Category: समाचार

समाचार

  • प्रचण्डको गुनासो- हतियार छाडेर सेना समायोजन गरेपछि पार्टी फुटाइयो

    प्रचण्डको गुनासो- हतियार छाडेर सेना समायोजन गरेपछि पार्टी फुटाइयो

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १० वर्षे युद्धबाट शान्ति प्रक्रियामा आइसकेपछि आफू नेतृत्वको पार्टी फुटाइएको गुनासो गरेका छन् ।

    संसद्‍मा पेश भएको संक्रमणकालीन न्यायसम्बन्धी विधेयकबारेको छलफलमा सहभागी हुँदै उनले यस्तो गुनासो गरेका हुन् ।

    ‘भोलि बिहानसम्म पर्खिए देश दुर्घटनामा जानसक्छ । प्रत्येक क्यान्टोनमेनमा खुनखराबा हुन सक्छ । आजकै दिन, आजकै राति हतियार व्यवस्थापन हुनपर्यो, सेना समायोजन हुनपर्यो भनेपछि ११ बजे रातिपछि यो काम सम्पन्न गरियो विनाखुनखराबा, विना क्षति काम सम्पन्न गरियो’, उनले भने, ‘एउटामात्रै क्षति मैले र पार्टीले ब्यहोर्नुपर्यो । मैले सेना समायोजन गरेवापद, मैले हतियार व्यवस्थापनको नेतृत्व गरेवापद मेरो पार्टी विभाजित भयो । निकै ठूलो जटिलता पार्टीले ब्यहोर्नुपर्यो । देश बच्यो, शान्ति स्थापित भयो, मलाई गर्व छ ।’

    आफ्नो पार्टी विभाजन भएर पनि देशमा शान्ति स्थापना भएकोमा आफूलाई गर्व रहेको बताए । उनले आफ्नो विशेष पहलमा नै सेना समायोजन र हतियार व्यवस्थापनको काम सकिएको सुनाए ।

    अध्यक्ष दाहालले आफूलाई तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले शान्ति प्रक्रियाका बाँकी काम सक्ने जिम्मेवारी दिएर गएको पनि बताएका छन् ।

    उनले गिरिजाबाबुसँग मिलेर नै निरंकुश शासकलाई घुँडा टेकाएर आफूहरू यहाँसम्म आइपुगेको पनि बताएका छन् ।

  • मिड्ल्यान्ड नेपाली क्रिकेट लिगको उपाधि नटिङ्गम गोर्खालाई

    मिड्ल्यान्ड नेपाली क्रिकेट लिगको उपाधि नटिङ्गम गोर्खालाई

    मिड्ल्यान्ड नेपाली क्रिकेट लिग २०२४ को उपाधि नटिङ्गम गोर्खाले जितेको छ। आइतबार नटिङ्गममा सम्पन्न फाइनल खेलमा नटिङ्गम गोर्खाले गोर्खा टाइगर स्पोर्ट्स क्लब लेस्टरलाई हराउँदै विजेता बन्न सफल भएको हो।

    टस जितेर पहिले ब्याटिङ रोजेको लेस्टरले १८ ओभरमा १०६ रनको लक्ष्य दिएको थियो। नटिङ्गम गोर्खाले उक्त लक्ष्य १६ ओभरमै पूरा गर्दै ११० रन बनाउँदै खेल आफ्नो पक्षमा पारेको हो।

    खेल समाप्तिपछि विजेता र उपविजेता टोलीलाई मेडल, ट्रफी र नगद पुरस्कार प्रदान गरियो। खेल संयोजक दीपक सापकोटाका अनुसार बेलायतमा रहेका नेपाली युवाहरूको खेलमा रुचि बढाउन र राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले लिगको आयोजना गरिएको हो।

    पुरस्कार वितरण कार्यक्रम साझा नेपाली समाज बेलायतका संस्थापक अध्यक्ष शंकर भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो, जसमा मिड्ल्यान्डमा रहेका विभिन्न नेपाली समाजका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

  • भारतीय विदेश सचिवसँग राष्ट्रपतिले भने- जलवायु परिवर्तनको असर कम गर्न मिलेर अघि बढौँ

    भारतीय विदेश सचिवसँग राष्ट्रपतिले भने- जलवायु परिवर्तनको असर कम गर्न मिलेर अघि बढौँ

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेटवार्ता गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज भएको सो भेटमा द्विपक्षीय आपसी हित र सम्बन्धका विविध विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

    सो अवसरमा राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि नेपाल–भारत मिलेर काम गर्नुपर्ने बताए । ‘हिमाल र पानीको सुरक्षा नै मानवजातिको सुरक्षा निर्भर रहेको हुनाले जलवायु परिवर्तनको असर न्यूनीकरणमा दुवै देश मिलेर काम गर्न जरुरी छ’, राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले भने ।

    राष्ट्रपति पौडेलले नेपाल–भारतबीच अनादिकालदेखि जनस्तरसम्मको सम्बन्ध रहेको र नेपालको विकासमा भारतको ठूलो सहयोग रहेको उल्लेख गर्दै सचिव मिस्रीको कार्यकालमा दुवै देशबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरे ।

    राष्ट्रपति पौडेलले आपसी हित र समृद्धिका लागि दुई देशबीचको मित्रता र सहकार्य अझ मजबुत बनाउनुपर्छ भन्ने लागेको छ भन्दै कृषिको आधुनिकीकरण, पूर्वाधार विकास, जलविद्युत्, व्यापार, लगानी, पर्यटन तथा मानवसंशाधन विकास नेपालको प्राथमिकता रहेको बताएको उनका प्रेस सल्लाहकार पोखरेलले जानकारी दिए।

    राष्ट्रपति पौडेलले नेपालमा जलविद्युत् विकास, दिगो एवं सहज ऊर्जा व्यापारका लागि प्रशस्त सम्भावना रहेको उल्लेख गरे  ।

    सो अवसरमा भारतीय विदेश सचिव मिस्रीले जलवायु परिवर्तनको असर न्यूनीकरणको विषय दुवै देशका लागि चुनौती रहेकाले यसमा मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    नेपाल सरकारका कैयौँ योजनामध्ये ऊर्जा, कृषि, पर्यटनजस्ता नेपालको प्राथमिकतामा भारत पनि काम गर्न इच्छुक रहेको उनले बताए । उनले काम अगाडि बढिरहेका आयोजना यथाशीघ्र सम्पन्न गरेर नयाँ र प्राथमिकताका क्षेत्रमा काम गर्न भारत इच्छुक रहेको पनि जानकारी दिए ।

    नेपाल–भारतबीचको सम्बन्ध जति सुमधुर हुन्छ त्यति नै दुवै देशका जनताको हित हुने उल्लेख गर्दै विदेश सचिव मिस्रीले भारतले स्थिर, शान्त र समृद्ध नेपाल हेर्न चाहेको पनि प्रस्ट पारेको प्रेस सल्लाहकार पोखरेलले बताए ।

  • स्वार्थको संसार

    स्वार्थको संसार

    समाजको तीतो सत्य यहीनै रहिछ,
    जति तिमी निउरीन सक्छौ,
    त्यति नै तिम्रो प्रशंसा र आशा हुन्छ।
    दुई-चार शब्द बोल्ने बित्तिकै,
    सबै नाटक र यथार्थ छुट्टाउन थालीन्छ।

    यहाँ सँगै मर्ने र बाँच्ने वाचा गरेकाले नै घात गर्छन्,
    भने तिमी बाटोमा भेटिएको बटुवाबाट के आशा गर्छौ?
    हजारौं सम्बन्ध अनि साथ निभाउँदा पनि,
    कसैको मन जित्न नसक्ने समयमा,
    तिमी किन आफूलाई मार्छौ?

    पैसाले नै सबैथोक किन्न सकिने समयमा,
    तिमी असल नाता खोजेर कहाँ पाउँछौ?
    दुःख-सुख पोख्ने साथीहरू परदेशमा रमाउन थाले,
    भने तिमी बाटोमा भेटिएका मानिसबाट के आशा गर्छौ?

    गुन लगाएर पनि तिम्रो गुन नदेखिने समाजमा,
    तिमी भोलीको सहाराको आशमा बसेर के पाउँछौ?
    सहाराको लागि औंला दिएकी थिएँ,
    मेरो हात नै तानियो,
    तैपनि म चुप नै रहेँ।
    आज गरेको कर्म भविष्यमा फर्केला भन्दै चित्त बुझाएँ,
    तर समय र सन्दर्भ सबै फेरिए।

    सँगै हातेमालो गरेर हिँडेको दोस्ती,
    अहिले पैसामा इमान बेच्न थालेको छ,
    रूपैयाँको घमण्ड बढ्न थालेर होला बोलि बोल्दा पनि पैशै खस्ला जस्तो गर्छन्।
    घण्टौंसम्म बोल्दा पनि नथाक्ने सम्बन्धहरू,
    आज एकअर्काको अव्सथा अनि एक अर्कालाई नसोधी फोन काट्न थालिएको छ।

    जुन मुहानको पानीले तिर्खा मेटिन्थ्यो,
    आज त्यही पानी पिउन घिन लाग्न थालेको छ रे।
    देवता भनी पूजा गरिएको मूर्ति पनि,
    माग पूरा भएपछि फाल्ने चलन छ भने,
    तिमी हामी त मान्छे,
    आवश्यक नपरेसम्म काम नै नलाग्ने।

    नाता-गोटा, कुटुम्बहरूले धन रोजे,
    आफ्ना इष्ट-मित्र सबै पैसामा बिके,
    साथी-सङ्गी सबै आफ्नो गन्तव्य फरक छ भन्दै हिँडे,
    अन्त्यमा म, न यहाँ बिके, न उता बिके।

    जीवनको यात्रामा जीवन एक्लै चल्दो रहेछ,
    गन्तव्यमा पुग्नसम्म सबैको साथ छुट्दो रहेछ,
    विभिन्न हारहरूमा आफैं लड्नुपर्दो रहेछ।
    छैनन् कोही मेरा यहाँ,
    यो मन मात्र मेरै,
    अनेकौं पाठ सिकाएर गए।
    जे-जस्तो भए पनि,
    धन्यबाद भन्नु मेरो कर्तव्य हो।

    आवश्यक पर्दा “मेरो हजुर” भन्ने समाजमा,
    काम पूरा भएपछि चिन्नै गाह्रो भयो।
    हिजोसम्म “ठीकै थियो” भन्नेहरूको मन,
    र आँखामा बिजाउने हुनु,
    मेरो गल्ती हो कि उनीहरूको घमण्ड हो?

    सुन्न, अतुर हुने यी कान,
    र देख्न आतुर हुने यी आँखाको अगाडि,
    बारम्बार झुटो बेली बेलीएको छ।
    हजारौं पटक सम्झाउँदा पनि नबुझ्ने,
    खै कस्तो बानी परेक रहेछ।
    सक्छौ भने, आफैं बाँच्ने प्रयास गर,
    सक्दैनौ भने अरूको लागि,
    आफूलाई बारम्बार मार्ने प्रयास नगर।

    आफ्ना त आफ्ना हुन्छन्,
    दिए पनि,थिकै नदिए पनि थिकै।
    स्वार्थ र बैमान गर्ने त खै,
    को हुन् कुन्नि।
    अँध्यारोमा उज्यालो खोज्दै हिँड,
    यहाँ लगाएको गुन त बिर्सिने खालका छन्।
    तिमी अरूमा भन्दा पनि,
    आफूमै ध्यान राख।

    मैले सिकेको नमिठो पाठ,
    ज्ञानका कुरा त सबै गर्छन्,
    तर जीवनमा लाग्ने प्राय: कमै पाइन्छ।
    “म छु तेरो लागि” भन्ने त धेरै हुन्छन्,
    तर अन्त्यमा एक्लै बनाई छोड्छन्।
    दुःख पर्दा कोही आउँदैनन् साथमा,
    तर सफलतामा बधाई दिन भने,
    सबै आउँछन्।

    समय फेरिएसँगै,
    रूप पनि फेरीएर होला,
    यहॅा सबै कुरा लुकाउन खोज्छन्॥
    भुल मेरो भयो आफ्नो को खोजीमा हिडेको म बिचबाटोमै लुप्त भयो ॥

    – ईरा अर्याल

  • आज नागपञ्चमी पर्व मनाइँदै

    आज नागपञ्चमी पर्व मनाइँदै

    काठमाडौं । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा गरी मनाइँँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ ।

    नागको पूजा गरी नागको चित्र घरको मूल ढोकामा टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिने जनविश्वास छ । साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने विश्वास गरिन्छ ।

    नागका बाह्र नाम भए पनि आठ कूलका आठवटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ । अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागका चित्र वा प्रतिमालाई आजको दिन ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ ।

    आजको दिन घरमा नागका चित्र टाँसेपछि खेतबारीमा खनजोत गर्न हुँदैन र नाग, सर्प लगायतका घस्रने जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता छ ।

    नागको पूजा गर्नेहरुको घुइँचो

    आज काठमाडौंको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड र नाग स्थानमा पूजा गर्नेहरुको घुइँचो छ । नागको पूजा गरी गाईको दूध, अक्षता, दुबो, खीर, रोटीलगायतका परिकार प्रसादको रुपमा चढाउने र खाने गरिन्छ ।

    वैज्ञानिकरुपमा प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्पलगायतका जीवले शोषण गरी मानवलगायत अन्य जातिलाई विषालु पदार्थको प्रभाव पर्न नदिने भएकाले ऋषिमुनिहरुले नागजातिको पूजाआजा गर्ने रित बसालेको विश्वास छ । नागपञ्चमीसँगै चाडबाडको याम सुरु हुन्छ ।

  • जापानमा शक्तिशाली भूकम्प, सुनामी आउन सक्ने!

    जापानमा शक्तिशाली भूकम्प, सुनामी आउन सक्ने!

    टोक्यो । जापानमा ७.१ म्याग्नेच्‍युडको शक्तिशाली भूकम्प गएको छ।

    स्थानीय समयअनुसार बिहीबार दिउँसो मियाजाकी तटबाट करिब २० माइल टाढा केन्द्रविन्दु बनाएर भूकम्प गएको जापानको समाचार संस्था एनएचके वर्ल्डले जनाएको छ।

    शक्तिशाली भूकम्प गएसँगै जापानको मौसम विज्ञान एजेन्सीले सुनामीको एड्भाइजरी जारी गरेको हो।

    मियाजाकी, कोची, ओइटा, कागोशिमा र इह्मी प्रिपेक्चरहरूमा सुनामी आउन सक्ने भन्दै सचेत रहन सूचना जारी गरिएको हो। सुनामी एक मिटरसम्म आउनसक्ने एनएचकेले समाचारमा लेखेको छ।

    त्यस क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई समुन्द्र किनारबाट टाढा रहन अनुरोध गरिएको छ।

  • त्रिभुवन विमानस्थलबाट छ किलो कोकिनसहित विदेशी नागरिक पक्राउ

    त्रिभुवन विमानस्थलबाट छ किलो कोकिनसहित विदेशी नागरिक पक्राउ

    काठमाडौं । प्रहरीले छ किलो २४ ग्राम अवैध लागूऔषध कोकिनसहित एकजना विदेशी नागरिकलाई पक्राउ गरेको छ । 

    कतार एयरवेजको उडानद्वारा नेपाल आएका लाटभियाका नागरिक इभ्रस भलटेर्सलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको आगमन कक्षबाट लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

    सुटकेसभित्र लुकाई–छिपाई राखेको उक्त परिणामको कोकिनसहित लाटभियाका नागरिकलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। बुधबार पक्राउ परेका निजमाथि लागूऔषध मुद्दामा जिल्ला अदालत काठमाडौँबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको उनले बताए ।

    यसैबीच, प्रहरीले काठमाडौँको गोङ्गबुँस्थित नयाँ बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन १५ ग्राम पाँच सय मिलिग्राम, नगद ४० हजार र तीन थान मोबाइलसहित दुई जनालाई पक्राउ गरेको छ । 

    सप्तरी राजविराज नगरपालिका–९ घर भएका २४ वर्षीय पवनकुमार मेहता र उदयपुर त्रियुगा नगरपालिका–७ घर भएका २७ वर्षीय अनिल परियार पक्राउ परेका प्रहरीले जनाएको छ । 

    काठमाडौँको नरेफाँटबाट अवैध लागूऔषध खैरो हेरोइन छ सय ४० मिलिग्राम र मोबाइल दुई थानसहित दुईजना पक्राउ परेका छन् । 

    सोही ठाउँ डेरा गरी बस्ने सिराहा गोलबजार नगरपालिका–६ घर भएका ३३ वर्षीय धर्मेन्द्र सिंह र सिराहा मिर्चैया नगरपालिका–५ घर भएका ३३ वर्षीय अनिल साहलाई निजहरूको डेराबाट लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

  • सेयर बजार १०८ अंक बढ्यो, कारोबार घट्यो

    सेयर बजार १०८ अंक बढ्यो, कारोबार घट्यो

    काठमाडौं । अघिल्लो दिन १४५ अंक घटेको सेयर बाजार बुधबार नै १०८ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २७५९ अंकमा कायम भएको छ ।

    कारोबार रकम भने घटेको छ । अघिल्लो दिन २३ अर्ब ७१ करोडको कारोबार भएकोमा आज १७ अर्ब ९५ करोडको भयो । २३९ कम्पनीको मूल्य बढ्दा ३ को घट्यो । सबै क्षेत्रका सूचक बढेका छन् । अन्य र फाइनान्स समूह सबैभन्दा धेरै ७ प्रतिशतभन्दा धेरै बढे ।

    बैंकिङ २.३, विकास बैंक ४.५, फाइनान्स ७.६, होटल तथा पर्यटन ५.१, हाइड्रोपावर ५.७, जीवन बीमा ३.९, लगानी ३.८, उत्पादन ३.५, माइक्रोफाइनान्स २.१, निर्जीवन बीमा ३, अन्य ७.८ र व्यापार समूह ५.५ प्रतिशत बढे ।

    बोटलर्स नेपाल बालाजु, गुडविल फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, नेपाल पुनर्बीमा कम्पनी, मैलुङखोला जलविद्युत्, दोल्ती पावर, सिटी होटल, हिमालयन रिइन्स्योरेन्स तथा सेन्ट्रल फाइनान्स, कुथेली बुकरी स्मल हाइड्रोपावर, साइन रेसुङ्गा विकास बैंक, मकर जितुमाया हाइड्रोपावर तथा एनआरएन इन्फ्रास्ट्रक्चरको मूल्य ९.९ देखि १० प्रतिशतसम्म बढ्यो ।

    मूल्य धेरै घट्नेमा केही डिवेन्चर तथा म्युचुअल फण्डका योजना देखिए । कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, नेपाल फाइनान्स, सानिमा माइ हाइड्रोपावर, शिवम् सिमेन्ट तथा चिलिमे हाइड्रोपावर क्रमशः अगाडि रहे ।

  • नुवाकोटको शिवपुरीमा एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटना, चार जनाको मृत्यु

    नुवाकोटको शिवपुरीमा एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटना, चार जनाको मृत्यु

    काठमाडौं । नुवाकोटमा एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ। शिवपुरी-७ सूर्यचौर डाँडामा हेलिकप्टर ठोक्किएको नुवाकोटका एसपी शान्तिराज कोइरालाले जानकारी दिए।

    उनले स्थानीय र प्रहरी घटनास्थलमा पुगिसकेको जानकारी दिए।  दुर्घटनामा ४ जनाको मृत्यु भएको छ।

    बुधबार काठमाडौँबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको जहाज दुर्घटना भएको हो ।

  • कास्कीमा ६४९ नयाँ उद्योग थपिए

    कास्कीमा ६४९ नयाँ उद्योग थपिए

    कास्की । कास्कीमा गत एक वर्षको अवधिमा ६ सय ४९ नयाँ उद्योग दर्ता भएका छन् । पर्यटन तथा उद्योग कार्यालय कास्कीमा दर्ता भएका उद्योगमध्ये लघुउद्योग १३ र साना ६३६ वटा छन् ।

    नयाँ उद्योगमा एक अर्ब ९१ करोड ८४ लाख ५२ हजार पुँजी लगानी भएको पर्यटन तथा उद्योग कार्यालयका प्रमुख महराज ढकालले जानकारी दिए ।

    उनका अनुसार पोखरामा बढी मात्रामा पर्यटन क्षेत्रलगायतको सेवामूलक व्यवसाय बढी भएकाले थपिएका उद्योगमा समेत सेवामूलक उद्योग सबैभन्दा बढी छन् ।

    कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८०–८१ सेवामूलक उद्योग २४१, कृषि तथा वन पैदावारमा आधारित उद्योग १६२, पर्यटन उद्योग १६०, उत्पादनमूलक उद्योग ८३ र सूचना प्रविधिमा आधारित उद्योग तीनवटा दर्ता भएका छन् ।

    एक वर्षमा दर्ता भएका उद्योगमा महिला ९ सय ३९ र पुरुष एक हजार एक सय १८ गरी दुई हजार ५७ जनालाई रोजगारी सिर्जना भएको छ ।

    यसैगरी गत वर्ष तीन सय ६५ उद्योग खारेज भएका छन् । खारेज हुने उद्योगको सङ्ख्या बर्सेनि वृद्धि हुँदै गएको कार्यालय प्रमुख ढकालले बताए । उनका अनुसार नयाँ उद्योग दर्तासँगसँगै खारेज हुने उद्योगको सङ्ख्यासमेत धेरै छ ।

    कार्यालयका अनुसार जिल्लामा वैदेशिक रोजगारीबाट फर्केर आएका युवा तथा स्वरोजगारका लागि कृषि तथा पशुपक्षी उद्योग व्यवसायमा लगानी बढ्दै गएको छ । जिल्लामा हालसम्म २४ हजार दुई सय ७८ उद्योग दर्ता भएकामा गत आवसम्ममा पाँच हजार आठ सय ३२ वटा खारेज भई १८ हजार चार सय ४६ सञ्चालमा रहेका छन् ।

    यसैगरी, वाणिज्य फर्महरूको सङ्ख्या ३० हजार एक सय ७० रहेको छ । गत आवमा एक हजार एक सय ९३ वाणिज्य फर्म दर्ता भएकामा चार सय २१ वटा खारेज भएका थिए ।

    पोखरा देशको पर्यटकीय राजधानी हो । यहाँ हालसम्म चार सय ६२ ट्राभल्स, दुई सय ३८ ट्रेकिङ, चार सय ७० होटल, आठ जलयात्रा व्यवसाय र ३६ वटा घरबास सञ्चालनमा रहेको पर्यटन तथा उद्योग कार्यालयले जनाएको छ ।