म शब्दलाई भावनामा परिणत गर्ने मान्छे
म कल्पनामा डुबेर चुर्लुम्म हुने मान्छे
म कोर्दा आकाशलाई पाताल, पाताललाई आकाश
अग्लो लाई होचो, होचोलाई अग्लो,
गहिरोलाई सम्म, सम्मलाई गहिरो दिनलाई रात रातलाई दिन सोच्न सक्छु
म कल्पनामा संसारको अवतार बदल्न सक्छु, गति बदल्न सक्छु
म कोर्दा आफुलाई सक्षम, असक्षम, सज्जन, खराब, शिथिल, दृढ,
बुढो, बाल, प्रफुल्लीत, उत्पिडित, परदेशी, घरदेशी प्रत्यक चरित्रमा उतार्न सक्छु।
म कल्पनामा संसारको आकार बदल्न सक्छु तर बाबा
जब तिम्रो कुरा आउछ म छोरी भाएर
आफ्नो भावना कोर्न सक्दिन
म तिमीलाई बिट मार्ने गरि शब्द छाड्न सक्दिन
सत्य अनि छर्लङ्ग , तिम्रो त्याग कोर्न सक्दिन
अब भयो भनि तिम्रो बारे शब्द छोड्न सक्दिन
म सबैको भावना कल्पनामग्न भएर कोर्न सक्छु
तर छोरी भएर तिम्रो बारे कोर्न सक्दिन
म तिम्रो त्यागको बिट मार्ने सक्दिन
पढ्छु तिम्रा मौनता भित्र लुकि बसेका चिन्ताहरु
मलाई लिएर त्यो मनमा फक्रिएका जन्जिरताहरू –
तिम्रा विलुप्त सपनाहरू र अभ्यन्तरमा रहेको प्रेम त छदै छ
तिमीले लुकाउन खोजेका निस्तब्ध उद्धिग्न त छदै छ
चूर्णविचूर्ण भएका तिम्रा चाहाना त छदै छ
अनि त्यो भित्री मनका अव्यक्ति भावना त छदै छ !
तिम्रो शरिरबाट छुटेका रगत र पसिना,
परिस्रम क्लान्तपरेको मन
त्यो शरिरमा बसका डोब
अनि तिम्रो उद्रिएको कोट
तिमीले सहेका घामको ताप साथै पानीका बाछिटा
हाल्न सक्दिन म कुनै शब्दको बिटमा
तिमी भगवान होइनौ,
भगवान भएको भाए त्यति चोट र चिन्ता सहनु पर्थेन सायद
तर सामान्य पनि छैनौ,
न म साहित्यकार बनेर तिम्रो निम्ति रहेको सम्मान र माया कुनै शब्दमा छोड्न सक्छु,
न त छोरी भाएर आफ्नै भावनाको बिट मार्न सक्छु
बाबा! तिम्रो बारे केही कोर्न सक्दिन।