Author: खोज प्रेस

  • दुबईमा चट्याङसहित वर्षा

    दुबईमा चट्याङसहित वर्षा

    युएई । अबुधाबी र दुबईमा बिहीबार बिहानै चट्याङसहित भीषण वर्षा भएको छ । एकाबिहानै हुरी चलेको थियो भने बिहान करिब ३ बजेदेखि चट्याङ पर्न थालेको थियो ।

    स्थानीय मौसम विभागले भने बिहान ४ बजेतिर मौसम बदली हुने पूर्वानुमान गरेकोमा त्यसअघि नै हुरी र चट्याङसहित वर्षा भएको जनाइएको छ । मध्यराततिरै अबुधाबीको सुदूरपश्चिममा रहेको अल धाफ्रा र अल सिला क्षेत्रमा भारी वर्षा भएको थियो ।
    अल अब्याद टापुसहित केही क्षेत्रमा असिना परेको थियो । मोहम्मद बिन जायद सहर र अल शमामेखमा चट्याङ र मेघ गर्जनसहित वर्षा भएको थियो ।
    राति करिब अढाई बजेतिर अबुधाबीका अधिकांश भागमा चट्याङ र मेघ गर्जनसहित वर्षा सुरु भएको थियो भने हुरीका कारण दुबईतिर सरेको बादलले त्यहाँ पनि मौसममा परिवर्तन ल्याएको थियो । दुबईको राष्ट्रिय मौसम विभागले नागरिकलाई सुरक्षा सतर्कता अपनाउन भनेको छ ।

  • नेपालले टस हारेर पहिला फिल्डिङ गर्दै

    नेपालले टस हारेर पहिला फिल्डिङ गर्दै

    काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको टी-२० सिरिजको चौथो खेलमा नेपालले पहिला फिल्डिङ गर्ने भएको छ ।

    टीयु क्रिकेट मैदानमा नेपालविरुद्ध वेस्ट इन्डिज ‘ए’ ले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो ।

    सिरिज जित्ने सम्भावना कायमै राख्न नेपाललाई यो खेल जित्नै पर्ने दबाब छ ।

    पहिलो खेलमा वेस्ट इन्डिज ‘ए’ लाई ४ विकेटले पराजित गरेको नेपाल दोस्रो खेलमा १० रन र तेस्रो खेलमा ७६ रनले पराजित भएको थियो ।

  • विश्वकप खेल्न नपाएपछि सन्दीप :  म षड्यन्त्रको शिकार भएँ

    विश्वकप खेल्न नपाएपछि सन्दीप : म षड्यन्त्रको शिकार भएँ

    काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले आफू षडयन्त्रको शिकार भएको दाबी गरेका छन् । बलात्कार मुद्दा खेपिरहेका लामिछाने टी–२० विश्वकप खेल्ने नेपाली टोलीमा समावेश हुन नसकेपछि उनले सामाजिक सञ्जालमा निराशा व्यक्त गरेका हुन् ।

    नेपाली टोलीको घोषणा हुने बित्तिकै एउटा इमोजीसहितको पोस्ट गरेका सन्दीपले त्यसपछि अर्को पोस्ट गर्दै समयले सत्य उजागर गर्ने आशा व्यक्त गरेका हुन् ।

    उनले लेखेका छन्, ‘मैले पोस्ट गर्नबाट लामो समय आफूलाई टाढा राखेँ। म षड्यन्त्रको शिकार भएकोमा मलाई कुनै शंका छैन । यस षड्यन्त्रमा आफ्नो भूमिका खेल्ने सबैलाई भगवान‍्ले आशीर्वाद दिउन्। म सबै कुरा भगवान‍्मा छोड्छु। सत्य समयले बताउनेछ, बाहिर नआएसम्म ।’

  • युवाहरु देशमै बस्ने परिस्थिति नबनेसम्म देश बन्दैनः जबरा

    युवाहरु देशमै बस्ने परिस्थिति नबनेसम्म देश बन्दैनः जबरा

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति समशेर जबराले युवाहरु देशमै बस्ने परिस्थिति सिर्जना नभएसम्म मुलुकको विकास सम्भव नरहेको बताएका छन् ।

    बुधवार काठमाडौंमा अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा उनले मुलुकमा युवाहरुले रोजगार प्राप्त नगरेसम्म र देशमै बस्ने परिस्थिति सिर्जना नभएसम्म मुलुकको विकास सम्भव नरहेको बताए । उनले उद्योगको क्षेत्र पहिलाको भन्दा खुम्चेको अवस्था रहेको बताए । जबराले धेरै उद्योग नेपालमा नबनेसम्म युवाहरु पलायन भइरहने बताए । उनले औद्योगिक क्षेत्रको विकास, रोजगारको पूर्ण सहभागिता हुने किसिमको विकास गर्न जरुरी रहेको बताए ।

    उनले भने, ‘मुलुकमा युवाहरुले रोजगार प्राप्त नगरेसम्म, उनीहरु यहाँ बस्ने परिस्थिति सिर्जना नभएसम्म मुलुकको साँच्चिकै विकास हुन सक्दैन ।’

  • नेपाललाई वेस्ट इन्डिज ‘ए’ ले दियो २२८ रनको विशाल लक्ष्य

    नेपाललाई वेस्ट इन्डिज ‘ए’ ले दियो २२८ रनको विशाल लक्ष्य

    काठमाडौं । टी-२० सिरिजको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ र नेपालसामु २ सय २८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

    टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय २७ रन जोड्यो ।

    वेस्ट इन्डिज ‘ए’ का लागि जोनसन चाल्र्सले शतकीय अविजित इनिङ खेले । उनी ११९ रनमा अविजित रहे ।

    आन्द्रे फ्लेचरले ५३ रनको योगदान दिए । एलिक अथान्जले २७, फाबिएन एलेनले १९ रन बनाएर आउट हुँदा किमो पल १३ रनमा अविजित रहे । बलिङमा नेपालका करण केसी र सागर ढकालले एक/एक विकेट लिए ।

  • नेपालले पहिला फिल्डिङ गर्दै, रोहितको अनुपस्थितिमा दीपेन्द्रको कप्तानी

    नेपालले पहिला फिल्डिङ गर्दै, रोहितको अनुपस्थितिमा दीपेन्द्रको कप्तानी

    काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको टी-२० सिरिजको तेस्रो खेलमा नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । टीयू क्रीकेट मैदानमा नेपालविरुद्द वेस्ट इन्डिज ‘ए’ ले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो ।

    यो खेलमा दीपेन्द्रसिंह ऐरीले कप्तानी गर्नेछन् ।

  • बेलायतमा पाचौँ मिडलैन्ड क्रिकेट लिग प्रतियोगिता हुँदै

    बेलायतमा पाचौँ मिडलैन्ड क्रिकेट लिग प्रतियोगिता हुँदै

    बेलायतमा मिडलैन्ड क्रिकेट लिग प्रतियोगिता हुने भएको छ । २०१९ बाट सुरु भएको सो प्रतियोगिताको पाचौँ संस्करण ५ मे आइतबारदेखि सुरु हुने भएको हो।

    मिडलैन्डको नेपाली समुदायबाट क्रिकेटमा कम्तिमा एक ईङगलैन्डको राष्ट्रिय खेलाडी तयार गर्ने  र युवाहरूले आफ्नो अमूल्य समय लागुऔसध र दुर्व्यसनमा नबिताउन भन्ने उद्देश्यका साथ मिडलैन्ड क्रिकेट लिगको सुरुवात गरिएको साझा नेपाली समाजका अध्यक्ष दीपक सापकोटाले जानकारी दिए।सापकोटाका अनुसार यो वर्ष पाँच टिमको बिचमा प्रतिस्पर्धा हुनेछ। गोर्खा टाइगर लेस्टर, नटिङगहम गोर्खा, ऊल्भरहाम्टन वारियर, बर्मिङगहम राईनो र नेप्लिज वारियर पिटरव्रोको बिचमा २६ समुह चरणको खेल हुनेछ भने फाइनल ४ अगस्टमा हुनेछ।

    प्रतियोगिताको समन्वय साझा नेपाली समाजले गर्नेछ। समाज लिगको प्रमुख प्रायोजक बन्ने र खेलको बजेट व्यवस्थापन च्यारिटि सॅाझको आयोजना गरी संकलन गरिने बताइएको छ  ।

  • वेस्ट इन्डिजविरुद्ध नेपालको तेस्रो खेल आज

    वेस्ट इन्डिजविरुद्ध नेपालको तेस्रो खेल आज

    काठमाडौं नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको तेस्रो खेल बुधबार हुँदैछ। दुई खेल सकिँदा एकएक अंक बाँडेका नेपाल र वेस्ट इन्डिजको बुधबार तेस्रो प्रतिस्पर्धा हुन लागेको हो।

    यो खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो १ बजे सुरु हुनेछ। शनिबार भएको पहिलो खेलमा चार विकेटको शानदार जित निकालेको नेपाल दोस्रो खेलमा आइतबार १० रनले पराजित भएको थियो। विश्वकप अगाडि नेपालले वेस्ट इन्डिसँगको पाँच खेलको टी-२० सिरिज खेल्दै छ।

    पहिलो खेल : रोहितको शतकमा नेपालको शानदार जित
    शनिबार भएको पहिलो खेलमा टस जितेर वेस्ट इन्डिजलाई ब्याटिङको निम्तो दिएको नेपाले २०५ रनको लक्ष्य पाएको थियो। वेस्ट इन्डिजले दिएको २०५ रनको लक्ष्य नेपालले १९.४ ओभरमा ६ विकेट गुमाएर पुरा गरेको थियो।

    नेपालले ६ विकेटको क्षतिमा २०६ रनको योगफल बनाएको थियो। कप्तान रोहितकुमार पौडेलको शतकीय इनिङमा विजयी भएको नेपालले घरेलु मैदानमा दोस्रो ओभरको अन्तिम बलमा पहिलो विकेट गुमाएको थियो।

    ओपनर अनिल शाह ९ बल खर्चेर ५ रन मात्रै जोडेर आउट हुँदा अर्का ओपनर कुशल भुर्तेल वेस्ट इन्डिजका बलरसामु टिक्न सकेनन्।

    सस्तैमा दुई ओपनर मैदानबाट बाहिरिए पनि कप्तान पौडेललेको प्रदर्शन सम्झन लायक बन्यो। उनले शतक प्रहार गरे। ५४ बलमा ११२ रन प्रहार गर्दा उनले ६ छक्का र १० चौका प्रहार गरे।

    दीपेन्द्र सिंह ऐरीले २४ र कुशल मल्लले १६ रन जोडे। नेपालका अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन्।

    वेस्ट इन्डिजका लागि म्याथ्यु फोर्ड र ओबेद म्याक कोयले समान दुईदुई विकेट लिए भने किमो पलको नाममा एक विकेट रह्यो।

    सुरुमा ब्याटिङ गरेको वेस्ट इन्डिजका लागि कप्तान रोस्टन चेसले अर्धशतक प्रहार गरेका थिए। उनले ९ चौका र दुई छक्काको सहयोगमा ४६ बलमा ७४ रन बनाएका थिए।

    ओपनर एलिक एथेनाजे ५ चौका र तीन छक्काको सहयोगमा २५ बलमा ४७ रन प्रहार गरे। अर्का ओपनर जोनसन चार्ल्स दुई बल खर्च गरेर खाता नखोली भेभेलियन फर्किएका थिए। आन्द्रे फ्लेचर १३ रन जोडेर क्रिजबाट बाहिरिए। केसी कार्टीले २६ बलमा ३८ रन जोडे। उनले १५ बलमा दुई चौका प्रहार गरेका थिए।

    पहिलो खेलमा नेपालका लागि कमलसिंह ऐरी, रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी र अभिनाश बोहोराले समान एकएक विकेट लिएका थिए।

    दोस्रो खेलमा १० रनको हार

    सिरिजको दोस्रोे खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’ सँग १० रनले पराजित भएको थियो। कीर्तिपुरस्थित त्रिवि मैदानमा आइतबार भएको खेलमा जितका लागि एक सय ६१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ५० रन मात्र बनाउन सकेको थियो।

    पहिलो खेलमा शतक हानेका नेपालका लागि कप्तान रोहित पौडेलले दोस्रो खेलमा अविजित ७१ रन जोडेका थिए। गुलशन झाले २६, लोकेश बमले १७ र आरिफ शेखले १२ रन बनाएका थिए र

    बलिङमा वेस्ट इन्डिज ‘ए’ का ओवेड म्याकवे, गुडाकेश मोतीले दुई दुई विकेट लिँदा ओसानी थोमस र रोस्टन चेसले एक एक विकेट हात पारेका थिए।

    टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ६० रन बनाएको थियो।

    वेस्ट इन्डिजका लागि आन्द्रे फ्लेचरले ४३, गुडाकेश मोतीले अविजित ३३, कप्तान रोस्टन चेजले २३, ओपनर जोनसन चाल्सले ११, केसी काटीले १० रन बनाउँदा म्याथ्यु फर्डले अविजित ११ रन बनाएका थिए।

    बलिङमा नेपालका सागर ढकाल र कुशल भुर्तेलले दुई दुई विकेट लिँदा सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट हात पारेका थिए।

    नेपालले वेस्ट इन्डिजसँगको सिरिजको चौथो खेल बिहीबार र पाँचौँ खेल शनिबार खेल्नेछ। यो सिरिजलाई आगामी टी-२० विश्वकपको तयारीको रुपमा हेरिएको छ।

  • मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्दछ : राष्ट्रपति पौडेल

    मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्दछ : राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकभित्र मर्यादित श्रम गर्ने वातावरण निर्माण गरी आन्तरिक उत्पादन र उत्पादकत्व बढाइनुपर्ने बताएका छन् । विश्व मजदुर दिवस, २०२४ को शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले मुलुकको आर्थिक समृद्धि र आत्मनिर्भरउन्मुख अर्थतन्त्र निर्माणका लागि आन्तरिक श्रम बजार मजबुत हुनुपर्ने बताए ।

    शुभकामना सन्देशमा उनले भनेका छन् “मुलुकको आर्थिक समृद्धिका लागि उद्यमशीलताको विकासमार्फत स्वदेशी उत्पादन वृद्धि गरी स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु अत्यावश्यक हुन्छ । उद्यमशीलताको विकास गर्न पुँजी लगानी गर्ने उद्यमी र श्रम तथा सीप लगानी गर्ने श्रमिक दुवैको योगदान उत्तिकै महत्वपूर्ण हुने भएकोले मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्दछ ।”

    विश्व मजदुर दिवसले स्वदेशी उत्पादनको प्रयोगमा जोड दिँदै श्रमको सम्मान, स्वरोजगार, उचित पारिश्रमिक एवं सामाजिक सुरक्षालगायतका श्रमिक अधिकारलाई सुनिश्चित गर्नेतर्फ अग्रसर हुन प्रेरणा मिल्ने विश्वास पनि उनले व्यक्त गरे ।

    श्रमिकको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन र उनीहरूको हक, अधिकार स्थापित भएको दिनको रूपमा प्रत्येक वर्ष मे १ तारिखमा यो दिवस मनाइन्छ । यस वर्ष ‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराकासाथ एक सय ३५ औँ विश्व मजदुर दिवस मनाइँदैछ । यस दिवसले श्रमिकको हक, हित, अधिकार तथा स्वतन्त्रताको रक्षार्थ विश्वभरिका सम्पूर्ण श्रमजीवीलाई एकताको सूत्रमा बाँध्न सहयोग पुग्ने राष्ट्रपति पौडेलले विश्वास व्यक्त गरे ।

    नेपालको संविधानले सम्पूर्ण नागरिकका लागि रोजगारीको हक एवं श्रमको हक सुनिश्चित गर्दै प्रत्येक श्रमिकका लागि उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई  प्रत्याभूत गरेको छ ।

    त्यस्तै, समान कामका लागि लैङ्गिक आधारमा पारिश्रमिक तथा सामाजिक सुरक्षामा कुनै भेदभाव नगरिने व्यवस्था समानताको हकमा छ । राष्ट्रपति पौडेलद्वरा जारी शुभकामना सन्देशमा मुलकमा लोकतन्त्रमा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने संवैधानिक प्रावधानले मूर्तरूप लिँदै जाने सन्दर्भमा श्रमिक वर्ग पनि लाभान्वित हुने उल्लेख छ ।

  • नेशनल आईसीटी डेकाे अवसरमा टेलिकमले ल्यायो यस्ता अफर

    नेशनल आईसीटी डेकाे अवसरमा टेलिकमले ल्यायो यस्ता अफर

    काठमाडौं । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ भन्ने मूल नारासहित वैशाख २० गते मनाउन लागिएको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२४ (नेशनल आईसीटी डे २०२४) को अवसरमा नेपाल टेलिकमले आफ्ना ग्राहकहरुका लागि आईसीटी डे अफर उपलब्ध गराउने भएको छ । सो अफर भोलिदेखि प्रारम्भ भइ वैशाख २१ सम्म लागू हुने कम्पनीले जनाएको छ ।

    यस अन्तर्गत रु. ४९ मा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्क भित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध छ ।

    यसैगरी डाटा प्याकेज अन्तर्गत रु. १११ मा ५ दिन चलाउन सकिने ६ जीबी डाटा, रु. १९९ मा ७ दिन चलाउन सकिने १३ जीबी डाटा, रु. २९९ मा १२ दिन चलाउन सकिने २० जीबी डाटा र रु. ३९९ मा १५ दिन चलाउन सकिने ३० जीबी डाटा प्याकेज उपलब्ध हुने टेलिकमका प्रवक्ता हरि ढकालले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

    अफर अन्तर्गत रु. ७८९ मा फेस्टिभ कम्बो प्याक पनि लिन सकिने छ । प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेज अन्तर्गत ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा यसमा उपलब्ध हुन्छ । पोस्टपेड मोबाइल प्रयोगकर्ताले यो प्याकेज लिएमा मासिक रुपमा बुझाउनु पर्ने रेन्टल चार्जबाटै यो शुल्क काटिने सुविधा उपलब्ध छ ।

    आगामी वैशाख १९ देखि २१ गतेसम्म आफ्नो मोबाइलबाट *1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यी प्याकेजहरु खरिद गर्न सकिने छ ।