Category: अपराध

अपराध

  • त्रिभुवन विमानस्थलबाट छ किलो कोकिनसहित विदेशी नागरिक पक्राउ

    त्रिभुवन विमानस्थलबाट छ किलो कोकिनसहित विदेशी नागरिक पक्राउ

    काठमाडौं । प्रहरीले छ किलो २४ ग्राम अवैध लागूऔषध कोकिनसहित एकजना विदेशी नागरिकलाई पक्राउ गरेको छ । 

    कतार एयरवेजको उडानद्वारा नेपाल आएका लाटभियाका नागरिक इभ्रस भलटेर्सलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको आगमन कक्षबाट लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

    सुटकेसभित्र लुकाई–छिपाई राखेको उक्त परिणामको कोकिनसहित लाटभियाका नागरिकलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। बुधबार पक्राउ परेका निजमाथि लागूऔषध मुद्दामा जिल्ला अदालत काठमाडौँबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको उनले बताए ।

    यसैबीच, प्रहरीले काठमाडौँको गोङ्गबुँस्थित नयाँ बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन १५ ग्राम पाँच सय मिलिग्राम, नगद ४० हजार र तीन थान मोबाइलसहित दुई जनालाई पक्राउ गरेको छ । 

    सप्तरी राजविराज नगरपालिका–९ घर भएका २४ वर्षीय पवनकुमार मेहता र उदयपुर त्रियुगा नगरपालिका–७ घर भएका २७ वर्षीय अनिल परियार पक्राउ परेका प्रहरीले जनाएको छ । 

    काठमाडौँको नरेफाँटबाट अवैध लागूऔषध खैरो हेरोइन छ सय ४० मिलिग्राम र मोबाइल दुई थानसहित दुईजना पक्राउ परेका छन् । 

    सोही ठाउँ डेरा गरी बस्ने सिराहा गोलबजार नगरपालिका–६ घर भएका ३३ वर्षीय धर्मेन्द्र सिंह र सिराहा मिर्चैया नगरपालिका–५ घर भएका ३३ वर्षीय अनिल साहलाई निजहरूको डेराबाट लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

  • लालीगुराँस बहुउद्देश्यीय सहकारीका सञ्चालक पक्राउ

    लालीगुराँस बहुउद्देश्यीय सहकारीका सञ्चालक पक्राउ

    काठमाडौं । ललितपुर पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक सुरेन्द्र भण्डारी पक्राउ परेका छन्।

    नेपाली कांग्रेसका केन्द्रीय सहकारी विभागका प्रमुख समेत रहेका भण्डारीमाथि बचतकर्ताको ६ अर्ब रुपैयाँ बचतबाट निजी कम्पनीमा लगानी गर्नुका साथै राजनीतिक दलका नेताका आफन्तलाई ऋण दिई दुरुपयोग गरेको आरोप लागेको छ ।

    सहकारी विभागले गरेको स्वतन्त्र अनुगमनमा जनताको बचत दुरुपयोग गरी सञ्चालकहरूको नाममा खुलेका विभिन्न निजी कम्पनीमा लगानी गरेको र निक्षेप फिर्ता नगरेको पाइएपछि सहकारीलाई समस्याग्रस्त घोषणा गरिएको थियो ।

    उनलाई उपत्यका अपराध महाशाखाको टोलीले शुक्रबार राति बालुवाटारबाट पक्राउ गरेको हो ।

  • सुनसहित पक्राउ परेका चिनियाँ नागरिकसँग नेपाली नागरिकता

    सुनसहित पक्राउ परेका चिनियाँ नागरिकसँग नेपाली नागरिकता

    काठमाडौं । आफूलाई चिनियाँ नागरिक बताउने  ३७ वर्षीय शेरब ग्याल्मो सुनसहित पक्राउ परेका छन्। आफूलाई चिनियाँ नागरिक बताउने  ग्याल्मो भन्ने सोनाम गुरूङको साथबाट प्रहरीले नेपाली नागरिकता फेला समेत पारेको जानकारी दिएको हो ।

    उनको साथबाट सोनाम गुरूङको नाममा रहेको नेपाली नागरिकताको प्रमाण पत्र एक थान बरामद भएको नेपालको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिएका छन् ।

    आफूलाई चिनियाँ नागरिक बताउने गुरूङले अवैधरूपमा सुन तस्करी गर्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ६० किलो अवैध सुनको थप अनुसन्धान गर्ने क्रममा गुरूङ पक्राउ परेको सीआईबीले जनाएको छ ।

    सोमबार बिहान सीआईबीको टोलीले ६ किलो सु्नसहित गुरूङलाई बौद्धको तिनचुलीबाट  नियन्त्रणमा लिएको हो। उनको साथबाट ९९९.९ किलो सुन ६ थान, ४८ लाख नेपाली रुपैयाँ र ३ थान मोबाइल बरामद भएको  छ।

    गुरूङ अवैध सुन भन्सार चोरी पैठारी गर्दै आएको खुलेको प्रहरीले जनाएको छ। बरामद सुन र गुरूङ बारे सीआइबीले थप अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले जानकारी दिएको छ ।

  • विदेश पठाइदिने भन्दै ३०० जनालाई ठगी गर्ने समूह पक्राउ

    विदेश पठाइदिने भन्दै ३०० जनालाई ठगी गर्ने समूह पक्राउ

    काठमाडौं । रोजगारीका लागि कम्बोडिया, न्युजिल्यान्ड, फ्रान्सलगायत देश पठाइदिने भन्दै ३०० जनाभन्दा बढीलाई ठगी गरेको आरोपमा ३ जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा चितवनका २८ वर्षीय राजकुमार भट्ट, कास्कीका नवीन विक र पवन पन्त छन् ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार यो समूहले फेसबुक म्यासेन्जर, ह्वाट्सएपलगायत सामाजिक सञ्जालमा फेक आइडी बनाएर आकर्षक तलब भत्ता पाउने गरी रोजगारीका लागि कम्बोडिया, न्युजिल्यान्ड, फ्रान्सलगायत देश पठाउने विज्ञापन गरेका थिए ।

    त्यसका आधारमा सम्पर्कमा आएकाहरुलाई बैंक खातामा निश्चित रकम जम्मा गर्न लगाउने गरको थिए । त्यसपछि भिसा, वर्क परमिट, होटल बुकिङ, पोलिस रिपोर्टलगायतका नक्कली कागजात तयार पारेर ५ देखि १० लाख रुपैयाँसम्म उठाउने र सम्पर्कबिहीन हुन गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

    यो समूहले ३०० भन्दा बढीबाट १५ करोडभन्दा बढी रकम ठगी गरेको प्रहरीको आशंका छ ।

  • अवैध लागूऔषधसहित चितवन र मोरङबाट तीन जना पक्राउ

    अवैध लागूऔषधसहित चितवन र मोरङबाट तीन जना पक्राउ

    चितवन । चितवनको ईच्छाकामना गाउँपालिका-६ बाट अवैध लागूऔषध गाँजा २ किलो ९ सय २६ ग्रामसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा ईच्छाकामना गाउँपालिका-६ पाँचकिलो बस्ने ४४ वर्षीया डल्ली गुरूङ र ५० वर्षीया रूक कुमारी क्षेत्री रहेका छन् । 

    इलाका प्रहरी कार्यालय मुग्लिङबाट खटिएको प्रहरीले उनीहरूको घर तलासी गर्ने क्रममा डल्लीलाई २ किलो ७ सय ग्राम र रूकलाई २ सय २६ ग्राम गाँजासहित पक्राउ गरेको हो । 

    त्यस्तै मोरङको विराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय ६० मिलिग्रामसहित सुनसरी इटहरी उपमहानगरपालिका-५ बस्ने ४९ वर्षीय अमर श्रेष्ठलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

    इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । 

  • पशुपतिनाथको भेटी चोरेको आरोपमा आठ जना पक्राउ

    पशुपतिनाथको भेटी चोरेको आरोपमा आठ जना पक्राउ

    काठमाडौं । भगवान् पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी गर्ने व्यक्ति पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा पशुपति क्षेत्र विकास कोषका कर्मचारीसहित आठ जना रहेका कोषका प्रवक्ता रेवतीरमण अधिकारीले  जानकारी दिए ।

    उनले भने, “पशुपतिनाथ मन्दिरमा चढाइएको भेटी चोरी गर्दै गर्दा (सिसि क्यामेरामा हेर्दा) कोषका कर्मचारीसहित आठ जनालाई पक्राउ गरी छानबिनका लागि अहिले प्रहरी वृत्त गौशाला पठाइएको छ ।”

    पशुपतिमा बाजा बजोउने कर्मचारी रहेको र पक्राउ परेका उनीहरूले कोषकै केही पदाधिकारीले भेटी चोरी गर्न लगाएको बयान दिएको प्रवक्ता अधिकारीले बताए ।

  • नक्कली डाक्टर पक्राउ

    नक्कली डाक्टर पक्राउ

    डोटी । जिल्ला प्रहरी कार्यालय डोटीले नक्कली डाक्टरलाई पक्राउ गरेको छ । प्रहरीले डोटीको राजपुरमा स्वास्थ्य शिविर सञ्चालन गरी ठगी गरेको आरोपमा एक जना नक्कली डाक्टरसहित दुई जनालाई पक्राउ गरेको हो ।

    प्रहरीका अनुसार नक्कली डाक्टर महाकाली नगरपालिका–४ दाका ४४ वर्षीय भूपेन्द्रबहादुर क्षेत्री र उनका सहयोगी भीमदत्त नगरपालिका–१८ का ४६ वर्षीय पुष्कर गुनीयाललाई पक्राउ गरिएको हो । उनीहरूको कागजपत्र हेर्दा शङ्का लागेपछि नेपाल मेडिकल काउन्सिल काठमाडौँ पठाउँदा डाक्टर भनिएका भूपेन्द्रबहादुर क्षेत्रीको प्रमाणपत्र दर्ता नभएको पाइएपछि बुधबार दुवै जनाविरुद्ध इजलाजसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको  छ ।

    प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले दुवै जनाविरुद्ध मुद्दा दर्ता भई जिल्ला अदालत डोटीबाट पाँच दिनको म्याद थप भई अनुसन्धान भइरहेको जानकारी दिए । अभियुक्तहरूले दिपायल सिलगढी नगरपालिका–४ मा शिविर सञ्चालन गरेर ठगी गरेका थिए ।

  • बलात्कार मुद्दामा गायक रवि ओड प्रहरी नियन्त्रणमा

    बलात्कार मुद्दामा गायक रवि ओड प्रहरी नियन्त्रणमा

    काठमाडौं । नेपाल आइडल विजेता गायक रवि ओड प्रहरी नियन्त्रणमा रहेका छन्। वैवाहिक बलात्कारसम्बन्धी मुद्दामा पक्राउ पूर्जी जारी भएका ओडले बिहीबार प्रहरी समक्ष आत्मसर्मपण गरेका हुन्।

    यही चैत २० गते रविकी श्रीमतीले कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमा उजुरी दिएकी थिइन्। कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ओड बिहीबार प्रहरी कार्यालय झलारीमा आफैं उपस्थित भएको जिल्ला प्रहरी कार्यालयले कञ्चनपुरका प्रवक्ता, डिएसपी उमेश जोशीले जानकारी दिएका छन्।

    डिएसपी जोशीका अनुसार रविलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ। ‘ बिहीबार रवि आफैं इप्रका झलारीमा हाजिर हुनुभएको हो। त्यहाँ पाँच दिनको म्याद थपेर हिरासतमा राखेर अनुसन्धान हुन्छ। अनुसन्धानपछि अदालतमा पेश गर्छौं,’डिएसपी जोशीले देशसञ्चारसँग भने।

    सांगीतिक कार्यक्रमको सिलसिलामा देश बाहिर रहेका ओडले नेपाल आएपछि प्रहरी समक्ष आत्मसर्मपण गरेका हुन्। उनको नाममा चैत २० गते श्रीमतीले उजुरी दिएसँगै अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो।

  • रुपन्देहीमा अनलाइन सट्टेबाजी खेलाउने १३ भारतीय पक्राउ

    रुपन्देहीमा अनलाइन सट्टेबाजी खेलाउने १३ भारतीय पक्राउ

    रुपन्देही । रुपन्देहीमा अनलाइन गेम खेलाएर सट्टेबाजी गर्ने १३ जना भारतीय नागरिक पक्राउ परेका छन् ।

    बुटवल उपमहनगरपालिका- ९ को कालिकानगरमा घर भाडामा लिएर अनलाइन गेम खेलाउने र सट्टेबाजी गराउनेलाई बुटवल प्रहरीले पक्राउ गरेको हो ।

    पक्राउ परेका युवाहरूले फ्ल्याट भाडामा लिएर अवैध गतिविधि गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुटवल र वडा प्रहरी कार्यालय रामनगरको टोलीले छापा मारेको थियो ।

    प्रहरीले १३ जना भारतीय नागरिक र उनीहरूले प्रयोग गर्ने मोबाइललगायतका सामान नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख विजयराज पण्डितले १३ जना भारतीय पक्राउ गरेको र उनीहरूको बारेमा अनुसन्धान भैरहेको जानकारी दिए ।

    -पत्रपत्रिका बाट

  • महोत्तरीबाट करिब ५० किलो गाँजा बरामद

    महोत्तरीबाट करिब ५० किलो गाँजा बरामद

    महोत्तरी । औरही नगरपालिका-८ टिमकियाबाट अवैध लागूऔषध गाँजा करिब ५० किलो सोमबार बिहान प्रहरीले बरामद गरेको छ ।

    इलाका प्रहरी कार्यालय बर्दिबास समेतबाट खटिएको प्रहरीले एमएच् ४३ एबि ०५६६ नम्बरको कारलाई जाँच गर्ने क्रममा कार नरोकी औरहीतर्फ भागे पश्चात् प्रहरीले पिछा गर्दै जाँदा टिमकियास्थित बाटोमा कार फेला पारी तलासी गर्दा डिक्की र पछाडिको सिट मुनी रहेको उक्त गाँजा फेला पारी बरामद गरेको हो ।

    प्रहरीले हाल फरार कार चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।