Category: समाचार

समाचार

  • बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा

    बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा

    मकवानपुर । बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले प्रदेशमा अब सरकारी कामकाजको नेवारी र तामाङ भाषालाई यही वैशाख २४ गतेदेखि व्यावहारिकरुपमा प्रयोगमा ल्याइने बताएका छन् ।

    मन्त्री बज्राचार्यले आज सङ्क्षिप्त कुरा गर्दै वैशाख २४ गते बिहान ९ बजे काठमाडौँको वसन्तपुरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त दुवै भाषा सबै सरकारी कार्यालयमा प्रयोगमा ल्याइने कार्यक्रमको समुद्घाटन गर्ने जानकारी दिए । उनले काठमाडौँको वसन्तपुरबाट सोही दिनको बिहान ७ बजे विभिन्न वेषभूषा र झाँक्रीसहित र्यालीले काठमाडौँ नगरको परिक्रममा गर्ने पनि उल्लेख गरे ।

    यसैगरी प्रदेश सरकारले प्रदेशमा नेवाः (नेपाल) तामाङ भाषा सरकारी कामकाजको भाषा प्रयोगमा ल्याइएको खुसियालीमा सो दिन प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनीमन्त्री गङ्गानारायण श्रेष्ठले बताए ।

    उक्त भाषा प्रयोगमा ल्याइएको खुसियालीमा हुने कार्यक्रम भव्यरुपमा सम्पन्न गर्न संस्कृतिमन्त्री बज्राचार्यको अध्यक्षतामा तीन सय पाँच सदस्यीय आयोजक समिति बनाइएको छ । बागमती प्रदेशसभाको केही महिनाअघि बसेको बैठकले प्रदेशमा सरकारी कामकाजको भाषाका रुपमा नेवारी र तामाङ भाषाको विधेयक पारित गरिएको प्रदेशसभाका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

  • ९२ लाखको लागतमा खानेपानी आयोजना निर्माण

    ९२ लाखको लागतमा खानेपानी आयोजना निर्माण

    म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–२ ¥यालेखोर र भाइवाङमा ९२ लाख रुपैयाँको लगानीमा ‘एक घर, एक धारा’ अभियानअन्तर्गत खानेपानी आयोजना निर्माण भएको छ ।

    नेपाल स्वास्थ्यका लागि पानी (नेवा) संस्था, मङ्गला गाउँपालिका र उपभोक्ताको ९२ लाख २४ हजार नौ सय ८७ रुपैयाँका लागतमा निर्माण भएको आयोजनाबाट एक सय घरपरिवार लाभान्वित भएका छन् ।

    उपभोक्ता समितिका अध्यक्ष तेजिन्द्र आचार्यले सय घर र विद्यालय, सामुदायिक भवन तथा खेलमैदानमा थप आठ वटा निजी धारा जोडेर खानेपानी वितरण गरिएको जानकारी दिए ।

    मुहान र वितरण पाइपलाइनलाई व्यवस्थित गरेपछि सीमित स्रोतले पनि सबैले सहजरुपमा खानेपानी उपभोग गर्न पाएका अध्यक्ष आचार्यले बताए ।

    नेवा संस्थाको ३८ लाख ७१ लाख ३०७, मङ्गला गाउँपालिकाको २७ लाख अनुदान र उपभोक्ताको २२ लाख ७८ हजार ४६८ श्रमदानबाट आयोजना निर्माण भएको उपभोक्ता समितिले जनाएको छ ।

    अध्यक्ष आचार्यका अनुसार उपभोक्ताको श्रमदानका अलावा थप तीन लाख ७५ हजार २१२ रुपैयाँ नगद सङ्कलन गरिएको थियो ।

    त्रिभुवन मङ्गला मावि र ¥यालेखोर बस्तीका लागि पहिराको मुहानबाट पानी तानेर र भाइवाङ बस्तीमा पँधेराको मुहानको वितरण गरिएको हो ।

    नेवा संस्थाको सहयोगमा मङ्गला गाउँपालिकाको थप दुई ठाउँमा खानेपानी आयोजना निर्माणाधीन छन् ।

    संस्थाका प्राविधिक गोर्खबहादुर शाहीले खानीगाउँ र हिदीमा निर्माणाधीन आयोजना अन्तिम चरणमा रहेको बताए । खानीगाउँका ३७ घर, एक विद्यालय र हिदीका ६४ घरमा निजी धारासहितको खानेपानी वितरण गरिने उनको भनाइ छ ।

  • टी- २० विश्वकपअघि वेस्ट इन्डिज ‘ए’विरुद्ध आज अन्तिम खेल खेल्दै नेपाल

    टी- २० विश्वकपअघि वेस्ट इन्डिज ‘ए’विरुद्ध आज अन्तिम खेल खेल्दै नेपाल

    काठमाडौं । नेपालले वेस्ट इन्डिज ‘ए’ सँगको टी–२० सिरिजको अन्तिम खेल आज खेल्दैछ । उक्त खेल टीयु क्रिकेट मैदानमा दिउँसो सवा १२ बजेबाट सुरु हुनेछ ।

    बिहीबार भएको सिरिजको चौथो खेलमा बिहीबार २८ रनको जित हात पार्दै वेस्ट इन्डिज ए शृंखला जित्न सफल भयो ।

    त्यसअघि बुधबार भएको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई ७६ पराजित गरेको थियो । त्यस्तै आइतबार भएको दोस्रो खेलमा नेपाल वेष्ट इन्डिज ‘ए’ सँग १० रनले पराजित भएको थियो ।

    शनिबार भएको पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई ४ विकेटले पराजित गरेको थियो । पाँच खेल खेल्दा नेपालले एक खेल मात्र जितेको छ भने बाँकी वेस्ट इन्डिज ‘ए’ तीन खेल जित्दै श्रृंखला जित्न सफल भएको छ ।

    टी–२० विश्वकपको तयारीमा रहेको नेपालले वेस्ट इन्डिज ‘ए’ सँग घरेलु मैदानमा ५ टी२० खेल खेलिरहेको हो । घरेलु मैदानमा पाँच खेल खेलिसकेपछि नेपाली टोली वेस्ट इन्डिज प्रस्थान गर्ने तालिका रहेको क्यानले जनाएको छ । क्यानले विश्वकप खेल्ने नेपाली टोलीलाई विदाई गरिसकेको छ ।

     

  • एमालेलाई ओलीले अझै गलत बाटोमा लगिरहेका छन् : घनश्याम भुसाल

    एमालेलाई ओलीले अझै गलत बाटोमा लगिरहेका छन् : घनश्याम भुसाल

    रुपन्देही । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेकपा एमालेलाई केपी ओलीले अझै गलत बाटोमा लगिरहेको बताएका छन् ।

    उनले ओलीले जति सकिन्छ बल गरेर एमालेलाई नर्कतिर धकेल्दै लगेको गम्भीर आरोप लगाए ।

    नेकपा (एस) जिल्ला कमिटी रुपन्देहीले शुक्रवार भैरहवामा आयोजना गरेको पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव भुसालले यस्तो बताएका हुन् ।

    उनले भने, ‘ओलीजी कसैलाई गन्ने मान्छे होइन । अहिले उहाँ थाक्नुभएको छ र आएर सँगै जाऔँ भन्नुभएको छ । हामीले शंकाको सुविधा दिएका छौँ एमालेलाई र अहिले हामी एउटै गठबन्धनमा छौँ ।’

    कुनै दिन नेकपा एमाले र एसबीच तथा नेकपा (माओवादी केन्द्र) बीच एकता हुन सक्ने उनले बताए ।

    उनले भने, ‘अहिले हेर्दा खेरी के देखिन्छ भने त्यहाँभित्र ओली गुट बलियो रहेसम्म एकताको कुनै सम्भावना छैन, देखिँदैन । त्यो बेकार कुरा हो ।’

    पूर्वमन्त्री समेत रहेका भुसालले ओलीले ध्वस्त पारेको आन्दोलनलाई कसरी उठाउन सकिन्छ भनेर प्रयत्न गरेको बेलामा ओलीको कुनै कुराले आफूहरूलाई प्रभावित नपार्ने दाबी गरे ।

    उनले भने, ‘अब जाने भनेको हिजो जे बिग्रँदै थियो, त्यो बनाउने हो ।’ सिद्धान्त, विचार र तरिकाका हिसाबले नेकपा एमाले मृत जस्तो भएको उनको भनाइ छ । उनले भने, एक जना माथि ट्याउँट्याउँ बोल्नुहुन्छ, ओलीजी हुनुहुन्छ, अरू कोही बोल्दैन । एमालेमा कोही चल्दै चल्दैन ।’

    नेता भुसालले एमालेमा माथिदेखि तलसम्म हिजै आफूहरूले बनाएको छोडेको संगठन भएको दाबी गरे । नेपालको संसदमा सबैभन्दा शक्तिशाली केपी ओली भएको तर, शक्तिशाली प्रधानमन्त्री आफैले संसद भत्काएको उनले बताए ।

    ‘कम्युनिष्ट पार्टीको सबैभन्दा ठूलो उपस्थिति भएको संसद उहाँले भत्काएपछि त्यसमा विचार हराउँदै गयो ।तर, पनि एमाले एउटा शक्ति हो, किनभने एमालेसँग संगठन छ,’ भुसालले भने ।

    उनले मुलुकमा बेरोजगारी तथा धनी र गरिबबीचको खाडल अझ बढेको बताए । मुलुकका ५० लाख युवा विदेश गएर काम गर्नुपरेको परिस्थिति रहेको भुसालको भनाइ छ ।

    नेपालको संविधानमा धेरै राम्रो अधिकार लेखिएको र अब मुलुकमा रोजगारी सिर्जना तथा सुशासन कायम गर्नुपर्नेमा उनले जोड दिए । उनले भने, ‘एक वर्ष वरिपरि नेकपा (एस) कसैले हेप्न नसक्ने शक्ति र प्रमुख पार्टीको रूपमा अघि बढ्छ ।’

    त्यस्तै पार्टीका सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज हरि पराजुलीले एमालेलाई शक्तिशाली बनाउन विगतमा मिहिनेत गरे पनि पार्टीले वाचा पुरा नगरेपछि विद्रोह गरिएको बताए । उनले जनताको समस्या समाधान गर्नका लागि नै नेकपा (एस) पार्टी ल्याइएको दाबी गरे ।

    नेकपा (एस) लुम्बिनी प्रदेश अध्यक्ष तथा पूर्वमन्त्री सोम प्रसाद पाण्डेले विद्रोह कुनै रहरले नगरिएको बताए । उनले एमालेबाट विद्रोह गरेर संविधान बचाएको दाबी गरे ।

    पार्टीका केन्द्रीय सदस्य बाबुलाल यादवले देशको परिस्थिति अत्यन्तै जटिल भएको बताए ।

    कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) रुपन्देहीका कार्यवाहक अध्यक्ष श्रीराम यादव, उपाध्यक्ष चिन बहादुर गुरुङ, सचिव टंक पौडेललगायतले बोलेका थिए ।

    कार्यक्रममा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाललगायत विभिन्न पार्टी परित्याग गरी ३ सय बढी नेता–कार्यकर्ता नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका थिए ।

  • देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

    देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

    काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले मुलुकका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ ।

    विभागका अनुसार आज दिउँसो लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली भई बाँकी भागमा आंशिक मौसम सफा रहने छ भने राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भागमा साधारणतया बदली भई बाँकी क्षेत्रमा मौसम सफा रहनेछ ।

    कोशी र गण्डकी प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना रहेको जनाउँदै विभागले क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

  • रहेनन् प्युठानका भेल्लु बाजे

    रहेनन् प्युठानका भेल्लु बाजे

    काठमाडौं । भेल्लु बाजेका नामले सोसल मिडियामा चर्चित प्युठानका मीनबहादुर बुढाको निधन भएको छ । एक्कासि सास फेर्न गाह्रो भएपछि बिहीबार दिउँसो उनलाई जिल्ला अस्पताल प्युठानमा भर्ना गरिएको थियो ।

    केहीबेरअघि उनलाई डाक्टरले मृत घोषणा गरेका उनको ज्वाइँ हिमलाल पुन मगरले बताए । युट्युबलगायत सामाजिक सञ्जालमा उनलाई भाइरल गराएका युट्युबर तेजेन्द्र परियारले भने, ‘मसहित गएर दिउँसो अस्पतालमा भर्ना गराएका हौँ । उहाँलाई सास फेर्न गाह्रो भइरहेको थियो तर बोल्नसक्ने नै हुनुहुन्थ्यो । मृत्युका बारेमा आफन्तले अरु कुरा पनि गरिरहनुभएको छ । म बहिनीको उपचारका लागि बुटवल आएको छु । भर्खरै थाहा पाएँ, बाजे बित्नुभो भनेर ।’

    प्युठान नगरपालिका- ४ का बुढामगर आफ्नो बोली व्यवहारका कारण केही महिनाअघिसम्म सोसल मिडियामा चर्चित थिए । गत भदौमा उनकी ५९ वर्षीया श्रीमती बिस्ना बुढाको निधन भएको थियो । त्यसयता उनले निकै एक्लो र निराशाका कुरा गरिरहेको सोसल मिडियामा आएका भिडियोमा देख्न सकिन्थ्यो ।

  • दुबईमा चट्याङसहित वर्षा

    दुबईमा चट्याङसहित वर्षा

    युएई । अबुधाबी र दुबईमा बिहीबार बिहानै चट्याङसहित भीषण वर्षा भएको छ । एकाबिहानै हुरी चलेको थियो भने बिहान करिब ३ बजेदेखि चट्याङ पर्न थालेको थियो ।

    स्थानीय मौसम विभागले भने बिहान ४ बजेतिर मौसम बदली हुने पूर्वानुमान गरेकोमा त्यसअघि नै हुरी र चट्याङसहित वर्षा भएको जनाइएको छ । मध्यराततिरै अबुधाबीको सुदूरपश्चिममा रहेको अल धाफ्रा र अल सिला क्षेत्रमा भारी वर्षा भएको थियो ।
    अल अब्याद टापुसहित केही क्षेत्रमा असिना परेको थियो । मोहम्मद बिन जायद सहर र अल शमामेखमा चट्याङ र मेघ गर्जनसहित वर्षा भएको थियो ।
    राति करिब अढाई बजेतिर अबुधाबीका अधिकांश भागमा चट्याङ र मेघ गर्जनसहित वर्षा सुरु भएको थियो भने हुरीका कारण दुबईतिर सरेको बादलले त्यहाँ पनि मौसममा परिवर्तन ल्याएको थियो । दुबईको राष्ट्रिय मौसम विभागले नागरिकलाई सुरक्षा सतर्कता अपनाउन भनेको छ ।

  • विश्वकप खेल्न नपाएपछि सन्दीप :  म षड्यन्त्रको शिकार भएँ

    विश्वकप खेल्न नपाएपछि सन्दीप : म षड्यन्त्रको शिकार भएँ

    काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले आफू षडयन्त्रको शिकार भएको दाबी गरेका छन् । बलात्कार मुद्दा खेपिरहेका लामिछाने टी–२० विश्वकप खेल्ने नेपाली टोलीमा समावेश हुन नसकेपछि उनले सामाजिक सञ्जालमा निराशा व्यक्त गरेका हुन् ।

    नेपाली टोलीको घोषणा हुने बित्तिकै एउटा इमोजीसहितको पोस्ट गरेका सन्दीपले त्यसपछि अर्को पोस्ट गर्दै समयले सत्य उजागर गर्ने आशा व्यक्त गरेका हुन् ।

    उनले लेखेका छन्, ‘मैले पोस्ट गर्नबाट लामो समय आफूलाई टाढा राखेँ। म षड्यन्त्रको शिकार भएकोमा मलाई कुनै शंका छैन । यस षड्यन्त्रमा आफ्नो भूमिका खेल्ने सबैलाई भगवान‍्ले आशीर्वाद दिउन्। म सबै कुरा भगवान‍्मा छोड्छु। सत्य समयले बताउनेछ, बाहिर नआएसम्म ।’

  • युवाहरु देशमै बस्ने परिस्थिति नबनेसम्म देश बन्दैनः जबरा

    युवाहरु देशमै बस्ने परिस्थिति नबनेसम्म देश बन्दैनः जबरा

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति समशेर जबराले युवाहरु देशमै बस्ने परिस्थिति सिर्जना नभएसम्म मुलुकको विकास सम्भव नरहेको बताएका छन् ।

    बुधवार काठमाडौंमा अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा उनले मुलुकमा युवाहरुले रोजगार प्राप्त नगरेसम्म र देशमै बस्ने परिस्थिति सिर्जना नभएसम्म मुलुकको विकास सम्भव नरहेको बताए । उनले उद्योगको क्षेत्र पहिलाको भन्दा खुम्चेको अवस्था रहेको बताए । जबराले धेरै उद्योग नेपालमा नबनेसम्म युवाहरु पलायन भइरहने बताए । उनले औद्योगिक क्षेत्रको विकास, रोजगारको पूर्ण सहभागिता हुने किसिमको विकास गर्न जरुरी रहेको बताए ।

    उनले भने, ‘मुलुकमा युवाहरुले रोजगार प्राप्त नगरेसम्म, उनीहरु यहाँ बस्ने परिस्थिति सिर्जना नभएसम्म मुलुकको साँच्चिकै विकास हुन सक्दैन ।’

  • मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्दछ : राष्ट्रपति पौडेल

    मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्दछ : राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकभित्र मर्यादित श्रम गर्ने वातावरण निर्माण गरी आन्तरिक उत्पादन र उत्पादकत्व बढाइनुपर्ने बताएका छन् । विश्व मजदुर दिवस, २०२४ को शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले मुलुकको आर्थिक समृद्धि र आत्मनिर्भरउन्मुख अर्थतन्त्र निर्माणका लागि आन्तरिक श्रम बजार मजबुत हुनुपर्ने बताए ।

    शुभकामना सन्देशमा उनले भनेका छन् “मुलुकको आर्थिक समृद्धिका लागि उद्यमशीलताको विकासमार्फत स्वदेशी उत्पादन वृद्धि गरी स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु अत्यावश्यक हुन्छ । उद्यमशीलताको विकास गर्न पुँजी लगानी गर्ने उद्यमी र श्रम तथा सीप लगानी गर्ने श्रमिक दुवैको योगदान उत्तिकै महत्वपूर्ण हुने भएकोले मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्दछ ।”

    विश्व मजदुर दिवसले स्वदेशी उत्पादनको प्रयोगमा जोड दिँदै श्रमको सम्मान, स्वरोजगार, उचित पारिश्रमिक एवं सामाजिक सुरक्षालगायतका श्रमिक अधिकारलाई सुनिश्चित गर्नेतर्फ अग्रसर हुन प्रेरणा मिल्ने विश्वास पनि उनले व्यक्त गरे ।

    श्रमिकको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन र उनीहरूको हक, अधिकार स्थापित भएको दिनको रूपमा प्रत्येक वर्ष मे १ तारिखमा यो दिवस मनाइन्छ । यस वर्ष ‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराकासाथ एक सय ३५ औँ विश्व मजदुर दिवस मनाइँदैछ । यस दिवसले श्रमिकको हक, हित, अधिकार तथा स्वतन्त्रताको रक्षार्थ विश्वभरिका सम्पूर्ण श्रमजीवीलाई एकताको सूत्रमा बाँध्न सहयोग पुग्ने राष्ट्रपति पौडेलले विश्वास व्यक्त गरे ।

    नेपालको संविधानले सम्पूर्ण नागरिकका लागि रोजगारीको हक एवं श्रमको हक सुनिश्चित गर्दै प्रत्येक श्रमिकका लागि उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई  प्रत्याभूत गरेको छ ।

    त्यस्तै, समान कामका लागि लैङ्गिक आधारमा पारिश्रमिक तथा सामाजिक सुरक्षामा कुनै भेदभाव नगरिने व्यवस्था समानताको हकमा छ । राष्ट्रपति पौडेलद्वरा जारी शुभकामना सन्देशमा मुलकमा लोकतन्त्रमा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने संवैधानिक प्रावधानले मूर्तरूप लिँदै जाने सन्दर्भमा श्रमिक वर्ग पनि लाभान्वित हुने उल्लेख छ ।