Category: राजनीति

राजनीति

  • प्रधानमन्त्रीलाई भेट्न ओली बालुवाटारमा

    प्रधानमन्त्रीलाई भेट्न ओली बालुवाटारमा

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् ।

    कांग्रेससँग गएराति सहमति भएसँगै नयाँ सत्ता समीकरणबारे प्रचण्डलाई जानकारी दिन ओली बालुवाटार गएका हुन् ।

    भेटका क्रममा ओलीले प्रधानमन्त्री दाहाललाई पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गर्ने एमालेले जनाएको छ ।

    यसअघि हिजो पनि ओलीले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका थिए । हिजोको भेटका क्रममा ओलीले राष्ट्रिय सहमतिको सरकारका लागि आफूलाई सहयोग गर्न प्रस्ताव गरेका थिए ।

    कांग्रेस–एमालेबीच भएको सहमतिमा पहिलो डेढ वर्ष ओली र त्यसपछिको बाँकी अवधि कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने उल्लेख छ ।

  • कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति, शुरुमा ओली प्रधानमन्त्री बन्ने

    कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति, शुरुमा ओली प्रधानमन्त्री बन्ने

    काठमाण्डौ । नेपाली कांग्रेस र नेकपा एमालेबीच संविधान संशोधनको एजेन्डासहित ‘राष्ट्रिय सहमतिको’ सरकार बनाउने सहमति भएको छ । लामो छलफल र गृहकार्यपछि गएराति कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

    सहमतिअनुसार पहिलो चरणमा एमाले अध्यक्ष ओली र डेढ वर्षपछि कांग्रेस सभापति देउवा प्रधानमन्त्री बन्नुहुने नेताहरुले बताएको छ । नेताका अनुसार निर्वाचन प्रणालीलगायतका विषयमा संविधान संशोधन गर्न सुझाव आयोग बनाउने सहमति पनि भएको छ ।

    आयोगले दिने सुझावका आधारमा संविधान संशोधन गर्ने र राजनीति स्थायित्व हुने गरी निर्वाचन प्रणाली सुधार गर्ने नेताहरुको भनाइ छ । सहमतिअघि देउवा र ओलीले राति नै राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गर्नुभएकाे छ । कांग्रेस र एमालेबीच सहमतिपछि प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार विघटनको हुने निश्चित भएको छ ।

    नयाँ सत्ता समीकरणका लागि देउवा र ओलीबीच केही दिनदेखि शृंखलाबद्ध छलफल भइरहेको थियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । एमालेले उहाँलाई दिएको विश्वास मत फिर्ता लिएपछि नयाँ सरकार गठनको प्रक्रिया शुरु हुनेछ । सहमतिमा प्रदेश सरकारको पनि बाँडफाँट गरिएको दाबी छ ।

  • स्वतन्त्रबाट जितेकै कारण बालेनलाई असफल बनाउन खोजियो : ज्ञानेन्द्र शाही

    स्वतन्त्रबाट जितेकै कारण बालेनलाई असफल बनाउन खोजियो : ज्ञानेन्द्र शाही

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले स्वतन्त्ररुपमा जितेकै कारण काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) लाई असफल बनाउन खोजिएको दाबी गरेका छन्।

    प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उनले राजनीतिक दलहरुले स्वतन्त्र रुपमा चुनाव जितेका बालेनलाई अप्ठ्यारोमा पारेर काम गर्न नदिएर असफल बनाउन खोजिएको दाबी गरेका हुन् ।

    ‘काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले स्वतन्त्रबाट जितेकै कारण उनलाई कसरी असफल बनाउने, उनलाई कसरी अप्ठ्यारो पार्ने काम भइरहेको छ,’ शाहीले भने, ‘कुन नेताको घरमा हाजिर लगाएर अनि वडाध्यक्ष, सदस्यहरुलाई बोलाएर नाराजुलुस गरेर आज देशलाई अस्तव्यस्त पार्ने काम गरिएको छ । यो अस्तव्यस्त गर्ने काम बन्द गरियोस् ।’

    शाहीले काठमाडौंका वडाध्यक्षहरुलाई दलका शीर्ष नेताहरुले फोनमा आदेश दिएर महानगरपालिकाको नगर सभामा विरोध प्रदर्शनका लागि निर्देशन दिने काम भइरहेको पनि टिप्पणी गरे ।

    ‘एउटा वडाध्यक्षलाई दलको केन्द्रीय शीर्षस्थ नेताले फोन गरेर आदेश दिएर त्यहाँ विरोध प्रदर्शन भइरहेको छ,’ उनले भने ।

    राप्रपा सांसद शाहीले स्थानीय तहमा दलबिहीन राजनीतिको आवश्यकता पनि औंल्याए । ‘संसदमा दलीय आवश्यकता छ, दलीय राजनीति गरौँ,’ उनले भने, तर, स्थानीय तहमा अब दलबिहीन राजनीतिको आवश्यकता छ । हाम्रो छिमेकलगायत विश्वभर धेरै देशहरुमा स्थानीय तह दलबिहीन राजनीतिबाट हुन्छ ।’

    शाहीले दलहरुले साच्चै देश विकास गर्न चाहेको हो भने जनप्रतिनिधिलाई स्वतन्त्र छोडिदिनुपर्नेमा जोड दिए ।

    ‘काठमाडौं महानगरको बजेट अहिले अस्तव्यस्त पारिएको छ । त्यहाँका जनप्रतिनिधिलाई स्थानीय जनताले वडाध्यक्ष चुनेका हुन कि कुनै दलका कार्यकर्ता चुनेका हुन् ?,’ उनले प्रश्न गर्दै भने, ‘सबै दलहरुले साच्चै देश विकास गर्ने हो, साच्चै प्रजातन्त्र आएको हो, साच्चै लोकतन्त्र आएको हो भने जनताबाट निर्वाचित जनप्रतिनिधिलाई स्वतन्त्र छोडिदिऊँ ।’

  • एकीकृत समाजवादीको अध्यक्षमा झलनाथले गरे घनश्यामलाई समर्थन

    एकीकृत समाजवादीको अध्यक्षमा झलनाथले गरे घनश्यामलाई समर्थन

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टीको १० औं महाधिवेशनमा अध्यक्ष पदमा घनश्याम भूसाललाई समर्थन गर्ने भएका छन्।

    बुधबार दिउँसो खनाल निवास डल्लुमा भएको छलफलमा उनीहरूबीच एकतावद्ध भएर अघि बढ्ने सहमति भएको हो।

    ‘हामीबीच राजनीतिक, वैचारिक र सांगठनिक नेतृत्वमा एकतावद्ध भएर जाने समझदारी भयो,’ खनालले सेतोपाटीसँग भने, ‘मैले उठाउँदै आएका राजनीतिक विचारहरू, वैचारिक कार्यदिशा बहन गर्न उहाँ सहमत हुनुभयो। त्यसपछि हामी एक भएर अघि बढ्ने निष्कर्षमा पुग्यौं।’

    तपाईंले अध्यक्षको उम्मेदवारमा भूसाललाई समर्थन गर्नुभएको हो भन्ने प्रश्नमा खनालले भने, ‘मेरो राजनीतिक विचार नै उहाँले बोकेपछि म सहमत भएको हुँ।’

    यही असार १६ गतेदेखि २० गतेसम्म एकीकृत समाजवादीले काठमाडौंमा महाधिवेशन गर्दैछ। महाधिवेशनमा अध्यक्ष माधवकुमार नेपाल पनि उठ्ने तयारीमा छन्।

    सम्मानित नेता खनाल पछि हट्ने देखिएसँगै अध्यक्षमा नेपाल र भूसालबीच प्रतिस्पर्धा हुने देखिएको छ। महाधिवेशनमा १८७८ जना प्रतिनिधि छन्। त्यसमध्ये अधिकांश निर्वाचित भइसकेका छन्। केही जनसंगठन र भूगोलका प्रतिनिधिको निर्क्यौल हुन बाँकी छ।

    महाधिवेशनको मिति नजिकिएसँगै नेतृत्वको रस्साकस्सी पनि चुलिँदै गएको छ। अध्यक्ष नेपालसहित नेताहरूले सहमतिमार्फत् नेतृत्व चयन गर्ने भने पनि प्रतिस्पर्धाको वातावरण बन्दै गइरहेको छ।

    भूसाल समूहतर्फ महासचिवलगायत महत्वपूर्ण बाँकी पदहरूमा को-को उम्मेदवार रहने भन्ने छलफल हुन बाँकी रहेको एक नेताले बताए।

  • ‘देशलाई यो हालतमा पुर्‍याउनेहरूले प्रश्न गर्दा अचम्म लाग्छ’

    ‘देशलाई यो हालतमा पुर्‍याउनेहरूले प्रश्न गर्दा अचम्म लाग्छ’

    काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हुण्डी कारोबार रोक्न सरकारले प्रभावकारी कदम चाल्दै आएको बताएका छन्‌ ।

    प्रतिनिधि सभामा सांसद्‌हरूले सोधेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले अहिले केही पनि नयाँ भएन भनेजस्तो गरी प्रश्न आउने गरेको गुनासो गरे ।

    ‘केही माननीय सदस्यज्यूहरूले अहिले पनि केही नभएको आशयसहित कुरा राख्नुभयो । अहिले मैले लामो व्याख्या त गर्न सक्दिनँ’, उनले भने, ‘सरकारको तर्फबाट यसबीचमा सुशासनको पक्षमा, सामाजिक न्यायका पक्षमा र आर्थिक विकासका पक्षमा धेरै सकारात्मक पहलहरू भएका छन्‌ ।’

    उनले यी कदमहरू चालिरहँदा सरकारले केही गरेन भनेर आरोप लगाउनु ठीक नहुने उनको तर्क छ। ‘त्यसैले सरकारले केही नयाँ गरेको छैन, उही पुरानो चलिराखेको छ भन्नु ठीक होइन’, उनले भने, ‘केही सांसद्‌हरूले यसो भन्दा मलाई अचम्म लाग्ने गरेको छ ।’

    उनले कांग्रेसतिर लक्षित गर्दै देशमा दशकौँ नेतृत्व गरेर पनि केही गर्न नसकेको उल्लेख गरे । ‘जसले दशकौँसम्म देश/सरकारको नेतृत्व गर्नुभयो । उहाँहरूले नै आज देशलाई यो स्थितिमा पुर्‍याउनुभयो भन्न मन लाग्छ मलाई’, उनले भने, ‘तपाईंहरूले के के गर्नुभएको थियो भन्न मन लाग्छ मलाई । अहिले त धेरै कुरा सन्तुलित र सकारात्मक अवस्थामा आएका छन्‌ ।’

  • आगामी निर्वाचनसम्म कांग्रेस सरकारमा जानुहुँदैन : महामन्त्री थापा

    आगामी निर्वाचनसम्म कांग्रेस सरकारमा जानुहुँदैन : महामन्त्री थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनसम्म कांग्रेस सरकारमा जान नहुने धारणा व्यक्त गरेका छन्। नेपाली कांग्रेस काठमाडौ‌ं क्षेत्र नं ६ प्रदेश (१)ले शनिबार आयोजना गरेको ‘दोस्रो प्रदेश सभा क्षेत्रीय सम्मेलन, २०८१’को उद्घाटन गर्दै उनले कांग्रेस प्रतिपक्षमै बसेर सरकार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

    ‘पार्टीभित्र प्रेमपूर्ण सम्बन्ध, प्रस्टता र प्रतिबद्धताको आवश्यकता छ, यसलाई पूर्ण रूपमा कार्यान्वयन गरेर आगामी निर्वाचनमा कांग्रेसलाई ४० प्रतिशत मतसहित एकल बहुमतको सरकार बनाउने अवस्थामा पुर्‍याउन सकिन्छ,’ उनले भने।

    महामन्त्री थापाले यही असारभित्र महासमिति बैठक बसेर पार्टीलाई अगाडि बढाउनेबारे बृहत् छलफल गरिने बताए। उनले निर्वाचनमा पार्टीको उम्मेदवार चयन गर्ने प्रक्रिया परिवर्तन गर्न जरुरी रहेको उल्लेख गरे। ‘निर्वाचनका लागि उम्मेदवार छान्न पार्टीभित्रका क्रियाशील सदस्यले भोट गर्ने व्यवस्था बनाउनुपर्छ,’ उनले भने।

    थापाले पार्टीभित्र प्रेमपूर्ण सम्बन्ध भएका कारण २०४८ सालमा कांग्रेस एक्लैले बहुमत प्राप्त गरेको स्मरण गरे। पार्टीभित्र गुट, उपगुटको अन्त्य गर्न जरुरी रहेको उनको भनाइ थियो।

    महामन्त्री थापाले केन्द्रमा कांग्रेसको सरकार नभए पनि तीन सय ३२ स्थानीय तहमा कांग्रेसको सरकार भएकाले जनताका लागि काम गर्न आग्रह गरे। उनले आगामी निर्वाचनअघि संविधानमा भएका केही कुराहरू संशोधन गरेर अगाडि बढ्नुपर्ने धारणा राखे। ‘प्रदेशहरू अदालतबाट चल्दै आएको अवस्था छ, प्रदेश र केन्द्रका मन्त्रीहरू घटाउनुपर्छ, संविधानमा संशोधन गरेर अगाडि बढ्नुपर्छ,’ उनले भने।

  • समझदारीअनुरुप नै सत्तासमीकरण अगाडि बढ्छ : प्रधानमन्त्री

    समझदारीअनुरुप नै सत्तासमीकरण अगाडि बढ्छ : प्रधानमन्त्री

    काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ दलहरुबीच भएको समझदारीअनुरुप नै सत्तासमीकरण अगाडि बढ्ने बताएका छन् ।

    शनिबार दिउँसो तामाङ राष्ट्रिय मुक्ति मोर्चाको सातौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले समीकरणमा कुनै समस्या र असमझदारी नरहेको स्पष्ट पार्दै समझदारीअनुरुप नै सत्तासमीकरण अगाडि बढ्ने बताएका हुन् ।

    महाधिवेशनले सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘‘आजभोलि बजारमा सरकार के हुन्छ, सत्तासमीकरण के हुन्छ भन्नेखालका प्रश्न उठाउन खोजिएको छ । यस्तो प्रचार र आशंका म प्रधानमन्त्री भएको दिनदेखि नै थियो । तर, कुनै समस्या छैन । अहिले पनि सरकार के हुन्छ भन्ने जिज्ञासा र भ्रम पनि देख्छु । तर, केही हुँदैन ।

    हामी समझदारीका साथ नै अगाडि बढेका छौँ । समझदारीका साथ नै अगाडि बढ्छौँ। सत्तासमीकरणमा कुनै समस्या छैन र हुँदैन ।’’ कार्यक्रममा प्रधानमन्त्रीले नेपालका जाति जनजातिहरुले गरेको त्याग र सकारात्मक योगदानका कारण देशमा ठूलो राजनीतिक परिवर्तन सम्भव भएको बताए ।

    प्रधानमन्त्रीले भने, ‘‘विभिन्न जाति जनजातिहरुको योगदान नभएको भए आजको राजनीतिक परिवर्तन सम्भव थिएन। उत्पीडित वर्ग, जाति, क्षेत्र र लिंगको मुद्धा हाम्रो हो। उत्पीडितहरुले जति अधिकार पाएका छन्, त्यो माओवादीले गर्दा नै भएको हो ।’’
    प्रधानमन्त्रीले जनयुद्ध कुनै पार्टी विशेषको नभएर आम नेपाली जनताको मुक्तिकामी संघर्ष भएको स्पष्ट पारे ।

    उनले भने, ‘‘जनयुद्ध जनताको युद्ध थियो। लाखौँ जनताले आफ्नो मुक्तिका लागि संघर्ष नगरेको भए आजको परिस्थिति आउँदैनथ्यो। आज हामी नितान्त भिन्न परिस्थितिमा छौँ । हामी परिवर्तनका उपलब्धि रक्षा गर्न र समाजवादको आधार तयार पार्न शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धासहितको समझदारीमा आएका हौँ ।

    यही आधारमा टेकेर समाजवादको तयार गर्छौं ।’’ कार्यक्रममा प्रधानमन्त्रीले छिट्टै पार्टी केन्द्रीय समितिको बैठक बोलाएर विशेष महाधिवेशनको मिति निर्धारण गरिने बताउँदै पार्टीका सबै नेता–कार्यकर्ताले फुर्सद नपाउने गरी अभियानको तयारी गरिनेसमेत जानकारी गराए ।

     

  • रास्वपाको चियापानमा कुन कुन नेता पुगे ?

    रास्वपाको चियापानमा कुन कुन नेता पुगे ?

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दोस्रो स्थापना दिवसका अवसरमा केन्द्रीय कार्यालय च:मतीमा अहिले चियापान कार्यक्रम आयोजना गरिरहेको छ ।

    दोस्रो स्थापना दिवसको अवसरमा असार १ देखि असार ७ गतेसम्म वडादेखि केन्द्रसम्म विभिन्न कार्यक्रमहरु आयोजना गरिँदैछ । त्यही क्रममा शुक्रबार च:मतीमा चियापान कार्यक्रम राखिएको हो ।

    चियापानमा देउवा, माधव नेपाल, माधव नेपाल रामहरि खतिवडा, महन्त ठाकुर, प्रधानमन्त्री , नारायणकाजी श्रेष्ठ , देवेन्द्र पौडेल, झलनाथ खनाल, बाबुराम भट्टराई, धबलशमशेर राणा, कमल थापा, सिके राउत, राष्ट्रिय सभा अध्यक्षलगायतका नेता उपस्थित भएका छन् ।

    चियापानमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने पुगेका छैनन् । चियापानमा सबै पार्टीलाई निम्तो गरिएको छ । कार्यक्रममा नेताहरू आउने क्रम जारी छ ।

  • भूमि व्यवस्था मन्त्रालयलाई आवश्यकता अनुसार बजेट अपुग छ  : मन्त्री अधिकारी

    भूमि व्यवस्था मन्त्रालयलाई आवश्यकता अनुसार बजेट अपुग छ : मन्त्री अधिकारी

    काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले मन्त्रालयको आवश्यकता परिपूर्ति गर्न बजेट अपुग भएको बताएका छन् । यो मन्त्रालयका लागि विनियोजित बजेटमाथि उठेका प्रश्नमा जवाफ दिँदै मन्त्री अधिकारीले मन्त्रालयलाई चाहिने जति बजेट अपुग भएको बताएका हुन् ।

    आगामी आर्थिक वर्ष २०८१–८२ का लागि यो मन्त्रालयका लागि ६ अर्ब ८२ करोडको रुपैयाँ बजेट विनियोजन भएको छ । यो बजेटबाट मन्त्रालयको ४ महाशाखा र १३५ नापी र १३५ मालपोत गरी २७० कार्यालय सञ्चालन गर्नुपर्ने मन्त्री अधिकारी बताउँछन् ।

    यस्तै मन्त्रालय मातहतमा ७ हजार जनशक्ति परिचालित छन् । सोहीकारण मन्त्रालयलाई चाहिने जति बजेट नपुग्ने मन्त्री अधिकारीको भनाई छ । यसमा बजेट आवश्यकताअनुसार अपुग भइरहेको छ । अधिकारीले अर्थ मन्त्रालयपछि सबैभन्दा धेरै राजश्व संकलन गर्ने मन्त्रालयको सूचीमा भूमि व्यवस्था मन्त्रालय रहेको बताएका छन् ।

    चालू आर्थिक वर्ष २०८०–८१ को यो अवधिसम्म भूमि व्यवस्था मन्त्रालयले ३८ अर्ब रुपैयाँ राजश्व संकलन गरेको मन्त्री अधिकारीले बताए । मन्त्रालयले ३० लाख सेवाग्राहीलाई सेवा दिएको समेत उनको भनाई छ ।

    अन्तर्राष्ट्रिय सीमा विवाद द्विपक्षीय वार्तामार्फत समाधान गर्ने, भूमि हीन समस्या समाधानका लागि ५ लाख भूमि हीनलाई लालपुर्जा वितरण लगायतका योजना अघि बढेको मन्त्री अधिकारीले बताए ।

  • ५०० र १००० का नोट तत्काल प्रतिबन्ध लगाउन सरकारसँग माग

    ५०० र १००० का नोट तत्काल प्रतिबन्ध लगाउन सरकारसँग माग

    काठमाडौँ ।  प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले पाँच सय र हजारका नोट प्रतिबन्ध लगाउन सरकारसँग माग गरेका छन् । बुधबार प्रतिनिधि सभा बैठकमा युवा तथा खेलकुद मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै उपसभापति गुरुङले यस्तो माग गरेका हुन् ।

    मुलुकमा आर्थिक सुशासन कायम गर्ने हो भने सरकारले ५ सय र हजारको नोट प्रतिबन्ध लगाउनुपर्ने उनको जिकिर थियो । उनले भने, ‘आर्थिक सुशासनका लागि मेरो प्रस्ताव हो यो-५ सय र हजारको नोट क्विट गर्न सक्नुपर्दछ । सरकारमा बसेका साथीहरूलाई म यो निवेदन गर्न चाहन्छु सभामुख महोदय । आजको दिनमा यदि आर्थिक सुशासन सुशासन कायम गर्ने हो भने हामीले ५ सय र हजारको नोट अब क्विट गरेर जान आवश्यक छ ।’

    उनले ती नोटहरू प्रतिबन्ध गरेमा मुलुकमा ८० प्रतिशत भ्रष्टाचार नियन्त्रण हुने, सोही अनुपातमा गैरकानूनी कारोबार रोकिने र ८० प्रतिशत राजस्व चुहावट नियन्त्रण हुने दाबी समेत गरे । उनले अवैध रूपमा राखिएका धनराशि पनि ५ सय र हजारका नोटमा प्रतिबन्ध लगाएपछि बाहिर आउने उल्लेख गरे ।

    ‘यदि यी नोटहरू क्विट गर्‍यौँ भने ८० प्रतिशत गैरकानूनी कारोबार रोकिन्छ । ८० प्रतिशत भ्रष्टाचार नियन्त्रण हुन्छ । र, ८० प्रतिशत राजस्व चुहावट नियन्त्रण हुन्छ । यसरी जाने हो नि त । अनि सिरानी मुनि भएका पैसा, खाटमुनि भएका पैसा, जमिनमुनि भएका पैसा, पानीमुनि भएका सबै पैसा बाहिर आउँछ ।’

    उपसभापति गुरुङले सिरानी मुनि, खाटमुनि, जमिनमुनि र पानीमुनि भएका सबै पैसा बाहिर ल्याउनका लागि पनि सरकारले ५ सय र हजारको नोटमा तत्काल प्रतिबन्ध लगाउन आवश्यक रहेको बताइन् ।