहादुर’को चरित्रले आफ्नो परिचय फेर्ने बिश्वास ब्यक्त गरेका छन्। प्रदिप भन्छन-“फिल्म रिलिजपछि धेरैले मलाई यही नामले बोलाउँछन् भन्ने विश्वास हो । फिल्ममा त्यो चरित्रले जतिको इन्जोय गरेको छ, मैले पनि अभिनय सिलसिलामा त्यतिकै इन्जोय गरेको थिए । दर्शकले त्योभन्दा पनि इन्जोय गर्छन् । यो मेरो विश्वास हो।”

    जेठ १० गते रिलिज हुने नेपाली चलचित्र ‘पुजार सार्की’को टिम र राष्ट्रिय दलित आयोगका पदाधिकारी बिच छलफल भएको छ। जातीय विभेदविरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा सङ्घर्षको कथामा आधारित भएर बनेको यो चलचित्र प्रति योगले चासो देखाउँदै यसै साता ललितपुरको कुपण्डलोस्थित आयोगको कार्यालयमा छलफल कार्यक्रम राखेको थियो।दिनेश राउतको निर्देशनमा तयार भएको ‘पूजार सार्की’मा तीन सुपरस्टारहरू आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको अभिनय छ।फिल्मको २ वटा प्रमोसनल गीत रिलिज भैसकेको छ भने ट्रेलर रिलिज हुने तयारीमा छ।

  • वेस्ट इन्डिज ‘ए’ माथि नेपालको ६ विकेटको जीत

    वेस्ट इन्डिज ‘ए’ माथि नेपालको ६ विकेटको जीत

    काठमाडौं । पाँच खेलको श्रृंखलाको अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ माथि ६ विकेटको जीत हात पारेको छ ।

    वेस्ट इन्डिज ‘ए’ले दिएको १७३ रनको लक्ष्य नेपालले ७ बल बाँकी छँदै ४ विकेटको क्षतिमा पूरा गरेको हो ।

  • मलाइ अंग्रेजी आउदैन…

    मलाइ अंग्रेजी आउदैन…

    मैले पढ्ने पुस्तक ,
    नेपाली मै छ।
    शिक्षकले पनि नेपालीमा पढाउनुहुन्छ।
    नोट नेपालीमा बनाउछु,
    नेपालीमै पढ्छु,
    अनि,
    प्रश्न किन अंग्रेजीमा?
    मलाइ अंग्रेजी आउदैन।
    म नेपाली बोल्छु,
    नेपालीमा गुनगुनाउछु।
    मेरो तोते बोली,
    नेपालीमै फुटेको हो।
    ताते ताते गर्दै,
    पाइला उभिएको हो।
    विद्यालय नेपाली माध्यम,
    परिवेशमा नेपाली पन,
    नेपालीमा पढेँ,
    नेपालीमा बढेँ,
    नेपालीमै लेख्छु,
    नेपालीमै भन्छु।
    अनि ,
    प्रश्न किन अंग्रेजीमा?
    मलाइ अंग्रेजी आउदैन।
    कसरी शब्द बुझ्ने?
    कसरी अर्थ लगाउने?
    शब्द यताउता देख्छु।
    I eat rice,
    मैले भात खान्छु।
    भात ( rice) पछाडी गयो।
    खान्छु (eat) अगाडी आयो।
    यहि कुरामा अलमल हुन्छु।
    कुरै बुझ्दिन।
    म नेपाली मौलिकतामा
    रमाउन चाहन्छु।
    प्रश्न किन अंग्रजीमा?
    मलाइ अंग्रेजी आउदैन।
    दुइटा प्रश्न छाडेँ नबुझेर,
    एउटा प्रश्न बिग्रियो नबुझेर,
    जानेको पनि गलत भयो नबुझेर,
    नेपालीमै प्रश्न निकाल्न मिल्दैन र?
    प्रश्न किन अंग्रेजीमा?
    मलाइ अंग्रेजी आउदैन।
    कथित विद्वानको फुर्ती धेरै देखेँ,
    त्यति पनि नबुझे,
    कसरी १२ पास? रे,
    पढेको त मैले हो,
    लेख्ने पनि मैले हो,
    नेपालीमै अभ्यास गर्छु।
    नेपालीमै सम्झन्छु,
    नेपाली छ स्मरणमा,
    अनि ,
    प्रस्तुतिकरणमा नेपाली छ।
    प्रश्न किन अग्रेजीमा?
    मलाइ अंग्रेजी आउदैन।

  • वेस्ट इन्डिज ‘ए ले नेपाललाई दियो १७३ रनको लक्ष्य

    वेस्ट इन्डिज ‘ए ले नेपाललाई दियो १७३ रनको लक्ष्य

    काठमाडौं । अन्तिम टी–२० खेलमा वेष्ट इन्डिज ‘ए’ ले नेपाललाई १ सय ७३ रनको लक्ष्य दिएको छ ।

    टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको वेष्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७२ रन बनाएको हो ।

    वेष्ट इन्डिज ‘ए’ का लागि एलिक अथान्जले सर्वाधिक रन बनाए । अथान्जे ३५ रनमा अविजित रहे । रोस्टन चासेले ३३ र जोनसन चाल्र्सले २४ रन बनाएर आउट भए । फाबिएन एलेन ३३ रनमा अविजित रहे ।

    बलिङमा नेपालका सागर ढकाल र सोमपाल कामीले ३ – ३ विकेट लिए । सोमपालले एकैओभरमा दुई विकेट लिएको थियो ।
    अभिनाश बोहोराले एक विकेट लिए । वेष्ट इन्डिज ‘ए’ले सिरिजको उपाधि जितिसकेको छ ।