Tag: कविता

  • ममताको मिठास

    ममताको मिठास

    त्यही एउटी आमा त हुन
    जसकोलागि सन्तान कहिल्यै ठुलो हुँदैन

    त्यही आमाको लागि त हो सन्तानले
    आफू ठुलो भएको कहिल्यओ सोच्दैन ।

    अहिले हुर्कनु भयो होला बढ्नु भयो होला
    अनि अलि जिन्दगीमा केही गर्न सक्ने हुनु भयो होला
    तर पनि सोच्नुस त,

    आमासँग हुँदा आमाको भागको एक गास भए पनि
    खान अझै प्यारो लाग्छ नि है जस्तो पहिला सानो छँदा लाग्ने गर्थ्यो,

    सोच्नुस त, आमाको काखमा आफ्नो शिर राखेर निदाउन खोज्दै गर्दा अनि
    आमाले कपाल चलाइदिँदै गर्दाको जस्तो स्पर्श मिल्छ कहिल्यै अरुबाट मिल्दैन नि ?
    त्यहीँ बसिरहुँ त्यहीँ बच्चा भएर आमाको काखमा हराइरहुँ लाग्छ नि अझै पनि ।

    सोच्नुस त, अनि जति अनि आत्मनिर्भर किन नभएको होस्
    गएको छ र अझै पनि केही गर्नु पर्दा आमासँग खर्च माग्ने बानी ?

    सोच्नुस त, अझै पनि आमाले नै मिलाइदिनु पर्छ अनि आमाले नै रोज्दिनु पर्छ आफूले लगाउने कपडा, उमेरले जति नै किन नभइएको होस !

    अझै पनि घरमा हामी नहुँदा एकैछिन
    घरमा नहुँदा कोही धेरै चिन्तित हुन्छिन त त्यो आमा नै हुन्छिन ।
    यसो भन्दै गर्दा, बुबालाई चाहि अवमूल्यन गर्न खोजेको हैन नि फेरी । बुबा त आमाको साथै हुनुहुन्छ नि सँगै आइहाल्नु हुन्छ नि !

    यति गर्ने आमालाई, सबैको रहर हुन्छ कि,

    आमालाई नयाँ कपडा लगाएर सुकिली राख्न सकुँ
    बर्षौँ दुख गर्नु भएकी आमालाई, आफूले दुख गरेर सुखमा राख्न सकुँ,

    हाम्रो बारेमा सोच्दा सोच्दै खासै कतै जान नपाउनु भएकी,
    खासै बाहिरी संसार देख्न नपाउनु भएकी आमासँगै
    धेरै ठाउँ घुम्न सकुँ ।

    यति गर्नु छ जिन्दगीमा, यति गर्नकै लागि भए
    पनि बाँच्नु छ केही गरेर !
    -अनिता रेग्मी

  • फर्केर आमालाई सम्झदा

    फर्केर आमालाई सम्झदा

    सानो कुरामा पनि बिचलित हुँदा होस
    जिन्दगी देखि हारेको महसुस गर्दा होस
    कहिलेकहीँ, म मेरी आमालाई सम्झन्छु
    जस्तो परिस्थितिमा पनि, जस्तो समयमा पनि
    संघर्ष गरेर अघि बढेको देख्छु
    अनि आमाको अघि मैले देखेको, भोगेको साना कहिलेकहीँको पीडा त केही पनि रहेनछ भन्ने लाग्छ ।

    आमाले मलाई दुखमा हुर्काएकी हुन
    तर मलाई दुखमा कहिल्यै राखिनन्
    मेरी आमा आफू दुखमा हुर्किएकी हुन
    तर मलाई सुखको कमी कहिल्यै हुन दिइनन्

    जन्मिएकी हुन मेरी आमा अभावमा
    हुर्किएकी हुन मेरी आमा अभावमा
    देखेकी छिन मेरी आमाले अभावै अभावको पहाड
    तर मलाई अभाव हुन दिइनन् केही कुराको पनि।

    यो ठुलो संसारलाई कमै देखेकी छिन
    एउटै कुनामा मात्र सिमित भैन धेरै समय
    तर मलाई सारा संसार देखेको डुलेको हेर्न चहान्छिन ।
    आमा तिम्रो छत्र छाँया भन्दा परको संसार
    तिमीले सुने जस्तो छैन रहेछ नि
    अहिले तिमीबाट सात समुन्द्र पारी रहँदा महसुस गरेको छु ।

    समय परिस्थिति त्यही अनुसार नभैदिँदा खासै पढलेख गर्न त पाइनन मेरी आमाले
    त्यसैले पनि उनी चहान्थिन आफ्नो सन्तानलाई पढाउन आफूले नदेखेको कुरा मलाई देखाउन
    आफूले नजानेको कुरा मलाई जान्ने बनाउन

    खै आमाको यो प्रयासबाट कति पढें कति बुझेँ कति जाने त थाहा छैन तर यति चाहि बुझ्ने भएको छु आमालाई खुशी देख्दा मात्र मेरो मन खुशी हुने रहेछ मन म खुशी हुने रहेछु ।

    अबको जिन्दगी मैले आमाको लागि केही गर्नको लगि आमाका सिमीत रहरहरुमा रंग भर्नको लागि संघर्षले थाकेकी छिन मेरी आमा आमालाई आराम दिएर आफू संघर्ष गर्नको लागि । आमाको खुशीको लागि ।
    – अनिता रेग्मी

  • `बा´को संघर्ष

    `बा´को संघर्ष

    काँधमा बसेर गोरेटो बाटो कति हिँडे हुँला,
    यसरी हिड्दा यो गाउँ किन यति फुच्चे लाग्थ्यो ,
    लाग्थ्यो सगरमाथाले आफूलाई अग्लो बनाएको बाको शिर हेरेर हो,कति अग्लो छ बाको काँध
    जुन काँधमा जिम्मेवारीका भारी अटाइनसक्नु छन्
    तैपनि मलाई काँधमा राखेर हिड्नुहुन्थ्यो र
    मलाई यो गाउँ फुच्चे लाग्थ्यो,

    बा टेको हुन्,
    बा आधार हुन् ,
    बा साक्षत भगवान हुन्,
    यो ब्रह्माण्ड बाको छाती भन्दा साँघुरो छ

    अभावले ढोका ढकढक्याएर
    हाम्रो निद्रा खलबल गर्छकी भन्ने पिरले
    बाले चर्को घाममा शितल खोज्दै हिडेनन्
    पानी पर्दा ओड्ने माग्दै हिडेनन्

    दिनभर हाम्रो गन्तव्यसम्म पुग्ने बाटोभरी
    बिजाउन सक्ने ठेसहरु बटुलेर
    किनारा लगाइ दिनुहुन्छ

    बा हुन्जेल दुर्दशाहरु आउन डराउँछन्
    आए पनि चुइक्क नबोली फर्कन्छन्
    बा हुन्जेल अभावहरुलाई आउन शक्त मनाही छ

    यता हामी दिनहुँ आमाका कविता लेखी रहन्छौ
    कोमल हृदय उपमा दिएर
    बा लाई तुलना गर्छौ कठोरता सँग,
    जस्तै परिस्थितिमा पिल्सिएपनि
    बाले रुन जान्दैनन्
    र तिमीले भनिदिन्छौ बा कठोर हुन्छ्न्

    जुन माटोमा उभिएर
    तिमीले जिन्दगीको धुन बजाईरहेछौ
    स्वाभिमानका गीत घन्काईरहेछौ
    अस्तित्वको लडाइँ लडिरहेछौ
    प्रेममा लिप्त भएर ब्रह्माण्ड बिर्सिरहेछौ
    त्यो माटोमा बाको पसिनाको सुगन्ध छ,
    जुन सुगन्धलाई तिमीले गन्धको उपमा दिईरहेछौ
    तिमीले बुझ्दैनौ होला ती पसिनाले लेखेका अक्षर
    जुन अक्षर बाले शरिरमा लेखेपछि
    तिमीले लेख्न पाएका हौ आफ्नो नामको अक्षर कापीका पानामा

    तिमीले बुझ्दैनौ होला
    बाको हत्केलामा उठ्ने ठेलाहरुका अक्षर
    जुन अक्षरलाई तिमी कुरुप देख्छौ

    तिमी बुझ्दैनौ होला
    खुजमुज परेर चाउरिएका छाला
    तिमी बुझ्दैनौ होला
    भाँजो फाटेको जमिनझैँ बाका पैताला,

    तिमी बुझ्दैनौ होला
    फुलेका केशहरुको कहानी ,

    तिम्रो भविष्य बनाउन
    आफ्नो प्रेमिल बैँस बिर्सने ती बा
    जसको शिरको टोपी ढल्किदा तिमीले कहिल्यै सोझाइदियौ ?
    – अनिता रेग्मी

  • पर्खिन तयार छु

    पर्खिन तयार छु

    मितेरी गाँस्न मन छ मलाई देउतासँग
    यदि पाउँछु भने जुनी काट्न उही एउटासँग
    फेरेर पनि सास आधी परे आधी बाचेर पनि
    आउछौ भने पर्खिन्छु म आधी जुनी काटेर पनि

    म फूल बनिदिन्छु उनी सुगन्ध हुन्छन् भने
    म भूल भनिदिन्छु उनी माफीको रङ्ग हुन्छन् भने
    म हाँसीहाँसी पर्खन तयार छु जुनी जुनी
    यदि उनि एकपल पनि मेरो यादमा रुन्छन् भने

    ढडकने यो मुटु आधा उनी आधा म हुँ
    मुटुको आधा अंश बिना कसरी जीवित रहु
    मलाई जस्तै अभाव उनलाई खटकिन्छ भने
    म एक क्षण पनि नसोची उनकै हुन तयार
    यदि म बिना उनको पनि सास अड्किन्छ भने

    आफ्नो जीवन करकापमा जिउनुको के फाईदा
    एकबारको जुनीमा पनि खटखटाहट पिउनुको के फाईदा
    म त हरदम उनकै यादको पर्यायवाची हूँ उनकै समीपमा खसिदिन्छु
    यदि उनलाई पनि लाग्छ भने म बिना जिउनुको के फाईदा

  • तिम्रो सम्झना…

    तिम्रो सम्झना…

    मलाई नसोध तिम्रो सम्झनामा कति वर्ष कुरे भनेर
    साँच्चिकै, यो प्रश्नको उत्तर मलाई पनि थाहा छैन माया
    तर
    तिम्रो सम्झनामा
    म अहिले कबीर सिंह बनिसकेको छु के भन्नु माया
    तिमी अहिले टाढा भएपनि
    तिम्रो सम्झना यो मनमा सधैंभरि चलिरहेको हुन्छ
    कहिलेकाहीँ एक्लोपनमा बस्दा
    बितेको दिनको सम्झना आउँछ
    यदि राम्रो कुरा याद आउँदा
    अनुहारमा मिठो मुस्कान झल्किन्छ
    तर
    यदि बिछोडको कुरा याद आउँदा,
    आँखाबाट आँसु झसक्कै निक्लिन्छ ।

    मुटु भरि माया अटुट सम्झना बोकी बसेको छु
    तिमी औषधि बनेर आइदिए हुन्थ्यो।

    पर्खाइको पलहरू घाइते मृग जस्तो हुँदो रहेछ
    सम्झनाका एकएक पल आँसुको थोपाहरूले भिग्दो रहनेछ ।

    – रोहित कुमार साह

  • रहर भरिएको शहर

    रहर भरिएको शहर

    गाउँको बस्ती टुङ्गीसक्यो
    भरियो नि शहर
    बालक युवा वृद्ध सबैलाई
    शहर बस्ने रहर

    जताततै भिडैभिड बस-ट्रकको घुईचो
    गाउँमा जस्तो चल्दैन यहाँ अर्म पर्म पैचो
    तरपनी मान्छेलाई यहि बस्ने रहर
    चट्टै गाउँलाई बिर्साईदिने कस्तो रैछ शहर

    गल्ली पिच्छे अग्ला अग्ला पाँचतले घर छन्
    दु:ख पर्दा हेर्दैनन् कै नदेखे झै गर्छन्
    तर पनि किन सबैलाई यहि बस्ने रहर
    गाउँको घरलाई बिर्साईदिने कस्तो रैछ शहर

    गाडी चढी जानै पर्ने पाँच मिनेट कै बाटो
    चढ्नै पर्ने बाध्यता छ खुट्टा तान्नु साटो
    तर पनि किन सबैलाई यहि बस्ने रहर
    गाउँको बाटो बिर्साईदिने कस्तो रैछ शहर

    पलटिङ्ग गरिसके भाको जग्गा जति
    बाहिरबाट मगाई खान्छन् गर्दैनन् खेतीपाती
    तर पनि किन सबैलाई यहि बस्ने रहर
    गाउँको खाना बिर्सादिने कस्तो रैछ शहर

    बनेका छन् उद्योग धन्दा घरै नजिक आडमा
    महँगिले आकाश छुन्छ दशै तिहार चाडमा
    तर पनि किन सबैलाई यहि बस्ने रहर
    गाउँको माया बिर्साईदिने कस्तो रैछ शहर

    ओल्लो घरमा थाहा हुन्न कै पल्लो घरमा पर्दा
    परे मलामी एक्लै जान्छन् घरमा कोहि मर्दा
    तर पनि किन सबैलाई यहि बस्ने रहर
    गाउँको सहयोग बिर्साईदिने कस्तो रैछ शहर

    बोडिङ्ग स्कुल पनि यहाँ गर्छन् प्रतिस्पर्धा
    अग्रिम भुक्तान नगरी हुन्न भर्ना फर्मलाई भर्दा
    तर पनी किन सबैलाई यहि बस्ने रहर
    गाउँको स्कुल बिर्साईदिने कस्तो रैछ शहर

    औकातले तौलिन्छ्न यहाँ मिल्ने साथी मनको
    गरिबलाई त गन्दैनन् कोहि फुर्ति लाउछन्
    धनको तर पनि किन सबैलाई यहि बस्ने रहर
    गाउँको साथी बिर्साईदिने कस्तो रैछ शहर

    जागीर पनि पाइन्न कतै भएपनि दक्ष
    आफना मान्छे घुसाईदिन्छ्न् लिन्छन् उनकै पक्ष
    तर पनि किन सबैलाई यहि बस्ने रहर
    गाउँको बस्ती बिर्साईदिने कस्तो रैछ शहर

    धुलैधुलो पदूषणले जेल्यो जताततै
    आधुनिक जमाना भन्छन् संस्कार छैन कतै
    तरपनि किन सबैलाई यहि बस्ने रहर
    गाउँको बसाई बिर्साईदिने कस्तो रैछ शहर
    गाउँको शेरो बिर्साईदिने कस्तो रैछ शहर

    – सुसिला पराजुली
    बुटवल -रुपन्देही

  • पहिलो प्रेम नभएपनि अन्तिम प्रेम हुनु

    पहिलो प्रेम नभएपनि अन्तिम प्रेम हुनु

    मैले सधैँ प्रेमलाई मजाक मै लिएको थिए तर तिमीसँग बोल्दा हाँस्दा प्रेमको परिभाषा बुझे।
    मन मिल्ने नै त प्रेम होइन र माया।
    कसैसँग आफ्नो पुरै जीवन सम्पन्न गर्नु त्यो नै प्रेम होइन र माया ।

    तिम्रो अनुहार हेर्दा मेरो हरेक दुःख‌ सुखमा परिवर्तन हुन्छ त्यही त प्रेम होइन र माया ।
    मैले आफ्नो जीवनमा धेरै केटी साथीहरूसँग मिले,
    तर तिमी त्यो अरुभन्दा फरक निक्ल्यो,
    तिम्रो बोलीवचन आँखामा डुब्न चाहन्छु तिमी मेरो र म तिम्रो हुन चाहेको छु ।
    यदि तिमीलाई दुःख भयो भने त्यो दुःखको साथी बन्न पाउ ।

    तिमी घरको ठूलो छोरी म घरको ठूलो छोरा कुरै मिलेन
    तिमी अर्को जात म अर्को जात कुरै मिलेन
    तिमी पहाडमा बस्ने म तराईमा बस्ने कुरै मिलेन
    तिमी उचाइमा सानो म उचाइमा ठूलो कुरै मिलेन
    तिमी पढाइमा प्रतिभा म पढाइमा कमजोर कुरै मिलेन
    यदि भाग्यमा तिमी छौ भने तिमीलाई मेरो आमाको छोरी बनाउन चाहन्छु।

    यदि अहिले मेरो प्रेम एकतर्फ भएपनि निश्चित एकदिन मैले आफ्नो मनको कुरा भन्नेछु तिमीलाई माया ।

    – रोहित कुमार शाह

  • सुरक्षित छैनन् छोरी

    सुरक्षित छैनन् छोरी

    स्कुलबाट पढाइ सकि आउदै थीए टोलाउदै
    मनैभरी भबिस्यको सपनाहरु सजाउदै

    सबै साथी बिदा भैइ घर घर गए
    अब आधी बाटो थियोे म त एक्लै भए

    फ्याट् फुट्ट घर बनेका थिए कताकती
    जङ्गलको बाटो थियो पन्द्र मिनेट जति

    पाइला मैले चालिराथे थियो तिब्र गती
    के गर्नु खै हिंड्नै पर्थेयो गर्नलाई प्रगति

    त्यतिकैमा एउटा मान्छे यतै आको देखे
    नाक मुख छोप्या थियो पहिलो पटक भेटे

    कहाँ जानी हो नानी तिमी भन्दै सोध्न लाग्यो
    छिटो छिटो हिंड्न खोजे बाटो छेक्न लायो ।

    आफ्नो बाटो अघि बढन मैले कोसिस गरे
    प्रयास मेरो खेर गयो उसको फन्दा परे

    जबर्जस्ती गर्न लाग्यो थाले चिच्याउन
    फुल जस्तो जोबन मेरो लुट्यो एकैछिनमा

    छोड्दिनु न छोड्दिनु न भन्दै परे सरन
    गुहार गुहार भन्दा भन्दै गयो मेरो परान

    उता मेरि आमा मलाई कुर्दै बसेकी थिन
    छोरी आएपछि खानी भन्दै नास्ता साचेकी थिन

    मेरो खुट्टा हिडिराथे घर पुग्ने आसमा
    त्यो दिन त ग्रहण लायो चम्किलो प्रकाशमा

    यता म त छ्ट्पटाथे गएपनि सास
    आत्मा मेरो जिउँदै थियो भएपनि लास

    त्यै बेलामा टुप्लुक्क मान्छे आयो अर्को
    खासै मेसो पाइन मैले थियो कुनै घरको

    मोरेको त्यो लासमा पनि गलत नजर लाउदै
    मुसु मुसु हासिराथ्यो नजिक नजिक आउदै

    सबै कुरा थाहा पायो खबर गर्यो गाउँमा
    पुलिस लाई नि खबर दियो उसले ठाँउ ठाँउमा

    सबै मान्छे भेला भए
    पुलिस पनि आए
    आइडी कार्डमा नम्बर थियो घरमा खबर दिए ।

    यो सुनेसी मेरि आमा पिडाले गलिन
    सहन तिन्ले सकिन् नि बेहोस भइ ढलिन

    हतारिदै चिच्याई काम्दै बाबा पुगे त्यही
    निसासिए मलाइ देख्दा सकेनन् बोल्न केही

    छानबिन गर्दै थिए पुलिस घटना भयो क्यारी
    हाम्ले पत्ता लाउछ्म् भन्थे बाबातिर हेरि

    गल्ती गर्ने अपराधीको रैछ पुलिस मित्र
    आखै आखा सेटिङ मिलाए यिन्ले भित्र भित्र

    लाखै लाखको बिटो पाए दोषी लुकाईदिए
    कोही दोषी छैन भनी लासलाई बुझाईदिए

    लाखले मुख बन्द भाको कहाँ आँसु बिक्थ्यो
    बाबा अरु के चान्थे र न्याय दिए पुग्थ्यो

    कति सपना थिए मेरा भए माटो बिलिन
    बुढेसकालको साहारा भन्थिन आमा कति रोलिन

    प्रतिमा र निर्मलाले भोगे मैले जस्तै
    यस्तै पिडा भोग्ने छोरी अरुनि छन् मस्तै

    कहिँ कतै सुरक्षित छैन छोरिलाई
    अब यस्तै पिडा भोग्न नपरोस् अरुलाई

    कडा खालको नियम चाहियो फाँसी दिनै पर्छ
    फाँसी दिने नियम आएमा यस्ता घटना घट्छ ।

    – सुसिला पराजुली
    बुटवल

  • जीवनको संग्राम

    जीवनको संग्राम

    म थाकी सके यो जिन्दगीबाट,
    म हारी सके बारम्बार।
    अरुलाई रिजाउँदा म दिक्क परे,
    मलाई स्वतन्त्र भै हिड्नु मन छ,
    मलाई एकान्तमा जिउनु मन पर्छ।

    अँध्यारोबाट डराउने म,
    आज त्यही अँध्यारोमा रमाउन थालेकी छु।
    चराको चिरविरसँगै मोहित हुने यो मेरो मन,
    अहिले त्यही चिरविर सुन्दा ओक्का दिक्क पर्न थालेको छ।

    थाहा छैन मलाई के गर्दै छु,
    के म सही छु या गलत,
    म आफैँ दोधारमा परेकी छु।
    रङ्गीन थियो मेरो जिन्दगी,
    हरीयाली थिए मेरा सपना,
    सबै रङ्ग भङ्गन भइ,
    अन्धकारको बादलले घेरेको छ मेरो जिन्दगी।

    विन अर्थ यो आँखाबाट झरी पर्छ,
    किन हो किन यो मनमा कालो बादल लागे जस्तो हुन्छ।
    कस्लाई सुनाउँ म मेरो मन गर्जिएको,
    पटक पटक यो आत्मा टुक्रा टुक्रा परेको।

    आँसु बेच्न मिल्ने भए,
    म पनि बेच्थे होला,
    त्यही पैसाले मेरो लागि खुशी किन्थे होला।
    यदि भाग्य लेख्ने कलम भएको भए,
    कस्तो हुन्थ्यो होला है,
    कसैलाई पनि एकान्तमा पसी रुनु पर्थेन होला।

    संसार चल्दै छ, सबैको आफ्नै पीडा र वेदनाले,
    सबैलाई पीडा आफ्नै ठूलो लाग्छ,
    खै यो पनि त रिसले होला है।
    खुशी बारम्बार खोसिए,
    ईच्छा मर्दै गए,
    अब बाँकी यही खोक्रो शरीर छ,
    त्यो पनि अझ भोलि गल्दै गइरहेको छ।

    मन चञ्चल थियो, अहिले स्थिर छ,
    जीवन बिना गतिमा बग्दै छ।
    कहिले कहाँ पुगी ठेस खान्छ,
    त कहिले कहाँ पुगी बजारीन्छ।

    कथा मेरो यस्तै छ,
    विन कारण यो मन पोली रन्छ।
    बिन अर्थ यो मन रोहिरन्छ।

    – ईरा आर्याल

  • म पहिचानहिन प्राणी

    म पहिचानहिन प्राणी

    म एक पहिचान हिन प्राणी हूँ
    कोख, नाता र जमिनले
    मलाई हरेक सम्बन्धमा बसाइदियो
    तर म केही बन्न सकिन ।
    मलाई जन्माएर- हुर्काएर आमाले आफ्नो कर्तव्यले मलाई छोरो बनाइन्,
    मलाई नागरिकता दिएर राष्ट्रले नागरिक बनायो ,
    मैले कसैको शिर सजाउँदा म श्रीमान भए ,
    प्रेमील स्पर्श बाट म बाउ भए, दिदीलाई विदाई गरेपछि म मामा भए,
    अवश्य पनि म हरेक नाता हरुले बाँधिए तर म कर्तव्यले केही बन्न सकिन ।
    आमा ! मैले तोते बोलिमा भनेको “म सधैं तिमिलाई स्हारेर तिम्रो सहरा बन्छु । “झुट बनिदिए
    त्यो तोते बोलिमा झुट थिएन आमा तर जिम्मेवारी बुझ्दै जाँदा झुट बनिदियो ।

    मैले मेरी उनकी आमासँग सुखदुःखमा सधैं साथ दिन्छु भनेर बाचा गरेर ल्याएको थिए
    तर साथस्वरुप केबल आश्वासन् दिन सक्छु
    परिस्थितिले त्यो बाचा पनि झुट बनाइदियो।

    छोराले बाउ भनेर केबल तस्बिरले चिन्यो काखमा खेल्न पाएन,
    म उसको लागी घोडा बन्न सकिन,
    मेरो घुँडा उसको लागि ढयाकुस् बन्न सकेन ,
    उसले मेरो काँध चडेर आकाश छुन बल गर्न पाएन,
    न त भान्जालाई काँध चढाएर गाउँ डुलाउन पाए
    मिठाई किनिदिएर खुवाउन पाइन
    म कर्तव्यले केही बन्न सकिन ।

    गरिबीले मुटुको भित्री भागमा पहिरो खसेपछि म सुटकेस घिसार्न बाध्य भए
    गरिबीलाई मेटाउँदै गर्दा म केबल पैसाको श्रोत भए तर कर्तव्यले केही बन्न सकिन ।

    सानोमा पढ्दै गर्दा मैले गुरुलाई मेरो देशको गौरव बन्ने छु म कहाँ अन्त फुल्ने छु भनि भन्दा गुरु मुसुक्क मुस्कुराउनु भएको सम्झन्छु,
    आज त्यो मुस्कानले खुब मुटु पोल्छ
    त्यो अन्योल मुस्कान आफूले भोगेको स्थिती सम्झेर थियो कि मेरो खोक्रो आँट देखेर थियो कुन्नि मैले अझै बुझिन !

    तर यति बुझें, देशमा पढ्ने केबल सर्टिफिकेट निकाल्न रहेछ अनि नागरिकता पासपोर्ट बनाउन
    माफ गर मेरी आमा म कर्तव्यले छोरा बन्न सकिन
    माफ गर पियारी म कर्तव्यले श्रीमान बन्न सकिन
    माफ गर छोरो म कर्तव्यले बाउ बन्न सकिन
    म कर्तव्यले केही बन्न सकिन ।