Category: साहित्य

साहित्य

  • बाबा के दिउँ उपहार आज

    बाबा के दिउँ उपहार आज

    खै बाबा, के दिउँ उपहार आज कुशेऔंसीको दिन?
    हेर्नुस् त, बाबा, मेरा हातहरू आज पनि खाली नै आएका छन्। तर, हजुरको लामो आयु र हजुरकै लागि यी हातहरू जोडिन बाहेक अरू कुनै मन्दिर बाँकी छैन।
    हजुर सधैं भन्नुहुन्थ्यो, “दुःखपछि सुख आउँछ, आतिएर केही हुँदैन। समयसँगै आफूलाई ढाल्दै जानुपर्छ।” बाबा, म त्यही समयको पर्खाइमा छु अझै पनि।

    हजुरको लगनशीलता र त्याग म कहिल्यै बिर्सन सक्दिनँ। कलिलो उमेरमै परिवारको जिम्मेवारी बोकेर बाहिरिनुभएको हजुर, अनि त्यहाँ गरेको सङ्घर्ष म कसरी बिर्सन सकुँला र?
    हजुरको लगन, मेहनत, र समर्पणकै कारणले आज यहाँसम्म आइपुगेका छौं।
    हरेक बाटो सजिलो लाग्छ हामीलाई, किनकि कठिनाइको काँडा पन्छाउन हजुर नै अगाडि हिँड्नुभएको छ।

    बाबा, हजुरको हातको स्पर्शले अझै पनि मेरो मनमा अनौठो सान्त्वना दिन्छ। हजुरको माया र हेरचाहले मलाई कहिल्यै एक्लो महसुस हुन दिएको छैन। समयले कति धेरै कुरा परिवर्तन गर्‍यो, तर हजुरको अनुहारको त्यो मुस्कान अझै पनि मेरो हृदयमा गढेर बसेको छ। हजुरको आँखा भरिएको माया सम्झँदा मेरा आँखा पनि आँसुले भरिन्छन्।

    आज मलाई त्यो कुराको महत्त्व अझ बढी महसुस भएको छ, जुन हजुरले सधैं भन्नुहुन्थ्यो, “मानिस भएपछि व्यावहारिक हुनुपर्छ। किताबको ज्ञान त जसले पनि लिन सक्छ।”
    तर, जीवनको यात्रा कठिन हुन्छ, र जब थकानको आभास हुन्छ, तब किताबमा लेखिएको शब्दभन्दा पनि जीवनको पाठ अझ धेरै सम्झना आउँछ।
    बाबा, हजुरको हँसिलो अनुहारले मलाई सधैं हिम्मत र उमंग दिएको छ। हजुरको साथले मनमा शान्ति र बल दिन्छ, जसले मलाई अघि बढ्न प्रेरित गर्छ।

    मेरो शक्ति भनेकै हजुर नै हो, बाबा।
    जब केही कुरा बारम्बार असफल हुन्छन्, र म हार मान्न थाल्छु, त्यो बेला हजुरले सधैं मलाई साहस, हिम्मत, र आत्मबल दिनुहुन्छ।
    “माया गर्छु” भन्ने शब्द सानो लाग्न सक्छ, बाबा। तर एक दिन म पनि सफल हुनेछु, र हजुरले देखेका सपनाको एउटा अंश म पूरा गर्नेछु।

    कमजोर छैन म, बाबा, यति छिटो हार मान्ने छैन। विश्वास गरेर बस्नुस्, हजुरको संस्कारमाथि औंला उठाउने मौका सकेसम्म कसैलाई दिने छैन।

    आजको विशेष दिनमा हजुरको त्यो बोली, “छोरी, म सधैं तिम्रै साथमा छु,” अझै मेरो कानमा गुञ्जिन्छ। आजको विशेष दिनको विशेष शुभकामना, बाबा। हजुरलाई धेरै धेरै माया अनि सम्झना।

    -इरा अर्याल

  • मेरा `बा´

    मेरा `बा´

    पर्दा पछाडी रमाउँछन, सबै कुरा जितेर पनि सम्मान छैन ,
    मेरा लागि बाभन्दा ठुलो अर्को कोही भगवान छैन ,
    घाम बन्न सकुँ छाहारी बन्न सकुँ र खुशी बन्न सकुँ,
    म हार्दा अनि हौसला बन्छन, मेरो त्यस्तो केही शान छैन

    बालाई खुशी भनेकै छोराछोरीको सुख हो, पर्दैन धन दौलत जतिनै दिएपनि
    ऊनलाई फोन पनि गर्नु पर्दैन, महसुस गर्छन टाढा बसेर मात्र सम्झिए पनि
    आफू सकिन, त्याग्न पछि पर्दैनन सन्तानका लागि बा
    सोध त सधैँभरी खर्च हुन्छ तिम्रा लागि भलै आफ्नो गोजी रित्तिए पनि ।

    बालाई नयाँ कपडा किन्नु भनेर भन्नु पर्छ, पुरानोमै बिताइदिन्छन साल पनि ,
    मुटुनै फुट्ने चोट हुन्छ मनमा ठिक छ भनिदिन्छन हाल पनि
    बाको त्याग सम्झन्छु , बाको संघर्ष सम्झन्छु मेरा खुशीको लागि ,
    अ मुल्य अ तुल्य लाग्च बासँगको हरेक अङ्कमाल पनि ।

    बाका कैयौँ सपना अपुरा छन, ताकि हाम्रा सपना पुरा होस, छोरा छोरीलाई केही कुराको कमी नहोस के फरक पर्च र आफ्ना अधुरा होस,
    म बा जस्तै बन्न नसके पनि बाका केही सपना पुरा गर्न सकुँ, जहाँ मानवताको कुरा हुन्छ , भगवानको कुरा हुन्छ त्यहाँ बाको पनि कुरा होस ।

    दुनियाँले जे सुकै भनोस बा चासो छैन ,
    बाको खुशी भन्दा ठुलो कुनै हाँसो छैन ,
    म सधैँ चिनिरहुँ यो समाजमा तिम्रो नाम लिएर ,
    तिमी जिन्दगी हौ बा, तिमीसँग गुनासो छैन ।

    बा रहुन्जेल म सुरक्षित छु मेरो अस्तित्व सुरक्षित छ
    मैले आफ्नो छायाँ खोज्नु पर्दैन
    बा रहुन्जेल मैले अन्त माया खोज्नु पर्दैन ।

    – अनिता रेग्मी

  • बाबा ! तिम्रो बारे केही कोर्न सक्दिन

    बाबा ! तिम्रो बारे केही कोर्न सक्दिन

    म शब्दलाई भावनामा परिणत गर्ने मान्छे
    म कल्पनामा डुबेर चुर्लुम्म हुने मान्छे
    म कोर्दा आकाशलाई पाताल, पाताललाई आकाश
    अग्लो लाई होचो, होचोलाई अग्लो,
    गहिरोलाई सम्म, सम्मलाई गहिरो दिनलाई रात रातलाई दिन सोच्न सक्छु
    म कल्पनामा संसारको अवतार बदल्न सक्छु, गति बदल्न सक्छु
    म कोर्दा आफुलाई सक्षम, असक्षम, सज्जन, खराब, शिथिल, दृढ,
    बुढो, बाल, प्रफुल्लीत, उत्पिडित, परदेशी, घरदेशी प्रत्यक चरित्रमा उतार्न सक्छु।

    म कल्पनामा‌ संसारको आकार बदल्न सक्छु तर बाबा
    जब तिम्रो कुरा आउछ म छोरी भाएर
    आफ्नो भावना कोर्न सक्दिन

    म तिमीलाई बिट मार्ने गरि शब्द छाड्न सक्दिन
    सत्य अनि छर्लङ्ग , तिम्रो त्याग कोर्न सक्दिन
    अब भयो भनि तिम्रो बारे शब्द छोड्न सक्दिन
    म सबैको भावना कल्पनामग्न भएर कोर्न सक्छु
    तर छोरी भएर तिम्रो बारे कोर्न सक्दिन
    म तिम्रो त्यागको बिट मार्ने सक्दिन

    पढ्छु तिम्रा मौनता भित्र लुकि बसेका चिन्ताहरु
    मलाई लिएर त्यो मनमा फक्रिएका जन्जिरताहरू –
    तिम्रा विलुप्त सपनाहरू र अभ्यन्तरमा रहेको प्रेम त छदै छ
    तिमीले लुकाउन खोजेका निस्तब्ध उद्धिग्न त छदै छ
    चूर्णविचूर्ण भएका तिम्रा चाहाना त छदै छ
    अनि त्यो भित्री मनका अव्यक्ति भावना त छदै छ !

    तिम्रो शरिरबाट छुटेका रगत र पसिना,
    परिस्रम क्लान्तपरेको मन
    त्यो शरिरमा बसका डोब
    अनि तिम्रो उद्रिएको कोट
    तिमीले सहेका घामको ताप साथै पानीका बाछिटा
    हाल्न सक्दिन म कुनै शब्दको बिटमा
    तिमी भगवान‌ होइनौ,
    भगवान भएको भाए त्यति चोट र चिन्ता सहनु पर्थेन सायद
    तर सामान्य पनि छैनौ,
    न म साहित्यकार बनेर तिम्रो निम्ति रहेको सम्मान र माया कुनै शब्दमा छोड्न सक्छु,
    न त छोरी भाएर आफ्नै भावनाको बिट मार्न सक्छु
    बाबा! तिम्रो बारे केही कोर्न सक्दिन।

  • दबिएको आवाज

    दबिएको आवाज

    म त्यो नारी हु
    जसलाई मानिस रुपी भेडाहरुले
    अंग-अंग लुछेर मारेका थिए,
    आज कविता मार्फत बोल्दै छु,
    त्यति बेला मुख थुनिदिएका थिए
    बोल्न पाएकी थिइन,
    आज काबिताबाटै मनमा दबेका पिडा खोल्दै छु ।
    रगतले लतपततिएकि थिए म,
    मेरो प्राण जान सम्म कुरियो,
    अब मरी भन्ने थाहा पाउन साथ्, मलाई खाल्टो खनेर त्येही पुरियो ।

    जब उनीहरु पछि लागे भन्ने थाहा पाए,
    मेरा आसा अनि सपनाहरु त्यही मरिसकेका थिए,
    धेरै अघि बड्ने रहर थियो जीवनमा, तर बिडम्बना मानिस रुपी राक्षहरुले माटो मुनि दबाइ दिए ।
    छोरी पढेर केहि गर्ली भन्ने मेरा बुवा-आमाको सपनालाइ ति राक्षसहरुले छिनभरमै जलाएर खरानी पारिदिए,

    मर्न त म मरे तर, उता म जस्तै जीवन मा केहि गर्ने सोच भएका करोडौं नारीहरुको सपनालाइ पनि घाटी दबाएर मारिदिए ।
    म सम्झन्छु त्यो दिन जुन दिन, म मरेर लास बन्दा पनि यो समाजले मलाई सुख दिएन
    नाङ्गो फालिएकी थिए म बाटोमा, मेरो नाङ्गो सरिर बाट लाइक्स, कमेन्टस कमाउन आतुर थिए सबै तर मेरो वास्तविक चिन्ता भने कसैलाई थिएन ।

    – लिकिस बुढाथोकी

  • छोराको महलमा आमाको फोटोसम्म अटेन

    छोराको महलमा आमाको फोटोसम्म अटेन

    चिन्दै नचिनेकाहरुको पनि बधाई आएको छ
    आज यो मेरो हातले जितको ट्रफी उठाएको छ

    उसले परिक्षाको डरले आफ्नो पढाइ छाड्यो
    जीवनको परीक्षाले फेरी उसैलाई सताएको छ

    छोराको महलमा आमाको फोटोसम्म अटेन
    आमाको फेरि त्यै छोरामै संसार अटाएको छ

    ढुङ्गाले बनेको ईश्वरको मुर्ति फुटेर ढुङ्गा भयो
    ईश्वरले घमण्डबारे मलाई यत्ति सिकाएको छ

    कुनै दिन पक्कै हेर्न पर्नेछ अगस्त्य चम्केको
    अहिले टुकीको उज्यालोले सबै भुलाएको छ
    – कपिल अगस्त्य

  • म भुल्न सक्दिँन

    म भुल्न सक्दिन तिम्रो त्यो मिठो हाँसो,
    जसले मेरो दिनहरूमा रङ्ग भरेको थियो।
    तिम्रा ती आँखाहरू, जसमा सपना साँचेर हेर्थ्यौं,
    आज पनि तिनीहरू मेरो मनको आकाशमा झल्किन्छन्।
    केवल क्षणभरका लागि भए पनि, ती स्मृतिहरू सधैंभरि बसिरहन्छन्।

    म भुल्न सक्दिन तिम्रो त्यो पहिलो स्पर्श,
    जसले मेरो हृदयमा कम्पन भरिदिएको थियो।
    तिम्रा ती शब्दहरू, जसमा बाँच्ने साहस थियो,
    जसले मलाई हरेक चुनौतीमा उभिन सिकायो।
    आज पनि तिनै शब्दहरूले मेरो मनलाई थामिरहन्छन्।

    म भुल्न सक्दिन ती बाचा र तिनका साक्षी चन्द्रमा,
    जसलाई सधैं हामीले साथमा हेर्ने गथ्र्यौं।
    तिम्रो त्यो मायालु आँसु, जुन विदाईको क्षणमा झर्‍यो,
    जसले मेरो मनलाई पनि रसाए जस्तै गरायो।
    ती भावना अझैपनि मेरो हृदयमा अमर छन्।

    ती हाँसोका मिठा छालहरू, जसले दुरीलाई अर्थहीन बनायो।
    आज पनि ती क्षणहरू मेरा सपनामा जीवीत छन्।
    म भुल्न सक्दिन ती चिसा साँझहरू,
    जहाँ तिमीले मेरो हात समाएर माया बाँड्यौ।
    तिम्रो त्यो आवाज, जसले मेरो सारा दुखहरू पगाल्यो

    म भुल्न सक्दिन तिमीले देखाएका ती रंगीन सपना,
    जसमा हामीले जीवनको पूर्णता खोजेका थियौं।
    तिम्रो त्यो अँगालो, जसले मलाई सुरक्षित महसुस गरायो,
    जसले हरेक डरलाई एक झिल्काझैं उडायो।
    आज पनि त्यो अँगालोको न्यानोपन मेरो यादमा ताजा छ

    तिमी टाढा भए पनि, ती सम्झनाहरू मेट्न सक्दिन,
    जुन तिमीसँग बितेका पलहरूमा अंकित छन्।
    संसारले चाहे जतिसुकै परिवर्तन गरे पनि,
    तिमी र मबीचको त्यो अदृश्य धागो म भुल्न सक्दिन।
    तिमी मेरा हृदयको कुनै कुनामा सधैंभरि रहन्छौ।

    – सुबोध कार्की

  • ममताको मिठास

    ममताको मिठास

    त्यही एउटी आमा त हुन
    जसकोलागि सन्तान कहिल्यै ठुलो हुँदैन

    त्यही आमाको लागि त हो सन्तानले
    आफू ठुलो भएको कहिल्यओ सोच्दैन ।

    अहिले हुर्कनु भयो होला बढ्नु भयो होला
    अनि अलि जिन्दगीमा केही गर्न सक्ने हुनु भयो होला
    तर पनि सोच्नुस त,

    आमासँग हुँदा आमाको भागको एक गास भए पनि
    खान अझै प्यारो लाग्छ नि है जस्तो पहिला सानो छँदा लाग्ने गर्थ्यो,

    सोच्नुस त, आमाको काखमा आफ्नो शिर राखेर निदाउन खोज्दै गर्दा अनि
    आमाले कपाल चलाइदिँदै गर्दाको जस्तो स्पर्श मिल्छ कहिल्यै अरुबाट मिल्दैन नि ?
    त्यहीँ बसिरहुँ त्यहीँ बच्चा भएर आमाको काखमा हराइरहुँ लाग्छ नि अझै पनि ।

    सोच्नुस त, अनि जति अनि आत्मनिर्भर किन नभएको होस्
    गएको छ र अझै पनि केही गर्नु पर्दा आमासँग खर्च माग्ने बानी ?

    सोच्नुस त, अझै पनि आमाले नै मिलाइदिनु पर्छ अनि आमाले नै रोज्दिनु पर्छ आफूले लगाउने कपडा, उमेरले जति नै किन नभइएको होस !

    अझै पनि घरमा हामी नहुँदा एकैछिन
    घरमा नहुँदा कोही धेरै चिन्तित हुन्छिन त त्यो आमा नै हुन्छिन ।
    यसो भन्दै गर्दा, बुबालाई चाहि अवमूल्यन गर्न खोजेको हैन नि फेरी । बुबा त आमाको साथै हुनुहुन्छ नि सँगै आइहाल्नु हुन्छ नि !

    यति गर्ने आमालाई, सबैको रहर हुन्छ कि,

    आमालाई नयाँ कपडा लगाएर सुकिली राख्न सकुँ
    बर्षौँ दुख गर्नु भएकी आमालाई, आफूले दुख गरेर सुखमा राख्न सकुँ,

    हाम्रो बारेमा सोच्दा सोच्दै खासै कतै जान नपाउनु भएकी,
    खासै बाहिरी संसार देख्न नपाउनु भएकी आमासँगै
    धेरै ठाउँ घुम्न सकुँ ।

    यति गर्नु छ जिन्दगीमा, यति गर्नकै लागि भए
    पनि बाँच्नु छ केही गरेर !
    -अनिता रेग्मी

  • स्वार्थको संसार

    स्वार्थको संसार

    समाजको तीतो सत्य यहीनै रहिछ,
    जति तिमी निउरीन सक्छौ,
    त्यति नै तिम्रो प्रशंसा र आशा हुन्छ।
    दुई-चार शब्द बोल्ने बित्तिकै,
    सबै नाटक र यथार्थ छुट्टाउन थालीन्छ।

    यहाँ सँगै मर्ने र बाँच्ने वाचा गरेकाले नै घात गर्छन्,
    भने तिमी बाटोमा भेटिएको बटुवाबाट के आशा गर्छौ?
    हजारौं सम्बन्ध अनि साथ निभाउँदा पनि,
    कसैको मन जित्न नसक्ने समयमा,
    तिमी किन आफूलाई मार्छौ?

    पैसाले नै सबैथोक किन्न सकिने समयमा,
    तिमी असल नाता खोजेर कहाँ पाउँछौ?
    दुःख-सुख पोख्ने साथीहरू परदेशमा रमाउन थाले,
    भने तिमी बाटोमा भेटिएका मानिसबाट के आशा गर्छौ?

    गुन लगाएर पनि तिम्रो गुन नदेखिने समाजमा,
    तिमी भोलीको सहाराको आशमा बसेर के पाउँछौ?
    सहाराको लागि औंला दिएकी थिएँ,
    मेरो हात नै तानियो,
    तैपनि म चुप नै रहेँ।
    आज गरेको कर्म भविष्यमा फर्केला भन्दै चित्त बुझाएँ,
    तर समय र सन्दर्भ सबै फेरिए।

    सँगै हातेमालो गरेर हिँडेको दोस्ती,
    अहिले पैसामा इमान बेच्न थालेको छ,
    रूपैयाँको घमण्ड बढ्न थालेर होला बोलि बोल्दा पनि पैशै खस्ला जस्तो गर्छन्।
    घण्टौंसम्म बोल्दा पनि नथाक्ने सम्बन्धहरू,
    आज एकअर्काको अव्सथा अनि एक अर्कालाई नसोधी फोन काट्न थालिएको छ।

    जुन मुहानको पानीले तिर्खा मेटिन्थ्यो,
    आज त्यही पानी पिउन घिन लाग्न थालेको छ रे।
    देवता भनी पूजा गरिएको मूर्ति पनि,
    माग पूरा भएपछि फाल्ने चलन छ भने,
    तिमी हामी त मान्छे,
    आवश्यक नपरेसम्म काम नै नलाग्ने।

    नाता-गोटा, कुटुम्बहरूले धन रोजे,
    आफ्ना इष्ट-मित्र सबै पैसामा बिके,
    साथी-सङ्गी सबै आफ्नो गन्तव्य फरक छ भन्दै हिँडे,
    अन्त्यमा म, न यहाँ बिके, न उता बिके।

    जीवनको यात्रामा जीवन एक्लै चल्दो रहेछ,
    गन्तव्यमा पुग्नसम्म सबैको साथ छुट्दो रहेछ,
    विभिन्न हारहरूमा आफैं लड्नुपर्दो रहेछ।
    छैनन् कोही मेरा यहाँ,
    यो मन मात्र मेरै,
    अनेकौं पाठ सिकाएर गए।
    जे-जस्तो भए पनि,
    धन्यबाद भन्नु मेरो कर्तव्य हो।

    आवश्यक पर्दा “मेरो हजुर” भन्ने समाजमा,
    काम पूरा भएपछि चिन्नै गाह्रो भयो।
    हिजोसम्म “ठीकै थियो” भन्नेहरूको मन,
    र आँखामा बिजाउने हुनु,
    मेरो गल्ती हो कि उनीहरूको घमण्ड हो?

    सुन्न, अतुर हुने यी कान,
    र देख्न आतुर हुने यी आँखाको अगाडि,
    बारम्बार झुटो बेली बेलीएको छ।
    हजारौं पटक सम्झाउँदा पनि नबुझ्ने,
    खै कस्तो बानी परेक रहेछ।
    सक्छौ भने, आफैं बाँच्ने प्रयास गर,
    सक्दैनौ भने अरूको लागि,
    आफूलाई बारम्बार मार्ने प्रयास नगर।

    आफ्ना त आफ्ना हुन्छन्,
    दिए पनि,थिकै नदिए पनि थिकै।
    स्वार्थ र बैमान गर्ने त खै,
    को हुन् कुन्नि।
    अँध्यारोमा उज्यालो खोज्दै हिँड,
    यहाँ लगाएको गुन त बिर्सिने खालका छन्।
    तिमी अरूमा भन्दा पनि,
    आफूमै ध्यान राख।

    मैले सिकेको नमिठो पाठ,
    ज्ञानका कुरा त सबै गर्छन्,
    तर जीवनमा लाग्ने प्राय: कमै पाइन्छ।
    “म छु तेरो लागि” भन्ने त धेरै हुन्छन्,
    तर अन्त्यमा एक्लै बनाई छोड्छन्।
    दुःख पर्दा कोही आउँदैनन् साथमा,
    तर सफलतामा बधाई दिन भने,
    सबै आउँछन्।

    समय फेरिएसँगै,
    रूप पनि फेरीएर होला,
    यहॅा सबै कुरा लुकाउन खोज्छन्॥
    भुल मेरो भयो आफ्नो को खोजीमा हिडेको म बिचबाटोमै लुप्त भयो ॥

    – ईरा अर्याल

  • देशप्रति गौरव गर्न सक्दिन !

    देशप्रति गौरव गर्न सक्दिन !

    मलाई फोन आयो।
    दाइ, “मेरो देश, मेरो गौरव”
    बारे केही लेखेर पठाउनुस् भन्दै
    बहिनीले भनिन्।

    अर्को दिन प्रतियोगिता रहेछ।
    “हुन्छ, साँझसम्म लेखेर पठाउँछु”
    भन्दै फोन राखिदिएँ।

    सानैदेखि सुन्दै आएको शीर्षक,
    एकैछिनमा लेख्न सक्छु जस्तो लाग्यो।
    कक्षा आठ-नौमा पाँच पाना लेख्ने म,
    अहिले भने अक्क न बक्क भएँ।

    पाँच मिनेट भइसक्यो,
    कलमले कदमै चालेन।
    जसोतसो एक वाक्य जुर्यो,
    नेपाल एक शान्तिको देश…

    कलम रोकियो,
    वाक्य पूरा गर्ने हिम्मत आएन।
    नेपाल अनि शान्तिको देश?
    मनमा शंका उब्जिए।

    निर्मला पन्तको न्याय,
    सडकमा उत्रिएका पलहरू,
    रंगशाला बनाउन रकम,
    सीमा मिचिँदा गरेको विरोध।

    एकपछि अर्को,
    निराशाजनक घटनाहरू।
    फेरि शीर्षक पढेँ,
    के लेखेर पाना भर्ने?

    गौरव गर्न लायक तर्क,
    लेख्नै जानिनँ।
    देशप्रतिको पुरानो सोच,
    गौरव हराइसकेको थियो।

    गौरव गरौं कसरी?
    जुन देशले टाढा पारिदियो,
    मेरो दाइ, आफन्त, साथीहरू।
    कतिको घर सुनसान,
    कति आमाको काख चिसो।

    निबन्ध त लेख्नै थियो।
    सगरमाथा, गौतम बुद्ध,
    प्रकृतिको धनी देश।
    लम्बाचौडा गफ,
    बहिनीलाई पठाएँ।

    सायद “मेरो देश अनि विकृति”
    भएको भए धेरै लेख्थेँ।
    मन अतालियो,
    शान्तिको देश भनेर गौतम बुद्धको अपमान गरौं किन?

    वीर गोर्खालीको देश,
    पुर्खाहरूको प्रतिष्ठा कम गरौं किन?
    प्रकृतिले भरिपूर्ण देश,
    घमण्ड गरौं किन?

    असङ्ख्य जातजाति, धर्म संस्कृति,
    धाक लगाऔं किन?
    मलाई मेरो देशप्रति
    गौरव नलाग्ने किन?

    प्रश्नहरू थुप्रै,
    तर म लज्जास्पद छु।
    म लाचार छु,
    क्रूर छु।

    निराश छु,
    बेचैन छु।
    उत्तर छैन,
    भयभीत छु।

    शब्दहीन छु।

  • फर्किनेछ हाम्रो देश

    फर्किनेछ हाम्रो देश

    मेरो देश भयो बुख्याचा,
    चरा बने सबै युवाहरु,
    पखेटा फैलाएर उड्न थाले,
    प्रेम र चिम्लिएका आँखा बिर्सिएर।
    पराई भूमिमा चारो टिप्न,
    मेरो देश भएको छ बुख्याचा।

    रित्तो भयो बारी,
    रित्तो भयो गाउँ,
    रित्तो भयो बाटो,
    रित्तो भयो देश।
    शून्यताको घन्टाले उत्सव मनायो,
    धुरुक्क रोयो न्याउली चरी,
    पग्लिएको मन देखेर,
    माछापुच्छ्रे भित्रको।

    तर…
    यो गोलो पृथ्वी उल्टो घुम्ने छ कुनै दिन,
    मेरो देश मान्छे बन्ने छ,
    चराहरू फर्किनेछन् पुरानै गुँडमा,
    सम्झिएर प्रेम, खुल्नेछन् आँखाहरू।

    पखेटामा मातृत्वको हावा भरिने छ,
    जमिनले पाउनेछ पुराना पैताला,
    बारीमा बज्रिनेछन् पुराना हातहरू,
    नयाँ अर्थतन्त्रको बिरुवा उम्रिनेछ।

    सिँचाइका निम्ति पसिनाको कुलो पाएर,
    फेरि भरिने छ त्यो बारी,
    फेरि भरिने छ त्यो गाउँ,
    फेरि भरिने छ त्यो बाटो,
    फेरि भरिनेछ देश।

    शून्यता मेटिनेछ,
    र उज्यालो दिनको तातो घडीले उत्सव मनाउने छ।
    तब मुसुक्क मुस्कुराउनेछ डाँफे,
    सगरमाथाको अग्लिएको शिर देखेर,
    र मेरो देश मान्छे बन्नेछ।