Category: साहित्य

साहित्य

  • साँचो मित्र

    साँचो मित्र

    जिन्दगीभर नछुटिने भनेकाहरू, छुटिएर गए होलान्,

    हरेक मोडमा साथ रहन्छु, मलाई सम्झिए मात्र पुग्छ भन्नेहरू खै कता गए कता,

    आफैँ नबोलाउँदा पनि बोलाइरहने, बोल्न मन नहुँदा पनि बोल्न खोज्ने, अनि धेरै दिन नहुँदा, नबोल्दा खोजिरहनेहरू पनि आज आफैले बोलाएन भने बोल्दा पनि बोल्दैनन् होला, बोल्दे पनि कर गरे जस्तो गरि बोल्छन् होला।

    साना झगडा, साना बाझाबाझ, साना मनमुटावलाई छिनमै बिर्सिएर, छिनमै एकअर्कासँगै नभइ नहुनेहरू आज साना कुरालाई मनमा लिएर साना कुरामा रिसाउँछन् होला, अनि बाझेपछि फर्किएर पनि हेर्दैनन् होला।

    सुन्नै मन नलाग्दा पनि तिमी सुन्न दिन्थ्यौ, अनि उनीहरूले दुखदेखि सुखका कुराहरू सुनाउँदै आउँथे होला। कहिले मजाक पनि बन्थ्यो होला अनि कहिले आँसु पनि बग्थे होला। आज सुनाउने धेरै कुरा भएर पनि सुनाउँदैनन् होला र तिमीले सुन्न पाउँदैनौ होला।

    कसैसँग नजिक हुन पनि डर लाग्न थालेको छ। के थाहा कति बेला नजिक भइन्छ अनि माथिका कुराहरू दोहोरिने पो हुन्छन् कि अनि आफैँलाई दुखाउने पो हुन्छन् कि ती कुराहरूले?

    त्यसैले कसैसँग नजिक हुनु भन्दा अघि भनिदिनु।

    साना साना कुरामा चित्त दुख्छ मेरो। सक्छौ त मेरो पिन्चे स्वभावलाई साथिको रूपमा स्वीकार्न?

    रिस पनि चाँडै उठ्छ, अनि रिसाउँदा के बोलेँ थाहा पाउँदिन। सक्छौ त मेरो “moody” स्वभावलाई साथिको रूपमा स्वीकार्न?

    तिम्रा कुरा तिम्रै मुखबाट सुन्न पाउँ, तिम्रा कुरा अरुका मुखबाट सुन्दा टाढाको महसुस हुन सक्छ। कहिलेकाहीं तिमी मेरो मात्र हौ जस्तो पनि लाग्न सक्छ। कहिलेकाहीं केही गर्नु पर्दैन, तिमी अरूसँग बोलेको देख्दा पनि रिस उठ्न सक्छ, चित्त दुख्न सक्छ, यसैमा झगडा हुन सक्छ। सक्छौ त मेरो साथी प्रतिको “स्वार्थ” तालाई स्वीकार्न?

    नजिक हुनु भन्दा अघि भनिदिनु। तिमीलाई कहिलेकाहीं आफ्नै परिवारलाई भन्दा बढी विश्वास गर्न सक्ने छु। भन न, सक्छौ त मेरो परिवार पछिको “विश्वासको पात्र” बन्न?

    मेरो सुखदेखि दुखका, हाँसोदेखि आँसोका, पास्टदेखि फ्युचरका, आजदेखि भोलि हुनसक्ने सम्मका सबै कुराहरू तिमीलाई सुनाउने छु, तिमीमाथि बजार्ने छु। भन न, सक्छौ त मेरो जीवनको “secret diary” बन्न?

    सक्छौ भने भन, स्वागत छ तिमीलाई। ढोका सधैं खुला छ मित्रताको!

    होइन भने,
    नबोलाउँदा नबोल्ने,
    साना कुरामा बोल्नै छोडिदिने,
    मेरो कुरा मसँग भन्दा अरूसँग गर्ने,
    अगाडि राम्रो बनेर पछि छुरा रोप्नेहरूको त धेरै सँगत गरिसकेको छु मैले।

    – अनिता रेग्मी

  • तिम्रै सम्झनामा लेखिएको पत्र

    तिम्रै सम्झनामा लेखिएको पत्र

    आजको यो शब्द विशेष गरी मेरो उनिलाई:

    तिमी नआत्तिनु, पाइलाहरू नडगमगाउनु, हाम्रा पनि दिनहरू आउनेछन्। तिमी निर्धक्क भई विदेशमा सङ्घर्ष गर्नु, म ढुक्क भई घर सम्हाल्नेछु। तिम्रो हातले भरिदिएको यो मेरो सिउँदो अनि जीवन तिम्रै लागि भनेर थामेका यी हातहरू विश्वास गर, माया, गलत काममा लागी तिम्रो शिर कहिल्यै निउरिन दिने छैन।

    माया के हो भने मैले तिमी सँग भेट भएको दिन बुझे। अनजानबाट सुरु भएको हाम्रो यो सम्बन्धले दिनदिनै नयाँ पाठ सिक्ने अवसरसँगै नजिक हुँदै गयो। कहिलेकाहीँ मनमुटाव हुनु सामान्य हो, तर मन भने कहिल्यै नदुखाउनु। मेरो पनि को छ र अरु तिमी बाहेक जसको अघि दुख बिसाउनलाई? झगडासँगै माया बढ्दै जान्छ। म रिसाए जस्तो गर्छु, तिमी फकाउने गर है, माया।

    तिमीलाई पनि गार्हो त गार्हो भए होला अर्काको देशमा, बिना परिवारको साथ दुख गर्न। तर पिर भने कहिल्यै नलिनु, दुखपछि सुखका दिनहरू हाम्रो पनि आउँछन् होला। समयमा खानु, समयमा सुत्नु। स्वार्थले भरिएका हुन्छन् र आफ्नाको रूपमा पनि बहुरुपी हिँड्छन्, तिमी सबैबाट सतर्क भई आफ्नो गन्तव्यमा ध्यान दिनु।

    तिमी सँग जीवन बिताउनु मन छ, तिम्रो हात समाई बुढेसकाल भोग्नु मन छ। तिमी सँगै तिम्रो छायाँ बनी हरेक दुखसुखमा साथी बनी हिँड्नु मन छ। तर के गर्नु, मनले चाहेको भाग्यमा लेख्नुपर्ने रहेछ। बाध्यताले भए पनि, बिना पानीको माछा जस्तै छटपटाई बस्नुपर्ने रहेछ। कसरी सुनाऊँ म तिमीलाई, तिमी कति खास छौ मेरो लागि भनेर। तिमीलाई नसम्झेको दिन हुँदैन, तिम्रो नाम नलिएको पल हुँदैन, सायद यसैलाई नै माया भनिन्छ कि।

    तिम्रो नाम मनमा लिएर मुस्कुराई बस्छु, एकान्तमा बसेर तिमी सँग बिताएका पलहरू सम्झिँदै रमाउँछु। सायद हाम्रो जीवन कल्पनामै सकिने भयो। तिमी पनि यस्तै गर्छौ? तिम्रो हरेक सपनामा मलाई देख्छौ कि देख्दैनौ? साथमा कोही जोडी भई हिँडेको देख्दा तिमीलाई नै सम्झिन्छु। यसो केही हुन हुन्न, तिमीलाई सुनाउनै आत्तिन्छु। तिमी सँग कस्तो मोहनी बस्यो कुन्नि, जति बोले पनि मन नभोरीने, तिमीलाई जति हेरे पनि यी आँखाहरू नअघाउने।

    तिमी छौ र म निर्धक्क भई हाँसिरहेको छु। तिम्रो साहाराले नै म आफैँलाई बलियो बनाउँदै छु। तिमी सँग बसी गफ गर्न मन छ, मनको पीडा भुलाउन तिम्रो अङ्गालोमा बाधिएर रुन मन छ।
    धेरै धेरै माया मेरो प्यारो मान्छेलाई। बाध्यताले हामी दुई फरक ठाउँमा भए पनि मन र मस्तिष्कमा तिमी नै तिमी छौ।

    – इरा अर्याल

  • तिजको पीडा

    तिजको पीडा

    जागिर छैन पैसा छैन छैन चाडको रङ्ग छैन
    आउन त आयो नि तिज छिमेकीको आँगनसम्म हाम्रो घरमा आउँदा त चाडलाई पनि उमङ्ग छैन ।

    रित्तो छ आमा गोजी अनि रित्तै छ भान्सा पनि
    आउँदिनन् दिदी आउँदिनन् बहिनी
    उतै रमाउँछन् भान्जी आउँदैनन् भान्जा पनि

    फाटेकै त हो आमा भाग्य, खुसी गरिबीले छोएपछि रुन नगर न हतार
    चाड त हुनेखानेलाई हो हामी हुँदा खानेलाई जहिले हुन्छ तब चाड
    हुन त आमाको मन मानेन होला मनाउ आमा
    हिजोआज त पैसाले किन्छ सम्बन्ध ।

    नौ गेडी र तिलहरी लर्काउँदै नाच्छिन् दिदी
    तिम्रो बुच्चो गला हेर्दिनन्
    सुन र सुनको भाउ दाज्छे बैनी
    तिम्रो माया र त्याग दाज्दिनन्
    जसो तसो मनलाई बुझाउला नि है
    आमा म‌ै छोरी बनेर तिज मनाउला नि है

    तिमी भन्छौ माइत भनेपछि त हामी सातै खोली तरेर पुग्थ्यौँ गहभरि आँसु बनाएर
    कसरी सकेको होला बस्न मेरो आँशुलाई सस्तो गराएर
    तिमीले नै भनेकी हौ समयसँगै चल्नु पर्छ
    पुछ आमा आँसु
    जसो तसो मनलाई बुझाउला नि है
    म‌ै छोरी बनेर तिज मनाउला नि है

    आए त हुने नि एकै छाक ऋण काढेरै पनि खुवाउँथे भन्छिन् आमा
    यही आँगनबाटै दिएको हो तर पुगे उनी चन्द्रमामा
    के गर्छ्यौ आमा समय उस्तै कि दिदी बहिनी एक दिन छिनोफानो गरौँला नि है
    म‌ै छोरी बनेर तिज मनाउला नि है ।

  • जीवनको पश्चाताप

    जीवनको पश्चाताप

    कसलाई मन छैन कि म खुसी रहूँ भनेर तर,
    कोही महत्वपूर्ण मान्छे गुमाइसकेपछि भने जीवन नै पश्चातापले भरिपूर्ण भइहाल्छ ।

    केही छैन, केही भएन, ठिकै छ आफैंलाई सहानुभूति दिनको लागि तर भाग्यमा जे लेखे पनि मान्छे तारातिर त्यो बेला हेर्न थाल्छ जब त्यो मान्छेले जमिनमा कोही महत्वपूर्ण
    मान्छेलाई गुमाइसकेको हुनुपर्छ ।
    – रोहित कुमार साह

  • “विदेश जानु कि देशमा बस्नु”

    “विदेश जानु कि देशमा बस्नु”

    बिदेश पो जाउँ कि ?
    पढाइलाई निरन्तरता दिएर देशमा केही गरुँ कि ?
    पढाइ छोडेर केही व्यवसाय पो गरुँ कि ?
    कसैले नदेख्ने, कोही नआउने ठाउँमा गएर अर्कै परिचय बोकेर पो बसुँ कि ?

    जब जिम्मेवारीहरू बढ्दै जान्छन्, एक्कासि, पढाइ गर्दै गरेको मान्छेलाई जब जिम्मेवारी बोध हुँदै जान्छ, तब हाँस्दै गरेको मान्छेलाई भित्रबाट खुशी हुन रोकिदिन्छन् यी अनि यस्तै सवालहरूले।

    अझ पनि बच्चा जस्तै गरी जिस्किँदै, बच्चा जस्तै गरी हिँडडुल साथीभाइहरूसँग गर्दै गरेकोलाई एक्कासि जिन्दगी त बल्ल सुरु पो हुँदै रहेछ भन्ने बोध गराइदिन्छ। उसले बुझेको हुँदैन कि आउने दिनहरूमा कति संघर्षका बाटाहरू पार गर्नु छ उसले अझै।

    कोही साथीभाइ घरबार बसाएर एक किसिमले अघि बढिरहेका हुन्छन्,
    र कोही बिदेश हुइकीसकेका हुन्छन्,
    कोही आफ्नै व्यवसाय सुरु गरिरहेका हुन्छन्
    त कोही म जस्तै हुन्छन्, के गर्ने के नगर्ने अन्योलमा।

    धेरै कुरा भएर पनि केही बोल्न सक्दैन उसले !

    बाघबजार, पुतलिसडक, कुमारीपाटी, बानेश्वरका चोकचोकमा खुलेका कन्सलटेन्सीहरू, भिताभितामा टाँसिएका अनेक होर्डिङ बोर्डहरूले,
    लोकसेवा पढाउने, कोचिङ इन्स्टिच्युटहरूले
    बाटो हिँड्दा पनि चिच्याइचिच्याइ बोलाइरहेका हुन्छन् उसलाई ।

    तर ऊ अन्योलमा हुन्छ, केही भन्नै सकिरहेको हुँदैन।
    मनले अनेक भनिरहेको हुन्छ तर उसले गर्न केही सकिरहेको हुँदैन।

    न त ऊ कसैलाई केही सुनाउन नै सकिरहेको हुन्छ।
    दिन त जसो तसो बिताउँछ उसले,
    तर रात भएपछि सताउँछ उसलाई यही जिन्दगीका अनेक कुराले।
    सबैसँग भएर पनि एक्लै भइरहेको हुन्छ ऊ।

    कहिलेकाहीँ त बोझ लाग्छ उसलाई जिन्दगी पनि
    कति परिवारकै भरमा बाँच्नु, कति माग्दै जानु आमालाई
    बस भाडाकोलागि पैसा पनि भनेर,
    कति माग्नु आमालाई बाइकमा हाल्ने तेलको पैसा पनि भनेर।
    भलै परिवारले त्यस्तो बोझका रूपमा कहिल्यै लिएका हुँदैनन्,
    तर सोच त आउँछ मनमा।
    अनि यही कुराहरूले थप्दै जान्छ जिम्मेवारी थपिएको भावना।

    हो, यही समय हो, यही समय जहाँ आँखाअघि अनेक
    बाटाहरू देखिएका हुन्छन् तर रोज्न एकदम गाह्रो।

    दृढ भएर एउटा बाटो आज लिन सक्यौँ
    र यसमा चाहिँ केही गरेरै छाड्छु भन्ने संकल्पका साथ अघि बढ्न सक्यो भने
    आजको संघर्षले पक्कै भोलि मिठो फल दिनेछ।
    – अनिता रेग्मी

  • गुरुको महिमा

    गुरुको महिमा

    आउनेछौ तिमी सबैलाई नयाँ ज्ञान सिकाउन, तर दुःख हुनेछ हजुरको घरवार टिकाउन।

    हातमा पुस्तकसँगै जिम्मेवारी बोकेर घरबाट हिँड्नुहुन्छ होला सय चोटि सोचेर, बिहान – साँझ, पढाउनुहुन्छ, भोक – प्यास केही भन्नुहुन्न।

    सम्मान सिकाउनुहुन्छ, भेद कहिल्यै गर्नुहुन्न, क, ख गर्दै अक्षर पनि सिकाउनुहुन्छ।

    यहाँसम्म टिकाउनु भएको हजुर नै हो, शान्तिको दीप भने मैले चिनेको, हजुर नै हो गुरु भनेर मैले मानेको।

    भविष्यमा के भन्ने हुन्छु भन्ने मलाई थाहा छैन, हजुरको प्यारो चेला हुँ, सर, पछि कहिल्यै पर्दिन।

    – पुष्पा रेग्मी

  • आमाको मातृत्व

    आमाको मातृत्व

    आज किन हो किन मन भारी भएको छ, केही हुन्छ कि भन्ने डरले सताइरहेको छ। बिना अर्थ यी आँखाबाट झरी परिरहेछ, मन निकै नै आत्तिएको छ। केही नराम्रो त हुने होइन नि भनी मन पिरोलिरहेको छ।

    आज मलाई आमाको निकै नै सम्झना आएको छ। तिनको काखमा गएर बस्नु मन छ, तिनको अङ्गालोमा गाई बेरीएर रुनु मन छ। कसरी सक्यौ आमा तिमीले आफ्नो खुशी मारी मारी अरूलाई खुशी राख्न? कसरी सकेउ तिमीले सारा दुनियाँलाई रिजाएर बस्न?

    यहाँ मैले आफ्नै सामान त मिलाएर राख्न सकेको छैन, आफ्नालाई कसरी रिजाउने हो? सबै कुरा सुन्दा नि वाक्क लागेर आउँछ। आफैंलाई डोरीमा कसी सारा कुराहरू नै त्यागमकी जस्तो हुन्छ। फेरी तिमीलाई सम्झिन्छु आमा, तिमीले नि त आफुलाई रुवाई रुवाई नि दुनियाँको अघि हाँस्दै बसेकी छौ भने मैले कसरी हार मान्न सकुला र खै।

    भन्निन्छ नि आमा भगवान हुन भनेर, सायद यसै त भनिएको होइन होला। अरूलाई बारम्बार भन्दा नि नबुझ्ने पीडा तिमीले अलङ्कार कसरी बुझ्छौ?

    खै किन हो किन, तिमी संग केही कुरा लुकाउनै मन लाग्दैन। थाहा छैन तिमीले जाती मान्छौ कि मान्दैनौ। दुनियाँको लागि तिमी जस्तो भए पनि मेरो लागि तिमी संसार हौ। हजारौं पीडालाई भुलाई दिने तिमी मात्र एउटा सार हौ।

    दुख लाग्छ बेला बेला तिमी बिरामी हुन्छौ, तिम्रो स्याहारको लागि कोही छैन। तब पनि तिमी हार नमानी अरूकै लागि बाँचिरहेकी छौ। धेरै कुरा त छैन आमा तिमीलाई भन्नलाई, एउटा सपना भने देखेको छु, आफ्नै सङ्गर्षमा तिम्रो लागि सकेको खुशी किन्न छु।

    बाबा भनेको घरको जग हो भने आमा, तिमी पुरा घरको छत हौ। आफैले दिनरात नभनी, घाम पानी आशिना नभनी, हामीलाई बस्नको लागि आसन दिएकी छौ। मेला पर्वमा जाँदा खाज पनि हाम्रै लागि साचेर ल्याएकी छौ।

    हामीलाई धाक्दा धाक्दा कहिले राम्रो लगाउन पाइनौ, तिमीले हाम्रो पेट भर्दा भर्दै तिमी तन्न भई सुतेनौ कहिले। म कसरी बिर्सिन सक्छु आमा, तिमीले मलाई जीवन दिएको। एकान्तमा बसी, आफ्नो भाग्यलाई कोस्दै रुँदै बसेको। आफ्ना सारा खुशी त्यागेर हामीलाई खुशी पारेको।

    तिम्रा कति सारी फाटे, गिन्ती भएन। कति रातहरू बिना निद्रा कटे, थाहा भएन। अर्को जुनीमा पनि मलाई तिम्रै कोखबाट जन्मिनु मन छ। आमा, छोरी होइन छोरा भएर। आफुलाई बेचेर तिम्रो लागि खुशी किन्न सक्ने भए त्यो पनि गर्थें आमा।

    आखिर छोरीको लागि आमा त रैछिन् दुख बिसाउने चौतारी। आमा जति घरभरि मान्छे भए पनि तिमी नहुँदा पुरै घर नै अधेरो लाग्छ।

    – ईरा आर्याल

  • तिम्रो नामको मेहिन्दी

    तिम्रो नामको मेहिन्दी

    मलाई चाहि साना साना कुराहरुले खुसी पनि दिन्छ
    अझ भनौँ म चाँडै खुशी हुन्छु अनि फेरी साना कुराले
    मन पनि दुख्छ, चित्त दुख्छ !

    जब जब श्रावण महिना सुरु हुन्थ्यो
    अनि अर्कै उमंग छाए जस्तै, चाडबाड सुरु भए झैँ महसुस हुन लाग्थ्यो मलाई !
    अझ भनौँ
    श्रावणमा हरियो, पहेँलो रातो, सिन्दुर पोते, चुरा
    र हातैभरी मेहेन्दीमा सजिएर हिँडेका आमा दिदिहरुलाई देख्थेँ अनि मन फुरुङ्ग हुन्थ्यो !

    साथीहरु अझ भनौँ कोहि चिन्दै नचिनेकाहरु बाटोमा हरियो पहेँलो चुरा, हातभरी मेहेन्दीमा सजिएर हिँडेको देख्थेँ,
    अनि वाह कस्तो राम्रो भने झैँ लाग्थ्यो !
    अझ त्यसमा मौलिक पहिरन कुर्था अनि सारीले झन सुन्दरता थपेको हुन्थ्यो ।
    अझ सुन्दर देखिन्थे !

    यस्तो सोच्दै गर्दा, कहिलेकाही आफ्नोपनि यस्तै खुसीहरु
    साट्ने मान्छे होस ,
    हरियो पहेँलोमा सजिएर हातभरि चुरा लागाई,
    हातको मेहेन्दी देखाएर
    “कस्तो छ भन्नुस न ?”
    भन्ने मान्छे भइदिए नि हुने भनेर धेरैपटक सोचेको छु मैले ।

    म मेरो त्यो सोचमा धेरैपटक तिमीलाई नै सम्झेको छु तिमीलाई नै कल्पना गरेको छु !

    आज जब त्यही कल्पना गरेको मान्छेले आएर
    यो जीवन रङ्गाइदिन्छ नि अनि महसुस हुन्छ असली खुसी, साँच्चैको सुख,
    हिजो कल्पनामा हराउनेले आज त्यो सबै कुराहरु
    त्यही मान्छेमा देख्न पाउनु, आफ्नै मान्छेबाट त्यो खुसी त्यो सुख अनुभुति गर्न पाउने भाग्य सबैको कहाँ हुन्छ र हजुर !

    थाहा छैन तिम्रो र मेरो आस्थाले के कुरा पुरा गर्छ , के गराउँछ हाम्रो भविष्य ,
    तर, त्यो आस्थाले हाम्रो प्रेमको आयू भन्ने पक्कै बढाउने छ !
    हामीमा अझ बिश्वास बढाउने पक्कै छ !

    तिम्रो हातमा सजिएका हरिया, पहेंला चुरा, सिउँदोमा सजिएको सिंदुर,
    हातमा गाढिएका मेहेन्दीको रङ्गले मेरो जिन्दगीमा रङ्ग भरेका छन् !
    – अनिता रेग्मी

  • पहिलो प्रेमको फेरि सम्झना आयो

    पहिलो प्रेमको फेरि सम्झना आयो

    सायद एक वर्षपछि नै होला, मैले उनीसँग सानो कुराकानी गरेको
    उनीसँग बोल्दा यो अनुहारमा एउटा रसिलो मुस्कानको झलक आयो
    मैले उनीसँग बोल्नु अघि नै, उनलाई परबाट हेर्दा त्यसको प्रेमिल नयनमा डुब्न मन लाग्यो, त्यसको कोमल कपाललाई चलाउन मन लाग्यो, त्यसको हात समाएर मिठो कुराकानी गर्न मन लाग्यो
    तर
    फेरि याद आयो
    हामी दुईटै जना त बिछोड भइसकेको छु है केही कारण ले गर्दा

    मलाई खुसी लाग्यो,
    उनको व्यवहार परिवर्तन भएपनि उनको अनुहारमा मुस्कान अहिले पनि त्यस्तै छिन्
    त्यही मुस्कानको कारणले गर्दा होला म अहिलेसम्म बाँचेको छु।

    तिमीलाई याद छ र माया,
    हामी त्यो पहाडको टुप्पोमा भेटेको दिन
    त्यो दिन पनि कति रमाइलो थियो है,
    टुप्पोमा तिमी र म मात्र थिए है एकलेे अनि हाम्रो लामो समय सम्म कुराकानी चलिरहेयो
    अनि बाहिर पनि सिमसिमे पानी परिरहेको थियो।
    त्यसपछि
    लामो समयपछि, हामी दुईटै जना आफ्नो रूम तिर प्रस्थान गरे
    तर मेलै आफ्नो छाता बिर्सेको थिए रूम मै
    अनि तिमीले मलाई भन्यो जाउँ म न हो एउटै छातामा केही हुदैन,
    त्यसपछि तिमीले छाता खोल्यो र छाताको ह्यान्डल आफैँ ले समायो अनि रुम तिर प्रस्थान गरे , तिम्रो आँखा सडकतिर थियो तर मेरो आँखा तिम्रो आँखा तिर थियो
    अनि सिमसिमे पानीको कारणले गर्दा होला
    मैले तिम्रो हात समाए
    अनि आफ्नो मनको भावना व्यक्त गरे दिए ।

    तिम्रो सम्झना यो मनमा सधैंभरि चलिरहेको नै हुन्छ माया।

    भाग्यमा तिमी छौ भने फेरि हामी भेट्नेछौं

    – रोहित कुमार शाह

  • मलाई डरलाग्छ

    मलाई डरलाग्छ

    १२ बज्यो । अब त निधाइसक्नु पर्ने। कोशिश गर्छु, निद्रा नै लाग्दैन । मन स्थिर छैन। शरीरमा छ्ट्पटाहट बेग्लै।

    आजको दिन लामो थियोे। बिहान छतमा बसेर एकोहोरो एउटा परेवालाई नियाल्दै थिए। परेवा एक्कासी त्यो उडिरहेको ठुलो झुन्डमा गएर मिसियो । कुनचाहिं थियोे, औल्याउँनै सकिन।
    म डरपोक । मलाई डर लाग्छ। कतै त्यो परेवा हराएजस्तै यि मान्छेहरुको  भिडमा म हराउने त होईन?

    दिँउसो कक्षामा सरले कक्षाकार्य गर्न दिनु भयो। सबै साथीहरु को उत्तर आइसक्यो। म भने अलमलिरहे।
    म डरपोक । मलाई डर लाग्छ। कतै यो प्रतिस्पर्धि भागदौड मा म पछि पर्ने त होइन?

    १ बजिसकेछ। निद्राको अत्तोपत्तो छैन। गर्मि बढेको महसुस भयो। पंखा चलाउन मन थियोे । तर बिहानदेखि रुघाखोकीले हैरान त्यो साथी अझ बिरामी पर्ने हो कि भनेर डर लाग्छ। शित्तल ताप्न बाहिर निस्किन्छु, अँध्यारो देखेर डर लाग्छ। बिहान समयमा नउठुला भन्ने डर छुट्टै।
    साँझपल्ट सुर्यास्त हेर्दै थिए । प्राय मान्छेहरू सुर्यास्तमा रमाउछ्न, आनन्दित हुन्छन ।
    तर म ? म त डरपोक । मलाई डर लाग्यो। कतै आफ्ना भनेर साँचिएका ती प्रियजनहरु म बाट टाडिदा त्यो सुर्यास्त पछीको आकाश जस्तै एक्लो, चिसो , अँध्यारो अनि बेरङ भइने त होइन?

    २ बज्यो । सकि नसकि निधाए। सपना पनि डरलाग्दो।
    त्यो दिन अनि रात डराएरै बित्यो।

    म प्राय डराउछु।
    मलाई डर लाग्छ।
    शत्रुहरु संग डरलाग्छ।
    आफ्ना भन्नेहरु संग डर लाग्छ।
    आफैं संग डर लाग्छ।

    मलाई भिड देखेर डर लाग्छ ।
    एक्लोपन संग डरलाग्छ ।

    मलाई वचन दिन डरलाग्छ।
    दिएका बिश्वास तोड्ने पो हुनकि? डरलाग्छ।
    मलाई आशा मा डरलाग्छ।
    मलाई निराशा मा डरलाग्छ।

    मलाई टाडिन डरलाग्छ।
    मलाई नजिकिन डरलाग्छ।
    संगै हुदा डर लाग्छ।

    धेरैजसो भविष्यको चिन्ताले डराउन दिन्छ।
    कहिलेकाँही अतितको सम्झनाले डराउन दिन्छ।

    म सफल हुन्छ हुदिन, डरलाग्छ।
    असल छु छैन, डरलाग्छ।
    दुखपर्दा आत्तिन्छु कि ?  डरलाग्छ।
    सुखपर्दा मात्तिन्छु कि ? डरलाग्छ।

    मलाई देश देखेर डर लाग्छ ।
    राजनिति देखेर डर लाग्छ ।
    धनाड्य हरुको हर्सोहुलास देखेर डरलाग्छ ।
    गरिब हरुको दुख देखेर डरलाग्छ ।

    मलाई सत्य बोल्न डरलाग्छ ।
    नसुन्दिने पो हुन कि ? डरलाग्छ ।
    मलाई प्रश्न गर्न डरलाग्छ ।
    झुटो बोल्दिने पो हुन कि ? डरलाग्छ ।

    मलाई परिवर्तनशिलतामा डरलाग्छ ।
    स्थिरतामा डरलाग्छ ।
    मलाई मौनता देखि देखि डरलाग्छ ।
    शब्दहरुको भार देखि डरलाग्छ ।

    म प्राय डराउछु ।
    मलाई डरलाग्छ ।

    – अमृत न्यौपाने