Category: अर्थ

अर्थ

  • ४० मेगावाट विद्युत् खरिद–बिक्री सम्झौता गर्न बंगलादेशले बोलायो

    ४० मेगावाट विद्युत् खरिद–बिक्री सम्झौता गर्न बंगलादेशले बोलायो

    काठमाडौं । बंगलादेश पावर डेभलप्मेन्ट बोर्ड (बिपिडिबी)ले नेपालमा उत्पादित ४० मेगावाट विद्युत् खरिद–बिक्रीका लागि सम्झौता गर्न नेपाल विद्युत विद्युत प्राधिकरणलाई पत्राचार गरेको छ ।
    बिपिडिबीले वर्षायामको ६ महिना ४० मेगावाट विद्युत् बिक्रीका लागि प्राधिकरणले पेश गरेको बोलपत्र सम्बन्धित निकायबाट स्वीकृत भएको जानकारी गराउँदै विद्युत बिक्री सम्झौताका लागि सोमबार पत्राचार गरेको हो ।

    कानुनमा भएको व्यवस्था बमोजिम बिपिडिबी १६ पुस २०८०मा  नेपालबाट उत्पादित ४० मेगावाट विद्युत् बङ्गलादेश, भारत र नेपालका निकायहरुबीचको त्रिपक्षीय सम्झौताअनुसार हुनेगरी पाँच वर्षसम्म खरिदका लागि बोलपत्र (टेण्डर) आह्वान गरेको थियो ।

    प्राधिकरणले विद्युत् बिक्रीका लागि तोकिएको ढाँचामा बिक्री गरिने विद्युत्को दरसहितको बोलपत्र सम्बन्धी कागजात पेस गरेको थियो । पेस गरिएका बोलपत्र सम्बन्धी कागजात मूल्याङ्कन गरी त्यसलाई सम्बन्धित निकायबाट स्वीकृत भएको जानकारी दिँदै बिपिडिबीले बोलपत्र स्वीकार गर्ने आशयको सूचना प्राधिकरणलाई दिएको हो ।

    प्राधिकरणले ७ कार्य दिनभित्र बोलपत्र स्वीकार गरेको लिखित सूचना बिपिडिबीलाई दिनु पर्नेछ । त्यसपछि  बिपिडिबीले विद्युत् बिक्री सम्झौताको मस्यौदा प्राधिकरणलाई उपलब्ध गराउने छ । मस्यौदा प्राप्त भएको २८ दिनभित्र सम्झौता गर्नु पर्नेछ । प्राधिकरण, एनटिपिसी विद्युत् व्यापार निगम(एनभिभिएन), भारत र बिपिडिबीबीच त्रिपक्षीय सम्झौता हुनेछ ।

    प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बाँकी रहेका सम्पूर्ण प्रक्रिया पूरा गरी यही वर्षायामबाट बङ्गलादेश विद्युत् निर्यात गर्ने गरी काम सुरु गरिसकिएको बताए ।  ‘त्रिपक्षीय विद्युत् बिक्री सम्झौताको मस्यौदामा तीनै निकाय सहमत भइसकेकाकाले छिट्टै सम्झौता हुनेछ, त्यसपछि बङ्गलादेश विद्युत् निर्यात स्वीकृतिका लागि आयोजनाहरुको सूची भारतको केन्द्रीय विद्युत् प्राधिकरणमा पठाउँछौं, नयाँ आयोजना पठाउँदा स्वीकृतिका लागि समय लाग्ने हुँदा यसअघि नै भारतमा विद्युत् निर्यात स्वीकृति पाइसकेका आयोजनाहरुबाट उत्पादित विद्युत् बङ्गलादेश निर्यात गर्ने गरी प्रस्ताव स्वीकृतिका लागि पठाउनेछौँ ।’

    प्राधिकरणले भारतीय अनुदानमा निर्माण भएको तथा आफ्नो स्वामित्वमा रहेको २५ मेगावाटको त्रिशूली र सहायक कम्पनीमार्फत निर्माण गरिएको २२ मेगावाटको चिलेमे जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत् बङ्गलादेश निर्यात गर्ने तयारी गरेको छ । यी दुवै भारतमा विद्युत् निर्यातका लागि स्वीकृति पाइसकेका आयोजनाहरु हुन् ।

    प्राधिकरणले वर्षायामको ६ महिना अर्थात हरेक वर्षको १५ जुन–१५ नोभेम्बरसम्म पाँच वर्ष ४० मेगावाट विद्युत् अमेरिकी डलरमा बंगलादेशलाई बिक्री गर्नेछ । प्राधिकरणले बङ्गलादेश विद्युत् बिक्री गरी प्रति युनिट ६.४० अमेरिकी सेन्ट पाउने छ ।

    नेपाल र भारतबीचको पहिलो अन्तर्देशीय ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै बङ्गलादेश निर्यात हुने विद्युत्को मूल्य प्राधिकरणले भारतरको मुजफ्फरपुर विन्दुमा पाउने छ । अर्थात बङ्गलादेश निर्यात हुने विद्युत्को मिटर मुजफ्फरपुरमा रहने छ । ढल्केबरबाट मुजफ्फरपुरसम्मको प्रसारण लाइनको प्राविधिक चुहावट प्राधिकरणले नै बेहोर्नेछ । मुजफ्फरपुरबाट भारतको प्रसारण लाइनमार्फत बहरामपुर (भारत)–भेरमारा (बङ्गलादेश) ४०० केभी प्रसारण लाइन हुँदै बङ्गलादेश विद्युत् पुग्नेछ ।

    प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मुजफ्फरपुर विन्दुपछिको प्रसारण लाइन शुल्क, चुहावट, एनभिभिएनले लिने ट्रेडिङ मार्जिनलगायतका सम्पूर्ण कर तथा शुल्कहरू बंगलादेशले नै बेहोर्ने बताए ।

  • नारायणगढ बुटवल सडक विस्तारको काम ठप्प, एक वर्ष म्याद थपका लागि निवेदन

    नारायणगढ बुटवल सडक विस्तारको काम ठप्प, एक वर्ष म्याद थपका लागि निवेदन

    नवलपुर । निरन्तर परेको वर्षाको कारण नारायणगढ बुटवल सडक खण्ड विस्तारको काम ठप्प भएको छ । नारायणगढ बुटवल सडक विस्तार योजना पूर्वी खण्डका योजना प्रमुख आशिष थापा मगरकाअनुसार अहिले सडक विस्तारको काम भन्दा पनि यातायात सहज रुपमा सञ्चालन गराउनका लागि पहल भइरहेको बताए ।

    ‘पानीमा सडक विस्तारको काम गर्न सकिने अवस्था नभएपछि अहिले यातायात सहज बनाउनेतर्फ हामीले ध्यान दिएका छौँ,’ उनले भने, ‘निर्माण कम्पनीले आफ्नो जनशक्ति र उपकरण सडक अवरुद्ध भएको ठाउँमा यातायात सहज बनाउन लगाएको छ ।’ सडकमा भएका खाल्डाखुल्डी पुर्ने, पानीले बाटो चिप्लो भएको ठाउँमा गिटी राख्ने, पहिरो हटाउनेलगायतको काममा निर्माण व्यवसायीलाई खटाइएको उनले बताए ।

    ‘यसवर्षको मनसुन सुरु भएपछि एक हप्ता अगाडिदेखि नै निर्माण कम्पनीले आफ्नो स्रोतहरु घटाउँदै लगेको थियो,’ उनले भने, ‘पानी परेपछि सडक विस्तारको काम गर्न नमिल्ने भएकाले काम बन्द गरिएको हो ।’ साढे तीन वर्षमा निर्माण सम्पन्न गर्नेगरी विसं २०७५ माघमा सडक बिस्तारको लागि सम्झौता भएर काम सुरु गरिएको सडकको भौतिक प्रगति हालसम्म ५२ प्रतिशतमात्रै देखिएको योजना प्रमुख मगरले बताए । नारायणगढ बुटवल सडकको ११४ किलोमिटरमध्ये पूर्वी खण्डमा ६५ किलोमिटर सडक पर्दछ ।

    समयमै सडक विस्तारको काम नसकेको निर्माण कम्पनी चाइना स्टेट इन्जिनीयरिङ कर्पोरेसन लिमिटेडले दोस्रो पटक पाएको म्याद थपको अवधि यही साउन ८ गते सकिँदैछ । म्याद सकिन लागेपछि निर्माण कम्पनीले अझ एक वर्ष म्याद थपका लागि निवेदन दिएको मगरले बताए। ‘निर्माण कम्पनीले विभिन्न कारणहरु देखाउँदै म्याद थपका लागि निवेदन दिएको छ,’ उनले भने, ‘काम सुरु गर्ने बेलामा फैलिएको कोभिड प्रकोप, ढिला गरि दिइएको रुख काट्ने स्वीकृति, बिजुलीको पोल सार्न भएको ढिलाइसहित पुरानै कारण देखाएर म्याद थपका लागि निवेदन दिएको छ ।’

    निर्माण कम्पनीले दिएको निवेदनको आधारमा कति दिन म्याद थप गर्दा उचित हुन्छ भन्ने विषयमा आफूहरु छलफलमा नै रहेको मगरले बताए । ‘कति दिन म्याद थप गर्ने भन्ने विषयमा कन्सल्टेन्ट र हामी मिलेर छलफल गरिरहेका छौँ,’ उनले भने, ‘हामीले यहाँबाट सिफारिस गरेपछि म्याद थपका लागि मन्त्रालयमा फाइल पठाउँछौँ ।’ म्याद थपको स्वीकृति साउन ८ भन्दा अगाडि नै आउने भए पनि कति दिन थप हुन्छ भनेर भन्न सक्ने अवस्था नभएको थापाले बताए ।

  • पेट्रोलियम पदार्थको मूल्य वृद्धि

    पेट्रोलियम पदार्थको मूल्य वृद्धि

    काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । इन्डियन आयल कर्पोरेसनबाट आइतबार प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल र डिजेलमा मूल्य बढेर आएको भन्दै निगमले मूल्य बढाएको हो ।

    आइतबार बसेको निगम सञ्चालक समितिको बैठकले सोमबार बिहानदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो । निगमले पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाएको हो ।

    मूल्य बढेसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६४.५० रुपैयाँ र डिजेलको मूल्य १५४.५० रुपैयाँ कायम भएको छ । यस्तै दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १६६ र डिजेलको मूल्य १५६ रुपैयाँ कायम भएको छ । यस्तै तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १६७ र डिजेलको मूल्य १५७ रुपैयाँ कायम भएको छ ।

    हवाई इन्धन र खाना पकाउन प्रयोग हुने एलपी ग्यासको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ ।

  • लुम्बिनी प्रदेशको बजेट बहुमतले पारित

    लुम्बिनी प्रदेशको बजेट बहुमतले पारित

    काठमाण्डाै – लुम्बिनी प्रदेशको आउँदाे आर्थिक वर्ष ०८१/८२ को बजेट बहुमतले पारित भएको छ । प्रदेश सभाको आजको बैठकले आउँदाे आर्थिक वर्षको बजेट पारित गरेको हो ।

    प्रदेश सभामा आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । याे प्रस्ताव बहुमतले पारित भएको सभामुख तुलाराम घर्तीले घोषणा गर्नुभयो ।

    प्रदेश सभामा यही असार १ गते आर्थिक मामिलामन्त्री आचार्यले आर्थिक वर्ष २०८१/८२ का लागि ३८ अर्ब ९७ करोड रुपैयाँको बजेट पेस गर्नुभएको थियो ।

     

  • तीन महिनाअघिदेखि बन्द हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुन : उत्पादन सुरु

    तीन महिनाअघिदेखि बन्द हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुन : उत्पादन सुरु

    मकवानपुर । करिब तीन महिनाअघिदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनःउत्पादन सुरु गरेको छ । उद्योगको आगो बाल्ने भट्टीका साथै केही उपकरण मर्मतसम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि उत्पादन बन्द गरिएको थियो ।

    उक्त उद्योगबाट अवकाश पाएका कर्मचारीले आफूले पाउने उपदान र औषधि उपचार खर्चको एकमुष्ठ रकम भुक्तानी नगरेको भन्दै कर्मचारीले लामो समयसम्म हड्ताल जारी राखेकाले सिमेन्टको उत्पादन सञ्चालन गर्न नसकिएको उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले जानकारी दिए । अहिले निवृत्त भएका कर्मचारीले हड्ताल स्थगित गरेपछि आजदेखि नियमित उत्पादन र प्याकिङ गर्ने काम सञ्चालन भएको उनको भनाइ छ ।

    उद्योगमा अहिले पटकपटक गरी करिब चार हजार पाँच सय मेट्रि«कटन कोइला बोलपत्रद्वारा आह्वान गरी आपूूर्ति गरिरहेकाले अब नियमित उत्पादन भइरहने सिमेन्ट उद्योगका महाप्रबन्धक वसन्तकुमार पाण्डेले राससलाई जानकारी दिए । उनका अनुसार केही महिनाअघि आर्थिक सङ्कटले कोइला खरिद गर्न कठिनाइ हुँदा पटकपटक उत्पादनमा रोक लगाउनुपरेको थियो ।

    स्थापनाकालदेखि केही वर्षअघिसम्म उक्त उद्योगमा कार्यरत विभिन्न तहका २९ जना कर्मचारीले अवकाश पाएपछि निजहरुले नियमअनुसार पाउनुपर्ने उपदान, औषधि उपचार खर्चसमेत गरी करिब रु १७ करोड पाँच लाख रकम दिनुपर्नेमा आर्थिक सङ्कटले भुक्तानी दिनुपर्ने रकम नभएकाले समस्या आएको उद्योगका लेखा प्रमुख हरेराम कोइरालाले बताए ।

    उद्योगका महाप्रबन्धक पाण्डेले रासससँग आज सङ्क्षिप्त कुराकानी गर्दै उद्योगलाई अब नयाँ प्रक्रियाबाट सञ्चालनमा ल्याई सिमेन्ट उत्पादन नियमित गर्ने योजना बनाइएको बताए । “अवकाश लिएका कर्मचारीलाई दिनुपर्ने रकम हाल उद्योगमा मौज्दात नरहेकाले नवनियुक्त अध्यक्षलगायत पदाधिकार र प्रतिनिधिसभाका सदस्यद्वय दिपकबहादुर सिंह र महेशकुमार बर्तौलासहितको प्रतिनिधिमण्डलले प्रधानमन्त्री, अर्थमन्त्री र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीलाई भेटी उद्योगमा आइपरेको आर्थिक सङ्कटबारे जानकारी गराएका छौँ”, उनले भने, “सरोकार भएका निकायको पहलमा समस्या समाधान गर्नेछौँ ।”

    उद्योग मन्त्रालयले सरकारकोतर्प बाट सिमेन्ट उद्योगलाई उपलब्ध गराइदिने रकमका लागि आवश्यकीय कागजपत्र अर्थमन्त्रालयमा पठाइसकेको जनाउँदै महाप्रबन्धक पाण्डेले केही हप्ताभित्रै अनुदान रकम प्राप्त हुने भएकाले अवकाश प्राप्त कर्मचारीलाई दिइने बताए ।

    तत्कालीन श्री ५ को सरकारले विसं २०३३ मा हेटौँडाको लामसुरेमा हेटौंडा सिमेन्ट उद्योगको स्थापना गरेको थियो । तत्कालीन समयमा उद्योग निर्माणका लागि रु एक अर्ब ५० करोड रकम सरकारले उपलब्ध गराएको थियो ।

    विसं २०४३ मङ्सिर २६ गतेदेखि व्यावसायिकरुपमा सिमेन्टको उत्पादन गरी काठमाडौँलगायत विभिन्न सहरमा आपूर्ति गर्दै आएको उद्योग प्रशासनले जनाएको छ । उद्योगको साविक सिमेन्ट उत्पादन गर्ने क्षमता दैनिक १८ हजार बोरा भए पनि अहिले १० हजार बोरा मात्र उत्पादन भइरहेको छ । उद्योगमा अहिले प्रशासन, लेखा, प्रविधिक, चुनढुङ्गाखानी एवं कामदार मजदुर गरी करिब दुई सयले प्रत्यक्ष रोजगार पाइरहेका छन् ।

    उद्योगमा अहिले पटकपटक गरी एक लाख ५० हजार बोरा सिमेन्ट मौज्दात रहेको उद्योगको व्यवस्थापनले जनाएको छ । रासस

  • १ हजार ९०० रुपैयाँ बढ्यो सुनको मूल्य, चाँदीको पनि बढ्यो

    १ हजार ९०० रुपैयाँ बढ्यो सुनको मूल्य, चाँदीको पनि बढ्यो

    काठमाडौँ । यससाता सुनको मूल्य तोलामा १ हजार ९०० रुपैयाँ बढेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार (असार २) तोलामा १ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य कारोबारको अन्तिम दिन असार ७ गते १ लाख ४४ हजार ७०० रुपैयाँ कायम भयो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार जेठ ३२ मा सुनको मूल्य तोलामा १ लाख ४१ हजार २०० रुपैयाँ कायम भएकोमा त्यसपछिको साताको पहिलो कारोबार आइतबार १ लाख ४२ हजार ८०० रुपैयाँ कायम भयो ।  यस्तै त्यसको भोलिपल्ट असार ३ अर्थात सोमबार घटेर १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार हुँदा मंगलबार र बुधबार पनि सोही मूल्य कायम भयो ।

    बिहीबार भने सुनको मूल्य सामान्य वृद्धि हुँदै १ लाख ४२ हजार ८०० रुपैयाँ कायम हुन पुग्यो भने त्यसको भोलिपल्ट अर्थात कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य बढ्दै १ लाख ४४ हजार ७०० रुपैयाँ कायम भयो । समग्रमा एक सातामा असार २ देखि ७ गतेसम्मको अवधिमा सुनको मूल्य १ हजार ९०० रुपैयाँ बढेको तथ्यांकले देखाउँछ ।

    यस्तै चाँदीको मूल्य पनि एक सातामा प्रतितोला ४५ रुपैयाँ बढेको देखिन्छ । जसअनुसार असार २ गते १ हजार ८२० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी ३ गते १८००, ४ गते १८१५, ५ गते १८०५ र ६ गते १८४० रुपैयाँमा कारोबार भयो । यस्तै साताको कारोबारको अन्तिम दिन शुक्रबार १८६५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

    पछिल्लो समय सुनको मूल्य तीव्र रुपमा वृद्धि हुँदै आएको छ।  सरकारले भन्सार दरमा गरेको वृद्धिका साथसाथै अन्तर्राष्ट्रिय बजारमै भएको मूल्यवृद्धिका कारण स्थानीय बजारमा सुन सुनको भाउ महँगिँदै गएको हो।

  • पेट्रोलियम पदार्थको मूल्य घट्यो

    पेट्रोलियम पदार्थको मूल्य घट्यो

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

    शनिबार मध्यरातिबाट लागू हुने गरी निगमले पेट्रोलमा ३ र डिजेल तथा मट्टीतेलमा एक रुपैयाँ घटनाएको जनाएको छ ।

    इन्डियन आयल कर्पोरेसनबाट जुन १५ अर्थात असार १५ गते प्राप्त नयाँ खरिद मूल्यअनुसार निगमको सञ्चालक समितिको बैठकले असार २ गते बिहान १ बजेदेखि लागू हुनेगरी मूल्य घटाएको आयल निगमले जनाएको छ ।

  • लुम्बिनी प्रदेशको बजेट ३८ अर्ब ९७ करोड

    लुम्बिनी प्रदेशको बजेट ३८ अर्ब ९७ करोड

    बुटवल । लुम्बिनी सरकारले आगामी आर्थिक वर्षका लागि ३८ अर्ब ९७ करोड रुपैयाँको बजेट ल्याएको छ । प्रदेशका अर्थमन्त्री चेतनारायण शर्माले आगामी आर्थिक वर्ष २०८१–८२ का लागि उक्त बजेट प्रस्तुत गरेका हुन् ।

    उनले कूल विनियोजनमध्ये चालूतर्फ ११ अर्ब २४ करोड २७ लाख रुपैयाँ र पूँजीगतर्फ २४ अर्ब ५८ करोड रुपैयाँ विनियोजन गरेका छ । यस्तै वित्तीय हस्तान्तरणका लागि ३ अर्ब १४ करोड रुपैयाँ विनियोजन गरेका छन् ।

    आगामी वर्षमा अनुमान गरिएको खर्च बेहोर्ने स्रोत आन्तरिक राजश्वमार्फत ७ अर्ब ५१ करोड र सङ्घबाट प्राप्त हुने राजश्वमार्फत १२ अर्ब १ करोड र सङ्घबाट प्राप्त हुने रोयल्टी ५० करोड र स्थानीय तहबाट प्राप्त हुने राजश्व २ अर्ब ९२ करोड हुने अनुमान अर्थमन्त्री आचार्यको छ ।

  • गण्डकीमा आयो ३२ अर्ब ९७ करोडको बजेट

    गण्डकीमा आयो ३२ अर्ब ९७ करोडको बजेट

    पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१-८२ को लागि ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। शनिबार प्रदेश सभाको बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री डा. टकराज गुरुङले सो बराबरको बजेट प्रस्तुत गरे । त्यसमध्ये पूँजीगततर्फ १९ अर्ब ५१ करोड ७९ लाख ९३ हजार र चालूतर्फ १३ अर्ब १६ करोड ५ लाख ८२ हजार रुपैयाँ विनियोजन गरिएको छ।

    वित्तीय व्यवस्थाका लागि यो वर्ष ३ करोड छुट्याइएको छ । आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्वबाट ५ अर्ब १७ करोड रुपैयाँ, चालू आवको खर्च नभई बाँकी रहन जाने अनुमानित २ अर्ब ९४ करोड रुपैयाँ, संघीय सरकारबाट राजस्व बाँडफाँड बापत प्राप्त ९ अर्ब ६१ करोड १२ लाख रुपैयाँ, रोयल्टी बाँडफाँटबाट ४८ करोड १० लाख रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ।

    त्यसैगरी बजेटमा वित्तीय समानीकरण अनुदानबाट प्राप्त ७ अर्ब ६३ करोड ८८ लाख रुपैयाँ र सशर्त अनुदानबाट ३ अर्ब १० करोड ११ लाख रुपैयाँ तथा नेपाल सरकारबाट प्राप्त हुने समपूरक अनुदान बापत १ अर्ब १९ करोड रुपैयाँ र विशेष अनुदान बापत ६५करोड ५५ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

    दिगो र उत्थानशील पूर्वाधार निर्माण, आय उत्पादन र रोजगारीमा वृद्धि, सामाजिक विकास र समतामूलक समाजको स्थापना, सर्वसुलभ स्वास्थ्य र गुणस्तरीय शिक्षा, सन्तुलित क्षेत्रगत विकास र सुशासन प्रवर्द्धन, गुणस्तरीय सेवाप्रवाहलगायत बजेटले प्राथमिकता दिएको छ ।

    साथै खेल क्षेत्रलाई प्राथमिकता दिँदै उचाइमा खेल, खेलमा उचाइ कार्यक्रम संचालन गर्ने भएको छ । उच्च उचाइमा खेल तालिम केन्द्रको पूर्वाधार निर्माण गर्ने कार्य आगामी आवमा सुरुआत गरी उच्च उचाइको खेलका लागि उचाइमा खेल, खेलमा उचाइ कार्यक्रमका लागि आवश्यक व्यवस्था मिलाएको अर्थमन्त्रीले उल्लेख गरे ।

    प्रदेश सरकारले खेलाडीको सम्मानमा समेत बजेट विनियोजन गरेको र प्रदेशका ख्यातिप्राप्त खेलाडीको सम्मान कार्यक्रम संचालनका लागि आवश्यक बजेट व्यवस्था मिलाइएको अर्थमन्त्री गुरुङले बताए ।

  • नेपालमै उत्पादन भएको हुन्डाइ भेन्युको बिक्री सुरू

    नेपालमै उत्पादन भएको हुन्डाइ भेन्युको बिक्री सुरू

    काठमाडौँ । नेपालका लागि हुन्डाइ मोटर कम्पनीको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो भगिनी संस्था लक्ष्मी मोटर कर्पोरेसनबाट नेपालमा नै हुन्डाइ भेन्युको व्यवसायिक उत्पादन गरी बिक्री वितरण सुरू गरेको छ।

    लक्ष्मी मोटर कर्पोरेसन, नेपालमा लक्ष्मी ग्रुपको लगानी तथा हुन्डाइ मोटर कम्पनीसँगको प्राविधिक सहकार्यमा स्थापना भएको हो।

    लक्ष्मी मोटर कर्पोरेसनले पहिलो पटक नेपालमा हुन्डाइ भेन्यु मोडल उत्पादन गर्ने र यसको बनावट, गुणस्तर, पर्फमेन्स लगायतका गुणहरू हुन्डाइ मोटर कम्पनी कोरिया वा भारतमा बन्ने सोही मोडलका गाडीहरू सरह कै हुने कम्पनीले दाबी गरेको छ।

    स्वदेशमा नै उत्पादन गरी देशको औद्योगिकरण, आयात प्रतिस्थापन, रोजगारी सृजना, आन्तरिक राजस्वमा वृद्धि, सीप तथा प्रविधि विकास, सहायक उद्योगको स्थापना, आन्तरिक स्रोत तथा विद्युतको खपत, कुल ग्राहर्स्थ उत्पादनमा योगदानका साथ साथै उपभोक्तालाई सहुलियत मूल्यमा सवारी साधन उपलब्ध गराउने उद्देश्य रहेको कम्पनीले जानकारी गराएको छ।

    प्रथम चरणमा हुन्डाइ भेन्युका दुई भेरियन्ट उत्पादन गर्ने र क्रमशः केही समयभित्र नै थप अरू भेरियन्टहरूको उत्पादन पनि बढाउँदै जाने कम्पनीको योजना रहेको र यसै आर्थिक वर्षभित्र हुन्डाइ ग्रान्ड आइ१० एनआइओएसका साथै अल–न्यू हुन्डाइ क्रेटाको उत्पादन पनि सुरू हुने जनाएको छ।

    हाल बिक्री सुरू भएको हुन्डाइ भेन्युको मूल्य यस्तो छ:

      मोडेल          क्षमता इन्धन मूल्य
    १. भेन्यु एफएल १.२ एस   ११९७ सिसी पेट्रोल ४४ लाख ९६ हजार रूपैयाँ
    २. भेन्यु  एफएल १.२ एसएक्स ११९७ सिसी पेट्रोल ५३ लाख ५६ हजार रूपैयाँ