Author: खोज प्रेस

  • आइतबारको विदेशी मुद्राको विनिमय दर कति ?

    आइतबारको विदेशी मुद्राको विनिमय दर कति ?

    काठमाडौं – आज २०८१ साल कात्तिक २५ गते आइतबार सन् २०२४ नोभेम्बर १० तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकले आइतबारका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३१ पैसा निर्धारण गरेको छ।

    युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैयाँ ४२ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ०७ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७४ रुपैयाँ ७७ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ५४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५४ रुपैयाँ ७८ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ ४७ पैसा कायम गरिएको छ।

    अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४७ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ०२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४५ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ ९८ पैसा र बिक्रीदर एक सय दुई रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ।

    जापानी येन १० को खरिददर आठ रुपैयाँ ८५ पैसा र बिक्रीदर आठ रुपैयाँ ८९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८० पैसा र बिक्रीदर १८ रुपैयाँ ८९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ०३ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३७ रुपैयाँ १२ पैसा तोकिएको छ।

    केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९६ पैसा र बिक्रीदर तीन रुपैयाँ ९८ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ७४ पैसा र बिक्रीदर ३० रुपैयाँ ८८ पैसा कायम छ। साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ७२ पैसा र बिक्रीदर नौ रुपैयाँ ७६ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ५७ पैसा र बिक्रीदर १२ रुपैयाँ ६३ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ५० पैसा र बिक्रीदर १९ रुपैयाँ ५९ पैसा निर्धारण गरिएको छ।

    राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ३३ पैसा र बिक्रीदर १७ रुपैयाँ ४१ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३९ रुपैयाँ ४२ पैसा र बिक्रीदर चार सय ४१ रुपैयाँ ३८ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ३३ पैसा र बिक्रीदर तीन सय ५८ रुपैयाँ ९२ पैसा तोकेको छ।

    भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ।

  • पूर्वगृहमन्त्री लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै, पोखरामा रास्वपाले प्रदर्शन गर्ने

    पूर्वगृहमन्त्री लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै, पोखरामा रास्वपाले प्रदर्शन गर्ने

    काठमाडौं– सहकारी ठगी र सङ्गठित अपराधमा प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आज पुनः म्याद थपका लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराइँदैछ ।

    लामिछानेमाथि अनुसन्धानका लागि तेस्रो पटक थप गरिएको १० दिनको म्याद सकिएपछि फेरि म्याद थपका लागि अदालतमा पेस गर्न लागिएको हो ।

    यही कात्तिक १५ गतेदेखि लागू हुनेगरि गत मङ्गलबार लामिछानेमाथि अनुसन्धानका लागि १० दिनको म्याद थपिएको थियो । यसअघि कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका पूर्वगृहमन्त्री लामिछानेमाथि अनुसन्धानका लागि ६ र ७ दिन गरी दुई पटक म्याद थपिएको थियो ।

    लामिछानेमाथि सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धान भइरहेको छ।

    यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछाने पक्राउको विरोधमा आज पनि पोखरामा प्रदर्शन गर्ने भएको छ । रास्वपाले सभापति लामिछानेलाई सरकारले राजनीतिक प्रतिशोध राखेर हिरासतको समय लम्ब्याउने काम गरिरहेको आरोप लगाउँदै आएको छ ।

  • आज नेपाल र थाइल्याण्डबीच प्रतिस्पर्धा हुँदै

    आज नेपाल र थाइल्याण्डबीच प्रतिस्पर्धा हुँदै

    काठमाडौं – आइसीसी यु-१९ महिला टि-२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज चौथो खेलमा थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ।

    नेपाल र थाइल्याण्डको खेल आइतबार दिउँसो ३:१५ बजे सुरु हुनेछ। युनाइटेड अरब इमिरेट्स (युएई) मा बुधबारदेखि सुरु भएको प्रतियोगितामा तीन खेल खेलिसकेको नेपालले दुई जित र एक हारको सामना गरेको छ।

    नेपालले पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनले हराएको नेपाल दोस्रो खेलमा कुवेतमाथि १०८ रनले विजयी भएको थियो। शनिबार भएको तेस्रो खेलमा आयोजक युएईसँग नेपाल १३ रनले पराजित भएको छ।

    प्रतियोगितामा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन्। प्रत्येक टोलीले एकअर्कासँग दुई दुई खेल खेल्ने छन्। सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली आइसीसी यु-१९ महिला टि-२० विश्वकपका लागि छनोट हुनेछ। यु-१९ विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष जनवरीमा मलेसियामा हुँदैछ।

  • अन्नपूर्णको तिहार विशेष जनचेतनामूलक गीत सार्वजनिक

    अन्नपूर्णको तिहार विशेष जनचेतनामूलक गीत सार्वजनिक

    सुनवल–७ अस्नैया स्थित अन्नपूर्ण इङ्ग्लिस बोर्डिङ स्कूलले तिहारलाई विशेष बनाउने उद्देश्यसहित जनचेतनामूलक गीत सार्वजनिक गरेको छ। यस गीतमा विद्यालयकै शिक्षिका लक्ष्मी गोर्खालीको सुमधुर स्वर र संगीत शिक्षक सुरज खातीको संगीतले सजिएको छ। विद्यालय प्रांगणमै छायांकन गरिएको यो म्युजिक भिडियोमा सम्पूर्ण शिक्षक शिक्षिकाहरूले अभिनय गर्नुभएको छ, जसले विद्यालयको समर्पण र एकताको सन्देशलाई जनाउँदैछ।

    विद्यालयले यसअघि तीज पर्वमा पनि समाज, अभिभावक, विद्यार्थी र विद्यालयको भूमिका केन्द्रीत जनचेतनामूलक गीत सार्वजनिक गरेको थियो। यसरी निरन्तर सन्देशमूलक गीतहरू सार्वजनिक गर्दै आइरहेको विद्यालयको प्रयासको बारेमा प्रधानाध्यापक नेत्र रिजालले भने, “अन्नपूर्णमा अहिलेको शिक्षक–शिक्षिका टीमले नै यो सम्भव भएको हो। हामीसँग गीत रचना, संगीत र गायनमा अब्बल साथीहरू हुनुहुन्छ जसले गर्दा सहज रूपमा गीत निकाल्न सकिएको छ।” उहाँले थप्दै गीत–संगीत शिक्षा प्रदान गर्ने भरपर्दो माध्यम भएको बताउनुभयो।

    प्रधानाध्यापक रिजालले अन्नपूर्ण इङ्ग्लिस बोर्डिङ स्कूललाई पछ्याउने र भिडियो हेर्ने सम्पूर्णलाई विद्यालय र यससँग सम्बन्धित विषयलाई ध्यानमा राखेर गीतलाई हेरिदिन र सुझाव सल्लाह दिन आग्रह गर्नुभयो। उहाँले विद्यालयको प्रतिष्ठा, सम्पूर्ण कर्मचारीको सहकार्य र आत्मीयता नै विद्यालयको ब्राण्ड निर्माणमा महत्वपूर्ण योगदान दिने धारणा व्यक्त गर्नुभयो।

     

  • पार्टीको तानाशाही प्रवृत्तिको प्रतिवाद गरौँ : भीम रावल

    पार्टीको तानाशाही प्रवृत्तिको प्रतिवाद गरौँ : भीम रावल

    काठमाडौं । एमाले नेता भीम रावलले पार्टी नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

    आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सुदूरपश्चिम प्रदेश कमिटी, अछाम र कैलाली जिल्ला कमिटीका सदस्यहरूलाई स्पष्टीकरण सोधिएको प्रति आपत्ती जनाएका हुन् ।

    उनले एमालेको जबज, परम्परा र संवैधानिक हक विपरित कुनै बैठक र छलफल बिना नै पार्टी सदस्यहरूलाई स्पष्टीकरण सोध्ने र धम्क्याउने काम भएको बताएका छन् ।

    नेता रावलले पार्टीको तानाशाही शैलीविरुद्ध न्यायप्रेमी, इमानदार र सिद्धान्तनिष्ठ व्यक्तिहरूलाई विरोध र प्रतिवादमा उत्रन समेत आग्रह गरेका छन् ।

    उनले भनेका छन्, ‘एमालेको जबज, परम्परा र संवैधानिक हक विपरीत कुनै बैठक र छलफल बिना पदको दुरुपयोग गर्दै सुदूरपश्चिम प्रदेश कमिटी, अछाम र कैलाली जिल्ला कमिटीका सदस्यहरूलाई तानाशाही शैलीमा स्पष्टीकरण सोध्ने र धम्क्याउने गलत कार्यको सबै न्यायप्रेमी, इमानदार र सिद्धान्तनिष्ठ व्यक्तिहरूले विरोध र प्रतिवाद गरौँ !

  • तिहार नजिकिएसँगै मादलको बिक्री बढ्यो

    तिहार नजिकिएसँगै मादलको बिक्री बढ्यो

    सुनसरी । तिहार नजिकिएसँगै धरानमा मादलको बिक्री बढेको छ । नेपालीले प्रयोग गर्ने सांस्कृतिक बाजामध्ये मादल पनि एक महत्वपूर्ण बाजाको रुपमा लिने गरिन्छ ।

    पछिल्लो समय नेपाली सांस्कृतिक बाजागाजालोप हुँदै गए पनि धरानमा चाडवाडको बेला भएपनि मादलको बिक्री बढ्ने गरेको छ ।

    धरानको मुख्य बजार भानु चोकदेखि पूर्वको देसी लाइनमा मादल बिक्री गर्दै आएका यदुनाथ अधिकारी तिहार नजिकिएसँगै मादलको बिक्रि बढेको बताउँछन् ।

    विगत १५ वर्षदेखि मादलसँगै खुकुरीको व्यापार गर्दै आभएका अधिकारीले आफ्नो पसलमा एक हजार पाँच सयदेखि पाँच हजारसम्मका मादल बिक्रीका लागि राखिएको बताए । उनले भने, ‘मादल कहिले धेरै बिक्री हुने त कहिले बिक्री नै नहुने समस्या छ । तर, तिहारको समयमा राम्रै बिक्री हुन्छ । एकै दिनमा आठ देखि १० वटासम्म बिक्री हुने गरेको छ ।’

    उनका अनुसार लक्ष्मी पूजाको दिनदेखि मादल बेच्न भ्याईनभ्याई हुन्छ । हाल उनले भोजपुर, धनकुटा साथै पश्चिममा बनाइएका मादलहरु बिक्री गर्दै आएका छन् ।

    धरान उपमहानगरपालिका–२ छाता चोकका सुमन चौधरी अरु समयको तुलनामा तिहारमा मादल धेरै बिक्री हुने गरेको बताउँछन् । विगत २० वर्षदेखि उनले मादलसँगै गितारलगायतका बाद्यवादनको व्यापार गर्दै आएका छन् ।

    तिहारमा देउसी भैलो खेल्ने सांस्कृतिक टोलीहरूले बढी मादलको खरिद गर्ने गरेको उनको भनाइ छ । उनले तिहारमा ३० देखि ४० वटासम्म मादल बिक्री हुने गरेको बताए ।

    भोजपुर, खाँदबारी, चैनपुर, धनकुटा, हिले, सिदुवा, उदयपुर, रामपुर, बेलटारलगायतका ठाउँमा मादल बिक्री गर्न जाने गरेको बताउँदै उनले पसलमा तीन हजारदेखि आठ हजारसम्मका मादल बिक्रीका लागि राखिएको बताए ।

     

  • विश्वकप लिग २ : अमेरिकासँगको पहिलो खेलमा नेपाल पराजित

    विश्वकप लिग २ : अमेरिकासँगको पहिलो खेलमा नेपाल पराजित

    काठमाडौं  । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत अमेरिकाविरुद्धको पहिलो खेल नेपालले गुमाएको छ । नेपाल बलर सन्दीप लामिछाने नचल्दा नेपालले अमेरिकासँगको पहिलो खेल गुमाएको हो । ९ ओभर बलिङ गर्दा सन्दीपले विकेट लिन सकेनन्।

    टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको नेपालले दिएको २८७ रनको लक्ष्य अमेरिकाले ४९.४ ओभरमा २९१ रन बनाउँदै ३ विकेटको जित निकालेको हो ।

    अमेरिकाको जितमा शायन जहाँगीरले शतक प्रहार गरे। उनले ९७ बलमा १०४ रन बनाएका हुन्। मोनाङक पट्टेल र हरमित सिंहले अर्धशतक बनाए।

    नेपालका लागि सन्दीप लामिछाने नचलेको बलिङ लाइनमा कुशल भुर्तेलले चार विकेट लिए। ६ ओभर बलिङ गर्दा मात्र २३ रन खर्चिएर उनले चार विकेट लिएका हुन्। सोमपाल कामीेले दुई विकेट लिँदा ललित राजवंशीले एक विकेट हात पारे।

    टस हारेर सुरुमा ब्याटिङ गरेको नेपालका लागि कप्तान रोहित पौडेलले ९६रनको शानदार अर्धशतकीय इनिङ पूरा गरेका थिए। उनले ७५ बलमा ८ चौका र तीन छक्का हिर्काएका थिए।

    नेपालका ओपनरद्वय अनिल शाह र आशिफ शेखले अर्धशतक बनाए। अनिलले ५ चौकासहित ५६ रन बनाउँदा आशिफले ७ चौका र १ छक्का हिर्काउँदै ५२ रन बनाए। आरिफ शेखले ३७ रन बनाएको खेलमा अन्य ब्याट्सम्यानले उल्लेख्य रन जोड्न सकेनन्।

    योसँगै नेपालले लिग- २ मा ९ खेलमा सात खेल गुमाएको छ। अमेरिका भने १० खेलमा सात जित निकालेको छ। तीन अंकसहित नेपाल तालिकाको सातौं स्थानमा छ भने अमेरिका १४ अंकसहित दोस्रो स्थानमा छ।

    आइसिसी विश्वकप लिग–२ मा नेपालसहित क्यानडा, अमेरिका, नेदरल्याण्डस्, स्कटल्याण्ड, नामिबिया, ओमान र युनाइटेड अरब इमिरेट्स (युएई) सम्मिलित छन् ।

    नेपालले दोस्रो खेल कात्तिक १३ गते स्कटल्यान्ड, तेस्रो खेलमा कात्तिक १७ गते अमेरिकासँग र चौथो तथा अन्तिम खेलमा कात्तिक १९ गते स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। नेपालले अमेरिका र स्कटल्यान्डसँग दुई दुई खेल खेल्न लागेको हो।

  • एक्लोपनको कथा

    एक्लोपनको कथा

    कृषि तथा वन विज्ञान विश्व विद्यालय, रामपुर, चितवन पाँचौ सत्रान्त २१ औं शताब्दीमा आइपुग्दा हाम्रा माननीय लेखक, सायर, कवि, इत्यादीद्‌वारा विभिन्न सन्दर्भमा विभिद प्रसङ्‌गका गाथा (कथा) हरू लिखित छन्; प्रकाशीत छन् ।

    म स्वयमलाई लेखकसँग दाजदिन तर एउटा कथा;अभिचलको एक्लोपनको कथा भने सुनाउन गइरहेको छु। शिशिर ऋतुको स्पष्ट निलो आकाश र मंद हावाले निम्त्याए‌को शितलतामा हर्षोउल्लासका साथ श्री सिधी विनायक माद्य्यामिक विधालयका वि‌द्यार्थीहरू खलकुद‌मा मस्त व्यस्त थिए । वातावरण निकै रमणीय छ। २ वोटा पिरियड पछिको छोटो ब्रेकमा केही विद्यार्थीहरु चौरमा गफ चुट्दै त केही भकुण्डो खेल्दै छन् तर कक्षा ९ मा अध्ययन गर्ने अभिचल भने आफ्‌नो साथीहरूको गतिविधिलाई न्यालेरै मात्र बस्छन्।

    यो दृश्य भने म आफूले परबाट अवलोकन गर्दै थिए। एकान्तमा नियालिरहेका अभिचलको आँडमा गएर मैले सोधे,”भाइ, तिमी साथीहरूसँग खेल नखेल्ने ? तिम्रो साथिहरु रमाइलो गरिरहेछ्न, जाऊ जाऊ गएर खेल ! ब्रेक सकिन आट्यो।” मेरो प्रश्नको उत्तर आएन । यस मौनताले सिर्जएको कौतुहुलतालाई बुझ्न् खोज्दै म उतिर मोडीए।

    उसको मुहार कान्तीहीन थियो। गहबाट आँसु खस्न मात्र बाकी थियो। आश्चर्य चीकत म, मेरो अर्को वाक्य फुट्न नपाउदै उनका आँखाबाट टिलपिल अश्रुधारा बग्न थाले।म अतालिए।उसलाई सम्हाल्न प्रयास गर्दै आढ्को खाली कक्षाकोठामा लगेँ। उसको चेष्टाप्रति अनविज्ञ म स‌ंकोचमा परें ।केही क्षणपछि त्यो मौन्ता र आँसुहरुले हजारौ भावना व्यक्त गर्न थाले ।

    “म माथी किन यस्तो भयो? के अब सधै यस्तै हुन्छ? के मैले यस्को आत्मगलानी गीररनुपर्नेर्छ ?” ऊ पुट्पुटाउन थाल्यो। तर म उसले भन्न खोजेका शब्दको तात्पर्य बुझ्न असमर्थ रहे। (मैदानबाट भकुण्डो उछिटि्एर हामी बसेको कोठाको ढोकामा ठेस् हानी चौरतिरै फर्कन्छ।) “भन्ज्याङ्‌गको पाँखो-पखेरोमा जन्मे- हुर्केको म,गाँउले परिवेशमा रुझेको म! आज यहाँ सम्म आइपुगेछु। तर अवस्था उस्तै छ! त्यो बेलाको असर अहिले सम्म झल्किन्छ।

    म प्राविधिक विद्यालयमा कक्षा ३ मा हुदाँ खेलप्रति औधी जिज्ञासा राख्ने छात्र हुँ। अहिले पनि त्यहाँ गएर भकुन्डोलाई लात्ति हाने, क्रिकेटमा होमरन् हान्ने र त्यो जीतको उल्लास, मेरा प्रियशी मित्रसँग गुन्जाएमान गराउने मेरा पनि इच्छा थिए होलान नि!अफसोस् यो प्रयास सोच मै विलिन भयो ।” उनले लामा लामा सुस्केरा फेर्दै भने। (कोठा गुम्म भएजस्तो लागेर मैले झ्याल खोले ।

    बाटिका को फुलहरुको सुगन्दलाई चिसो हावाले कोठामा ल्याउछ। तर शितल हावाले भने उनको भित्री राफलाई सेलाउन सकिरहेको थिएन। ) “म त्यो बेला अरुको तुलनामा सानो थिए, तर कमजोर भने पकै थिइन्। सायद मलाई शान्त स्वभावको र फितलो देख्दथे ऊनिहरु! कसैसँग झगडा नगर्ने,अपशब्द नबोल्ने, नरम बोल्ने, छुद्रता नभएको शिष्ट थिए ।के यी गुणहरु , समाजले अवगुण भनी ठहराएको थियो र? किन मलाई खेल खेल्ने जस्ता अन्य कृयाकलापबाट अलग गराइयो त ? सायद मेरो रुचिलाई मेरो आयतनले पराजित गरेछ।” उनी बोल्दा धेरै पल्ट शब्दहरु घाटीमै अडकिनथो।

    उसको आवाज सुक्खा थियो, तर उसको आफ्नो कथामा क्रमश: पीडा ताजा हुँदै आए। “प्राथमिक विद्यालयमा हुने खेलकुद कार्यक्रम मा पनि बलिया, हट्टकट्ट , ज्याङ्गोलाई मात्र सहभागी गराउथे, टीम जिताउन भनेर ! यो कस्तो नियम थियो? के खेलमा सधै जित्नेको मात्र अस्तित्व हुने हो? के जित्न बलिया मात्र हुनुर्पछ ? के हाम्रो इच्छाशक्ति चाहिँ केही होइन ? कहिलेकाही सोच्द्थे – अरुले जित्नको लागि खेलछन् म चाहिँ रम्नलाई पनि खेल्न नपाउने । न साथ, न समर्थन।” ” धोक्रा मरेको कस्ले हेर्छ र? मेरो त्यो सपना काँचो वास जस्तै रहीरह‌यो।”

    उनको आँसु पुनः छचल्किए।” मेरी आमाले टिफिन भरि मिठा पकवान पठाउनुहुन्थ्यो। बाडीचुडी खाए है भनी।(आँसु पुच्छदै ) तर बिचरी मेरी आमालाई के थाहा थियो र , त्यो टिफिन ब्रेकमा म तिता पलहरु काट्दै बस्थे। त्यो गाँसको आसपास कोही हुन्न्थयो। आफ्ना हितैसिसङ्ग मिठा गफ गर्न यो मन सधै लालायित रह्न्थ्यो।” उनको आँखामा झल्केका दुखाइ शब्द्का भावभन्दा ठूला थिए। उसका सासमा झल्किएको पीडा, आसुमा परिणत भइरह्यो र भइनैरह्यो । “मलाई लाग्छ मेरो एक्लोपन कक्षाकोठाका भित्ता ,बेन्ची , यिनै निर्जीव वस्तुले बढि बोध गरेका छन्। कक्षाकोठामा गुन्जने हाँसोले मेरो मौनता चिर्थ्यो। त्यो हाँसोमा मेरो हाँसोले कहिल्यै आफ्नो प्रतिनिधि दर्शाउन पाएन ।बाकी रह्यो म र मेरो पुस्तक! अहिले कक्षा ९ मा आइपुगे।यतिन्जेल मेरो हितैसी दौतरी भन्नु नै केवल पुस्तक पुस्तिका रह्यो जस्मा म मेरा भाव कोर्छु र ती शब्दका शृङ्खलाले उत्पन्न भाव म स्व्यमलाइई सुनाउथे ।किनकी म स्वयमलाई सुन्ने सुनाइदिने पनि त छैनन् ।”

    उनको भावनाको छाल पराकाष्ठ हुँदै गयो। उनको आँखाको अश्रु सुकेछ्न तर पिडा जिउँदै थियो । “अनन्त यात्रामा निरन्तर बहने एक्लो नदी पनि त अन्ततः महासाँगरलाई भेट्छ; जहा भिन्न भिन्न नदीहरू एकै स्थानमा एकाकार हुन्छन। म पनि त्यही महासाँगरको प्रतीक्षामा छु जहाँ मलाई समावेश गर्ने छन। जहाँ मेरो अस्तित्व; म स्वयमलाई निष्पक्षरुपले अगाल्ने छन्। मेरो वेदना, मेरो मौनता, मेरो एक्लोपनलाई समाहीत गरि म हुनुको भाव संगाल्नेछन्।”

    खेलप्रतिको अभिलाषा बाल्यकाल छ्दा देखिनै निभे पनि प्रियजनहरुको खोजीमा उनी तत्पर रहेछन्: जसले ऊ आफू जस्तो छ , त्यस्तो नै अपनाउन्, एक्लोपनको त्यो निस्पट्ट कालो अन्धकारलाई छिचोलेर उनमा नविनता ल्यावोस्। (स्कुलको ब्रेक सकिएको घण्टी बज्छ।) उनले तन्द्राबाट ब्युझेझै गरेर भने, “आज पनि समय र स्थान फरक छ, तर घटना भने उही! आज पनि मेरा कक्षाका मित्रहरुलाई मनको कुनाबाट हास्दै खेल्दै गरेको हरिहेको छु । केही फरक छैन। त्यही रित्तोपनको अनुभुती ! त्यो हुटुहुटि जुन मेरो बाल्यकालले त्यो खेलमैदानमै निभाइसकेको छ।” उनका हृदयाका कुंठित वेदानहरुको प्रस्फुटन सकिएछ्न ।

    म उसलाई सान्त्वना दिन उसको शिरलाई सुमसुम्याउदै आङगालो मार्न खोजे। हात मेरा पिठ्यूसम्म मात्र के पुगेको थियो मेरो आँखा उसको मुहारतर्फ गयो। उसलाई देख्न साथ मलाई छाङ्गाबाट खसे जस्तै अनुभुति भयो।

    मेरो हृदयको स्पन्द्न तिव्र हुन थाल्यो।खलखलि पसिनाले लिप्त हुन थाले । यतिका समय पश्चात मैले जसलाई हेरेर यो कथा सुन्दै थिए ,त्यो व्यक्ति अरु कोहि नभइ म आफैं रहेछु मानौ आफ्नो विगतसंगै संवाद गर्दै थिए।म झसकिए। म अन्यासै बिउझिए।

    -किरण खनाल

  • सिलौटो बेचेर मासिक ४० हजार आम्दानी

    सिलौटो बेचेर मासिक ४० हजार आम्दानी

    सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–६ टेङ्ग्रा खोलाको किनारमा इटहरी उपमहानगरपालिका–४ का अनिल सन्तराज सिलौटा बनाउँदै गरेको अवस्थामा भेटिए । उनी लोहोरो, जाँतो, सिलौटोलगायत सामग्री बनाएर बिक्री गर्दै आएका छन् । सन्तराजले यही व्यापारबाट जीविकोपार्जन गर्दै आएका हुन् ।

    उनले भने,“सिलौटा बनाउने हाम्रो पुख्र्यौली पेसा नै हो । तीन पुस्तादेखि गरिँदै आएको पेसालाई मैले पनि निरन्तरता दिँदैआएको छु ।”इटहरी बजारको व्यस्त सडकमा चर्को घाममा सन्तराज ढुङ्गाका सामाग्री बिक्री गर्दै आइरहेका छन् । नजिकैको खोला किनारमा प्लास्टिकको छानोमुनि दिनभर घन र छिनोको साहायताबाट उनले ढुङ्गालाई विभिन्न आकार दिनुका साथै बुट्टा भर्दै आएका छन् । उनले खोलाको किनारमा ती सामग्री बिक्रीका लागि लहरै राखेका छन् ।

    “विदेशमा गएर दुःख गर्नुभन्दा यही पुर्ख्यौली पेसा सिलौटो व्यापारबाट आम्दानी गर्दै आएको छु, दिनभर यही बसेर सामाग्री तयार गर्छु, बेलुका घर फर्किन्छु । अहिलेसम्म यही व्यापारबाट परिवारलाई खान लाउन पुगेको छ । आम्दानीसँगै आत्मसन्तुष्टि पनि मिलेको छ”, सन्तराजले भने ।

    सन्तराजले दैनिक तीनदेखि चार जोरसम्म लोहोरो र सिलौटा बनाउँदै आएका छन् । “कहिले चार/पाँच वटासम्म बिक्री हुन्छ कहिले कत्ति पनि बिक्री हुँदैन । व्यापार हो, सधैँ एकनास हुँदैन”, उनले भने । लोहोरो, जाँतो, सिलौटालगायत सामग्री बिक्री गर्न सन्तराज जिल्लाका विभिन्न ठाउँ पुग्ने गरेका छन् । सिलौटो बनाउने ढुङ्गा मोरङको केराबारी, जाँते, लेटाङ, धुलाबारीगायतका स्थानबाट ल्याउने गरेको उनले बताए ।

    व्यापारबाट घर खर्च कटाएर मासिक रु ४० हजारसम्म आम्दानी हुँदै आएको सन्तराजले जानकारी दिए । उनले एउटै ठाउँलाई व्यापार गर्ने थलो बनाएका छन् । छोराले पनि उनलाई साथ दिँदै आएका छन् । “पुर्ख्यौली पेसाको संरक्षण पनि भयो । साथमा आम्दानी पनि हुने भएकाले यो पेसालाई निरन्तरता दिएको हुँ”, उनले भने ।

    सन्तराजले केही सामान ग्राहकको मागअनुसार बनाउने गरेका छन् । एउटा सिलौटो तथा जाँतो बनाउन एक घण्टादेखि डेढ घण्टासम्म लाग्छ । उनले एउटा सिलौटो रु चार सयदेखि रु ५ सय ५० सम्ममा बिक्री गर्दै आएका छन् । एक जोर जाँतो रु एक हजारदेखि रु एक हजार तीन सय सम्ममा बिक्री गर्दै आएका छन् ।

    पछिल्लो समय आफ्नो व्यवसाय सङ्कटमा पर्दै गएको उनको भनाइ छ । कुटानी पिसानीका लागि विभिन्न उपकरण बजारमा आएसँगै सन्तराजको पेसा सङ्कटमा परेको हो ।

  • एउटा नयाँ उज्यालो

    एउटा नयाँ उज्यालो

    देख्छु बाबुको ढल्किदो उमेर अनि कतैबाट अलिकति जिम्मेवारी बटुल्दैछु ,
    जब सम्झन्छु आमाको स्नेह हरेक स्त्रीका लागि म सम्मान बटुल्दैछु,
    अलिअलि थोरै थोरै बटुल्दै छु उज्यालो ,
    जस्तै मुठ्ठीभरि म जुनकिरी बटुल्दैछु ,
    म एउटा नयाँ उज्यालो बटुल्दैछु।

    हारहरू छैनन् मेरा निम्ति म मात्र अब सिकाईहरु बटुल्दैछु,
    प्रश्तापका छैनन् कुनै गिन्ती म मात्र अब स्वीकार्य बटुल्दैछु ,
    अलिअलि थोरै थोरै बटुल्दैछु ईख,
    जस्तै म आना-आना तोला ,सफलता बटुल्दैछु,
    म एउटा नयाँ उज्यालो बटुल्दैछु ।

    अहङ्कार भन्दा त स्नेह ठूलो छ मेरा निम्ति त्यसैले त म अलिकति सम्झौताहरू बटुल्दैछु ,
    स्वार्थ भन्दा त प्यारा सम्बन्ध र सम्झना त्यसैले त म आफ्नाका लागि समय बटुल्दैछु,
    अलिअलि थोरै थोरै बटुल्दैछु धैर्य ,
    जस्तै म घडी-घडी भविष्य बदल्दैछु ,
    म एउटा उज्यालो बटुल्दैछु ।

    काँधहरूमा जिम्मेवारी बोकेर ,
    ओठहरूमा मुस्कान लिएर,
    म आजका लागि चुनौतीहरू बटुल्दैछु,
    मनभरि साहस भिरेर ,
    आँखाभरि विश्वास बोकेर ,
    म भोलिका लागि गन्तव्य बटुल्दैछु ,
    अलिअलि थोरै थोरै बटुल्दैछु मेहनत
    जस्तै म सपना थोपा थोपा समुद्र बटुल्दैछु
    म एउटा उज्यालो बटुल्दैछु।

    -नरेश बस्नेत