Category: स्थानीय तह

स्थानीय तह

  • आजदेखि काठमाडौँ उपत्यकामा विशेष पोलियो खोप अभियान

    आजदेखि काठमाडौँ उपत्यकामा विशेष पोलियो खोप अभियान

    काठमाडौँ । काठमाडौँ उपत्यकामा आजदेखि विशेष पोलियो खोप अभियान सञ्चालन हुने भएको छ । साउन १२ गतेसम्म काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा ५ वर्ष मुनिका सम्पूर्ण बालबालिकाका लागि विशेष पोलियो खोप अभियान सञ्चालन गर्न लागिएको हो ।

    नियमित खोपमा पोलियोको खोप दिइएको भएता पनि यस अभियानमा आफ्ना बालबालिकालाई अनिवार्य रूपमा पोलियोविरुद्धको खोप दिनुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भनाई छ ।

    पोलियो विरुद्धका खोपहरू कुन उमेरमा लगाउनु पर्दछ? 

    • मुखबाट खुवाइने खोप : ओरल पोलियो भ्याक्सिन (OPV) – ३ पटक (६ हप्ता, १० हप्ता र १४ हप्ताको उमेरमा )
    • सुईबाट दिइने खोप : इनएक्टीभेटेड पोलियो भ्याक्सिन (IPV) – २ पटक (१४ हप्ता र ९ महिनाको उमेरमा )

    पोलियो रोग कुन उमेरका मानिसलाई लाग्छ ? 
    पोलियो रोग जुनसुकै उमेरका मानिसलाई लाग्न सक्छ । तर पाँच वर्ष मुनिका बालबालिका बढी जोखिममा हुन्छन् । त्यसैले, यो रोगबाट सुरक्षित गराउन आफ्ना बालबालिकालाई राष्ट्रिय खोप तालिका अनुसार पोलियो खोपहरूको पूर्ण मात्रा लगाउनु पर्दछ ।

    यस खोप अभियानमा ५ वर्ष मुनिका बालबालिकालाई थप खोपको मात्रा अनिवार्य रूपमा दिनु पर्दछ ।

  • सडक भासिएपछि सिङ्गो बस्ती जोखिममा

    सडक भासिएपछि सिङ्गो बस्ती जोखिममा

    पर्वत । जिल्लाको मोदी गाउँपालिका–६ तिलाहारमा सडकसँगैको जमिन भासिँदा सिङ्गो बस्ती जोखिममा परेको छ । तिलाहारको नवजागृत माध्यमिक विद्यालय नजिक रहेको डिमुवा–राम्जा–चित्रे सडक भासिँदा सडकभन्दा तल रहेको बस्ती जोखिममा परेको हो ।

    गत असार ३० गतेको राति आएको अविरल वर्षाका कारण करिब ७० मिटर लामो सडक भासिनुका साथै वरपरका केही घर चर्किएका छन् । जमिन भासिएपछि स्थानीयले प्लाष्टिक ओढाएर भासिएको जमिनबाट तत्काल पानी बग्न रोके पनि जमिनको भासिनेक्रम नरोएिकको मोदी–६ का वडाध्यक्ष दिपेन्द्रजङ्ग लामिछानेले जानकारी दिए । उनका अनुसार जमिन भासिएपछि सडकको माथिपट्टि र तलपट्टि रहेका करिब ४० परिवार जोखिममा परेका छन् ।

    वडाध्यक्ष लामिछानेले डिमुवा बजारभन्दा माथि रहेका बस्ती र कुँवर टोल, फूलबारी र साउनेपानीका घर जोखिमा परेका जानकारी दिए । केही परिवारले घर छाडेर अन्यत्र बस्न थालिसकेका छन् । पहिरोलाई तत्काल रोकथाम नगर्ने हो भने ठूलो विपत्ति आउनसक्ने उनको भनाइ छ ।

    यसैबीच गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री राजीव गुरुङले जमिन भासिएको क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् । निरीक्षणपछि मन्त्री गुरुङले तत्काल पहिरो नियन्त्रण गर्न आवश्यक डिजाइनको खाँका तयार गर्न निर्देशन दिनुभएको मोदी गाउँपालिकाका उपाध्यक्ष विमल लामिछानेले जानकारी दिए ।

    पालिकाले अनुमानित लागत र डिजाइन तयार गरेपछि पहिरो नियन्त्रणका लागि प्रदेश सरकारले आवश्यक बजेट विनियोजन गर्ने मन्त्री गुरुङले आश्वासन दिएका छन् । बस्ती माथिकोे जमिन भासिएपछि सडकमा सवारी आगमनमा समस्या परेको र जमिन भासिएको स्थान नजिकका घर तत्काल स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको उपाध्यक्ष लामिछानेले बताए ।

    गाउँपालिकाले तत्काल रोकथामको प्रयास गरिरहेको जनाउँदै दीर्घकालीन रोकथामका लागि ठूलो बजेट आवश्यकपर्ने भएकाले प्रदेश र सङ्घ सरकारले पहिरो नियन्त्रणमा सहयोग गर्नुपर्नेमा उनले जोड दिए ।  सोही खण्डअन्तर्गत दराक र थामर्जुङ, पहरे, काउछे, भगरिका केही घर पहिरोको जोखिमा रहेका पालिका कार्यालयले जनाएको छ ।

    यस वर्षको मनसुन सक्रिय भएपछि मोदी गाउँपालिकाको वडा नं २ देउपुरको जरुवामा रहेको दलित बस्ती पूर्ण रुपमा बगरमा परिणत भएको छ । यहाँ बस्दै आएका १५ परिवार विस्थापित भएका छन् ।

  • नवलपुरमा व्यावसायिक स्याउ खेती

    नवलपुरमा व्यावसायिक स्याउ खेती

    नवलपुर ।  नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु–३ ब्रह्मस्थानमा व्यावसायिक स्याउ खेती सुरु गरिएको छ । प्राय चिसो हावापानी भएको भूगोलमा खेती गरिने स्याउ पहिलो पटक मधेशमा एग्रिकल्चर एण्ड फरेस्ट कञ्जरभेसन रिसर्च सेन्टर प्रालि (एएफसीआरसी)ले खेती गरेको हो । 

    एएफसीआरसीले अधिकतम् ४० डिग्री सेल्सियस सम्म तापक्रम हुने यहाँको पाँच बिघा क्षेत्रफलमा स्याउ रोपेको छ । यहाँ रोपिएका स्याउ दुई वर्षमै फल्न थालेको छ । प्रालिका व्यवस्थापक ईश्वर भट्टराईले भारतको कास्मिरबाट ‘अन्ना’, ‘डोरसेट’ र ‘एचआरएम–९९’ प्रजातिको स्याउको बिरुवा ल्याएर खेती गरिएको जानकारी दिए। 

    ‘यी प्रजातिका स्याउ न्यूनतम ६ देखि अधिकतम ४५ डिग्री सेल्सियससम्मको तापक्रममा फल्छ’, उनले भने, ‘बिरुवा रोपेको दुई वर्षपछिनै फल दिन थालेको छ ।’ 

    एएफसीआरसीले करिब तीन हजार पाँच सय स्याउको बिरुवा रोपेको छ । एउटा बोटमा ३० वटासम्म स्याउका दाना फलेका छन् । गर्मी धेरै भएकाले केही स्याउका दानाहरु फुटेको उनले बताए। यहाँ लगाइएको स्याउको फल पहेँलो रङ  र स्वाद फुजी स्याउको जस्तै हुने उनको भनाइ छ । 

    एएफसीआरसीले ४० बिघा क्षेत्रफलमा स्याउसँगै अम्बा, सुनकागती, शीतलचिनी, चेरी, भूइँकटहर, केरा, उन्नत जातको ममफलीलगायतका फलफूल लगाएको छ । यहाँ लगाइएका फलफूल खेतीका लागि थोपा सिँचाइ प्रयोग गरिएको एएफसीआरसीका व्यवस्थापक भट्टराईको भनाइ छ ।

    एएफसीआरसीले फलफूल खेतीसँगै ‘टिस्यू कल्चर’ प्रविधिबाट उत्पादन गरेर केरा तथा बाँसको बिरुवा देशभरी बिक्री वितरण गर्दै आइरहेको छ । गुणस्तरीय वनस्पतिको कोष, तन्तु वा कुनै एक भागलाई निकालेर नियन्त्रित प्रयोगशाला वा किटाणुरहीत वातावरणमा ठूलो सङ्ख्यामा बिरुवा उमार्ने आधुनिक प्रविधिलाई टिस्यु कल्चर प्रविधि भनिन्छ । छोटो समयमा एउटा राम्रो बिरुवाबाट अरु हजारौँ बिरुवा उत्पादन गर्न र राम्रो उत्पादन दिन यो प्रविधि अपनाउने गरिन्छ । 

    टिस्यू कल्चर ल्याब स्थापना गर्ने बेला सरकारले अनुदान सहयोग गरेको थियो । उत्पादन गरिएका जिनाइन प्रजातिका केराका बेर्ना तथा बाँसका बिरुवा प्रधानमन्त्री कृषि आधुनिकीकारण परियोजना, कृषि ज्ञान केन्द्र र स्थानीय सरकारले देशैभर लैजाने गरेको उनले बताए  । 

    केराको बिरुवा प्रतिगोटा रु ३५ देखि रु ६० सम्म र बाँसको बिरुवा प्रतिगोटा एक सय ३० मा बिक्री गरिन्छ । स्यू कल्चर प्रविधिबाट उत्पादन गरिएका ‘बालकोवा’ प्रजातिको बाँस पहाडी क्षेत्रमा भूक्षय नियन्त्रण एवम् तराई क्षेत्रमा नदी कटान रोकथामका लागि लैजाने गरेको एएफसीआरसीले जनाएको छ ।

  • सेती नदीमा बाढी : ६० परिवार सुरक्षित स्थानमा सारियो

    सेती नदीमा बाढी : ६० परिवार सुरक्षित स्थानमा सारियो

    बैतडी । सेती नदीको बाढी बस्तीमा पस्न थालेपछि बैतडीको सिगासका ६० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । सिगास गाउँपालिका–५ ढुङ्गाडका ६० परिवारलाई स्थानीय शारदा माविमा सारिएको प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए ।

    उनले भने, “सेतीको बाढी गाउँ पस्ने खतरा बढेपछि  स्थानीयलाई सुरक्षित स्थानमा सारेका हौँ । स्थानीय जनप्रतिनिधिको सहयोगमा उनीहरूलाई शारदा माविमा सारिएको छ ।”

    बाढीले बगाउने डरले स्थानीय पशुचौपायासहित घर छाडेर विद्यालयमा आश्रय लिएर बसेका छन् । नदी किनारमा लगाएको तटबन्धमाथिबाट नदी बग्न थालेपछि घर छाड्नुपरेको स्थानीय इन्द्रबहादुर चन्दले बताए।

    सेतीमा पानीको बहाव बढ्दै गएपछि सिगास–५ का हरडाखानी, लाम्बगड, लोडेलगायत बस्ती बाढीको जोखिममा छन् । विसं २०७८ कात्तिक  पहिलो साता बाढीले सिगास–५ ढुङ्गाडलगायत क्षेत्रमा ठूलो क्षति गरेको थियो ।

  • रोटरी क्लब अफ देवदहको अध्यक्षमा बिष्णु पाठक

    रोटरी क्लब अफ देवदहको अध्यक्षमा बिष्णु पाठक

    देवदह । रोटरी क्लब अफ देवदहको आगामी वर्ष २०२४-२५ को अध्यक्षमा विष्णु पाठक चयन भएका छन । बिष्णु पाठक अध्यक्ष रहेको कार्यसमितिमा उपाध्यक्ष इन्द्र सुनार, कृष्ण अधिकारीर कृष्ण गैरे रहेका छन ।

    इलेक्ट प्रेसीडेन्ट डोलराज न्यौपाने(अर्जुन) र कोषाध्यक्षमा गुरु प्रसाद न्यौपाने रहेका छन ।

    क्लबले देवदह क्षेत्रलाई विशेष प्राथमिकता दिएर विभिन्न सामाजिक गतिविधि गर्दै आयको छ ।

    क्लबको सल्लाहकारमा पुर्व अध्यक्ष डम्मर गुरुङ्ग र सचिन पङ्गेनी रहेका छन ।

  • पर्वतकाे शालिजाका किसानले तरकारी बेचेर एक वर्षमा ५ करोड रुपैयाँभन्दा बढी आम्दानी गरे

    पर्वतकाे शालिजाका किसानले तरकारी बेचेर एक वर्षमा ५ करोड रुपैयाँभन्दा बढी आम्दानी गरे

    पर्वत । पर्वतको जलजला गाउँपालिका वडा नम्बर ६ शालिजाका किसानले तरकारी बेचेर एक वर्षमा पाँच करोडभन्दा बढी रकम भित्र्याएका छन् । जिल्लाको सबैभन्दा उच्च भेगमा रहेको शालिजाका धेरैजसो किसानले व्यावसायिक रूपमा तरकारीखेती गर्दै आएका छन् ।

    कृषि ज्ञान केन्द्रमार्फत सागसब्जी उत्पादनको पकेट क्षेत्रका रूपमा विकास गरिएको शालिजामा मौसमीभन्दा बेमौसमी सागसब्जी बढी उत्पादन हुने भएकाले किसानको आम्दानी बढेको हो ।

    शालिजामा उत्पादन भएको आलु, काउली, बन्दागोभी, बोडी, सिमी, लौका, डल्ले खुर्सानी, काँक्रोलगायत ताजा सागसब्जी छिमेकी जिल्ला म्याग्दीको सदरमुकाम बेनी, पर्वतको कुश्मा, बाग्लुङ बजार र पोखरासम्म बिक्री हुने गरेको स्थानीय किसान बुद्धि सुवेदीले जानकारी दीए ।

    शालिजाका आठ सय परिवार तरकारी खेतीमा संलग्न भएका जिल्ला कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ ।

     

  • बर्खा लागेसँगै मनाङ सुनसान, व्यवसायी ‘फुर्सदिला’

    बर्खा लागेसँगै मनाङ सुनसान, व्यवसायी ‘फुर्सदिला’

    कास्की ।  पदयात्राका लागि प्रसिद्ध गन्तव्य मनाङ बर्खा लागेसँगै सुनसान भएको छ । जेठदेखि भदौसम्म पदयात्रा पर्यटनका लागि ‘अफसिजन’ मानिन्छ । अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने मनाङमा अहिले फाट्टफुट्ट मात्र विदेशी पर्यटक भित्रिने गरेका छन् ।

    अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), इलाका संरक्षण कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलले असोजदेखि मङ्सिर र फागुनदेखि वैशाख मुख्य पर्यटकीय याममा यहाँ पर्यटकको सङ्ख्या बाक्लो हुने बताए ।

    चामेका पर्यटन व्यवसायी फुर्वा लामाले मनाङवासीको मुख्य आयआर्जनको स्रोत पर्यटन व्यवसाय रहेको तर अहिले व्यवसायीहरू फुर्सदिला रहेका बताए । यस्तै सडक विस्तारले पदमार्ग छोटिँदा अन्नपूर्ण चक्रीय पदमार्गको साख गुम्दै गएको लामाको अनुभव छ  । जाडोयाममा व्यवसायीहरू होटल बन्द गरेर काठमाडौँ, पोखरालगायतका ठाउँमा जाने गर्छन् ।

    ‘एक्याप’ मनाङका प्रमुख भुजेलले गएको वर्ष २१ हजार चार ९५ जना विदेशी पर्यटकले मनाङ घुमफिर गरेका जानकारी दीए । धेरैजसो युरोपियन देशका पर्यटकको रोजाइमा मनाङ पर्ने गरेको छ । आन्तरिक पर्यटकको तथ्याङ्क ‘एक्याप’ सँग छैन । भारतीय र नेपाली पर्यटक ‘बाइक राइडिङ’ गरेर पनि मनाङ आइपुग्छन् ।

     

  • वीरगन्ज महानगरपालिकाको बजेट २ अर्ब ८९ करोड ४८ लाख

    वीरगन्ज महानगरपालिकाको बजेट २ अर्ब ८९ करोड ४८ लाख

    काठमाडौँ । वीरगन्ज महानगरपालिकाको आगामी आर्थिक वर्षका लागि २ अर्ब ८९ करोड ४८ लाख रुपैयाँको बजेट ल्याएको छ । आज शनिबार १५ औँ नगरसभामार्फत सार्वजनिक भएको बजेट चालु आर्थिक वर्षभन्दा ६२ करोड रुपैयाँ घटेर आएको हो । चालु आर्थिक वर्षमा महानगरको बजेट संशोधितसहित ३ अर्ब ५१ करोड रुपैयाँ रहेको छ ।

    चालु आर्थिक वर्षमा समानीकरण अनुदान रकम अन्तिम त्रैमासिकको २५ प्रतिशत रोक्का रहेको, संघीय सरकारको राजस्व असुलीमा आएको संकुचनको कारण राजस्व बाँडफाँड घट्न गएको, घरजग्गा कारोबारमा आएको मन्दीको कारणबाट घरजग्गा रजिस्ट्रेसन आयस्रोतसमेत घट्न जाँदा आगामी आर्थिक वर्षका लागि बजेटको आकार घटाउनु परेको महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले बताए ।

    उनले भने, ‘प्रदेश सरकारबाट सशर्त अनुदान र विशेष अनुदानको रुपमा थप अनुदान रकम प्राप्त हुन सकेको छैन्, जसले गर्दा समग्रमा राजस्व परिचालन लक्ष्यअनुरुप हुन सकेको छैन, काम गर्न कठिनाइ छ ।’ चालु आर्थिक वर्षको तुलनामा बजेट घटेर आएको भए पनि बजेटमा आगामी आर्थिक वर्षमा वीरगन्जलाई सुन्दर, समुन्नत र समृद्ध बनाउने गरी विषेश कार्यक्रम समेटेको उनले बताए।

    नगरसभामा प्रस्तुत आगामी आर्थिक वर्षको बजेटमा चालु खर्चतर्फ २ अर्ब ४ करोड ६६ लाख अर्थात् ७०.७ प्रतिशत छुट्याइएको छ भने पुँजीगत खर्चतर्फ ८१ करोड १८ लाख ८ हजार अर्थात् २८.१ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

    आगामी आर्थिक वर्षका लागि महानगरले खर्च व्यहोर्ने स्रोतहरूमध्ये आन्तरिक राजस्वबाट ७९ करोड ७५ लाख, नेपाल सरकारको वित्तीय हस्तान्तरणबाट १ अर्ब २७ करोड ९० लाख, संघीय राजस्व बाँडफाँटबाट २६ करोड ८० लाख रहेको छ ।
    यसैगरी प्रदेश अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट ५ करोड ३५ लाख, प्रदेश राजस्व बाँडफाँडबाट २ करोड २८ लाख र नगद मौज्दातबाट १० करोड खर्च व्यहोर्ने गरी बजेट व्यवस्थापन गरिएको महानगरले जनाएको छ ।

    महानगर प्रमुख राजेशमान सिंहको अध्यक्षतामा भएको अधिवेशनमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई, महानगरपालिकाका ३२ वटै वडाका अध्यक्षहरु, वडा समिति सदस्यहरु र कर्मचारीहरुको सहभागिता रहेको छ ।

  • विदुरका उत्कृष्ट करदाता सम्मानित

    विदुरका उत्कृष्ट करदाता सम्मानित

    त्रिशूली ।  जिल्लाको विदुर नगरपालिकाले सबैभन्दा धेरै कर तिर्ने १३ जना करदातालाई ‘उत्कृष्ट करदाता’ का रुपमा सम्मान गरेको छ । 

    शुक्रबारदेखि सुरु भएको विदुरको १५औँ नगरसभाको अधिवेशनमा कर बुझाउनेमध्ये प्रत्येक वडाबाट एकजनाका दरले उत्कृष्ट करदातालाई सम्मान गरिएको हो ।

    सभाध्यक्ष एवं नगरप्रमुख राजन श्रेष्ठका अनुसार पालिकामा रहेका १३ वडाबाट सबैभन्दा बढी कर बुझाउने १३ जना व्यवसायीलाई सम्मान गरिएको हो । सम्मानित हुनेमा वडा नंं. १ बाट किरण खतिवडा, २ बाट भुवनलाल राजभण्डारी, ३ बाट मङ्गले श्रेष्ठ, ४ बाट भगवानराज श्रेष्ठ, ५ बाट मनमैजु इन्डस्ट्रिज प्रालि, ६ बाट सरस्वती धिताल लामिछाने र ७ बाट भैरवबहादुर भण्डारी रहेका छन् ।

    वडा नं. ८ देखि १३ बाट क्रमशः शिवप्रसाद अधिकारी, जितेन्द्रमान श्रेष्ठ, प्रकाश खतिवडा, निलप्रसाद चालिसे, अर्जुनप्रसाद रिमाल र अम्बरबहादुर तामाङ सम्मनित भएको नगरप्रमुख श्रेष्ठले जानकारी दिए । 

    विदुरले करको आकार बढाउने भन्दा दायरा बढाउँदै करदातालाई आकर्षित गर्ने र आन्तरिक श्रोत बढाउने लक्ष्य अनुरूप आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट केन्द्रित गरी कार्यान्वयनका लागि बजेट विनियोजन गरिने नगर उपप्रमुख प्रभा बोगटीले बताए।

    शुक्रबारदेखि सुरु भएको नगरको अधिवेशनले नीति तथा कार्यक्रमलाई संशोधनसहित पास गरिसकेको छ । एक अर्ब ११ करोड हाराहारीको अनुमानित बजेटमाथिको छलफल जारी रहेको उपप्रमुख बोगटीले जानकारी दिए । 

  • हिउँदमा सिँचाइ गर्न फलेवासमा पोखरी निर्माण

    हिउँदमा सिँचाइ गर्न फलेवासमा पोखरी निर्माण

    पर्वत । वर्षायाममा पानी सञ्चित गरी सुक्खायाममा सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्यले पर्वतको फलेवासमा सिँचाइ पोखरी निर्माण गरिएको छ । खाद्यान्न उत्पादनका लागि जिल्लाकै अब्बल मानिएको फलेवासमा हिउँदयाममा भने सिँचाइ गर्न सकस हुँदै आएको छ ।

    फलेवास सिँचाइ योजनाको मुहान रहेको लमाए खोलामा पानीको मात्रा कम हुँदा हिउँदमा खेतबारी बाँझै राख्नुपर्ने बाध्यता भएका बेला सिँचाइ पोखरी बनाएपछि बाह्रैमास सिँचाइ गर्न सकिने भएको छ ।

    फलेवास नगरपालिका–६ देवीस्थानमा पोखरी निर्माण गरिएको हो । हिउँदे सिँचाइका लागी पानी सङ्कलन गर्न पोखरी निर्माण गरिएको हो । सुक्खायाममा बाँझो जमिनमा सिँचाइ सुविधा पुर्‍याउन पोखरी निर्माण गरिएको देवीस्थानका वडाध्यक्ष नवीनकुमार श्रेष्ठले जानकारी दिए । करिब १२ हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने गरी पोखरी निर्माण गरिएको छ ।

    स्थानीय चौविस कुरिया टोलको फेदीबाट डिप बोरिङमार्फत पानी तानेर पोखरीमा जम्मा गर्ने र हिउँदमा फाँटहरुमा हिउँदे खेती, फलफूल, तरकारी बालीमा सिँचाइको सुविधा पुर्‍याइने छ । हिउँदको समयमा पानी अभावका कारण सुक्खा रहने जमिनमा सिँचाइ हुने गरी पोखरी बनेपछि स्थानीय कृषक खुसी भएका छन् ।

    पोखरी निर्माणका लागि गण्डकी प्रदेश सरकारअन्तर्गत रहेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय पर्वतमार्फत रु २० लाख बजेट प्राप्त भएको थियो । पाँच फिट गहिराइ, दश मिटर चौडाइ र १६ मिटर लम्बाइ भएको पोखरी निर्माण भएपछि देवीस्थानका एक सय ३० घरधुरी लाभान्वित हुने पोखरी निर्माण उपभोक्ता समितिका अध्यक्ष रमेश चपागाईले बताए ।

    “यसले हिउँदमा धेरै कृषक लाभान्वित हुने छन्”, उनले भने । बाह्रै महिना सिँचाइ हुने भएपछि तरकारी उत्पादनमा वृद्धि गर्ने कृषकको योजना छ । सडक, विद्युत् पुगे पनि पर्याप्त सिँचाइका लागि पानी नहुँदा तरकारी तथा अन्य वस्तु आयात गर्दै आएका किसानले अब त्यसका कमी आउने अपेक्षा गरेका छन् ।

    अहिले पर्वतको कुल खेतीयोग्य जमिनमध्ये ११ हजार नौ सय ३४ हेक्टर क्षेत्रफलमा सिँचाइको सुविधा छ । तर बाह्रैमास सिँचाइ सुविधा पुग्ने जमिनको क्षेत्रफल भने जम्मा तीन हजार पाँच सय हेक्टर मात्र रहेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख विष्णुहरि अधिकारीले बताए। स्रोत कम भएका तर खेतीयोग्य जमिन रहेका फलेवासजस्तै कटुवाचौपारी, पाङ, बर्राचौर, कुर्घालगायतका ठूला फाँटमा यस्ता पोखरी निर्माण गर्न सकिने उनको भनाइ छ ।