काभ्रेको महाभारत जङ्गलमा लागेको आगलागी अझै नियन्त्रणमा आएन

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्रस्थित महाभारत सामुदायिक वनमा लागेको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन ।

खानीखोला गाउँपालिका–१ थामलेख डाँडास्थित सो सामुदायिक वनमा मङ्गलबार दिउँसोदेखि आगलागी भएको बताइएको छ ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बुधवार साँझ त्यसतर्फ पठाइएको नेपाली सेना तथा प्रहरीका टोलीले स्थानीयसँग समन्वय गरी नियन्त्रणको पहल गरिरहेको जानकारी दिए ।

उनका अनुसार सुरक्षाकर्मीले आगलागीको क्षेत्र तथा मानव बस्तीको अनुगमन गरी मानबस्तीतर्फ आगो आउन नदिने गरी नियन्त्रणको पहल गर्न र क्षति हुने देखिए तत्काल स्थानान्तरण गर्न भनिएको छ ।

डिभिजन वन कार्यालय धुलिखेलका अनुसार मङ्गलबार दिउसो २ बजेबाट वनको भिर क्षेत्रबाट आगलागी सुरु भएको हो ।

हाल आगलागी नियन्त्रणको अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । आगलागी नियन्त्रणका लागि अवस्था अनुगमन गर्न एक टोली त्यसतर्फ पठाइएको वन कार्यलयका प्रमुख कृष्णबहादुर थापाले बताए ।

उनका अनुसार वनमा आगो फैलिरहेकाले त्यसको नियन्त्रणका लागि आज जिल्लास्थित प्रशासन कार्यालय तथा सुरक्षा निकायको संयुक्त बैठकबाट उपाय खोजिनेछ ।

आगलागी नियन्त्रणका लागि अन्य सरोकारवाला निकायसँग समन्वय गरी आवश्यकीय उपकरणसहित थप जनशक्ति परिचालन गरिने प्रजिअ ढकालले बताए ।

आगलागी भएको स्थानबाट मानव बस्ती करिब तीन किलोमिटरको दुरीमा रहेको जनाइएको छ । प्रहरीले भने हालसम्म कुनै मानवीय एवं पशुमा क्षति नपुगेको जनाएको छ ।

  • प्रकाशित मिति :- बिहिबार, माघ १०, २०८१
  • खोज प्रेस

    लेखकबाट थप
    © 2025 Khojpress Media Pvt.ltd | All right reserved
    स्रोतहरु खुलाइएका बाहेक खोजप्रेसमा प्रकाशित सम्पूर्ण सामग्रीहरु खोजप्रेस मिडिया प्रा.लिका सम्पत्ति हुन् |