गजल

छोराको महलमा आमाको फोटोसम्म अटेन

चिन्दै नचिनेकाहरुको पनि बधाई आएको छ
आज यो मेरो हातले जितको ट्रफी उठाएको छ

उसले परिक्षाको डरले आफ्नो पढाइ छाड्यो
जीवनको परीक्षाले फेरी उसैलाई सताएको छ

छोराको महलमा आमाको फोटोसम्म अटेन
आमाको फेरि त्यै छोरामै संसार अटाएको छ

ढुङ्गाले बनेको ईश्वरको मुर्ति फुटेर ढुङ्गा भयो
ईश्वरले घमण्डबारे मलाई यत्ति सिकाएको छ

कुनै दिन पक्कै हेर्न पर्नेछ अगस्त्य चम्केको
अहिले टुकीको उज्यालोले सबै भुलाएको छ
– कपिल अगस्त्य

  • प्रकाशित मिति :- सोमवार, भदौ ३, २०८१
  • खोज प्रेस

    लेखकबाट थप
    © 2025 Khojpress Media Pvt.ltd | All right reserved
    स्रोतहरु खुलाइएका बाहेक खोजप्रेसमा प्रकाशित सम्पूर्ण सामग्रीहरु खोजप्रेस मिडिया प्रा.लिका सम्पत्ति हुन् |