Category: समाचार

समाचार

  • फर्केर हेर्दा : ४ दिनको दशैं यात्रा

    फर्केर हेर्दा : ४ दिनको दशैं यात्रा

    २०७९ साल।
    करिब ४ बर्षपछि पहाड घर जान लाग्दाको उत्साह अनौठो थियो। बुटवलबाट मात्र ४ घण्टाको बाटो,आइपुगेकि भनेर ४०० चोटि झ्यालबाट त नियाले नै होला। झ्यालबाट नियालिरहदा ती चारैतिर बाट घेरिएका पहाडी सुन्दर दृश्यहरुले मनलाई अझ आतुर गराइरहेको थियो।

    ४ जनाको परिवार हाम्रो,नभन्दै प्रदेश न.४ स्थित जिल्ला स्याङ्जा पुगियो। अचम्मलाग्ला तर एकजनाको गाडिभाडा रु.४०० नै रहेछ। चारैजनाको गाडिभाडा तिरिवरि हामी झर्यौं।
    अब पैदल हिड्नुपर्ने करिब ४० मिनेट। देखेचिनेका गाउँले देखभेट गर्दै हामी ओरालो लागेउं। त्यो चिसो हावापानी,सानोछदा पौडी खेल्ने त्यो खोला,घुम्तीनीर खरले छाएको त्यो बिसौनी,हरेक साझ किर्तन हुने त्यो कालिका मन्दिर अनि आफुलाइ क,ख चिनाएको त्यो ४ कोठाको स्कुल। पक्कैपनि आफू जन्मिएको ठाउँ स्वर्ग भन्दा प्यारो लाग्दो रहेछ।

    घर पुगियो। पुग्नासाथ हजुरआमालाइ ढोगें। “हेर हेर, दुब्लाएर ४ हड्डी बाहेक केही बाकी रहेनछ..ए राधा,खुवाउन छोडिस कि क्याहो मेरो नाति लाई?” आमाले हासो गर्दै सोध्नुभयो। मम्मी पनि हास्नुभयो,केहि बोल्नुभएन। दुब्लाउ थिइन पनि कसरी।दिनमा ४ पटक भोक लाग्यो भनेर दुखदिने मान्छे म, आजकल ४ दिनमा मात्र ४ पटक खाएपनी बाँच्न सक्छु जस्तो लाग्छ।

    गाउँ डुल्न आतुर म, भोलिपल्ट ४ नबज्दै बिउँझिएछु। सबै नित्यकर्म सकिसकेपछि म गाउँ डुल्न निस्किए।कृषि पढिरहेको म, सुरुमै त्यि बाझो खेतहरुमा आखा गयो। पल्लाघरको बुवालाई यसबारे सोधेँ। “गाउँमा ४ बर्ष भन्दा मुनि अनि ४० बर्ष भन्दा माथी उमेरका मान्छे मात्र धेरै भएपछी कस्ले गरेर खाने बाबु? सक्ने खाने कोहि तराइ त कोहि पराइ। त्यसमाथि ४ गाउँ डुलेपनि एकहल गोरु पाइने होइन..केले जोत्ने? कस्ले जोत्ने?”बुवाले थप्नु भयो। म निशब्द भए। हस बुवा भनी निस्किए।
    माथिल्लो घरकि ठुलीआमा पनि डिलैमा बसेर चिया पिइरहनु भएको रहेछ। आमालाई ढोगभेट गरे। “आमा दाइ खोइ त?”
    मैले सोधेँ। “आछैन बाबु” नरम स्वरमा उत्तर दिनुभयो। ४ बर्ष भैसकेछ गोबिन्द दाइ बिदेशबाट नफर्किएको। यसैगरि सबै गाउँ डुले। गाउँ रित्तो लाग्यो। ४० वटा घर भएर के गर्नु, “घर” जस्तो घर ४ वटा पनि नभएपछी…..

    आज बडादशैं, ४ दिन भैसक्यो झरी परेको। आजपनि रोकिएन। ११:५२ को साइत तर टीकाटालो सकिसक्दा ४ बज्न आटेको थियो।
    अर्कोदिन ४ वटा छाताओडि हामी ४ जना मामाघर तर्फ लाग्यौं।
    त्यै ४० मिनेटको बाटो….पानी,हिलो,उकालो अनि सेलरोटीले भरिएका ती ४ झोला ले गर्दा आज ४ घन्टा लाग्यो। जसोतसो उकालो चडियो। अनि चारैतिर हेरेर लामो सास फेर्दै गाउँलाइ बिदा गरिदिए।

    खै किन हो।
    जिन्दगीको गति ४ गुणाले बडिरहेको जस्तो महसुस हुन्छ।अबको ४ दिन भित्र, रामपुरमा हुनेछु।
    त्यै ४ भित्ताको कोठा।
    ४० जना विद्यार्थी तर त्यिनै ४ वटा मिल्ने साथी।
    ४ बर्षको पढाइ।
    ४०,००० को जागीर या त चारैतिर अन्धकार।

    -अमृत न्यौपाने
    AFU, Rampur
    Ag,5th sem.

  • बाबा के दिउँ उपहार आज

    बाबा के दिउँ उपहार आज

    खै बाबा, के दिउँ उपहार आज कुशेऔंसीको दिन?
    हेर्नुस् त, बाबा, मेरा हातहरू आज पनि खाली नै आएका छन्। तर, हजुरको लामो आयु र हजुरकै लागि यी हातहरू जोडिन बाहेक अरू कुनै मन्दिर बाँकी छैन।
    हजुर सधैं भन्नुहुन्थ्यो, “दुःखपछि सुख आउँछ, आतिएर केही हुँदैन। समयसँगै आफूलाई ढाल्दै जानुपर्छ।” बाबा, म त्यही समयको पर्खाइमा छु अझै पनि।

    हजुरको लगनशीलता र त्याग म कहिल्यै बिर्सन सक्दिनँ। कलिलो उमेरमै परिवारको जिम्मेवारी बोकेर बाहिरिनुभएको हजुर, अनि त्यहाँ गरेको सङ्घर्ष म कसरी बिर्सन सकुँला र?
    हजुरको लगन, मेहनत, र समर्पणकै कारणले आज यहाँसम्म आइपुगेका छौं।
    हरेक बाटो सजिलो लाग्छ हामीलाई, किनकि कठिनाइको काँडा पन्छाउन हजुर नै अगाडि हिँड्नुभएको छ।

    बाबा, हजुरको हातको स्पर्शले अझै पनि मेरो मनमा अनौठो सान्त्वना दिन्छ। हजुरको माया र हेरचाहले मलाई कहिल्यै एक्लो महसुस हुन दिएको छैन। समयले कति धेरै कुरा परिवर्तन गर्‍यो, तर हजुरको अनुहारको त्यो मुस्कान अझै पनि मेरो हृदयमा गढेर बसेको छ। हजुरको आँखा भरिएको माया सम्झँदा मेरा आँखा पनि आँसुले भरिन्छन्।

    आज मलाई त्यो कुराको महत्त्व अझ बढी महसुस भएको छ, जुन हजुरले सधैं भन्नुहुन्थ्यो, “मानिस भएपछि व्यावहारिक हुनुपर्छ। किताबको ज्ञान त जसले पनि लिन सक्छ।”
    तर, जीवनको यात्रा कठिन हुन्छ, र जब थकानको आभास हुन्छ, तब किताबमा लेखिएको शब्दभन्दा पनि जीवनको पाठ अझ धेरै सम्झना आउँछ।
    बाबा, हजुरको हँसिलो अनुहारले मलाई सधैं हिम्मत र उमंग दिएको छ। हजुरको साथले मनमा शान्ति र बल दिन्छ, जसले मलाई अघि बढ्न प्रेरित गर्छ।

    मेरो शक्ति भनेकै हजुर नै हो, बाबा।
    जब केही कुरा बारम्बार असफल हुन्छन्, र म हार मान्न थाल्छु, त्यो बेला हजुरले सधैं मलाई साहस, हिम्मत, र आत्मबल दिनुहुन्छ।
    “माया गर्छु” भन्ने शब्द सानो लाग्न सक्छ, बाबा। तर एक दिन म पनि सफल हुनेछु, र हजुरले देखेका सपनाको एउटा अंश म पूरा गर्नेछु।

    कमजोर छैन म, बाबा, यति छिटो हार मान्ने छैन। विश्वास गरेर बस्नुस्, हजुरको संस्कारमाथि औंला उठाउने मौका सकेसम्म कसैलाई दिने छैन।

    आजको विशेष दिनमा हजुरको त्यो बोली, “छोरी, म सधैं तिम्रै साथमा छु,” अझै मेरो कानमा गुञ्जिन्छ। आजको विशेष दिनको विशेष शुभकामना, बाबा। हजुरलाई धेरै धेरै माया अनि सम्झना।

    -इरा अर्याल

  • मेरा `बा´

    मेरा `बा´

    पर्दा पछाडी रमाउँछन, सबै कुरा जितेर पनि सम्मान छैन ,
    मेरा लागि बाभन्दा ठुलो अर्को कोही भगवान छैन ,
    घाम बन्न सकुँ छाहारी बन्न सकुँ र खुशी बन्न सकुँ,
    म हार्दा अनि हौसला बन्छन, मेरो त्यस्तो केही शान छैन

    बालाई खुशी भनेकै छोराछोरीको सुख हो, पर्दैन धन दौलत जतिनै दिएपनि
    ऊनलाई फोन पनि गर्नु पर्दैन, महसुस गर्छन टाढा बसेर मात्र सम्झिए पनि
    आफू सकिन, त्याग्न पछि पर्दैनन सन्तानका लागि बा
    सोध त सधैँभरी खर्च हुन्छ तिम्रा लागि भलै आफ्नो गोजी रित्तिए पनि ।

    बालाई नयाँ कपडा किन्नु भनेर भन्नु पर्छ, पुरानोमै बिताइदिन्छन साल पनि ,
    मुटुनै फुट्ने चोट हुन्छ मनमा ठिक छ भनिदिन्छन हाल पनि
    बाको त्याग सम्झन्छु , बाको संघर्ष सम्झन्छु मेरा खुशीको लागि ,
    अ मुल्य अ तुल्य लाग्च बासँगको हरेक अङ्कमाल पनि ।

    बाका कैयौँ सपना अपुरा छन, ताकि हाम्रा सपना पुरा होस, छोरा छोरीलाई केही कुराको कमी नहोस के फरक पर्च र आफ्ना अधुरा होस,
    म बा जस्तै बन्न नसके पनि बाका केही सपना पुरा गर्न सकुँ, जहाँ मानवताको कुरा हुन्छ , भगवानको कुरा हुन्छ त्यहाँ बाको पनि कुरा होस ।

    दुनियाँले जे सुकै भनोस बा चासो छैन ,
    बाको खुशी भन्दा ठुलो कुनै हाँसो छैन ,
    म सधैँ चिनिरहुँ यो समाजमा तिम्रो नाम लिएर ,
    तिमी जिन्दगी हौ बा, तिमीसँग गुनासो छैन ।

    बा रहुन्जेल म सुरक्षित छु मेरो अस्तित्व सुरक्षित छ
    मैले आफ्नो छायाँ खोज्नु पर्दैन
    बा रहुन्जेल मैले अन्त माया खोज्नु पर्दैन ।

    – अनिता रेग्मी

  • आज बुवाको मुख हेर्ने दिन : के छ कुशे औंसीको महत्त्व ?

    आज बुवाको मुख हेर्ने दिन : के छ कुशे औंसीको महत्त्व ?

    काठमाडौं । आज भाद्र कुशे औंसी, पुजनीय बुवालाई सम्मान प्रकट गर्दै मनाइँदै छ। आजको दिनलाई बुवाको मुख हेर्ने दिन हो। यस दिन आफ्नो बुवालाई भेटेर मिठा परिकार खान दिने, उपहार दिने र आशिर्वाद लिने चलन छ। बुवालाई भेट्न नसक्नेले भने टेलिफोन वा भिडियो कल गरेर सम्झिने गर्दछन्।

    भौतिक, भावनात्मक, जैविक अनि अन्य धेरै सम्बन्धको एक मात्र मेल हो, पिता। त्यसैले आज कुशे औंसी, बुवाको मुख हेर्ने दिनको अवसरमा हरेकले आफ्ना पिता प्रति सम्मान दर्शाउन बुवाको मुख हेर्ने र कोशेली दिने परम्परा छ।

    कुशे औंसीलाई बुवाको मुख हेर्ने औंसी पनि भनिन्छ। आजको दिन पिताको सम्मान, सम्झना अनि विशेष समर्पण गर्ने दिन हो। कुशै औंसीका दिन पिता हुने छोराछोरीले उनको मुख हेरेर मिठाई, फलफूल, कपडा आदि उपहार दिने र परदेशमा हुने छोराछोरीले फोनबाटै पनि कुरा गर्दछन्।

    बुवा नहुनेले पिताको सम्झनामा तस्बिर हेरेर वा विभिन्न मन्दिर शक्तिपीठ, देवालय लगायतका पवित्र तिर्थस्थल पुगेर पितृहरुको नाममा श्राद्ध गरी तर्पण दिई सिदा दान गरी अध्यात्मिक चिन्तनबाट समेत सम्झना गर्दछन्।

    ‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यता अनुरूप यस दिन छोराछोरीहरूले आफ्ना बुवालाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्ने विश्वास छ। भाद्र कृष्ण औंसीका दिन वैदिक सनातन धर्मावलम्बीले वर्षभर देवकार्य तथा पितृ कार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्राउने पनि गर्दछन्।

    शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ। आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको छ। सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन्।

    कुशको महत्त्व
    नुहाँउदा, जप स्नान गर्दा, दानगर्दा, पाठपूजा, पितृकार्यमा समेत प्रयोग हुने वहूपयोगी कुशलाई हिन्दू धर्ममा महत्वका साथ हेरिन्छ।

    वैदिक सनातन हिन्दू संस्कारमा कुश अत्यन्त महत्वपूर्ण सांस्कृतिक र धार्मीक भूमिका भएको पवित्र वनस्पती मानिन्छ। यो देवकर्म र पितृकर्म दुबैमा अनिवार्य वनस्पती हो। औंशी दिन घरमा ल्याइने कुशको महिमा श्रीमद्भागवत् गीता, गरुँड पुराण, यथर्व वेद र विष्णु पुराणमासमेत वर्णन गरिएको छ।

    कतिपयले बुवाको मुख हेर्नेदिनलाई ‘फादर्स डे’ पनि भन्छन्। तर फार्दस डे र बुवाको मुख हेर्ने दिनमा फरक छ। सन् १९०९ मा पहिलो पटक श्रीमती सोनोरा डोडले आफ्नो पिताको सम्मानमा मनाएकी थिइन्। त्यसपछि फार्दस डेलाई जुन १९, १९१० मा अमेरीकामा मनाइएको थियो। तर, बुवाको मुख हेर्ने दिन कहिलेबाट मनाउन थालियो भन्ने कुनै यकिन तथ्यांक छैन। यो पौराणिक कालबाटै मनाउन थालिएको किवंदन्ती छ।

  • बाढीले माडी–ठोरी सडकखण्ड अवरुद्ध

    बाढीले माडी–ठोरी सडकखण्ड अवरुद्ध

    चितवन । अविरल वर्षासँगै घाँघर खोलामा आएको बाढीले चितवनको माडी–ठोरी सडकखण्ड अवरुद्ध भएको छ ।

    इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक केदारमान दोङले घाँघर खोलामा आएको बाढीले माडी–ठोरी सडकमा सवारीसाधन आवतजावत बन्द भएको जानकारी दिए ।

    यो खोलामा पुल निर्माणकै क्रममा रहेकाले बाढी आउनासाथ आवतजावत ठप्प हुने गरेको छ । पानी पर्न नरोकिएसम्म सडक सञ्चालन गर्न सम्भव नरहेको उनको भनाइ छ ।

    अहिले गन्तव्यमा हिँडेका सवारीसाधन बाटोमा नै रोकिएका छन् । धेरै पानी पर्नासाथ खोला बढ्ने गरेका छन् । अधिकांश खोलामा पुल निर्माण भइसकेका छन ।

    घाँघर, बगई र मगुईखोलामा पुल निर्माणको चरणमा रहेको माडी नगरपालिका प्रमुख ताराकुमारी काजी महतोले जानकारी दिइन् ।

    उहाँले छिटो काम सम्पन्न गर्न हुलाकी सडक आयोजनालाई आग्रह गरिरहेको बताइन् । यो खण्डमा पर्ने पतरेखोलामा भने अझै पुल निर्माणको काम सुरु भएको छैन ।

  • मुग्लिङ-नारायणगढ सडकको सिमलतालमा बस र ट्रक ठोक्किए

    मुग्लिङ-नारायणगढ सडकको सिमलतालमा बस र ट्रक ठोक्किए

    काठमाडौं चितवनको भरतपुर महानगरपालिका-२९ मा बस र ट्रक ठोक्किएर दुर्घटना भएको छ।

    मुग्लिङ-नारायणगढ सडकखण्डको सिमलतालमा दुई गाडी ठोक्किएका हुन्। भारतीय डबल डेकर बस र ट्रक ठोक्किएका हुन्।

    दुर्घटनाको थप विवरण आउन बाँकी छ।

  • दबिएको आवाज

    दबिएको आवाज

    म त्यो नारी हु
    जसलाई मानिस रुपी भेडाहरुले
    अंग-अंग लुछेर मारेका थिए,
    आज कविता मार्फत बोल्दै छु,
    त्यति बेला मुख थुनिदिएका थिए
    बोल्न पाएकी थिइन,
    आज काबिताबाटै मनमा दबेका पिडा खोल्दै छु ।
    रगतले लतपततिएकि थिए म,
    मेरो प्राण जान सम्म कुरियो,
    अब मरी भन्ने थाहा पाउन साथ्, मलाई खाल्टो खनेर त्येही पुरियो ।

    जब उनीहरु पछि लागे भन्ने थाहा पाए,
    मेरा आसा अनि सपनाहरु त्यही मरिसकेका थिए,
    धेरै अघि बड्ने रहर थियो जीवनमा, तर बिडम्बना मानिस रुपी राक्षहरुले माटो मुनि दबाइ दिए ।
    छोरी पढेर केहि गर्ली भन्ने मेरा बुवा-आमाको सपनालाइ ति राक्षसहरुले छिनभरमै जलाएर खरानी पारिदिए,

    मर्न त म मरे तर, उता म जस्तै जीवन मा केहि गर्ने सोच भएका करोडौं नारीहरुको सपनालाइ पनि घाटी दबाएर मारिदिए ।
    म सम्झन्छु त्यो दिन जुन दिन, म मरेर लास बन्दा पनि यो समाजले मलाई सुख दिएन
    नाङ्गो फालिएकी थिए म बाटोमा, मेरो नाङ्गो सरिर बाट लाइक्स, कमेन्टस कमाउन आतुर थिए सबै तर मेरो वास्तविक चिन्ता भने कसैलाई थिएन ।

    – लिकिस बुढाथोकी

  • धौलीगंगाको बाँध पुनः खोल्दै भारत, महाकालीमा बाढीको सम्भावना

    धौलीगंगाको बाँध पुनः खोल्दै भारत, महाकालीमा बाढीको सम्भावना

    काठमाडौं । भारतले उत्तराखण्डस्थित पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध पुनः खोल्ने भएको छ । सिल्ट सफाइ कार्यका निम्ति बाँध खोल्न लागिएको जनाइएको छ ।

    शनिबार (भोलि) दिउँसो १२ बजेदेखि आइतबार (पर्सि)सम्म बाँधका ढोका खोलिने भारतीय पक्षले नेपाली प्रशासनलाई जानकारी गराएको छ ।

    बाँध खोलिँदा महाकाली नदीमा जलस्तर बढ्न सक्ने सम्भावना छ । महाकाली नदीतटीय क्षेत्रका बासिन्दालाई पूर्वसतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय दार्चुलाले आग्रह गरेको छ ।

    “…मिति २०८१।०५।१५ गते दिउँसो १२ः०० बजेदेखि मिति २०८१।०५।१६ गतेसम्म र तत्पश्चात् समेत महाकाली नदीमा जलस्तर बढ्न सक्ने सम्भावना भएकोले महाकाली नदी किनार तटीय क्षेत्रका बासिन्दाहरूलाई पूर्वसतर्कता अपनाउनु हुन जानकारी गराइन्छ,” दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जारी गरेको सूचनामा उल्लेख छ ।

  • रामेछाप पहिरो : ६ जनाको शव भेटियो, ४ जना अझै बेपत्ता

    रामेछाप पहिरो : ६ जनाको शव भेटियो, ४ जना अझै बेपत्ता

    रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरको लेखर्कमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

    अविरलको वर्षापछि गएराति गएको पहिरोले चारवटा घर बगाउँदा बेपत्ता भएकामध्ये ६ जनाको शव फेला परेको प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले जानकारी दिइन्। उनले अझै ४ जना बेपत्ता रहेको बताइन् ।

    एकजना बालिका अञ्जना श्रेष्ठको घाइते अवस्थामा उद्धार गरिएको छ । उनकाे कम्मरभन्दा मुनिको भाग चलेको छैन । उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहेको छ ।

    मृत्यु हुनेमा दोरम्बा शैलुङ–३  की ३२ वर्षीय चण्डिका श्रेष्ठ, उनका १८ महिनाका बालक आमुष रहेका छन् । यस्तै, ५७ वर्षीया उर्मिला पहरी, ३० वर्षीय सन्दीप पहरी, ११ वर्षीय बालक सन्तोष पहरी र १४ वर्षीय विज्ञान पहरी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

    पहिरोमा परी ९० वर्षकी पुड्की पहरी, करिब ५५ वर्षका काले पहरी, ५० वर्षकी झ्याउँकिरी पहरी र २० वर्षकी विनीता पहरी बेपत्ता छन् ।

    पहिरोले घर बगाउँदा केही पशुचौपाया पनि बेपत्ता छन् । पहिरोका कारण पुरै बस्ती जोखिममा रहेको बताइएको छ ।

    दोरम्बा शैलुङको वडा नम्बर २ र ३ को सीमा क्षेत्रमा पर्ने अधेरी खोलाको पक्की पुल समेत बगाएको छ । पहिरो गएको गाउँ जाने बाटोसमेत क्षतिग्रस्त भएकाले उद्धारमा समस्या भएको बताइएको छ ।

    रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रदीप कुमार सिंहसहित ११ जनाको टोली, नेपाली सेता, सशस्त्र प्रहरी र स्थानीय जनप्रतिनिधिको सहयोगमा खोजी र उद्धारको काम जारी रहेको छ ।

  • स्थानीयकरण र ग्राहक सेवाको मूल्याङ्कन गर्दै डोङफेङ मोटर

    स्थानीयकरण र ग्राहक सेवाको मूल्याङ्कन गर्दै डोङफेङ मोटर

    ASEAN बजार डोङफेङ मोटरको विदेशी व्यवसायका लागि एउटा प्रमुख बजार क्षेत्र हो। डोङफेङले भियतनाम, म्यान्मार र कम्बोडियामा नयाँ उत्पादनहरूका प्रक्षेपण बढाएको छ, ग्राहक सेवालाई सुदृढ बनाएको छ, सक्रिय रूपमा स्थानीयकृत मार्केटिंगलाई बढावा दिएको छ, यसको बलियो मोटरगाडी निर्माण शक्ति र लामो समयदेखिको उद्योग अनुभवको साथ अन्तर्राष्ट्रिय विकास रणनीतिलाई दृढतापूर्वक लागू गरेको छ र संयुक्त रूपमा यसको साझेदारहरूसँग पारस्परिक लाभकारी र जीत-जीत भविष्य विकास गर्न प्रतिबद्ध छ।

    भियतनामी बजारमा, डोङफेङ वाणिज्य वाहनहरू र यसका साझेदारहरूले उत्पादन अनुसन्धान र विकास, बिक्री प्रशिक्षण, मार्केटिंग र बिक्री पछिको सेवा सहित पूर्ण मूल्य श्रृंखला सहयोग प्रणाली निर्माण गर्छन्। सेवा मार्केटिंग नवीनताको थीम गतिविधिहरूका श्रृंखला व्यवस्थित गरेर, यसले सेवा प्राविधिकहरूका व्यावसायिक क्षमता बढाउँछ र उत्पादन अनुकूलन र सेवा प्रतिक्रिया गतिलाई बलियो बनाउँछ।

    मे महिनामा, डोङफेङले भियतनाममा DOGFENG GX ट्र्याक्टरको प्रक्षेपण सम्मेलन सफलतापूर्वक सम्पन्न गर्यो र उत्पादनको पूर्व-बिक्री र बिक्री पछिको सम्पूर्ण प्रक्रियामा भाग लियो, जसले ब्रान्ड भोल्युमको वृद्धिलाई बढावा दियो। साथै, डोङफेङ मोटरले सेवाको गुणस्तरमा ध्यान दिन्छ, व्यवस्थित रूपमा नयाँ उत्पादन सूचीकरण र मर्मत प्रशिक्षण सञ्चालन गर्दछ, उपभोक्ताहरूले समयमै र कुशल सेवा समर्थन प्राप्त गर्ने सुनिश्चित गर्दछ र ग्राहक सन्तुष्टि र ब्रान्ड वफादारीमा उल्लेखनीय सुधार गर्दछ।

    म्यान्मारको बजारमा, डोङफेङ कमर्सियल भेहिकल्सले नि: शुल्क मर्मत सम्भार गतिविधिहरू मार्फत ग्राहक वफादारी बढाएको छ। इन्डोनेसियाली बजारमा, डोङफेङ मोटरले स्थानीय विशेषताहरूमा ठूलो जोड दिन्छ, ग्राहकहरूलाई व्यावसायिक प्रदर्शनहरू र परीक्षण ड्राइभहरू मार्फत उच्च गुणस्तरको अनुभव प्रदान गर्दछ। कम्बोडियामा, यसले नयाँ कारहरूका लन्च कार्यक्रमहरू मार्फत प्रयोगकर्ताको अनुभव र उत्पादन प्रतिष्ठालाई बलियो बनाउँछ।

    आगामी 21औं चीन–आसियान एक्स्पोमा, डोङफेङ मोटरले कृषि मेशिनरी र स्पेयर पार्ट्स सहित चार श्रेणीमा 10 प्रतिनिधि मोडेल र लगभग 100 उत्पादनहरू प्रदर्शन गर्नेछ, एउटा एकीकृत समूह छवि प्रस्तुत गर्नेछ, आसियान देशहरूको सम्भावित साझेदारहरूसँग सहयोग र आदानप्रदानलाई सुदृढ पार्नेछ र अन्तर्राष्ट्रिय विकासलाई बढावा दिनेछ।

    डोङफेङ मोटरले सँधै ग्राहकको मागलाई मार्गदर्शकको रूपमा लिनेछ, स्थानीयकरण विकासलाई गहिरो बनाउनेछ, उत्पादन नवीनता, मार्केटिंग रणनीति, च्यानल विस्तार र सेवा अपग्रेडमा “ग्राहक पहिलो” को अवधारणालाई पूर्ण रूपमा कार्यान्वयन गर्नेछ र विश्वव्यापी व्यवसायमा निरन्तर वृद्धि हासिल गर्नेछ।

    कम्पनी: चीन डोङफेङ मोटर उद्योग इम्प र एक्सप्रेस कम्पनी लिमिटेड

    सम्पर्क: फ्यान शाओयाङ

    इमेल: gjb-fansy@dfmc.com.cn

    वेबसाइट:

    http://www.dongfeng-global.com/

    https://www.facebook.com/DongfengMotorCorporationGlobal

    https://www.facebook.com/DongfengMotorCorporationSA

    https://www.facebook.com/DongfengMotorCorporationME

    https://www.tiktok.com/@dfmotor