Category: अर्थ

अर्थ

  • नेप्से ४.५९ अंकले घट्यो, कारोबार ५ अर्ब माथि

    नेप्से ४.५९ अंकले घट्यो, कारोबार ५ अर्ब माथि

    काठमाडौं । आज साताको पहिलो नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आइतबार ४.५९ अंकले घटेको छ । आज बजार बन्द हुँदा नेप्से ०.२२ प्रतिशतले घटेर २०७३.१९ विन्दु कायम भएको छ ।

    आइतबार ५ अर्ब १८ करोड ९० लाख ७९ हजार रुपैयाँ बराबरको १ अर्ब ४ लाख ५२ हजार १२८ कित्ता शेयर ६९ हजार २१९ पटक किनबेच भएको छ ।

    आइतबार ३१३ कम्पनीको शेयर कारोबार हुँदा ९७ कम्पनीको शेयर मूल्य बढेको छ भने १४७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

    आइतबार सेन्सेटिभ इन्डेक्स २.१५ अंकले, फ्लोट इन्डेक्स ०.४८ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.८४ अंकले घटेको छ ।

    १३ वटा समूहमध्ये ५ समूहको शेयर मूल्य बढेको छ भने ७ समूहको शेयर मूल्य घटेको छ । आज सबैभन्दा बढी होटल एण्ड टुरिजम समूहको १५५.०९ अंकले बढेको छ भने सबैभन्दा बढी जीवन बीमा ६९.६६ अंकले घटेको छ ।

    आज इमर्जिङ नेपाल, शुभम पावर, सिटि होटल, कुथेली बुखारी साना हाईड्रोपार, भगवती जलविद्युत विकास र सामलिग पावर कम्पनीको शेयरमा १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

  • उखुको जुस बेचेर मनग्य आम्दानी

    उखुको जुस बेचेर मनग्य आम्दानी

    कैलाली । धनगढी उपमहानगरपालिका– ३ की पुजा शर्माले धनगढीको सहिद गेट नजिकै उखु जुसको व्यवसाय गर्दै आएका छन् । उनले जुस बिक्री गरेर जीविकोपार्जन गरिरहेका छन् । 

    शर्माले थोरै लगानीमा भए पनि स्वरोजगार बन्नुपर्छ भन्ने मनसायबाट प्रेरित भई उखु जुसको व्यवसाय सुरु गरेको बताए ।

    ‘पहिले अर्काको पसलमा काम गर्थे । अर्काको काम गर्दा जानीनजानी कहिलेकाहीँ गल्ती भयो भने अनावश्यक कुरा सुन्नु पर्दथ्यो । आजभोलि आफैँले व्यवसाय सञ्चालन गरेपछि कमाएको जति खर्च गरेर बचत पनि हुन्छ’, उनले भने। 

    धनगढीस्थित स्थानीय बजारबाट ६० हजारमा उखु पेल्ने मेसिन खरिद गरी व्यवसाय सुरु गरेकी भन्दै शर्माले मासिक ७० हजार बराबरको उखु जुसको कारोबार हुने गरेको बताए। उनीका अनुसार बालबच्चाको लालनपालन, शिक्षा र घरपरिवारको सम्पूर्ण खर्च कटाएर ३५ हजार जति बचत हुने गरेको छ । उखु जुस प्रतिगिलास ३० मा बिक्री गर्दै आएको उनले बताए ।

    धनगढीको जुगेडाबाट प्रतिक्विन्टल रु एक हजार पाँच सयमा उखु खरिद गरेर शर्माले जुस व्यवसाय गर्दै आएका हुन् । केही दिनदेखि अत्यधिक गर्मी बढेसँगै जुसको व्यवसाय पनि राम्रो हुँदै आएको उनको भनाइ छ ।

    लामो समयदेखि उखु जुस व्यवसाय सञ्चालन गरी जीवन निर्वाह गर्दै आएका छोटु गुप्ताले पनि यही व्यवसायबाट जीविकोपार्जन भइरहेको बताए। कैलाली र कञ्चनपुरको सीमास्थित डोके बजार नजिकै व्यवसाय सञ्चालन गर्दै आएका उनले मासिक एक लाख बराबरको कोरोबार हुने गरेको जानकारी दिए।  

    करोबारको पचास प्रतिशत जति फाइदा हुने गरेको गुप्ताको भनाइ छ । उनले धनगढीका तीन स्थानमा उखु जुस पेल्ने मेसिन राखेर व्यवसाय गर्दै आएका छन् । 

    उखु जुसको व्यवसायले जीविकोपार्जनका साथै आम्दानीको स्रोत बन्दै गएको अर्का व्यवसायी अमरबहादुर चौधरीले बताए। उनले जाडो याममा ज्याला मजदुरी गर्ने र गर्मीमा प्रत्येक वर्ष जुसको व्यवसाय गर्दै आएको बताए । मासिक रुपमा रु ९० हजार जति कारोबार हुने गरेको भन्दै सबै खर्च कटाएर रु ३५ हजार फाइदा हुने उनको भनाइ छ ।

    थोरै लगानीमा राम्रो आम्दानी हुन थालेपछि पछिल्लो समय यो व्यवसायप्रति धेरैको आकर्षण बढ्दै गएको छ । धनगढीमा हिजोआज अत्यधिक गर्मी बढेसँगै चिसो पेय पदार्थको व्यापार बढेको स्थानीय व्यापारीको भनाइ छ । धनगढी बजारलगायत आसपासका क्षेत्रमा झण्डै एक सय उखुको जुस बिक्री गर्ने व्यवसायी छन् । 

  • आज कतिमा कारोबार हुँदैछ सुन चाँदी ?

    आज कतिमा कारोबार हुँदैछ सुन चाँदी ?

    काठमाडौँ । आइतबार सुन र चाँदीको मूल्य उच्च बिन्दूमा स्थिर छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आजका लागि छापावाल सुनको मूल्य एक लाख एक लाख ३६ हजार ९ सय, तेजाबी सुनको मूल्य एक लाख ३६ हजार २५० र चाँदीको मूल्य एक हजार ८५५ रुपैयाँ तोकिएको छ । सो मूल्य गत शुक्रबारको मूल्य बराबरको हो ।

    त्यस अघिको बिहीबार एक लाख ३८ हजार ७ सय रुपैयाँमा छापावाल सुन र एक हजार ८६५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

  • आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयरमा सर्किट

    आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयरमा सर्किट

    काठमाडौँ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयरमा सकारात्मक सर्किट लागेको छ ।

    यसको सेयर मूल्य १० प्रतिशतले बढेर २ हजार ४ सय ६.८० रुपैयाँ पुगेको छ ।

    यता नेरुडे मिरमिरे लघुवित्त र सामुदायिक लघुवित्तको मूल्य पनि सर्किट लेभलमा बढेको छ ।

    मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा पछिको कारोबारमा बजार बढेको छ । यो समाचार तयार पार्दासमम बजार ३६.१३ अंकले बढेर २०५४.८९ विन्दुमा अडिएको छ ।

  • सेयर बजारमा झिनो अङ्कको वृद्धि

    सेयर बजारमा झिनो अङ्कको वृद्धि

    काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक शून्य दशमलव ७९ अङ्कले उकालो लागेर दुई हजार १८ दशमलव ७६ मा पुगेको छ ।

    ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शुन्यदशमलव २७ अङ्कले उकालो लागेर तीन सय ५८ दशमलव ३७ मा पुगेको छ । कूल ८२ लाख ८२ हजार पाँच सय ५६ कित्ता शेयर रु चार अर्ब २३ करोड ३८ लाख १६ हजार चार सय तीन मूल्य बराबर कारोबार भएको छ ।

    हिमालयन लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त, सिर्जनशील लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लागेको छ । स्वाभिमान लघुवित्त नौ दशमलव ९४, सिइडिबी हाइड्रोपावरका लगानीकर्ताले नौ दशमलव ६१ प्रतिशतले कमाएका छन् ।

    यस्तै माण्डु हाइड्रोपावर पाँच दशमलव ७६, पिपल्स पावर पाँच दशमलव २६, नेपाल फाइनान्स चार दशमलव १२, एभरेष्ट बैंक तीन दशमलव ९४ र लक्ष्मी उन्नति कोषका लगानीकर्ताले तीन दशमलव ९२ प्रतिशतले गुमाएका छन् ।

     

  • बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

    बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

    काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ३७ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एक हजार रुपैयाँले बढ्दै १ लाख ३८ हजार ४ सय रुपैयाँ पुगेको हो ।

    यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा एक हजार रुपैयाँले नै बढ्दै १ लाख ३७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    यता चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले मात्रै बढ्दै १ हजार ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ७ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

  • तीन सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

    तीन सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

    काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन आइतबार प्रतितोला रु एक लाख ३८ हजार चार सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३८ हजार एक सय निर्धारण भएको छ ।

    यस्तै, तेजाबी सुन आइतबार रु एक लाख ३७ हजार सात सय ५० मा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३७ हजार चार सय ५० निर्धारण भएको छ ।

    यसैगरी, चाँदीको मूल्य तोलामा रु १० ले ओरालो लागेको छ । आइतबार प्रतितोला रु एक हजार सात सय २५ मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार सात सय १५ निर्धारण भएको छ ।

  • सेयर बजारमा सामान्य वृद्धि, साढे २ अर्बको कारोबार

    सेयर बजारमा सामान्य वृद्धि, साढे २ अर्बको कारोबार

    काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सामान्य अंकको वृद्धि भएको छ । कारोबार खुलेदेखि उतारचढाव भएको नेप्से परिसूचक अन्तिम समयमा बढेर बन्द भएको हो ।

    बुधबार परिसूचक ०.१५ अंकले बढेर बन्द भएको छ । सामान्य अंकको वृद्धिसँगै नेप्से परिसूचक १९६९ अंकमा पुगेर रोकिएको छ । यसक्रममा बुधबार ११३ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ११७ कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै १५ वटा कम्पनीको मूल्य स्थिर कायम भएको छ ।

    बुधबार नेप्सेमा २ अर्ब ५३ करोड रुपैयाँ बराबरको ७२ लाख ८४ हजार कित्ता सेयर किनबेच भएको छ । परिसूचकमा सामान्य वृद्धि आएपनि २ कम्पनीको सेयर मूल्य बढेको छ । पोखरा फाइनान्स र गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

    दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा माइखोला हाइड्रोपावरको सेयर मूल्य भने ७.८४ प्रतिशतले घटेको छ । यसक्रममा बुधबार कारोबारमा आएका १३ वटा समूहमध्ये ३ समूहको सूचक बढेको छ । बाँकी सबै समूहको सूचकमा गिरावट आएको छ ।

  • नेप्से १२ अंकले बढ्यो

    नेप्से १२ अंकले बढ्यो

    काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से सूचकमा दोहोरो अंकले वृद्धि हुँदै सुखद सुरुवात भएको छ ।

    अघिल्लो साता चार दिन खुलेको बजारमा चारै दिन नेप्से सूचक ऋणात्मक हुँदै १९९२ अंकमा झरेको थियो । तर, आइतबार खुलेको बजारमा नेप्से सूचक १२.२९ अंकले बढ्दै १९८४.४३ अंकमा उक्लिएको हो ।

    आइतबार बैंकिङ र म्युचुअल फण्ड बाहेक ११ वटा उपसूचक धनात्मक भएका छन् । म्यानु एण्ड प्रो समूहको उपसूचक १.९० प्रतिशतले बढेको छ भने हाइड्रोपावर समूहको उपसूचक १.१५ प्रतिशतले र डेभलपमेन्ट बैंक समूहको उपसूचक १.०८ प्रतिशतले बढेको छ । अरू समूहको उपसूचक १ प्रतिशत कमले बढेको छ भने आइतबार बैंकिङ समूहको उपसूचक र म्युचुअल फण्डको उपसूचक भने क्रमशः ०.३४ प्रतिशतले र ०.४३ प्रतिशतले घट्न पुगेको छ ।

    आइतबार कारोबार भएका २४५ कम्पनीहरू मध्ये १७६ कम्पनीको मूल्य बढेको छ भने ६३ कम्पनीको मूल्य घटेको छ । यता ६ वटा कम्पनीको मूल्य भने स्थिर रहेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

    १२ अंकमाथिले नेप्से सूचक बढेको यस दिन २ अर्ब २५ करोड ९९ लाख रुपैयाँ बराबरको ६३ लाख ९३ हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको छ ।

  • सुनकोशी सुरुङ खन्न एक सय १० मिटर बाँकी

    सुनकोशी सुरुङ खन्न एक सय १० मिटर बाँकी

    काठमाडौं। राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोशी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजनाको सुरुङ खन्ने काम अब एक सय १० मिटर मात्रै बाँकी रहेको छ ।

    तराई–मधेसका विभिन्न जिल्लामा १२ महिना नै सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यका साथ सुरु गरिएको निर्माण प्रक्रियामा उल्लेख्य सफलता हासिल भएको छ ।

    कुनै भौगोलिक जटिलता उत्पन्न नभएका खण्डमा यही वैशाख २६ गते विशेष समारोहको आयोजना गरी सुरुङ ब्रेक थ्रु गर्ने अन्तिम तयारी गरिएको आयोजनाले जनाएको छ ।

    सुनकोशी मरिण डाइभर्सन आयोजनाका प्रमुख मित्र बरालका अनुसार कूल १३ दशमलव तीन किलोमिटर लामो सुरुङमध्ये हालसम्म १३ दशमलव एक सय ९० किलोमिटर सुरुङ निर्माण सम्पन्न भएको छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैशाख २६ गते सुरुङको ब्रेक थ्रु गर्नेछन् । त्यसका लागि तयारी भइरहेको छ । ‘प्रधानमन्त्रीको समय मिलाइसकिएको छ र अन्य आवश्यक तयारी पनि भइरहेको छ’, आयोजना प्रमुख मित्र बरालले भने ।

    सुरुङ निर्माणका क्रममा सामान्य भौगोलिक जटिलता उत्पन्न भए पनि त्यसलाई समाधान गरेर अगाडि बढिएको जानकारी दिँदै आयोजना प्रमुख बरालले भने, ‘ग्राउटिङलगायतका विधि प्रयोग गरेर समस्याको समाधान गरिएको छ, सुरुङ निर्माण निरन्तररुपमा अगाडि बढिरहेको छ ।’

    सुरुङ निर्माणमा अटोमेटिक टनेल बोरिङ मेसिन (टिबिएम) प्रयोग गरिएको छ । भेरी बबई डाइभर्सन आयोजनापछि सुनकोशी मरिणमा पनि टिबिएम मेसिन प्रयोग गरिएको हो ।

    उपकरणको प्रयोग गरी सुरुङ निर्माण गर्दा त्यसले सकारात्मक प्रभाव पारेको छ । अन्य आयोजनाको पनि त्यस्तै उपकरणको प्रयोग गर्न सकारात्मक वातावरण बनेको बताइएको छ ।

    ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आयोजना प्रमुखलगायतका अधिकारीलाई आयोजना स्थल नछाड्न, स्थानीयस्तरमा नै समस्या समाधान गर्न तथा आयोजनाको काममा कुनै पनि गत्यावरोध आउन नदिन नियमित निर्देशन दिएका छन् । सुरुङ निर्माणसँगै बाँध निर्माणको कामलाई समेत गति दिइएको छ ।

    निर्माण व्यवसायी परिचालनमा विशेष ध्यान दिन तथा आवश्यक सहजीकरण गरी हरेक १५ दिनमा जलस्रोत तथा सिँचाइ विभाग र हरेक एक महिनामा आयोजनाको समग्र प्रगति विवरण प्रस्तुत गर्न मन्त्रालयले यसअघि नै निर्देशन दिएको थियो ।

    प्रधानमन्त्री दाहालले नियमितरुपमा आयोजनाका सन्दर्भमा चासो राख्दै आएकाले पनि काम गर्न सहज भएको आयोजनाले जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेको ‘एक्सन रुम’बाट आयोजनाको नियमित अनुगमन भइराखेको छ ।

    आयोजना प्रमुख बरालका अनुसार २०७९ साल असोज २८ गतेदेखि निर्माण सुरु गरिएको सो आयोजनामा कूल १३ दशमलव तीन किलोमिटर लामो सुरुङ निर्माण हुनेछ । नेपालका विद्युत् तथा अन्य सिँचाइका आयोजनामा सुरुङ निर्माण भए पनि सो आयोजनामा टनेल बोरिङ मेसिन (टिबिएम) प्रयोग गरेर खनिएको भने दोस्रो पटक हो ।यसअघि भेरी–

    बबई डाइभर्सन आयोजनामा पनि टिबिएमको प्रयोग गरिएको थियो । पहाडी भूभाग बढी भएको नेपालमा सुरुङ खन्न अब टिबिएम प्रभावकारी उपकरणका रुपमा स्थापित भएको छ ।

    सुनकोशी नदीको पानी मरिण खोलामा झारेर विद्युत् उत्पादन गर्ने र तराईका एक लाख २२ हजार हेक्टरमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्यका साथ सुरु गरिएको सो आयोजनाको सुरुङ निर्माणमा अपेक्षितभन्दा बढी प्रगति भए पनि अन्य काममा भने सोहीअनुसार भएको छैन ।

    बाँध तथा विद्युत् गृह निर्माणमा संलग्न निर्माण व्यवसायीले तोकिएअनुसार काम गर्न सकेका छैनन् । निर्माण व्यवसायीले काम गरिरहेको भए पनि बाँध निर्माणमा अपेक्षित प्रगति भएको छैन । विद्युत् गृह र प्रसारण लाइन निर्माणका लागि आवश्यक तयारी भइरहेको छ । प्रसारण लाइनका लागि वातावरणीय प्रभाव मूल्याङ्कन सम्पन्न भइसकेको छ ।

    सुनकोशी मरिण डाइभर्सन आयोजनाबाट हाल सञ्चालनमा रहेको बिपी राजमार्गको केही भाग प्रभावित हुनेछ । हाल सञ्चालनमा रहेको राजमार्गलाई नौ सय मिटर डाइभर्सन गर्नुपर्ने हुन्छ । बाँध तथा विद्युत् गृह निर्माणका लागि भारतीय कम्पनी पटेल इञ्जिनियरिङ र नेपाली कम्पनी रमण कन्स्ट्रक्सनको संयुक्त उपक्रमले ठेक्का पाएको छ ।

    आगामी बर्खााअघिसम्म बाँध निर्माणलाई एउटा स्तरमा पुर्‍याउने लक्ष्य राखिएको छ । वैशाखपछि नदीमा जलसतह बढ्ने भएकाले काम गर्न समस्या हुनेछ । यस्तै विद्युत् गृह निर्माण हुने स्थानमा मुआब्जा वितरण सम्पन्न भइसकेको छ । सो आयोजनाबाट तराई–मधेसका कूल एक लाख २२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको छ । राष्ट्रिय गौरवका आयोजना भएकाले स्रोतको कुनै अभाव नहुने प्रधानमन्त्री र ऊर्जामन्त्रीको प्रतिबद्धता भएकाले आफूहरुलाई काम गर्न सहज भएको आयोजना प्रमुख बरालको टिप्पणी छ ।

    यसअघि सुरुङ निर्माणमा भौगर्भिकरुपमा रहेको जटिलताका कारण पटकपटक समस्या देखिएको थियो । सुनकोशी गाउँपालिका–७ कानढुङ्गीस्थित सिन्धुली र रामेछापको सिमाना भएर बग्ने सुनकोशी नदीलाई मरिण खोलामा पथान्तरण गरिनेछ ।

    सुनकोशीको करिब ६७ क्युसेक पानीलाई सुरुङमार्फत सिन्धुलीको कमलामाई नगरपालिका–२ कुसुमटारस्थित मरिण खोलामा खसालिनेछ । त्यसपछि वाग्मती सिँचाइ आयोजनाको पूर्वाधार प्रयोग गरेर धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराको करिब एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ गर्ने लक्ष्य राखिएको छ । त्यस्तै सो आयोजनाबाट ३१ मेगावाट बिजुली उत्पादन हुनेछ ।

    आयोजनाको सुरुङ निर्माण चिनियाँ कम्पनी चाइना ओभरसिज इञ्जिनियरिङले गरिरहेको छ । बाँध र विद्युत् गृह निर्माणमा केही ढिलाइ भए पनि तोकिएको समयभित्रै पूरा गर्ने निर्माण व्यवसायीको भनाइ छ । विसं २०८४ को असोजमा सो आयोजना पूर्णरुपमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

    भेरी बबई डाइभर्सन आयोजनामा सुरुङ निर्माण सम्पन्न भएको लामो समय भए पनि बाँध र विद्युत् गृह निर्माणले गति नलिँदा देखिएको व्यवधान सुनकोशी मरिणमा आउन नदिन सरकार उत्तिकै चनाखो देखिएको छ ।

    सो आयोजना सम्पन्न भएपछि अन्न भण्डारका रुपमा रहेको मध्य तराईका पाँच जिल्लामा वर्षभरि नै सिँचाइ सुविधा उपलब्ध हुनेछ । त्यसले खाद्य उपज उत्पादनमा गुणात्मक परिवर्तन आउनेछ । सो आयोजनामा प्रयोग भएको टिबिएम उपकरण प्रयोग गरी फुर्कोट–फूलबारी सुरुङ निर्माण गर्ने प्रारम्भिक तयारी गरिएको छ । टिबिएमलाई केही परिवर्तन गरी सडक पूर्वाधारमा प्रयोग हुने सुरुङ निर्माण गर्न सकिने बताइन्छ ।