Category: समाचार

समाचार

  • बागमती र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले दिए राजीनामा

    बागमती र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले दिए राजीनामा

    काठमाडौं । बागमती र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले राजीनामा दिएका छन् । नेकपा एमालेसँगको तत्कालीन गठबन्धनबाट नेकपा माओवादी केन्द्रका दुवैजना मुख्यमन्त्रीले आइतबार राजीनामा दिएका हुन् ।

    बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार बसेकाे प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै राजीनामा दिएका हुन् ।

    यसअघि जम्कट्टेलले विश्वासकाे मत लिन प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए । तर माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलकाे सुझावअनुसार उनले राजीनामा दिएका हुन् ।

    उनले प्रदेश सभाबाट आफ्ना कामका रेकर्ड गराउन बैठक माग गरेको बताए । तर अब नयाँ सरकार बनाउन कांग्रेस र एमालेको बहुमत रहेकाले मार्ग प्रशस्तका लागि राजीनामा दिएको जम्कट्टेले बताए ।

    गत असार २४ गते २४ नेकपा एमालेले समर्थन फिर्ता लिएपछि उनी अल्पमतमा थिए । उनी २०७९ पुस २५ गते एमाले, राप्रपा, माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धनबाट दोस्रो कार्यकालको पहिलो सरकारको नेतृत्वमा पुगेका थिए ।

    यसअघि उनले २०७९  चैत १० गते मुख्यमन्त्री जम्कट्टेलले कांग्रेस र एकीकृत समाजवादीसँगको गठबन्धन सरकारका लागि विश्वासको मत लिएका थिए ।

    २० फागुन २०८० मा फेरि एमालेसँग माओवादीको केन्द्रीय सत्ता समीकरण बनेपछि एमाले सरकारमा गयो । त्यसपछि एमाले, माओवादी, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टी मिलेर सरकार बनाए ।

    उता लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले पनि आइतबार नै पदबाट राजीनामा दिएका छन् । महरा बाहिरिएपछि मुख्यमन्त्रीमा नेकपा एमालेले दाबी गर्दैछ ।

    एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महराले आइतबार विश्वासको मत लिने तयारी थियो । विश्वासको मत नमिल्ने भएपछि उनले प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै राजीनामा दिए ।

    महराकोले राजीनामा दिएपछि कांग्रेस–एमाले सरकार बन्दैछ । अब त्यहाँ एमाले संसदीय दलका नेता लीला गिरीलाई मुख्यमन्त्री बन्दैछन् । यसअघि पनि उनी करिब ३ महिना मुख्यमन्त्री भएका थिए ।

  • तिम्रो नामको मेहिन्दी

    तिम्रो नामको मेहिन्दी

    मलाई चाहि साना साना कुराहरुले खुसी पनि दिन्छ
    अझ भनौँ म चाँडै खुशी हुन्छु अनि फेरी साना कुराले
    मन पनि दुख्छ, चित्त दुख्छ !

    जब जब श्रावण महिना सुरु हुन्थ्यो
    अनि अर्कै उमंग छाए जस्तै, चाडबाड सुरु भए झैँ महसुस हुन लाग्थ्यो मलाई !
    अझ भनौँ
    श्रावणमा हरियो, पहेँलो रातो, सिन्दुर पोते, चुरा
    र हातैभरी मेहेन्दीमा सजिएर हिँडेका आमा दिदिहरुलाई देख्थेँ अनि मन फुरुङ्ग हुन्थ्यो !

    साथीहरु अझ भनौँ कोहि चिन्दै नचिनेकाहरु बाटोमा हरियो पहेँलो चुरा, हातभरी मेहेन्दीमा सजिएर हिँडेको देख्थेँ,
    अनि वाह कस्तो राम्रो भने झैँ लाग्थ्यो !
    अझ त्यसमा मौलिक पहिरन कुर्था अनि सारीले झन सुन्दरता थपेको हुन्थ्यो ।
    अझ सुन्दर देखिन्थे !

    यस्तो सोच्दै गर्दा, कहिलेकाही आफ्नोपनि यस्तै खुसीहरु
    साट्ने मान्छे होस ,
    हरियो पहेँलोमा सजिएर हातभरि चुरा लागाई,
    हातको मेहेन्दी देखाएर
    “कस्तो छ भन्नुस न ?”
    भन्ने मान्छे भइदिए नि हुने भनेर धेरैपटक सोचेको छु मैले ।

    म मेरो त्यो सोचमा धेरैपटक तिमीलाई नै सम्झेको छु तिमीलाई नै कल्पना गरेको छु !

    आज जब त्यही कल्पना गरेको मान्छेले आएर
    यो जीवन रङ्गाइदिन्छ नि अनि महसुस हुन्छ असली खुसी, साँच्चैको सुख,
    हिजो कल्पनामा हराउनेले आज त्यो सबै कुराहरु
    त्यही मान्छेमा देख्न पाउनु, आफ्नै मान्छेबाट त्यो खुसी त्यो सुख अनुभुति गर्न पाउने भाग्य सबैको कहाँ हुन्छ र हजुर !

    थाहा छैन तिम्रो र मेरो आस्थाले के कुरा पुरा गर्छ , के गराउँछ हाम्रो भविष्य ,
    तर, त्यो आस्थाले हाम्रो प्रेमको आयू भन्ने पक्कै बढाउने छ !
    हामीमा अझ बिश्वास बढाउने पक्कै छ !

    तिम्रो हातमा सजिएका हरिया, पहेंला चुरा, सिउँदोमा सजिएको सिंदुर,
    हातमा गाढिएका मेहेन्दीको रङ्गले मेरो जिन्दगीमा रङ्ग भरेका छन् !
    – अनिता रेग्मी

  • चीनमा पुल खस्दा एघार जनाको मृत्यु , तीस बेपत्ता

    चीनमा पुल खस्दा एघार जनाको मृत्यु , तीस बेपत्ता

    बेइजिङ । उत्तरी चीनमा रहेको राजमार्गको पुल नदीमा खस्दा एघार जनाको मृत्यु भएको छ भने तीस जनाभन्दा बढी बेपत्ता भएको सरकारी प्रसारणकर्ता सिसिटिभीले शनिबार जनाएको छ।

    प्रान्तीय जनसम्पर्क विभागलाई उद्धृत गर्दै आधिकारिक समाचार एजेन्सी सिन्ह्वाका अनुसार शुक्रबार राति करिब ८ः४० बजेको भीषण वर्षाले निम्त्याएको आकस्मिक बाढीका कारण सानक्सी प्रान्तको साङ्लुओ नदीमा रहेको पुल भत्किएको बताएको छ ।

    राजमार्गको पुल तल नदीमा खसेपछि “लगभग बीसवटा सवारी साधन र तीस जनाभन्दा बढी व्यक्ति” बेपत्ता भएको सिसिटिभीले बताएको छ ।

    “हालसम्म उद्धार गरिएका पाँच वटा गाडीभित्र ११ जनाको शव फेला परेको हो”,  प्रसारणकर्ताले बताएको छ ।

    राज्यको टिभीमा सार्वजनिक गरिएको तस्बिरहरूमा पुलको आंशिक भाग नदीमा डुबेको देखाइएको छ ।

    उत्तरी र मध्य चीनमा मङ्गलबारदेखीको निरन्तर वर्षाले यहाँको भूभाग बाढीपहिरोबाट प्रभावित भएको छ ।

    राज्य सञ्चालित सञ्चारमाध्यमले शुक्रबार सानक्सीको बाओजी सहरमा आएको बाढी पहिरोबाट कम्तिमा पाँच जनाको मृत्यु भएको र आठ जना बेपत्ता भएको जनाएको छ ।

  • पहिलो प्रेमको फेरि सम्झना आयो

    पहिलो प्रेमको फेरि सम्झना आयो

    सायद एक वर्षपछि नै होला, मैले उनीसँग सानो कुराकानी गरेको
    उनीसँग बोल्दा यो अनुहारमा एउटा रसिलो मुस्कानको झलक आयो
    मैले उनीसँग बोल्नु अघि नै, उनलाई परबाट हेर्दा त्यसको प्रेमिल नयनमा डुब्न मन लाग्यो, त्यसको कोमल कपाललाई चलाउन मन लाग्यो, त्यसको हात समाएर मिठो कुराकानी गर्न मन लाग्यो
    तर
    फेरि याद आयो
    हामी दुईटै जना त बिछोड भइसकेको छु है केही कारण ले गर्दा

    मलाई खुसी लाग्यो,
    उनको व्यवहार परिवर्तन भएपनि उनको अनुहारमा मुस्कान अहिले पनि त्यस्तै छिन्
    त्यही मुस्कानको कारणले गर्दा होला म अहिलेसम्म बाँचेको छु।

    तिमीलाई याद छ र माया,
    हामी त्यो पहाडको टुप्पोमा भेटेको दिन
    त्यो दिन पनि कति रमाइलो थियो है,
    टुप्पोमा तिमी र म मात्र थिए है एकलेे अनि हाम्रो लामो समय सम्म कुराकानी चलिरहेयो
    अनि बाहिर पनि सिमसिमे पानी परिरहेको थियो।
    त्यसपछि
    लामो समयपछि, हामी दुईटै जना आफ्नो रूम तिर प्रस्थान गरे
    तर मेलै आफ्नो छाता बिर्सेको थिए रूम मै
    अनि तिमीले मलाई भन्यो जाउँ म न हो एउटै छातामा केही हुदैन,
    त्यसपछि तिमीले छाता खोल्यो र छाताको ह्यान्डल आफैँ ले समायो अनि रुम तिर प्रस्थान गरे , तिम्रो आँखा सडकतिर थियो तर मेरो आँखा तिम्रो आँखा तिर थियो
    अनि सिमसिमे पानीको कारणले गर्दा होला
    मैले तिम्रो हात समाए
    अनि आफ्नो मनको भावना व्यक्त गरे दिए ।

    तिम्रो सम्झना यो मनमा सधैंभरि चलिरहेको नै हुन्छ माया।

    भाग्यमा तिमी छौ भने फेरि हामी भेट्नेछौं

    – रोहित कुमार शाह

  • बेपत्ताको खोजीका लागि भारतबाट उपकरणसहित १० जनाको टोली आउँदै

    बेपत्ताको खोजीका लागि भारतबाट उपकरणसहित १० जनाको टोली आउँदै

    काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन खण्डको सिमलतालस्थित त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा र यात्रुको खोजी आज पनि जारी रहेको छ ।

    आज भारतबाट विशेष उपकरणसहित १० जनाको टोली बस र यात्रुको खोजीका लागि दुर्घटना क्षेत्र सिमलताल आउने भएको छ ।

    गत असार २८ गते शुक्रबार बिहान सिमलतालमा पहिरोसँगै खसेका दुई बसमा ६५ यात्रु रहेकोमा तीनजनाले पौडिएर ज्यान जोगाएका थिए ।

    ६२ यात्रु बेपत्ता भएकोमा हालसम्म २३ जनाको शव फेला परेको छ । मृतकमध्ये १५ जनाको सनाखत भएको छ । आठ पुरुष र एक महिला गरी नौ शवको सनाखत हुन सकेको छैन ।

    शवहरु चितवनको गोलाघाट, सालबास र सिसवार, नवलपुरको गैँडाकोट, भुताहा, त्रिवेणी व्यारेज क्षेत्रलगायत घटनास्थलबाट तटीय क्षेत्रमा फेला परेका हुन् ।

    वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बागमति प्रदेश ०३–००६ ख १५१६ नम्बर र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४५९ नम्बरको बस लेदोसहितको पहिरोले बगाएर त्रिशूली नदीमा बेपत्ता भएको थियो ।

  • सडक भासिएपछि सिङ्गो बस्ती जोखिममा

    सडक भासिएपछि सिङ्गो बस्ती जोखिममा

    पर्वत । जिल्लाको मोदी गाउँपालिका–६ तिलाहारमा सडकसँगैको जमिन भासिँदा सिङ्गो बस्ती जोखिममा परेको छ । तिलाहारको नवजागृत माध्यमिक विद्यालय नजिक रहेको डिमुवा–राम्जा–चित्रे सडक भासिँदा सडकभन्दा तल रहेको बस्ती जोखिममा परेको हो ।

    गत असार ३० गतेको राति आएको अविरल वर्षाका कारण करिब ७० मिटर लामो सडक भासिनुका साथै वरपरका केही घर चर्किएका छन् । जमिन भासिएपछि स्थानीयले प्लाष्टिक ओढाएर भासिएको जमिनबाट तत्काल पानी बग्न रोके पनि जमिनको भासिनेक्रम नरोएिकको मोदी–६ का वडाध्यक्ष दिपेन्द्रजङ्ग लामिछानेले जानकारी दिए । उनका अनुसार जमिन भासिएपछि सडकको माथिपट्टि र तलपट्टि रहेका करिब ४० परिवार जोखिममा परेका छन् ।

    वडाध्यक्ष लामिछानेले डिमुवा बजारभन्दा माथि रहेका बस्ती र कुँवर टोल, फूलबारी र साउनेपानीका घर जोखिमा परेका जानकारी दिए । केही परिवारले घर छाडेर अन्यत्र बस्न थालिसकेका छन् । पहिरोलाई तत्काल रोकथाम नगर्ने हो भने ठूलो विपत्ति आउनसक्ने उनको भनाइ छ ।

    यसैबीच गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री राजीव गुरुङले जमिन भासिएको क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् । निरीक्षणपछि मन्त्री गुरुङले तत्काल पहिरो नियन्त्रण गर्न आवश्यक डिजाइनको खाँका तयार गर्न निर्देशन दिनुभएको मोदी गाउँपालिकाका उपाध्यक्ष विमल लामिछानेले जानकारी दिए ।

    पालिकाले अनुमानित लागत र डिजाइन तयार गरेपछि पहिरो नियन्त्रणका लागि प्रदेश सरकारले आवश्यक बजेट विनियोजन गर्ने मन्त्री गुरुङले आश्वासन दिएका छन् । बस्ती माथिकोे जमिन भासिएपछि सडकमा सवारी आगमनमा समस्या परेको र जमिन भासिएको स्थान नजिकका घर तत्काल स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको उपाध्यक्ष लामिछानेले बताए ।

    गाउँपालिकाले तत्काल रोकथामको प्रयास गरिरहेको जनाउँदै दीर्घकालीन रोकथामका लागि ठूलो बजेट आवश्यकपर्ने भएकाले प्रदेश र सङ्घ सरकारले पहिरो नियन्त्रणमा सहयोग गर्नुपर्नेमा उनले जोड दिए ।  सोही खण्डअन्तर्गत दराक र थामर्जुङ, पहरे, काउछे, भगरिका केही घर पहिरोको जोखिमा रहेका पालिका कार्यालयले जनाएको छ ।

    यस वर्षको मनसुन सक्रिय भएपछि मोदी गाउँपालिकाको वडा नं २ देउपुरको जरुवामा रहेको दलित बस्ती पूर्ण रुपमा बगरमा परिणत भएको छ । यहाँ बस्दै आएका १५ परिवार विस्थापित भएका छन् ।

  • बङ्गलादेशमा आरक्षण विरुद्धको प्रदर्शन हिंसात्मक बन्दै, १९ जनाको मृत्यु

    बङ्गलादेशमा आरक्षण विरुद्धको प्रदर्शन हिंसात्मक बन्दै, १९ जनाको मृत्यु

    काठमाडौँ । आरक्षणको विरोधमा उत्रिएका प्रदर्शनकारीले बङ्गलादेशको सरकारी टेलिभिजनमा आगजनी गरेका छन् । प्रदर्शनकारीले बिहीबार बङ्गलादेशको मुख्य सरकारी प्रसारक बिटिभीको मुख्यालयमा आगजनी गरेका हुन् ।

    आरक्षणविरुद्ध चलिरहेको आन्दोलनका क्रममा बङ्गलादेशका विभिन्न भागमा अहिलेसम्म कम्तीमा १९ जनाको मृत्यु भएको छ । सयौँ मानिस घाइते भएका छन् ।

    देशैभर आन्दोलन हिंसात्मक बन्दा धेरै ठाउँमा प्रदर्शनकारी र प्रहरीबिच झडप भएको बीबीसीले जनाएको छ ।

    आरक्षण विरोधी आन्दोलन चर्किएपछि बङ्गलादेशमा मोबाइल इन्टरनेट नेटवर्क बन्द गरिएको छ । प्रदर्शनकारीले सरकारी जागिरमा आरक्षण खारेज गर्नुपर्ने माग गरेका छन् ।

    गएको महिना रिट निवेदनका आधारमा उच्च अदालतले सन् २०१८ मा सरकारी जागिरमा आरक्षण खारेज गर्ने सरकारको सूचनालाई अवैधानिक घोषणा गरेको थियो । अदालतको यो फैसलापछि आरक्षण विरुद्धको आन्दोलन सुरु भएको हो ।

  • पहिरोले फक्ताङलुङ गाउँपालिका केन्द्रमा क्षति

    पहिरोले फक्ताङलुङ गाउँपालिका केन्द्रमा क्षति

    ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाको आवासीय क्षेत्रमा पहिराले क्षति भएको छ । गए राति वर्षासँगै खसेको पहिराले गाउँपालिकाको सभाकक्षसहित आवासीय क्षेत्रमा क्षति भएको हो ।

    अविरल वर्षासँगै राति २ बजे गएको पहिराले फक्ताङलुङ गाउँपालिका भवनसँगै रहेका घरमा क्षति भएको फक्ताङलुङका अध्यक्ष राजन लिम्बूले जानकारी दिए। गाउँपालिका कार्यालयसँगैको सुवास लिम्बूको घर तथा होटल पूर्ण रूपमा क्षति भएको छ । पार्किङ गरिएका गाउँपालिकाका गाडी र मोटरसाइकल पुरिएका गाउँपालिका अध्यक्ष लिम्बूले बताए ।

    अध्यक्ष लिम्बूले भने, “सामान्य पहिरो राति १२ बजेदेखि सुरु भए पनि ठूलो पहिरो राति २ बजे गएको थियो । पालिका केन्द्र आवासीय क्षेत्रका बासिन्दा समयमै सुरक्षित क्षेत्रमा जान सफल भएकाले मानवीय क्षतिबाट बच्न सकियो ।”

    बाढीले बिजुलीको पोल बगाएको, पशुचौपाया पहिरामा परेका तथा क्षतिको विवरण सङ्कलन हुन बाँकी रहेको तापेथोक प्रहरी चौकी प्रमुख सुरेश सिंजालीले बताए । उनले भने, “हाम्रो चौकी उच्च जोखिममा छ । पहिरो खस्न थाल्यो, नजिकबाट बग्ने तमोरमा पानीको तह बढ्दै गएकाले बाढी र पहिराको जोखिम तापेथोक छ ।”

  • मलाई डरलाग्छ

    मलाई डरलाग्छ

    १२ बज्यो । अब त निधाइसक्नु पर्ने। कोशिश गर्छु, निद्रा नै लाग्दैन । मन स्थिर छैन। शरीरमा छ्ट्पटाहट बेग्लै।

    आजको दिन लामो थियोे। बिहान छतमा बसेर एकोहोरो एउटा परेवालाई नियाल्दै थिए। परेवा एक्कासी त्यो उडिरहेको ठुलो झुन्डमा गएर मिसियो । कुनचाहिं थियोे, औल्याउँनै सकिन।
    म डरपोक । मलाई डर लाग्छ। कतै त्यो परेवा हराएजस्तै यि मान्छेहरुको  भिडमा म हराउने त होईन?

    दिँउसो कक्षामा सरले कक्षाकार्य गर्न दिनु भयो। सबै साथीहरु को उत्तर आइसक्यो। म भने अलमलिरहे।
    म डरपोक । मलाई डर लाग्छ। कतै यो प्रतिस्पर्धि भागदौड मा म पछि पर्ने त होइन?

    १ बजिसकेछ। निद्राको अत्तोपत्तो छैन। गर्मि बढेको महसुस भयो। पंखा चलाउन मन थियोे । तर बिहानदेखि रुघाखोकीले हैरान त्यो साथी अझ बिरामी पर्ने हो कि भनेर डर लाग्छ। शित्तल ताप्न बाहिर निस्किन्छु, अँध्यारो देखेर डर लाग्छ। बिहान समयमा नउठुला भन्ने डर छुट्टै।
    साँझपल्ट सुर्यास्त हेर्दै थिए । प्राय मान्छेहरू सुर्यास्तमा रमाउछ्न, आनन्दित हुन्छन ।
    तर म ? म त डरपोक । मलाई डर लाग्यो। कतै आफ्ना भनेर साँचिएका ती प्रियजनहरु म बाट टाडिदा त्यो सुर्यास्त पछीको आकाश जस्तै एक्लो, चिसो , अँध्यारो अनि बेरङ भइने त होइन?

    २ बज्यो । सकि नसकि निधाए। सपना पनि डरलाग्दो।
    त्यो दिन अनि रात डराएरै बित्यो।

    म प्राय डराउछु।
    मलाई डर लाग्छ।
    शत्रुहरु संग डरलाग्छ।
    आफ्ना भन्नेहरु संग डर लाग्छ।
    आफैं संग डर लाग्छ।

    मलाई भिड देखेर डर लाग्छ ।
    एक्लोपन संग डरलाग्छ ।

    मलाई वचन दिन डरलाग्छ।
    दिएका बिश्वास तोड्ने पो हुनकि? डरलाग्छ।
    मलाई आशा मा डरलाग्छ।
    मलाई निराशा मा डरलाग्छ।

    मलाई टाडिन डरलाग्छ।
    मलाई नजिकिन डरलाग्छ।
    संगै हुदा डर लाग्छ।

    धेरैजसो भविष्यको चिन्ताले डराउन दिन्छ।
    कहिलेकाँही अतितको सम्झनाले डराउन दिन्छ।

    म सफल हुन्छ हुदिन, डरलाग्छ।
    असल छु छैन, डरलाग्छ।
    दुखपर्दा आत्तिन्छु कि ?  डरलाग्छ।
    सुखपर्दा मात्तिन्छु कि ? डरलाग्छ।

    मलाई देश देखेर डर लाग्छ ।
    राजनिति देखेर डर लाग्छ ।
    धनाड्य हरुको हर्सोहुलास देखेर डरलाग्छ ।
    गरिब हरुको दुख देखेर डरलाग्छ ।

    मलाई सत्य बोल्न डरलाग्छ ।
    नसुन्दिने पो हुन कि ? डरलाग्छ ।
    मलाई प्रश्न गर्न डरलाग्छ ।
    झुटो बोल्दिने पो हुन कि ? डरलाग्छ ।

    मलाई परिवर्तनशिलतामा डरलाग्छ ।
    स्थिरतामा डरलाग्छ ।
    मलाई मौनता देखि देखि डरलाग्छ ।
    शब्दहरुको भार देखि डरलाग्छ ।

    म प्राय डराउछु ।
    मलाई डरलाग्छ ।

    – अमृत न्यौपाने

  • केपी ओली आज प्रधानमन्त्री नियुक्त हुँदै

    केपी ओली आज प्रधानमन्त्री नियुक्त हुँदै

    काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्री नियुक्त हुँदैछन् ।

    उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले आज नयाँ प्रधानमन्त्री नियुक्त गर्न लागेका हुन् ।

    प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत नपाएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि शुक्रबार नै दलहरूलाई आह्वान गरेका थिए । ओलीले सोही दिन कांग्रेसको समर्थनमा १६६ सांसदसहित दाबी पेस गरेका थिए ।

    दाबी पेस गर्ने समय आज साँझ ५ बजेसम्म छ । त्यसपछि राष्ट्रपतिले ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नेछन् । शपथ भने सोमबारका लागि तय भएको छ ।

    यसपटक ओली चौथो पटक प्रधानमन्त्री नियुक्त हुन लागेका हुन् । उनले संविधानको धारा ७६ (२) अनुसार गठन हुने सरकारको नेतृत्व गर्दैछन् ।