Tag: #साहित्य

  • जन्मिएपछि किन नबाँच्ने

    जन्मिएपछि किन नबाँच्ने

    चरीले पनि एक मौसममा गुँड सार्नुपर्छ,
    फूलले आफ्ना सारा पातहरू झार्नुपर्छ,
    घामकै पनि चिसो याममा अस्तित्व नै मेटिन्छ त,
    हेर आफ्नै वरपर कहाँ एकनास भेटिन्छ त ?

    बुझी हेर, हर कोहीसँग हर्षित जीवन कसले प्रस्ट्याउँछ?
    बाली पनि हावाहुरी, पानी अनि हिमपश्चात् फस्टाउँछ!
    सङ्घर्ष नै जीवन र जीवन नै सङ्घर्ष भए, सङ्घर्षसँग किन भाग्ने ?
    सोच त! जन्मिएपछि किन नबाँच्ने ?

    जरुरी छैन, हरपल मनलाई चोटले छोइदिन्छ,
    एक पल मुस्काउँछ ओठ त अर्को पल आँखा रोइदिन्छ।
    सङ्घर्षको अघि घुँडा टेक्नुभन्दा घुँडा घसेर किन नबाझ्ने?
    सोच त! जन्मिएपछि किन नबाँच्ने ?

    जन्मिनुमा तिम्री आमाको मिठो अभिलाषा हुन सक्छ,
    मुहारमा तिम्रो उनले देखेको सुनौलो आशा हुन सक्छ।
    पीडा सम्झँदै धिक्कार्नुभन्दा, मुस्कुराउन मिठा सम्झना किन नसाँच्ने?
    सोच त ! जन्मिएपछि किन नबाँच्ने ?

  • दबिएको आवाज

    दबिएको आवाज

    म त्यो नारी हु
    जसलाई मानिस रुपी भेडाहरुले
    अंग-अंग लुछेर मारेका थिए,
    आज कविता मार्फत बोल्दै छु,
    त्यति बेला मुख थुनिदिएका थिए
    बोल्न पाएकी थिइन,
    आज काबिताबाटै मनमा दबेका पिडा खोल्दै छु ।
    रगतले लतपततिएकि थिए म,
    मेरो प्राण जान सम्म कुरियो,
    अब मरी भन्ने थाहा पाउन साथ्, मलाई खाल्टो खनेर त्येही पुरियो ।

    जब उनीहरु पछि लागे भन्ने थाहा पाए,
    मेरा आसा अनि सपनाहरु त्यही मरिसकेका थिए,
    धेरै अघि बड्ने रहर थियो जीवनमा, तर बिडम्बना मानिस रुपी राक्षहरुले माटो मुनि दबाइ दिए ।
    छोरी पढेर केहि गर्ली भन्ने मेरा बुवा-आमाको सपनालाइ ति राक्षसहरुले छिनभरमै जलाएर खरानी पारिदिए,

    मर्न त म मरे तर, उता म जस्तै जीवन मा केहि गर्ने सोच भएका करोडौं नारीहरुको सपनालाइ पनि घाटी दबाएर मारिदिए ।
    म सम्झन्छु त्यो दिन जुन दिन, म मरेर लास बन्दा पनि यो समाजले मलाई सुख दिएन
    नाङ्गो फालिएकी थिए म बाटोमा, मेरो नाङ्गो सरिर बाट लाइक्स, कमेन्टस कमाउन आतुर थिए सबै तर मेरो वास्तविक चिन्ता भने कसैलाई थिएन ।

    – लिकिस बुढाथोकी

  • स्वार्थको संसार

    स्वार्थको संसार

    समाजको तीतो सत्य यहीनै रहिछ,
    जति तिमी निउरीन सक्छौ,
    त्यति नै तिम्रो प्रशंसा र आशा हुन्छ।
    दुई-चार शब्द बोल्ने बित्तिकै,
    सबै नाटक र यथार्थ छुट्टाउन थालीन्छ।

    यहाँ सँगै मर्ने र बाँच्ने वाचा गरेकाले नै घात गर्छन्,
    भने तिमी बाटोमा भेटिएको बटुवाबाट के आशा गर्छौ?
    हजारौं सम्बन्ध अनि साथ निभाउँदा पनि,
    कसैको मन जित्न नसक्ने समयमा,
    तिमी किन आफूलाई मार्छौ?

    पैसाले नै सबैथोक किन्न सकिने समयमा,
    तिमी असल नाता खोजेर कहाँ पाउँछौ?
    दुःख-सुख पोख्ने साथीहरू परदेशमा रमाउन थाले,
    भने तिमी बाटोमा भेटिएका मानिसबाट के आशा गर्छौ?

    गुन लगाएर पनि तिम्रो गुन नदेखिने समाजमा,
    तिमी भोलीको सहाराको आशमा बसेर के पाउँछौ?
    सहाराको लागि औंला दिएकी थिएँ,
    मेरो हात नै तानियो,
    तैपनि म चुप नै रहेँ।
    आज गरेको कर्म भविष्यमा फर्केला भन्दै चित्त बुझाएँ,
    तर समय र सन्दर्भ सबै फेरिए।

    सँगै हातेमालो गरेर हिँडेको दोस्ती,
    अहिले पैसामा इमान बेच्न थालेको छ,
    रूपैयाँको घमण्ड बढ्न थालेर होला बोलि बोल्दा पनि पैशै खस्ला जस्तो गर्छन्।
    घण्टौंसम्म बोल्दा पनि नथाक्ने सम्बन्धहरू,
    आज एकअर्काको अव्सथा अनि एक अर्कालाई नसोधी फोन काट्न थालिएको छ।

    जुन मुहानको पानीले तिर्खा मेटिन्थ्यो,
    आज त्यही पानी पिउन घिन लाग्न थालेको छ रे।
    देवता भनी पूजा गरिएको मूर्ति पनि,
    माग पूरा भएपछि फाल्ने चलन छ भने,
    तिमी हामी त मान्छे,
    आवश्यक नपरेसम्म काम नै नलाग्ने।

    नाता-गोटा, कुटुम्बहरूले धन रोजे,
    आफ्ना इष्ट-मित्र सबै पैसामा बिके,
    साथी-सङ्गी सबै आफ्नो गन्तव्य फरक छ भन्दै हिँडे,
    अन्त्यमा म, न यहाँ बिके, न उता बिके।

    जीवनको यात्रामा जीवन एक्लै चल्दो रहेछ,
    गन्तव्यमा पुग्नसम्म सबैको साथ छुट्दो रहेछ,
    विभिन्न हारहरूमा आफैं लड्नुपर्दो रहेछ।
    छैनन् कोही मेरा यहाँ,
    यो मन मात्र मेरै,
    अनेकौं पाठ सिकाएर गए।
    जे-जस्तो भए पनि,
    धन्यबाद भन्नु मेरो कर्तव्य हो।

    आवश्यक पर्दा “मेरो हजुर” भन्ने समाजमा,
    काम पूरा भएपछि चिन्नै गाह्रो भयो।
    हिजोसम्म “ठीकै थियो” भन्नेहरूको मन,
    र आँखामा बिजाउने हुनु,
    मेरो गल्ती हो कि उनीहरूको घमण्ड हो?

    सुन्न, अतुर हुने यी कान,
    र देख्न आतुर हुने यी आँखाको अगाडि,
    बारम्बार झुटो बेली बेलीएको छ।
    हजारौं पटक सम्झाउँदा पनि नबुझ्ने,
    खै कस्तो बानी परेक रहेछ।
    सक्छौ भने, आफैं बाँच्ने प्रयास गर,
    सक्दैनौ भने अरूको लागि,
    आफूलाई बारम्बार मार्ने प्रयास नगर।

    आफ्ना त आफ्ना हुन्छन्,
    दिए पनि,थिकै नदिए पनि थिकै।
    स्वार्थ र बैमान गर्ने त खै,
    को हुन् कुन्नि।
    अँध्यारोमा उज्यालो खोज्दै हिँड,
    यहाँ लगाएको गुन त बिर्सिने खालका छन्।
    तिमी अरूमा भन्दा पनि,
    आफूमै ध्यान राख।

    मैले सिकेको नमिठो पाठ,
    ज्ञानका कुरा त सबै गर्छन्,
    तर जीवनमा लाग्ने प्राय: कमै पाइन्छ।
    “म छु तेरो लागि” भन्ने त धेरै हुन्छन्,
    तर अन्त्यमा एक्लै बनाई छोड्छन्।
    दुःख पर्दा कोही आउँदैनन् साथमा,
    तर सफलतामा बधाई दिन भने,
    सबै आउँछन्।

    समय फेरिएसँगै,
    रूप पनि फेरीएर होला,
    यहॅा सबै कुरा लुकाउन खोज्छन्॥
    भुल मेरो भयो आफ्नो को खोजीमा हिडेको म बिचबाटोमै लुप्त भयो ॥

    – ईरा अर्याल

  • फर्किनेछ हाम्रो देश

    फर्किनेछ हाम्रो देश

    मेरो देश भयो बुख्याचा,
    चरा बने सबै युवाहरु,
    पखेटा फैलाएर उड्न थाले,
    प्रेम र चिम्लिएका आँखा बिर्सिएर।
    पराई भूमिमा चारो टिप्न,
    मेरो देश भएको छ बुख्याचा।

    रित्तो भयो बारी,
    रित्तो भयो गाउँ,
    रित्तो भयो बाटो,
    रित्तो भयो देश।
    शून्यताको घन्टाले उत्सव मनायो,
    धुरुक्क रोयो न्याउली चरी,
    पग्लिएको मन देखेर,
    माछापुच्छ्रे भित्रको।

    तर…
    यो गोलो पृथ्वी उल्टो घुम्ने छ कुनै दिन,
    मेरो देश मान्छे बन्ने छ,
    चराहरू फर्किनेछन् पुरानै गुँडमा,
    सम्झिएर प्रेम, खुल्नेछन् आँखाहरू।

    पखेटामा मातृत्वको हावा भरिने छ,
    जमिनले पाउनेछ पुराना पैताला,
    बारीमा बज्रिनेछन् पुराना हातहरू,
    नयाँ अर्थतन्त्रको बिरुवा उम्रिनेछ।

    सिँचाइका निम्ति पसिनाको कुलो पाएर,
    फेरि भरिने छ त्यो बारी,
    फेरि भरिने छ त्यो गाउँ,
    फेरि भरिने छ त्यो बाटो,
    फेरि भरिनेछ देश।

    शून्यता मेटिनेछ,
    र उज्यालो दिनको तातो घडीले उत्सव मनाउने छ।
    तब मुसुक्क मुस्कुराउनेछ डाँफे,
    सगरमाथाको अग्लिएको शिर देखेर,
    र मेरो देश मान्छे बन्नेछ।

  • गुरुको महिमा

    गुरुको महिमा

    आउनेछौ तिमी सबैलाई नयाँ ज्ञान सिकाउन, तर दुःख हुनेछ हजुरको घरवार टिकाउन।

    हातमा पुस्तकसँगै जिम्मेवारी बोकेर घरबाट हिँड्नुहुन्छ होला सय चोटि सोचेर, बिहान – साँझ, पढाउनुहुन्छ, भोक – प्यास केही भन्नुहुन्न।

    सम्मान सिकाउनुहुन्छ, भेद कहिल्यै गर्नुहुन्न, क, ख गर्दै अक्षर पनि सिकाउनुहुन्छ।

    यहाँसम्म टिकाउनु भएको हजुर नै हो, शान्तिको दीप भने मैले चिनेको, हजुर नै हो गुरु भनेर मैले मानेको।

    भविष्यमा के भन्ने हुन्छु भन्ने मलाई थाहा छैन, हजुरको प्यारो चेला हुँ, सर, पछि कहिल्यै पर्दिन।

    – पुष्पा रेग्मी

  • आमाको मातृत्व

    आमाको मातृत्व

    आज किन हो किन मन भारी भएको छ, केही हुन्छ कि भन्ने डरले सताइरहेको छ। बिना अर्थ यी आँखाबाट झरी परिरहेछ, मन निकै नै आत्तिएको छ। केही नराम्रो त हुने होइन नि भनी मन पिरोलिरहेको छ।

    आज मलाई आमाको निकै नै सम्झना आएको छ। तिनको काखमा गएर बस्नु मन छ, तिनको अङ्गालोमा गाई बेरीएर रुनु मन छ। कसरी सक्यौ आमा तिमीले आफ्नो खुशी मारी मारी अरूलाई खुशी राख्न? कसरी सकेउ तिमीले सारा दुनियाँलाई रिजाएर बस्न?

    यहाँ मैले आफ्नै सामान त मिलाएर राख्न सकेको छैन, आफ्नालाई कसरी रिजाउने हो? सबै कुरा सुन्दा नि वाक्क लागेर आउँछ। आफैंलाई डोरीमा कसी सारा कुराहरू नै त्यागमकी जस्तो हुन्छ। फेरी तिमीलाई सम्झिन्छु आमा, तिमीले नि त आफुलाई रुवाई रुवाई नि दुनियाँको अघि हाँस्दै बसेकी छौ भने मैले कसरी हार मान्न सकुला र खै।

    भन्निन्छ नि आमा भगवान हुन भनेर, सायद यसै त भनिएको होइन होला। अरूलाई बारम्बार भन्दा नि नबुझ्ने पीडा तिमीले अलङ्कार कसरी बुझ्छौ?

    खै किन हो किन, तिमी संग केही कुरा लुकाउनै मन लाग्दैन। थाहा छैन तिमीले जाती मान्छौ कि मान्दैनौ। दुनियाँको लागि तिमी जस्तो भए पनि मेरो लागि तिमी संसार हौ। हजारौं पीडालाई भुलाई दिने तिमी मात्र एउटा सार हौ।

    दुख लाग्छ बेला बेला तिमी बिरामी हुन्छौ, तिम्रो स्याहारको लागि कोही छैन। तब पनि तिमी हार नमानी अरूकै लागि बाँचिरहेकी छौ। धेरै कुरा त छैन आमा तिमीलाई भन्नलाई, एउटा सपना भने देखेको छु, आफ्नै सङ्गर्षमा तिम्रो लागि सकेको खुशी किन्न छु।

    बाबा भनेको घरको जग हो भने आमा, तिमी पुरा घरको छत हौ। आफैले दिनरात नभनी, घाम पानी आशिना नभनी, हामीलाई बस्नको लागि आसन दिएकी छौ। मेला पर्वमा जाँदा खाज पनि हाम्रै लागि साचेर ल्याएकी छौ।

    हामीलाई धाक्दा धाक्दा कहिले राम्रो लगाउन पाइनौ, तिमीले हाम्रो पेट भर्दा भर्दै तिमी तन्न भई सुतेनौ कहिले। म कसरी बिर्सिन सक्छु आमा, तिमीले मलाई जीवन दिएको। एकान्तमा बसी, आफ्नो भाग्यलाई कोस्दै रुँदै बसेको। आफ्ना सारा खुशी त्यागेर हामीलाई खुशी पारेको।

    तिम्रा कति सारी फाटे, गिन्ती भएन। कति रातहरू बिना निद्रा कटे, थाहा भएन। अर्को जुनीमा पनि मलाई तिम्रै कोखबाट जन्मिनु मन छ। आमा, छोरी होइन छोरा भएर। आफुलाई बेचेर तिम्रो लागि खुशी किन्न सक्ने भए त्यो पनि गर्थें आमा।

    आखिर छोरीको लागि आमा त रैछिन् दुख बिसाउने चौतारी। आमा जति घरभरि मान्छे भए पनि तिमी नहुँदा पुरै घर नै अधेरो लाग्छ।

    – ईरा आर्याल

  • नसोध्नु मेरो खबर

    नसोध्नु मेरो खबर

     

    न सोध्नु मेरो हाल खबर वचनले छुरा लागेको छ
    सत्य शब्द बोल्दा बोल्दै ईमान्दारीता टाढा भागेको छ ।

    बेहाल छु म सक्दिन झुट कहिल्यै पनि स्वीकार्न
    सत्य बोल्दा थाकिसके पर्छ आखिर असत्यलाई पुकार्न

    गलत साबित गरियो मलाई सत्य बोल्न खोज्दा खोज्दै
    भक्कानिएर रुन्छ मन एक्लो भए अरुको बारेमा सोच्दा सोच्दै

    दुखाउन सम्म दुखाए मुटु दाग बनी सधै रहेयो
    सोचेजस्तो भएन मेरो जिबन औलाईएको झार भयो

    टुट्यो मेरो सारा सपना दाउरा सरि भयो खरानी
    हृदयमा चोट बोकि रुदै लिई हिडे एकमुठी परानी

    गरौं गुहार को सङ्ग छैनन् यहाँ कोहि निस्वार्थिहरु
    इस्ट मित्र साथी भाइ भए सबै स्वार्थिहरु

    जता गयो ठक्कर नै ठक्कर भेटिएन कतै बाटो
    अशान्तिले बाचिराछु छैन शान्ति खुसिको साटो

    नमेटिने दाग बन्यो मुटुमा छुरा गोपियो
    दुखेको घाउ सेलाउदै थियो त्यसैमा चर्को नुनले छोपियो ।

    सत्यको परिचय देउ म कसरी सत्री बोले बैमान भैन्छ
    झुट बोल्न आउदैन मलाई सत्यको त जमाना रैन्छ

    गरौं गुनासोको सङ्ग यहाँ कोहि छैन सुनिदिने
    दुस्ख कष्ट धैरै भोगे गरिदिन्छ्न निर्दोषलाई थुनिदिने

    अभिनय गर्दै हिड्छ्न भक्छक लुटिदैछ इमानदारी
    रक्छक भक्छ्क भाको देख्दा हुन्छ मेरो मन भारी

    लडौ अब कुन आधारमा शान्ति यहाँ छैन कतै
    हत्यारालाई बचाईन्छ यहाँ अशान्ति छ जताततै

    धर्म स्वर्ग, पाप नर्क सिमित रहेयो शब्दै मात्र
    बिन्ती बिसाउ को सङ्ग यहाँ देखिराछु जात्रैजात्रा

    अपराध गर्ने गरिराछ्न लगाको छ्न धनको राश
    रक्छ्न नै राक्षस भाछ्न बाचेका छौ त्रास नै त्रास

    आशा पनि मरि सक्यो, न्याय हामी पाउछौ कहिले
    विकल्प नै भेटिदैन आत्महत्या हुन्छन् जहिले

    नसोध्नु मेरो हाल खबर वचनले छुरा लागेको छ
    नसोध्नु मेरि नयाँ खबर हृदयमा वाण लागेको छ ।

    सुसिला पराजुली

  • रुदै छ देश

    रुदै छ देश

    खै कस्तो विकृती भित्रियो घरमा भन्दै नेपाल आमा रुँदै छिन्।

    उब्जाउ जग्गा जमिन सबै पोलिटी गर्दै सकिए, चारैतिर ठूला ठूला घर अनि कलकारखाना बनाउने क्रममा जमिन कोही मासिए त कोही बाझिए ।

    खोला नालाको छेउछाउमा फोहोर अनि मैला छ, त्यसमाथि चारैतिरबाट गनाउने पानी मिसिएको छ।

    देशका युवा पुस्ता सबै रित्तिएर विदेशमै सेटल हुने रे, गाउँघरमा सुनसान छाउँदै छ, घरमा बूढापाका मात्र बाँकी हुन्छन् क्य अबत । मर्दा पनि ग्वार पाउनी गाह्रो हुने भो, अरु कुरा छोडौं, मलामी पनि नपाई अब लास यत्तिकै गनाउने भो।

    खै कस्तो विकृती भित्रियो, हेर्दा हेर्दै पुरै देश रित्तियो।

    देशलाई रित्तो बनाउने खै कस्तो नेता हो, मनमा लागेको जति भाषण भन्छन् अनि काम गर्ने बेला लोन कति सासन हो ।

    खै कहिले बन्ने हो पूर्व पश्चिम राजमार्ग, भत्काउन थालेको नि भयो धेरै वर्ष । जताततै खाल्टो अनि धुलो छ, यसैले गर्दा कतिले ज्यान गुमाउन पर्य छ।

    आकाशमा उडेर जानेलाई त के मतलब भयो र, भुईमा गुड्नेलाई पो सकस खेप्नु पर्‍य छ ।

    नेपालमा केही आउन हुन्न, भोकमरी र महंगीले आकाश छुन्छ, भएन भनेर मन्दीको कारणले पसलहरू सबै डामाडोल छ ।

    कुर्सीमा बसी एसीको हावा खानेलाई के बाल भयो, छोरा पढाउँछु भन्दै लिएको बैंकको ऋण तिर्दा तिर्दा मेरो आधी जिन्दगी जानि भो । न त देशमा केही रोजगार नै छ, न त कुनै पैसाको स्रोत नै छ, तब पनि किन ब्याज यति महँगो हो ?

    छोरीको विवाह गर्ने बेला भयो, सुनको औंठी माग्छन् सम्धिले, खै कसरी दिने हो। ज्वाइँलाई १ औंठी, सम्धिनीलाई माईली तिल्लरी अनि सम्धिलाई औंठी किन्दा नै मेरो आधा घर लिलाम भो । सुनको भाउ पनि के सारो बढेको ?

    खै मेरो देश नि कहिले बन्ने हो, चिल्लो बाटो अनि रोजगारको स्रोत खुल्ने हो?

    रोजगारको कोटा नखुलेको होइन, फारम भर्नै ५००/१००० तिर्नु पर्ने, त्यसमा पनि आफ्नै मान्छे लैजाने हो।

    केही गरौँ भने नि छैन यहाँ सुविधा, राम्रो गर्‍यो नि आफैले भोग्नु पर्ने हो दुर्व्यवस्था। खै कस्तो कानुन हो हाम्रो देशको, दोषी हिँड्छन् सडकमा निर्दोषी पर्छन् खोरमा। खै त सरकार, तिम्ले केही गरेको खाडीमा फसेका नेपालीलाई नेपाल फर्काउने कहिले हो? मलाई आश्चर्य लाग्छ, लेखेका कानुनहरू सुन्दा नि, देशमा बढेको अपराध देख्दा नि किन शान्त छन् ती नेता भनाउँदाहरू पनि ?

    जति जोगी आए पनि कानै चिरेको भन्ने उखान बल्ल मिल्यो, खै हाम्रो देशले योग्य नेता कहिले पाउने हो? रातदिन रुवाबासी छ जनता अनि देशमा, उता नेताहरू व्यस्त छन् विदेशको भ्रमणमा। विदेशबाट कोही आउनु पर्छ, राता रात देशको मुहार फेरिन्छ, महिनौंसम्म पनि नबनेका पुलमा बत्ती बालिन्छ, होइन, यस्तो तीव्रता विकासमा पनि लिने हो भने देशको रुप नि छिटै फेरीने थियो कि ।

    तिमी हिँड्ने प्लेनमा हामी हिँड्छौं खाल्टोमा, त्यही खाल्टोमा तिमीलाई लिइपार्नु मन छ २४ घण्टे जाममा अनि बल्ल चिसो पस्तो कि तिम्रो मनमा ।

    खै कस्तो विकृती भित्रियो मेरो देशमा, छोटो लुगा लगाएर जान्छन् मन्दिरमा, पर्वको नाममा महिनौंसम्म रमाउँछन्, पाटी पालेस अनि बारमा। मिठो हुन्थ्यो मकै अनि मोहि, अब त कहाँ पाइएला र खै। भजन कीर्तन गाउनुको सट्टा पब तिर पस्ने, छैलाको सित्तन सँग बियरको बोतल लिने। हे भगवान, के विकृती आयो, हुँदा हुँदा देश नै डुबायो। वैवाही सम्बन्ध नि टुट्न थाले, श्रीमान श्रीमती भिन्न भिन्नै सँग रमाउन लागे। बिचरा कलियुगका बच्चाले कति दुःख पाए, कतै वेवारिस अवस्थामा छन् त कतै बा आमाको घर झगडाले टाढिन लागे ।

    खै कस्तो चलन भित्रियो भन्दै रुँदै छिन् मेरी नेपाल आमा। लौन सबै मिली जोगाउन पर्यो के गर्ने होला ।

    – ईरा आर्याल

  • सम्झिँदा तिमी मुस्कुराएको पलहरु

    सम्झिँदा तिमी मुस्कुराएको पलहरु

    चुप बस्छु बुझेर जिन्दगानीमा कहिले
    उम्रदैनन् सपनाहरु खरानीमा कहिले

    सम्झिँदा तिमी मुस्कुराएको पलहरु
    आफ्नै आँखा देख्छु पानीमा कहिले

    हाँगासँग छुट्टिएर बाँच्दैनन् फुलपनि
    सास रहँदैन त्यो फूलदानीमा कहिले

    मायामा रिस तिम्रो देख्न धेरै पाइयो
    माया भने देखिएन रिसानीमा कहिले

    रातमा सूर्य उदाएका आँखा हुन् मेरा
    अटाउँदैनन् तिम्रो कहानीमा कहिले
    – कपिल अगस्त्य

  • बद्लिएको प्रेम

    बद्लिएको प्रेम

    आँसुलेनै वर्षा रोकियो आज
    यसरी आँसु पोखियो आज

    तिम्रो मुहार सम्झिँदा मनले
    आफ्नै मुहार बिर्सियो आज

    छातालाई मैले ओत दिएँ
    त्यसैले पानीमा रुझियो आज

    जसका निम्ति बद्लिएँ म
    उसैको प्रेम बद्लियो आज

    आमाको काख रित्तियो फेरि
    चिताको काख भरियो आज
    – कपिल अगस्त्य