Category: राजनीति

राजनीति

  • नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनुस् : मेयर शाह

    नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनुस् : मेयर शाह

    काठमाण्डौ  । काठमाण्डौ महानगरपालिकाको नगरसभा बैठक असार १० गतेसम्मका लागि स्थगित भएको छ । आर्थिक वर्ष २०८१/८२ का लागि गएको जेठ ३२ गते प्रस्तुत भएको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्न आज बोलाइएको नगरसभा बैठकमा एमाले र कांग्रेसका जनप्रतिनिधिले बहिस्कार गरेपछि बैठक स्थगित भएको हो ।

    मेयर बालेन शाहले वार्षिक नीति तथा कार्यक्रममाथि बोल्न चाहने सदस्यलाई ५ मिनेटभित्र नाम टिपाउन समय दिएका थीए  । तर एमाले र कांग्रेसका जनप्रतिनिधिले बैठक बहिस्कार गरेपछि स्थगित भएको हो ।

    मेयर शाहले नगरसभा स्थगित भएपछि केही जनप्रतिनिधिका कारण एक सय ६० जना जनप्रतिनिधिको बोल्ने अधिकार हनन भएको टिप्पणी गरेका छन  । उनले महानगरको कुनै पनि नीति, योजनाबारेमा छलफल बन्द कोठामा नहुने र जे हुन्छ, त्यो हरेक नागरिकले जान्न र देख्न सक्ने गरी हुने बताए  ।

    मेयर शाहले महानगरपालिकाको नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउन पनि जनप्रतिनिधिलाई आग्रह गरेका छन ।

     

  • प्रधानमन्त्री दाहाललाई के का लागि प्रधानमन्त्री भएको भन्ने नै थाहा छैन : गगन थापा

    प्रधानमन्त्री दाहाललाई के का लागि प्रधानमन्त्री भएको भन्ने नै थाहा छैन : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमाले सरकारमा भएर पनि नभएको जस्तो व्यवहार देखाएको टिप्पणी गरेका छन् ।

    शनिबार नेपाली काँग्रेस नागार्जुन नगर कार्यसमितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले एमालेले मन्त्रिपरिषदमा जुनियर मन्त्री पठाउनुका साथै सरकारको कामको पनि जिम्मा नलिएको बताए ।

    उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई आफू प्रधानमन्त्री हुनुको कारण नै थाहा नभएको बताए । प्रधानमन्त्री दाहाललाई प्रधानमन्त्री के का लागि भएको र प्रधानमन्त्री भएर के गर्ने भन्ने पनि थाहा नभएको उनको भनाइ थियो ।

    उनले देशको राष्ट्रिय अर्थतन्त्रको अवस्था बेहाल भएको भन्दै अर्थतन्त्र बिग्रनुको जिम्मेवारी प्रधानमन्त्रीले नलिएको बताए । विगतको सरकारको अर्थतन्त्र पनि राम्रो नभएको भन्दै उनले त्यतिबेला पनि प्रधानमन्त्रीले कांग्रेसलाई दोष लगाएको बताए ।

  • रास्वपाले नेतृत्व गरेका मन्त्रालय बेथितिमुक्त रहेको गृहमन्त्रीको दाबी

    रास्वपाले नेतृत्व गरेका मन्त्रालय बेथितिमुक्त रहेको गृहमन्त्रीको दाबी

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीले नेतृत्व गरेको चार मन्त्रालय बेतिथिमुक्त रहेको दाबी गरेका छन् ।

    आज रास्वपाको दोस्रो स्थापना वर्षका अवसरमा आयोजित समारोहमा उनले रास्वपाको नेतृत्व गरेपछि बेअर्थमा बजेट फाल्ने र मान्छे पाल्ने काम बन्द गरेको दाबी गर्दै केही खराब नगरीकन उनले सरकारमा बस्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले भने, ‘हामी सहभागी भएको चार मन्त्रालयमा हामी नगएको भए अरु कोही गएर बेतिथि फैलाउने काम गर्ने थियो होला, कम्तीमा हामीले त्यो चार मन्त्रालयमा भएपनि बेतिथि रोक्ने काम त गर्यौं । हाम्रो नेतृत्व पश्चात् बेअर्थमा बजेट फाल्ने र मान्छे पाल्ने काम हामीले बन्द गरेका छौं, यो गर्व गर्ने विषय हो । नेपाली जनतालाई लुट्ने काम पनि रोकिएको छ । केही खराब नगरीकन हामी सरकारमा छौं ।’

    सय दिन सरकारमा बसेर एउटा आधार तयार गरेका भन्दै आधारको जगमा टेकेर आगामी दिनहरूमा असल कार्यहरूलाई निरन्तरता दिने कोसिस गर्ने उनको भनाई छ । उनले सरुवा बढुवाको काम वैज्ञानिक तरिकाले नै भएको भन्दै त्यसपछि आउने पुस्ताको प्रहरी र संगठनले कुनै नेताको हात होइन, भ्रष्टाचारी समाउने बताए ।

    उनले भने, ‘गृह मन्त्रालयमा एक रुपैयाँ पनि कसैले सोच्ने अवसर दिएको छैन । हरेक मान्छेलाई वैज्ञानिक तरिकाले सारिएको छ । संगठनको इज्जत राख्ने तरिकाले काम भएको छ । सरुवा बढुवालाई अटोमेशनमा लिएर जानको लागि समिति बनेको छ । अब त्यो समितिले दिएको प्रतिवेदनको आधारमा काम हुनेछ र प्रहरीलाई देशको प्रहरी बनाउने छौं । अब आउने पुस्ताको प्रहरीले हामीले सुधार गर्दै लगेको संगठनले कुनै नेताको हात होइन, भ्रष्टाचारी समाउने छ ।’ उनले एउटा चुनाव, कार्यकाल र पदका लागि होइन, लामो यात्राको लागि जोडिएको भन्दै विचलित नभई अगाडि बढ्नु पर्ने पनि बताए ।

    यस्तै  लामिछानेले मन्त्री बन्नका लागि सरकारमा नगएको चर्चा गरे । ‘हामी धेरै तामझामममा विश्वास गर्दैनौं, हामी आम जनताबाट निस्किएका मान्छे हौं । हामी कुनै अर्को ग्रहबाट आएका होइनौं, हामी तपाईंहरुकै बीचमा नै छौं र कुनैपनि बेला हामी त्यही ठाउँमा पुग्न पनि सक्छौं । मन्त्रीको पद कुनै ठूलो कुरा होइन । हामी एउटा उद्देश्य बोकेर गएका छौं, केही गर्न सकिन्छ भन्ने आँटका साथ गएका छौं’ लामिछानेले भने ।

     

  • एमाले रुपन्देहीको १० औँ अधिवेशन सुरु

    एमाले रुपन्देहीको १० औँ अधिवेशन सुरु

    बुटवल । नेपाल एमाले रुपन्देहीको १० औँ जिल्ला अधिवेशन सुरु भएको छ । बुधबारदेखि भैरहवामा सुरु भएको अधिवेशनको एमाले उपाध्यक्ष विष्णु पौडेलले उद्घाटन गरेका हुन् ।

    यसअघि पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने भनिएपनि कार्य व्यस्तताका कारण आउन नसकिएको एमालेले जनाएको छ । बिहीबारसम्म चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र २ उपसचिवसहित १४५ सदस्यीय जिल्ला कमिटी निर्वाचित गर्नेछ । अध्यक्षमा वर्तमान अध्यक्ष तेजेन्द्र केसी,  सचिव यज्ञ पोखरले र सैनामैना नगरपालिका पूर्वमेयर चित्र बहादुर केसीले आकांक्षा राखेका छन् ।

    अधिवेशनको उद्घाटन सत्रमा उपाध्यक्ष पौडेलसहित सचिव छविलाल विश्वकर्मा, सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्याल, जिल्ला इन्चार्ज दलबहादुर राना, पोलिटब्युरो सदस्य  लीला गिरीलगायत विभिन्न तहका नेताको उपस्थिति रहेको छ ।

  • भारतमा लोकसभा चुनावको मतगणना आज

    भारतमा लोकसभा चुनावको मतगणना आज

    काठमाडौं । भारतमा ६ हप्ता लगाएर सात चरणमा भएको लोकसभा चुनाव २०२४ को मतगणना आज शुरु हुँदैछ । भारतीय निर्वाचन आयोगकाअनुसार ५ सय ४३ लोकसभा सिटमध्ये ५ सय ४२ सिटको मतगणना आज बिहान ८ बजेदेखि शुरु हुनेछ । गुजरातको सूरत लोकसभा सिटबाट भाजपाका मुकेश दलाल यसअघि नै निर्विरोध निर्वाचित भइसक्नुभएको बीबीसी हिन्दीले जनाएको छ ।

    त्यहाँ कांग्रेस उम्मेदवारको उम्मेदवारी रद्द भएपछि बाँकी स्वतन्त्र उम्मेदवारहरूले आफ्नो नाम फिर्ता लिएका थिए । नियमअनुसार आज शुरुमा हुलाक मतपत्रको मतगणना हुनेछ त्यसपछि इभिएम अर्थात इलेक्ट्रोनिक भोटिङ मेसिनमा खसेको मत गणना हुनेछ ।

    कुनै पनि केन्द्रमा मतपत्र नभएको खण्डमा सिधै इभिएमबाट मतगणना शुरु हुनेछ । प्रमुख निर्वाचन आयुक्त राजीव कुमारले अप्रिल १९ देखि जुन १ सम्म सात चरणमा भएको मतदानमा देशका ९६ दशमलव ८ करोड दर्ता भएका मतदातामध्ये ६४ दशमलव २ करोड मतदाताले आफ्नो मताधिकार प्रयोग गरेको जानकारी दिए ।

  • उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेलाई निलम्बन गर्न माग गर्दै रिट दर्ता

    उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेलाई निलम्बन गर्न माग गर्दै रिट दर्ता

    काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई निलम्बन गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। अधिवक्ता अनुपम भट्टराईले उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछाने र महान्यायाधिवक्ता कार्यालयलाई विपक्षी बनाई सोमबार रिट दायर गरेका हुन्।

    लामिछानेमाथि रुपन्देही र कास्कीमा सहकारी ठगीको जाहेरी परे पनि महान्यायाधिवक्ता कार्यालयले उनीमाथि कुनै जाहेरी नपरेको भन्दै ‘क्लिन चिट’ दिएकाे थियाे। त्यसविरुद्ध भट्टराईले रिट दर्ता गराएका हुन्।

    महान्यायाधिवक्ता कार्यालयमा कुनै पनि नागरिकले आफूविरुद्ध मुद्दा चले–नचलेको निवेदन दिएर कार्यालयले उक्त निवेदनलाई दर्ता गरी जानकारी गराउने अधिकार संविधान र प्रचलित कानुनले नदिएकोसमेत रिटमा उल्लेख छ।

    महान्यायाधिवक्ताको कार्यालयले राजनीतिक स्वार्थका आधारमा निर्णय गर्दै आएको आरोप लगाउँदै भनिएको छ, ‘हालै उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारीको बचत हिनामिना प्रकरणमा आफू संलग्न नरहेको भनी महान्यायाधिवक्ताको कार्यालयबाट लिएको पत्र ‘क्लिन चिट’ले विपक्षी कार्यालयको गैरन्यायिक र पीडितको न्याय पाउने हकलाई बन्देज लगाउने कार्यलाई प्रोत्साहन गर्ने देखिएको छ।’

    लामिछानेले धारण गरेको जिम्मेवारीले अनुसन्धान प्रक्रियामा प्रतिकूल प्रभाव पार्ने र प्राकृतिक न्यायको सिद्धान्तविपरीत रहेको उल्लेख गर्दै पदबाट निलम्बन गर्न सरकारका नाममा अन्तरिम आदेश दिन भनिएको छ।

    साथै, महान्यायाधिवक्ता कार्यालयले संवैधानिक व्यवस्थाविपरीत लामिछानेलाई क्लिन चिट दिएको पत्र बदर गर्न र रिटलाई अग्राधिकार दिनसमेत माग गरिएको छ।

    यसअघि सर्वोच्च प्रशासनले उक्त रिट निवेदन दर्ता गर्न अस्विकार गरेको थियो। गत बुधबार न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले रिट दर्ता गर्न आदेश दिएसँगै सोमबार रिट दर्ता भएको हो।

  • कांग्रेसको विरोधपछि संसद बैठक स्थगित

    कांग्रेसको विरोधपछि संसद बैठक स्थगित

    काठमाडौं । कांग्रेसको अवरोधपछि संसद बैठक स्थगित भएको छ।

    प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठकमा शुक्रबार पनि अवरोध गरेको हो ।

    सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै कांग्रेस लगातार सदन अवरुद्ध गर्दै आएको छ ।

    शुक्रबारको पनि कांग्रेस सांसदहरुले विरोध जनाएपछि सभामुख देवराज घिमिरेले संसदको अर्को बैठक जेठ १३ गतेसम्मका लागि स्थगित गरेका हुन् ।

    प्रतिनिधि सभाको अर्को बैठक जेठ १३ गते ११ बजे बस्ने छ ।

  • सत्तामा नहुँदा कांग्रेस पानीबाट निकालेको माछाजस्तै भट्याक भट्याक गर्दैछ : ओली

    सत्तामा नहुँदा कांग्रेस पानीबाट निकालेको माछाजस्तै भट्याक भट्याक गर्दैछ : ओली

    विराटनगर । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस सम्हालिनुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज संचारकर्मीसँग संक्षिप्त कुरा गर्दै ओलीले यस्तो बताएका हुन् । ‘कांग्रेसले आफूलाई समालेर लोकतान्त्रिक अभ्यास, मूल्य, मान्यतामा आउनु पर्छ,’ ओलीले भने । उनले कांग्रेस नमिलेको खण्डमा पनि सरकारले पेलेरै आगामी आर्थिक वर्षको बजेट ल्याउन सक्ने सङ्केत गरे । ‘अहिलेसम्म कसरी बजेट पारित भएको छ ? घेराउ भएको छैन ? हामीले १२ पटक घेराउ गर्दागर्दै नारा लाउँदा लाउँदै पास भएको देख्नु भएको छैन ?,’ सञ्चारकर्मीले अब बजेट कसरी ल्याउनु हुन्छ भनेर सोधेको प्रश्नमा उनले जवाफ दिँदै भने, ‘त्यसबेला त प्रतिपक्षले यसरी हल्ला गर्नु नै हुँदैन भन्नुहुन्थ्यो नि त ।’

    आफूहरूले कांग्रेसलाई पेलेर जाने नभनेको तर गत जेठ ५ गते बेलुकाको सहमति ६ गते कांग्रेसले नै उल्ट्याएर अहिलेको परिस्थिति बनेको उनको भनाइ छ । ‘पेलेर जाने होइन । अघिल्ला दिन ५ गते बेलुका सहमति हुन्छ ६ गते तोड्छ । यो कसले तोडेको ? सत्ता पक्षले अर्घेल्याई गरेको हो र ? त्यस्तो इस्यु भए अदालत गए भयो । कांग्रेसले आफूले जे भन्यो त्यही हुनुपर्छ भन्छ । अनि कांग्रेसले आफ्नो तर्फ आफ्नो मतियार भएर आफ्ना निम्ति काम गरेन भने जसलाई पनि मुख छाड्छ, गाली गर्छ, बेइज्जत गर्छ । इज्जत कसैको राख्दैन,’ ओलीले भने, ‘संसदीय छानबिन समिति जेठ ५ गते बेलुका गरेको सहमति अनुसार हो भने बन्छ ।’

    उनले अहिलेको देशमा धेरै समस्याहरू देखिएको अवस्थामा एकताबद्ध हुनुपर्नेमा कांग्रेसले सत्ताबाहेक केही कुरा नदेखेको आरोप लगाए । ‘अहिले देशमा धेरै जटिल समस्याहरू छन् । साम्प्रदायिकताको कुरा छ, प्रतिगामी शक्तिहरू हौसिएका छन् । बाह्य हस्तक्षेप बढ्दो छ । यस्ता कुरालाई ध्यानमा राखेर राष्ट्रलाई एक ठाउँमा उभ्याउने, आधारभूत कुरालाई एक ठाउँमा राखेर स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ । त्यो कुरा नेपाली कांग्रेसले बुझ्नै सकेन । उ नबुझी बुढो भयो,’ ओलीले भने, ‘एकछिन सरकारमा नहुँदा बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीमा एकछिन सत्तामा नहुँदा छटपटिनु र पानीबाट निकालेको बगरको माछा जस्तो भट्याक भट्याक गर्नु । माछाले त गाली, बेइज्जती गर्न जान्दैन । कांग्रेसले त यता भेटे यतै टोक्छ, उता भेट्यो उतै टोक्छ । जता फर्कियो जसलाई देख्यो त्यसैलाई टोक्छ । अचम्मको स्थिति बनाएको छ ।’

    कांग्रेस र एमाले मिलेर अगाडि बढ्दा हुँदैन भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘संविधान बनाउन्जेल सहमति गरेर सुशील कोइराला प्रधानमन्त्री बन्नुभयो । त्यसपछि कांग्रेसले एमालेलाई दिने भनेको प्रधानमन्त्री दिएन । त्यसपछि कांग्रेसले राजनीतिमा बेइमानी सुरु गर्‍यो । चलिरहेको सहकार्य, संविधान जारी गरेपछि त्यसलाई स्थिरता र स्थायित्वमा लानका लागि संरचना थिएन, कानुन थिएन । त्यो सहकार्यको आवश्यकता थियो । त्यो हामीले पनि भन्यौँ । हामीले त्यो प्रयास गर्‍यौँ । कांग्रेसले त्यो बाटो नै छोड्यो ।’

    कांग्रेससँग मिल्न के का लागि भन्ने प्रश्न रहेको भन्दै उनले थप भने, ‘के का लागि मिल्ने, कसका लागि मिल्ने । स्थिरता भनेको सोचहरूको एकता हो, प्रतिबद्धताको एकता हो । लोकतान्त्रिक मूल्य, मान्यतामा अडिने कुरामा एकता हो । तर, कांग्रेसमा सत्ता, सत्ता र सत्ता भन्दा केहीमा ध्यान छैन । कांग्रेसले अरूको इज्जतमाथि बाहिर बाहिर घुमाई घुमाई हमला गर्छ । हामी बेलमा हुँदा हुँदै दर्जनौँ पटक प्रस्तावहरू पारित भएका छन् । तर, अहिले प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यक्रमलाई पनि रोक्न लाग्नु भयो । त्यसकारण उहाँहरूमा सहमति, सहकार्य, स्थिरता विकास तिर रुचि छैन ।’

    ओलीले बेलुका रातभरि डेढ वर्षलाई प्रधानमन्त्री भन्ने त्यो मानेपछि भोलिपल्ट बिहान भ्रष्टाचारी भन्ने तरिका ठिक नभएको भन्दै रास्वपाका रवि लामिछानेको बचाऊ गरे ।

  • प्रधानमन्त्रीले पाए विश्वासको मत

    प्रधानमन्त्रीले पाए विश्वासको मत

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट चौथो पटक विश्वासको मत पाएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजीबीच प्रधानमन्त्रीले विश्वासको मत पाएका हुन् ।

    मतदान प्रक्रियामा कुल १५८ सांसद सहभागी भएकोमा पक्षमा १५७ र विपक्षमा शून्य मत पर्‍यो । मत दिन्न भन्ने पक्षमा १ मत परेको सभामुखले जानकारी गराए ।

    नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डलाई एमाले, रास्वपा, नेकपा एकीकृत समाजवादी, जसपाको समर्थन छ ।

    सरकारमा सहभागी उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिएका हुन् ।

    उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको माग गर्दै कांग्रेसले बेल घेराउ गरिरहेकै अवस्थामा सभामुखले विश्वासको मतको प्रक्रिया अगाडि बढाएका थिए ।

    विश्वासको मत लिँदा पनि कांग्रेसले अवरोध गरिरहेपछि गतिविधि महँगो पर्ने चेतावनी दिँदै इतिहासको कलंकको रूपमा स्थापित हुने प्रधानमन्त्रीले बताएका थिए ।

  • भारत लोकसभा पाँचौ चरणको चुनाव आज

    भारत लोकसभा पाँचौ चरणको चुनाव आज

    काठमाडौं  । सात चरणमा हुन लागेको भारत लोकसभाको पाँचौ चरणको मतदान सोमबार हुँदैछ। चार चरणको चुनाव सम्पन्न भएको भारतमा आज पाँचौ चरणमा आठ राज्यका ४९ सिटका लागि मतदान हुन लागेको हो।

    छत्तीसगढ़, झारखण्ड, महाराष्ट्र, ओडिशा, उत्तर प्रेदश, पश्चिम बंगाल, जम्मु-कश्मिर, लद्दाखका ४९ सिटका लागि पाँचौ चरणको मतदान हुन लागेको हो। ४९ सिटका लागि ९४ हजार ७३२ मतदान केन्द्र तोकिएको छ।

    पाँचौ चरणमा सोमबार महाराष्ट्रका १३, उत्तर प्रदेशका १४, पश्चिम बंगालका सात, बिहार र ओडिशाका ५–५, झारखण्डका ३, जम्मु–कश्मिर र लद्दाखमा एकएक सिटमा गरेर ४९ सिटमा मतदान हुन लागेको हो।

    पाँचौ चरणको चुनावमा चार करोड २६ लाख महिला र पाँच हजार ४०९ तेस्रो लिंगीसहित कुल आठ करोड ९५ लाखले मतदान गर्दैछन्।

    यसअघि भारतमा पहिलो चरणमा २१ राज्यका १०२ संसदीय सिट, दोस्रो चरणमा १३ राज्यका ८९, तेस्रो चरणमा १२ राज्यको ९४ र चौथो चरणमा १० राज्यका ९६ सिटका लागि मतदान भइसकेको छ।

    अप्रिल १९, २६, मे ७ र १३ तारिखमा गरेर भारतमा यसअघि चार चरणको चुनाव सकिएको हो।

    छैठौं चरणमा ७ राज्यका ५७ सिटका लागि मे २५ तारिखमा मतदान हुनेछ। छैठौं चरणमा बिहार, हरियाणा, झारखण्ड, ओडिशा, उत्तर प्रदेश, पश्चिम बंगाल र दिल्लीका ५७ सिटमा मतदान हुन लागेको हो।

    अन्तिम तथा सातौं चरणको मतदान जुन १ मा हुनेछ। बिहार, हिमाचल, झारखण्ड, ओडिशा, पञ्जाब, उत्तर प्रदेश, पश्चिम बंगाल, चंडीगढ़ गरेर ८ राज्यका ५७ सिटका लागि अन्तिम चरणमा मतदान हुनेछ।

    पहिलो चरणदेखि सातौं चरणसम्मका मतदान सम्पन्न भएपछि एकसाथ जुन ४ तारिखदेखि मतगणना सुरु हुनेछ।