
देख्छु बाबुको ढल्किदो उमेर अनि कतैबाट अलिकति जिम्मेवारी बटुल्दैछु ,
जब सम्झन्छु आमाको स्नेह हरेक स्त्रीका लागि म सम्मान बटुल्दैछु,
अलिअलि थोरै थोरै बटुल्दै छु उज्यालो ,
जस्तै मुठ्ठीभरि म जुनकिरी बटुल्दैछु ,
म एउटा नयाँ उज्यालो बटुल्दैछु।
हारहरू छैनन् मेरा निम्ति म मात्र अब सिकाईहरु बटुल्दैछु,
प्रश्तापका छैनन् कुनै गिन्ती म मात्र अब स्वीकार्य बटुल्दैछु ,
अलिअलि थोरै थोरै बटुल्दैछु ईख,
जस्तै म आना-आना तोला ,सफलता बटुल्दैछु,
म एउटा नयाँ उज्यालो बटुल्दैछु ।
अहङ्कार भन्दा त स्नेह ठूलो छ मेरा निम्ति त्यसैले त म अलिकति सम्झौताहरू बटुल्दैछु ,
स्वार्थ भन्दा त प्यारा सम्बन्ध र सम्झना त्यसैले त म आफ्नाका लागि समय बटुल्दैछु,
अलिअलि थोरै थोरै बटुल्दैछु धैर्य ,
जस्तै म घडी-घडी भविष्य बदल्दैछु ,
म एउटा उज्यालो बटुल्दैछु ।
काँधहरूमा जिम्मेवारी बोकेर ,
ओठहरूमा मुस्कान लिएर,
म आजका लागि चुनौतीहरू बटुल्दैछु,
मनभरि साहस भिरेर ,
आँखाभरि विश्वास बोकेर ,
म भोलिका लागि गन्तव्य बटुल्दैछु ,
अलिअलि थोरै थोरै बटुल्दैछु मेहनत
जस्तै म सपना थोपा थोपा समुद्र बटुल्दैछु
म एउटा उज्यालो बटुल्दैछु।
-नरेश बस्नेत