Tag: प्रधानमन्त्री पुष्पकमल दाहाल

  • प्रधानमन्त्री प्रचण्ड पदमुक्त

    प्रधानमन्त्री प्रचण्ड पदमुक्त

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएका छन् ।

    प्रतिनिधि सभाले विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत गरेसँगै प्रधानमन्त्री प्रचण्ड पदमुक्त भएका हुन् । एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० (२) अनुसार विश्वासको मत मागेका थिए ।

    २७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ मत चाहिन्छ । तर प्रधानमन्त्री प्रचण्डको पक्षमा ६३ मत मात्र पर्‍यो । उनको विपक्षमा १९४ मत परेको छ । र मत दिन्न भन्नेमा १ मत परेको छ । आजको बैठकमा २५८ जना सांसदको उपस्थिति थियो ।

    १० पुस २०७९ मा प्रधानमन्त्री भएका प्रचण्डले पहिलो पटक २६ पुसमा विश्वासको मत लिँदा अभूतपूर्व समर्थन पाएका थिए । उनको पक्षमा २६८ मत परेको थियो भने विपक्षमा २ मत मात्र परेको थियो ।

    दोस्रो पटक ६ चैत २०७९ मा १७२ मत पाए । तेस्रो पटक ३० फागुन २०८० र चौथो पटक ७ जेठमा विश्वासको मत लिँदा समान १५७ मत पाएका थिए ।

    तर यो पटक कांग्रेस र एमालेले नयाँ सरकार बनाउने सहमति गरेसँगै उनी अल्पमतमा परे । साना दलहरूले समेत साथ दिएनन् । उनलाई आफ्नै दल माओवादीसँगै राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादीले मात्र मत दिएको छ ।

  • ओम्नी र गिरिबन्धुहरूको कलङ्क नबोकी सरकार चलाउन सकेँ : प्रचण्ड

    ओम्नी र गिरिबन्धुहरूको कलङ्क नबोकी सरकार चलाउन सकेँ : प्रचण्ड

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासनमा कुनै सम्झौता नगर्ने अठोट र प्रतिबद्धताका कारण पछिल्लो राजनीतिक अवस्था सिर्जना भएको बताएका छन् । उनले आफूले कुनै ओम्नी र कुनै गिरिबन्धुहरूको कलङ्क नबोकी सरकार चलाउन सकेको बताए ।

    प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले भने– ‘सरकारले विश्वविद्यालयमा मेरिटोक्रेसीको प्रयास गर्‍यो । सरकारले जनतालाई सुशासनको ठोस अनुभूति दिने प्रयास गर्‍यो । देशको एउटा विशेष वर्ग कानूूनभन्दा माथि छ भन्ने भाष्य र त्यसले जनतामा जागेको असन्तोषलाई सम्बोधन गर्ने प्रयास गर्‍यो । कुनै यति, कुनै ओम्नी र कुनै गिरिबन्धुहरूको बोझ र कलङ्क नबोकी पनि सरकार चलाउन सकिन्छ भन्ने उदाहरण पेश गर्‍यो ।’

    उनले अगाडि भने, ‘‘मैले संकल्प गरेको थिएँ, जनताको हामीप्रति एक ढंगको असन्तोष छ भन्ने तथ्य लुकाएर होइन, त्यसलाई स्वीकार गरेर त्यो अवस्था बदल्न म कृतसंकल्पित छु । सरकारले राज्यबाट जनतालाई प्रदान गरिने सेवाप्रवाहको सरलीकरणको प्रयास गर्‍यो ।  प्रधानमन्त्रीका रूपमा आफूले सुशासनको सङ्कल्प गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले जनताले आफ्नो देखाउने समय आएको बताए ।

  • ओलीमाथि खनिए प्रचण्ड : संसद् विघटन गर्ने बानी परेकाले मलाई नैतिकता सिकाउने ?

    ओलीमाथि खनिए प्रचण्ड : संसद् विघटन गर्ने बानी परेकाले मलाई नैतिकता सिकाउने ?

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारसँग डराएर नेपाली कांग्रेस र नेकपा एमाले मिलेको आरोप लगाएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमार्फत विश्वासको मत लिने क्रममा  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति इंगित गर्दै उनले आफूलाई संसद नै विघटन गर्ने बानी परेकाहरुले आफूलाई नैतिकताको पाठ सिकाउने प्रयास गरेको बताए ।

    अहिलेको संविधानमा नेकपा (माओवादी केन्द्र) को सबैभन्दा धेरै ठूलो लगानी रहेको बताए ।  उनले भने, ‘आफू अल्पमतमा परेपछि संसद नै विघटन गर्ने बानी परेकाहरुलाई र त्यसको समर्थन गरेका साथीहरुले समेत मलाई नैतिकताको पाठ सिकाउने प्रयास गरियो । ति साथीहरुलाई म यत्ति भन्न चाहन्छु, यो संविधानमा नेकपा (माओवादी केन्द्र) को सबैभन्दा धेरै ठूलो लगानी छ ।’

  • ‘देशलाई यो हालतमा पुर्‍याउनेहरूले प्रश्न गर्दा अचम्म लाग्छ’

    ‘देशलाई यो हालतमा पुर्‍याउनेहरूले प्रश्न गर्दा अचम्म लाग्छ’

    काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हुण्डी कारोबार रोक्न सरकारले प्रभावकारी कदम चाल्दै आएको बताएका छन्‌ ।

    प्रतिनिधि सभामा सांसद्‌हरूले सोधेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले अहिले केही पनि नयाँ भएन भनेजस्तो गरी प्रश्न आउने गरेको गुनासो गरे ।

    ‘केही माननीय सदस्यज्यूहरूले अहिले पनि केही नभएको आशयसहित कुरा राख्नुभयो । अहिले मैले लामो व्याख्या त गर्न सक्दिनँ’, उनले भने, ‘सरकारको तर्फबाट यसबीचमा सुशासनको पक्षमा, सामाजिक न्यायका पक्षमा र आर्थिक विकासका पक्षमा धेरै सकारात्मक पहलहरू भएका छन्‌ ।’

    उनले यी कदमहरू चालिरहँदा सरकारले केही गरेन भनेर आरोप लगाउनु ठीक नहुने उनको तर्क छ। ‘त्यसैले सरकारले केही नयाँ गरेको छैन, उही पुरानो चलिराखेको छ भन्नु ठीक होइन’, उनले भने, ‘केही सांसद्‌हरूले यसो भन्दा मलाई अचम्म लाग्ने गरेको छ ।’

    उनले कांग्रेसतिर लक्षित गर्दै देशमा दशकौँ नेतृत्व गरेर पनि केही गर्न नसकेको उल्लेख गरे । ‘जसले दशकौँसम्म देश/सरकारको नेतृत्व गर्नुभयो । उहाँहरूले नै आज देशलाई यो स्थितिमा पुर्‍याउनुभयो भन्न मन लाग्छ मलाई’, उनले भने, ‘तपाईंहरूले के के गर्नुभएको थियो भन्न मन लाग्छ मलाई । अहिले त धेरै कुरा सन्तुलित र सकारात्मक अवस्थामा आएका छन्‌ ।’

  • समझदारीअनुरुप नै सत्तासमीकरण अगाडि बढ्छ : प्रधानमन्त्री

    समझदारीअनुरुप नै सत्तासमीकरण अगाडि बढ्छ : प्रधानमन्त्री

    काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ दलहरुबीच भएको समझदारीअनुरुप नै सत्तासमीकरण अगाडि बढ्ने बताएका छन् ।

    शनिबार दिउँसो तामाङ राष्ट्रिय मुक्ति मोर्चाको सातौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले समीकरणमा कुनै समस्या र असमझदारी नरहेको स्पष्ट पार्दै समझदारीअनुरुप नै सत्तासमीकरण अगाडि बढ्ने बताएका हुन् ।

    महाधिवेशनले सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘‘आजभोलि बजारमा सरकार के हुन्छ, सत्तासमीकरण के हुन्छ भन्नेखालका प्रश्न उठाउन खोजिएको छ । यस्तो प्रचार र आशंका म प्रधानमन्त्री भएको दिनदेखि नै थियो । तर, कुनै समस्या छैन । अहिले पनि सरकार के हुन्छ भन्ने जिज्ञासा र भ्रम पनि देख्छु । तर, केही हुँदैन ।

    हामी समझदारीका साथ नै अगाडि बढेका छौँ । समझदारीका साथ नै अगाडि बढ्छौँ। सत्तासमीकरणमा कुनै समस्या छैन र हुँदैन ।’’ कार्यक्रममा प्रधानमन्त्रीले नेपालका जाति जनजातिहरुले गरेको त्याग र सकारात्मक योगदानका कारण देशमा ठूलो राजनीतिक परिवर्तन सम्भव भएको बताए ।

    प्रधानमन्त्रीले भने, ‘‘विभिन्न जाति जनजातिहरुको योगदान नभएको भए आजको राजनीतिक परिवर्तन सम्भव थिएन। उत्पीडित वर्ग, जाति, क्षेत्र र लिंगको मुद्धा हाम्रो हो। उत्पीडितहरुले जति अधिकार पाएका छन्, त्यो माओवादीले गर्दा नै भएको हो ।’’
    प्रधानमन्त्रीले जनयुद्ध कुनै पार्टी विशेषको नभएर आम नेपाली जनताको मुक्तिकामी संघर्ष भएको स्पष्ट पारे ।

    उनले भने, ‘‘जनयुद्ध जनताको युद्ध थियो। लाखौँ जनताले आफ्नो मुक्तिका लागि संघर्ष नगरेको भए आजको परिस्थिति आउँदैनथ्यो। आज हामी नितान्त भिन्न परिस्थितिमा छौँ । हामी परिवर्तनका उपलब्धि रक्षा गर्न र समाजवादको आधार तयार पार्न शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धासहितको समझदारीमा आएका हौँ ।

    यही आधारमा टेकेर समाजवादको तयार गर्छौं ।’’ कार्यक्रममा प्रधानमन्त्रीले छिट्टै पार्टी केन्द्रीय समितिको बैठक बोलाएर विशेष महाधिवेशनको मिति निर्धारण गरिने बताउँदै पार्टीका सबै नेता–कार्यकर्ताले फुर्सद नपाउने गरी अभियानको तयारी गरिनेसमेत जानकारी गराए ।

     

  • हिमाली क्षेत्रको संरक्षणमा सक्रिय हुन प्रधानमन्त्रीको आह्वान

    हिमाली क्षेत्रको संरक्षणमा सक्रिय हुन प्रधानमन्त्रीको आह्वान

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाललाई प्रदूषणरहित बनाइराख्न र हिमाली क्षेत्रको संरक्षणमा सक्रिय हुन आह्वान गरेका छन् ।

    उनले सरोकारवाला सबै क्षेत्रबीच सहकार्य र समन्वय गरेर हिमाल संरक्षणमा लाग्नुपर्ने आवश्यकता औँल्याए ।

    ७१औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले सरकारको ‘हिमाल जोगाऔँ, मानवता बचाऔँ’ अभियानलाई सघाउन आग्रह गरे ।

    विश्वव्यापी जलवायु परिवर्तनका कारण तापक्रमको वृद्धिसँगै सगरमाथालगायतका हिमालहरू यसको असरको चपेटामा पर्दै गएका उल्लेख गर्दै प्रधानमन्त्रीले जलवायु परिवर्तनका असरलाई घटाउने तथा हिमालका फोहोर व्यवस्थापनलगायत चुनौती थपिएको बताए ।

    उनले पछिल्लो समय विश्वव्यापी रूपमा देखापरेका वातावरणीय सङ्कट खासगरी जलवायु परिवर्तन, तापमान वृद्धिका कारण उत्पन्न चुनौती गम्भीर भएको उल्लेख गरे ।

    सगरमाथा दिवसले नेपालको पर्यटक आगमनमा वृद्धि गर्न, हिमालको संरक्षण गर्न, हिमाली क्षेत्रमा भइरहेको फोहोरको न्यूनीकरण एवं उचित व्यवस्थापन गर्न एवं हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेका प्रभावहरू न्यूनीकरण एवं अनुकूलनका लागि काम गर्न थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

    विश्व इतिहास र रङ्गमञ्चमा नेपाली पहिचान र विशेषता बहुआयामिक रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सगरमाथा र लुम्बिनी जस्ता प्राकृतिक, ऐतिहासिक एवं सांस्कृतिक सम्पदा संसारभरिका मानिसका निम्ति गौरवको विषयका रूपमा रहेका बताए ।

    सगरमाथाबाट आरम्भ भएको हिमाल आरोहणको यात्रा नेपाललगायत विश्वका विभिन्न हिमशिखरहरूको आरोहण हुँदै विश्वव्यापी बनेको उल्लेख गर्दै प्रधानमन्त्रीले नेपालका आठ हजार मिटरभन्दा अग्ला हिमालका साथै अन्य हिमालहरूको आरोहणमा आकर्षण बढिरहेको बताए ।

    सरकारले हिमाल आरोहणलाई सुरक्षित र आरोहीहरूको आत्मसम्मानलाई उच्च प्राथमिकतामा राखेर नीति तथा कार्यक्रमहरू तर्जुमा गरिरहेको प्रधानमन्त्रीले जानकारी दिए ।

  • प्रधानमन्त्रीले पाए विश्वासको मत

    प्रधानमन्त्रीले पाए विश्वासको मत

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट चौथो पटक विश्वासको मत पाएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजीबीच प्रधानमन्त्रीले विश्वासको मत पाएका हुन् ।

    मतदान प्रक्रियामा कुल १५८ सांसद सहभागी भएकोमा पक्षमा १५७ र विपक्षमा शून्य मत पर्‍यो । मत दिन्न भन्ने पक्षमा १ मत परेको सभामुखले जानकारी गराए ।

    नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डलाई एमाले, रास्वपा, नेकपा एकीकृत समाजवादी, जसपाको समर्थन छ ।

    सरकारमा सहभागी उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिएका हुन् ।

    उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको माग गर्दै कांग्रेसले बेल घेराउ गरिरहेकै अवस्थामा सभामुखले विश्वासको मतको प्रक्रिया अगाडि बढाएका थिए ।

    विश्वासको मत लिँदा पनि कांग्रेसले अवरोध गरिरहेपछि गतिविधि महँगो पर्ने चेतावनी दिँदै इतिहासको कलंकको रूपमा स्थापित हुने प्रधानमन्त्रीले बताएका थिए ।