
देवदह । रुपन्देहीको देवदहमा श्रीमद्भागवत महापुराण तथा मङ्गलपुष्करिणी दह धार्मिक महोत्सव–२०८१ आयोजना हुने भएको छ । ऐतिहासिक, धार्मिक र पर्यटकीय महत्व बोकेको देवदह–९, को मङ्गलपुष्करिणी दहमा श्रीमद्भागवत महापुराण तथा मङ्गलपुष्करिणी दह धार्मिक महोत्सव हुने पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
देवदह नगरपालिका–९, वडा कार्यालयको आयोजनामा चैत्र २१ देखि २८ गतेसम्म श्रीमद्भागवत महापुराण तथा मङ्गलपुष्करिणी दह धार्मिक महोत्सव हुने वडाअध्यक्ष मोहनबहादुर जिसीले जानकारी दिए। मूल आयोजक समिति संयोजक जिसीले देवदह दहको संरक्षण, छाडा चौपाया व्यवस्थापन तथा सन्दिप आधारभूत विद्यालय व्यवस्थापनको लागि महोत्सव आयोजना गरिएको बताए ।
प्राचीन समयमा राजा तथा ऋषि–तपस्वीहरूले स्नान गर्ने पवित्र स्थल देवदह दह भएकाले यसको संरक्षण र प्रचारप्रसार आवश्यक रहेको जिसीले जानकारी दिए । उनले महोत्सव एब लाखले भक्तजनले अवलोकन गर्ने र करिव १ करोडको कारोवार हुने वडाअध्यक्ष जिसीले जानकारी दिए । उनले महोत्सवबाट संकलन गरिएको रकमबाट देवदह दहको संरक्षण, देवदह–९, मा रहेको गौशालालाई व्यवस्थित गर्ने र सन्दिप आधारभूत विद्यालयको स्तरउन्नती गर्ने जानकारी दिए।
महोत्सव अन्र्तगत चैत्र २१ गते पत्रकार सम्मेलनमा बोल्दै वडाअध्यक्ष जिसीले शान्तिले मात्र समृद्ध नगर बनाउन सकिने भएकोले देवदह दह लाई ध्यानकेन्द्रको रुपमा विकास गर्दै जाने बताए । पत्रकार सम्मेलनमा देवदह नगरपालिकाका पुर्व नगर प्रमुख हिराबहादुर खत्रीले देवदह दह यस क्षेत्रकै महत्वपूर्ण धार्मिक तथा पर्यटकीय गन्तव्य भएको उल्लेख गरे । उनले यस क्षेत्रको विकास र प्रचार प्रसारका लागि स्थानीय तहले निरन्तर योगदान दिँदै आएको बताए । पुरातत्व विभागले उत्खनन् र प्रमाणीकरण लगायतका कार्यमा ढिलाइ गर्नु हुँदैन । उनले देवदहको धेरै ठाउमा उत्खनन् गरीसकेको भएपनि प्रमाणितकरण हुन नसकेको बताए । उनले उत्खनन्को क्रममा खयरडाडामा प्राचिन कुवा फेला परेको बताए ।
महोत्सव अवधिभर विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिनेछ । चैत्र २१ गते बौद्ध गुरुहरूले दह शुद्धीकरण पूजाको आरम्भ गर्नेछन् भने चैत्र २२ गते शोभा कलश यात्रा पछि महोत्सवको औपचारिक उद्घाटन गरिनेछ । महोत्सव अवधिभर प्रत्येक दिन पूजा–अर्चना, पाठ पारायण, कथा प्रवचन, राष्ट्रिय कलाकारहरूको भजन तथा झाँकी प्रदर्शन गरिने आयोजकले जनाएको छ । कार्यक्रममा कथावाचक पं. चन्द्रकान्त काफ्लेले संगीतमय श्रीमद्भागवत कथा वाचन गर्नेछन् ।