‘द पोएट आइडल’ सिजन २ को उपाधि सिक्किमका सिमियोनलाई

काठमाडौं । ‘द पोएट आइडल सिजन २’को उपाधि सिक्किमका सिमियोन सुकिता राईले जितेका छन् । शनिबार रातीको फिनाले एपिसोडमा उनले नगद १० लाखसहितको पुरस्कार जिते ।

राईले एभरेस्ट फिल्म कलेजबाट १ वर्षको स्नातक अध्ययनको छात्रवृत्ति, कथालयसँग पुस्तकको सम्झौता, उत्पला क्याफेको तर्फबाट १ लाखको गिफ्ट भौचर प्राप्त गरे ।

फिनालेमा अभिनेता सुनिल थापा र फिल्म ‘पुजार सार्की’को कलाकार तथा निर्देशक अतिथिको रुपमा सहभागि थिए । अभिनेता प्रदीप खड्काले कविता वाचन गरे ।

फिनालेमा ‘भ्वाइस किड्स’का निर्देशक लक्ष्मण पौडेलले जेठ ३१ गते शुक्रबारदेखि तेस्रो सिजनको प्रसारण सुरु हुने बताए । उक्त अवसरमा ‘भ्वाइस किड्सको सिजन ३’ को प्रोमो देखाइयो ।

‘पोएट आइडल’को दोस्रो सिजनमा उपेन्द्र सुब्बा, विप्लव प्रतीक, अनुप बराल र केकी अधिकारी निर्णायक थिए । दिब्यदेव होस्टको रुपमा थिए । निर्देशक अमनप्रताप अधिकारीले तेस्रो सिजन झण्डै डेढवर्षपछि दर्शकमाझ आउने बताए ।

पहिलो सिजनको उपाधि सिक्किमकी निलम गुरुङले जितेकी थिइन् । यो सिजनको प्रसारण हिमालय टिभीबाट भएको थियो । तीन सिजनसम्म हिमालय टिभीमै प्रसारण हुने निर्देशक अधिकारीले जनाए ।

  • प्रकाशित मिति :- आइतवार, जेष्ठ १३, २०८१
  • खोज प्रेस

    लेखकबाट थप
    © 2025 Khojpress Media Pvt.ltd | All right reserved
    स्रोतहरु खुलाइएका बाहेक खोजप्रेसमा प्रकाशित सम्पूर्ण सामग्रीहरु खोजप्रेस मिडिया प्रा.लिका सम्पत्ति हुन् |