Blog

  • त्रिभुवन विमानस्थलबाट छ किलो कोकिनसहित विदेशी नागरिक पक्राउ

    त्रिभुवन विमानस्थलबाट छ किलो कोकिनसहित विदेशी नागरिक पक्राउ

    काठमाडौं । प्रहरीले छ किलो २४ ग्राम अवैध लागूऔषध कोकिनसहित एकजना विदेशी नागरिकलाई पक्राउ गरेको छ । 

    कतार एयरवेजको उडानद्वारा नेपाल आएका लाटभियाका नागरिक इभ्रस भलटेर्सलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको आगमन कक्षबाट लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

    सुटकेसभित्र लुकाई–छिपाई राखेको उक्त परिणामको कोकिनसहित लाटभियाका नागरिकलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। बुधबार पक्राउ परेका निजमाथि लागूऔषध मुद्दामा जिल्ला अदालत काठमाडौँबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको उनले बताए ।

    यसैबीच, प्रहरीले काठमाडौँको गोङ्गबुँस्थित नयाँ बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन १५ ग्राम पाँच सय मिलिग्राम, नगद ४० हजार र तीन थान मोबाइलसहित दुई जनालाई पक्राउ गरेको छ । 

    सप्तरी राजविराज नगरपालिका–९ घर भएका २४ वर्षीय पवनकुमार मेहता र उदयपुर त्रियुगा नगरपालिका–७ घर भएका २७ वर्षीय अनिल परियार पक्राउ परेका प्रहरीले जनाएको छ । 

    काठमाडौँको नरेफाँटबाट अवैध लागूऔषध खैरो हेरोइन छ सय ४० मिलिग्राम र मोबाइल दुई थानसहित दुईजना पक्राउ परेका छन् । 

    सोही ठाउँ डेरा गरी बस्ने सिराहा गोलबजार नगरपालिका–६ घर भएका ३३ वर्षीय धर्मेन्द्र सिंह र सिराहा मिर्चैया नगरपालिका–५ घर भएका ३३ वर्षीय अनिल साहलाई निजहरूको डेराबाट लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

  • नवलपरासीपूर्व दूध उत्पादनमा आत्मनिर्भर

    नवलपरासीपूर्व दूध उत्पादनमा आत्मनिर्भर

    नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) दूध उत्पादनमा आत्मनिर्भर बनेको छ । जिल्लाको जनसङ्ख्याका आधारमा आवश्यकता भन्दा बढी दूध उत्पादन भई बिक्रिका लागि जिल्ला बाहिर पठाउन थालिएको छ ।

    उत्पादित दूधको तथ्याङ्कका आधारमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा विगत तीन वर्षदेखि आत्मनिर्भर बनेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र प्रमुख ऋषभ गुरागाईँले बताए ।

    ‘विश्व स्वास्थ्य सङ्गठनले विकास उन्मुख राष्ट्रमा एक व्यक्तिलाई एक वर्षमा ९१ लिटर दूध तय गरेको आधारमा जिल्लामा एक जनाका लागि एक सय ४६ लिटर दूध पुग्ने गरी उत्पादन भइरहेको छ’, उनले भने, ‘आर्थिक वर्ष २०८०–८१ मा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा उत्पादन भएको दूधको आधारमा यहाँको कूल जनसङ्ख्यालाई आधार मान्दा एक जनालाई एक सय ४६ लिटर दूध पुग्ने देखिन्छ ।’

    गत आवमा जिल्लामा ५५ हजार एक सय ७० मेट्रिक टन दूध उत्पादन भएको थियो । यसमध्ये गाईको दूध ३६ हजार सात सय ९५ मेट्रिक टन उत्पादन भएको थियो । भैँसीको दूध १८ हजार तीन सय ७५ मेट्रिक टन उत्पादन भएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।

    जिल्लामा खपत भएर बाँकी दूध काठमाडौँ, पोखरा र चितवन बिक्रिका लागि पठाउने गरिएको प्रमुख गुरागाईँले जानकारी दिए । दूध उत्पादनमा जिल्ला आत्मनिर्भर भए पनि पछिल्लो तीन वर्षलाई तुलना गर्दा गत आवमा दूध उत्पादनमा कमी आएको छ ।

    गत वर्ष पशुमा फैलिएको लम्पीस्किन, आर्थिक मन्दी, पशु आहाराको मूल्यवृद्धि, दूध बिक्रीको अस्थिर बजार र बजारीकरण पूर्वाधारको अभावले दूध उत्पादनमा कमी आएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको अनुमान छ ।

  • सेयर बजार १०८ अंक बढ्यो, कारोबार घट्यो

    सेयर बजार १०८ अंक बढ्यो, कारोबार घट्यो

    काठमाडौं । अघिल्लो दिन १४५ अंक घटेको सेयर बाजार बुधबार नै १०८ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २७५९ अंकमा कायम भएको छ ।

    कारोबार रकम भने घटेको छ । अघिल्लो दिन २३ अर्ब ७१ करोडको कारोबार भएकोमा आज १७ अर्ब ९५ करोडको भयो । २३९ कम्पनीको मूल्य बढ्दा ३ को घट्यो । सबै क्षेत्रका सूचक बढेका छन् । अन्य र फाइनान्स समूह सबैभन्दा धेरै ७ प्रतिशतभन्दा धेरै बढे ।

    बैंकिङ २.३, विकास बैंक ४.५, फाइनान्स ७.६, होटल तथा पर्यटन ५.१, हाइड्रोपावर ५.७, जीवन बीमा ३.९, लगानी ३.८, उत्पादन ३.५, माइक्रोफाइनान्स २.१, निर्जीवन बीमा ३, अन्य ७.८ र व्यापार समूह ५.५ प्रतिशत बढे ।

    बोटलर्स नेपाल बालाजु, गुडविल फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, नेपाल पुनर्बीमा कम्पनी, मैलुङखोला जलविद्युत्, दोल्ती पावर, सिटी होटल, हिमालयन रिइन्स्योरेन्स तथा सेन्ट्रल फाइनान्स, कुथेली बुकरी स्मल हाइड्रोपावर, साइन रेसुङ्गा विकास बैंक, मकर जितुमाया हाइड्रोपावर तथा एनआरएन इन्फ्रास्ट्रक्चरको मूल्य ९.९ देखि १० प्रतिशतसम्म बढ्यो ।

    मूल्य धेरै घट्नेमा केही डिवेन्चर तथा म्युचुअल फण्डका योजना देखिए । कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, नेपाल फाइनान्स, सानिमा माइ हाइड्रोपावर, शिवम् सिमेन्ट तथा चिलिमे हाइड्रोपावर क्रमशः अगाडि रहे ।

  • नुवाकोटको शिवपुरीमा एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटना, चार जनाको मृत्यु

    नुवाकोटको शिवपुरीमा एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटना, चार जनाको मृत्यु

    काठमाडौं । नुवाकोटमा एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ। शिवपुरी-७ सूर्यचौर डाँडामा हेलिकप्टर ठोक्किएको नुवाकोटका एसपी शान्तिराज कोइरालाले जानकारी दिए।

    उनले स्थानीय र प्रहरी घटनास्थलमा पुगिसकेको जानकारी दिए।  दुर्घटनामा ४ जनाको मृत्यु भएको छ।

    बुधबार काठमाडौँबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको जहाज दुर्घटना भएको हो ।

  • कास्कीमा ६४९ नयाँ उद्योग थपिए

    कास्कीमा ६४९ नयाँ उद्योग थपिए

    कास्की । कास्कीमा गत एक वर्षको अवधिमा ६ सय ४९ नयाँ उद्योग दर्ता भएका छन् । पर्यटन तथा उद्योग कार्यालय कास्कीमा दर्ता भएका उद्योगमध्ये लघुउद्योग १३ र साना ६३६ वटा छन् ।

    नयाँ उद्योगमा एक अर्ब ९१ करोड ८४ लाख ५२ हजार पुँजी लगानी भएको पर्यटन तथा उद्योग कार्यालयका प्रमुख महराज ढकालले जानकारी दिए ।

    उनका अनुसार पोखरामा बढी मात्रामा पर्यटन क्षेत्रलगायतको सेवामूलक व्यवसाय बढी भएकाले थपिएका उद्योगमा समेत सेवामूलक उद्योग सबैभन्दा बढी छन् ।

    कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८०–८१ सेवामूलक उद्योग २४१, कृषि तथा वन पैदावारमा आधारित उद्योग १६२, पर्यटन उद्योग १६०, उत्पादनमूलक उद्योग ८३ र सूचना प्रविधिमा आधारित उद्योग तीनवटा दर्ता भएका छन् ।

    एक वर्षमा दर्ता भएका उद्योगमा महिला ९ सय ३९ र पुरुष एक हजार एक सय १८ गरी दुई हजार ५७ जनालाई रोजगारी सिर्जना भएको छ ।

    यसैगरी गत वर्ष तीन सय ६५ उद्योग खारेज भएका छन् । खारेज हुने उद्योगको सङ्ख्या बर्सेनि वृद्धि हुँदै गएको कार्यालय प्रमुख ढकालले बताए । उनका अनुसार नयाँ उद्योग दर्तासँगसँगै खारेज हुने उद्योगको सङ्ख्यासमेत धेरै छ ।

    कार्यालयका अनुसार जिल्लामा वैदेशिक रोजगारीबाट फर्केर आएका युवा तथा स्वरोजगारका लागि कृषि तथा पशुपक्षी उद्योग व्यवसायमा लगानी बढ्दै गएको छ । जिल्लामा हालसम्म २४ हजार दुई सय ७८ उद्योग दर्ता भएकामा गत आवसम्ममा पाँच हजार आठ सय ३२ वटा खारेज भई १८ हजार चार सय ४६ सञ्चालमा रहेका छन् ।

    यसैगरी, वाणिज्य फर्महरूको सङ्ख्या ३० हजार एक सय ७० रहेको छ । गत आवमा एक हजार एक सय ९३ वाणिज्य फर्म दर्ता भएकामा चार सय २१ वटा खारेज भएका थिए ।

    पोखरा देशको पर्यटकीय राजधानी हो । यहाँ हालसम्म चार सय ६२ ट्राभल्स, दुई सय ३८ ट्रेकिङ, चार सय ७० होटल, आठ जलयात्रा व्यवसाय र ३६ वटा घरबास सञ्चालनमा रहेको पर्यटन तथा उद्योग कार्यालयले जनाएको छ ।

  • स्वयम्भूमा आजदेखि एक महिने मेला सुरु

    स्वयम्भूमा आजदेखि एक महिने मेला सुरु

    काठमाडौँ । काठमाडौँको स्वयम्भूमा आजदेखि एक महिनासम्म लाग्ने मेला सुरु भएको छ ।

    गुँला पर्वका रूपमा बौद्ध धर्मावलम्बीले मनाउने चाडका अवसरमा आयोजित मेला अवधिभर हरेक दिन बिहान गुँला बाजा बजाउँदै स्वयम्भू महाचैत्यको दर्शन परिक्रमा, शोभाभगवतीसँगै विजेश्वरी र सेतो मत्स्येन्द्रनाथको परिक्रमा तथा करुणामयको नामबाट पनि चिनिने सेतो मत्स्येन्द्रनाथको दर्शन गर्ने परम्परा छ ।

    स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले विश्वसम्पदा स्वयम्भू तथा त्यस आसपास क्षेत्रका सम्पदास्थलमा दर्शनका निम्ति आउने भक्तजनको संख्या बढ्ने अपेक्षा गरेको छ ।

    प्राचीन सम्पदास्थलका चैत्य र विभिन्न भाग मर्मत एवं जीर्णोद्धार सम्पन्न गरिएकाले मेलामा आउनेको संख्या बढ्ने अपेक्षा गरिएको हो

    महासमितिका महासचिव अशोक बुद्धाचार्यले मन्दिर आसपासमा अस्थायी पसल हटाइएको र सहयोगापेक्षीलाई बस्न नदिने व्यवस्था गरिएको बताए ।

    थेरवाद, महायान र वज्रयान सम्प्रदायका अनुयायी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट पाँच लाख मानिस आउने अपेक्षा गरिएको महासमितिले जनाएको छ ।

    काठमाडौँ महानगरपालिका–१५ का वडाध्यक्ष ईश्वरमान डंगोलले महासमितिसँग समन्वय गरी मेला व्यवस्थापनको प्रबन्ध भएको जानकारी दिए । स्वयम्भूस्थित महानगरीय प्रहरी वृत्तले सडक जामलाई व्यवस्थापन गर्ने जनाएको छ ।

  • नारायणगढ–बुटवल सडक : वर्षाले रोकिएको निर्माण कार्य कात्तिक १५ पछि मात्र सुरु हुने

    नारायणगढ–बुटवल सडक : वर्षाले रोकिएको निर्माण कार्य कात्तिक १५ पछि मात्र सुरु हुने

    मध्यविन्दु ।  नारायणगढ–बुटवल सडकखण्डको वर्षाले रोकिएको निर्माण आगामी कात्तिक १५ पछि मात्रै सञ्चालन हुने भएको छ । नेपालमा मनसुन सुरु भएपछि सडक विस्तारको काम रोकेको निर्माण पक्षले कात्तिक १५ पछि काम सुरु गर्ने गरी कार्य तालिका सरकारी पक्षलाई उपलब्ध गराएको हो ।

    सडक निर्माणका लागि यही साउन १० गते पुनः एक वर्ष म्याद थप भए पनि अहिले सडक विस्तारको काम भने रोकिएको छ । नारायणगढ–बुटवल सडक खण्डअन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोटदेखि दाउन्ने खण्डमा अहिले सामान्य सडक मर्मत कार्यबाहेक अन्य काम ठप्प रहेको छ ।

    बर्खाका कारण यो समयमा सडक कालोपत्र र विस्तारको काम नभए पनि पर्खाल निर्माण र मर्मतको काम भइरहेको नारायणगढ–बुटवल सडक आयोजना पूर्वी खण्डका इञ्जिनियर शिव खनालले बताए ।

    ‘सडक विस्तारको काम पूर्ण रूपमा बन्द छ भन्न त मिल्दैन, तर यो समयमा सडक कालोपत्रबाहेकको सामान्य पर्खाल निर्माण र खाल्डाखुल्डी मर्मतका लागि पूर्वी खण्डमा ६४ जना कामदार खटिएका छन्’, उनले भने ।

    सडक कालोपत्र र विस्तारको काम कात्तिक १५ देखि मात्र सञ्चालन गर्ने गरी समय तालिका निर्माण कम्पनीले सरकारी पक्षलाई उपलब्ध गराएको छ । योबीचमा मर्मत र पर्खाल निर्माण गर्ने गरी कार्य तालिका पेस गरेको भए पनि सोअनुसारको काम पनि अहिले सडकमा भएको देखिएको छैन ।

    चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसन प्रालिले सडक विस्तारको काम मनसुन सुरु भएदेखि नै रोकेको थियो । यसअघि थपिएको म्याद यही साउन ८ गते सकिएपछि सरकारले थप एक वर्षका लागि म्याद थपिदिएको हो । निर्माण कम्पनीले दुई पटक म्याद थप्दा पनि काम नसकेपछि सरकारले तेस्रो पटक म्याद थपेको हो । छोटो अवधिका लागि म्याद थप भए पनि निर्माण प्रगति हेर्दा थप म्यादमा पनि कार्यसम्पन्न हुनेमा आशङ्का गरिएको छ ।

    इञ्जिनियर खनालले भने यो अन्तिम पटकका लागि म्याद थप भएकाले निर्माण पक्षले समयमै कामसक्ने अपेक्षा लिएको बताए ।  निर्माण कम्पनीले सरकारी पक्षलाई दिएको जानकारीअनुसार पूर्वी खण्डमा कामदार र कर्मचारीसहित एक सय ९८ जना खटिएका छन् ।

    वर्षाले सडकमा पहिरो जाने र अवरुद्ध हुनसक्ने स्थानमा प्राथमिकता दिएर कामदार खटाएको निर्माण कम्पनीले जनाएको छ । ‘सरकारले यो पटकको म्यादलाई अन्तिम पटक भनेकाले ठेकेदार कम्पनीले यसलाई अन्तिम अवसर ठानेर काम गर्ने छ भन्ने हामीले ठानेका छौँ’, इञ्जिनियर खनालले भने ।

    अघिल्लो वर्ष म्याद थप हुँदा सडकको भौतिक प्रगति ४२ प्रतिशत थियो । सडकको भौतिक प्रगति अहिले पूर्वी खण्डमा ५२ प्रतिशत रहेको इञ्जिनियर खनालले जानकारी दिए ।

    एक सय १३ किमी सडकमध्ये ७० किमी चार लेन, २९ किमी चार लेनसहित दुवैतर्फ छ/छ मिटरको सर्भिस लेन, दाउन्नेमा १४ किमी तीन लेन, ६४ पुल, चार सय ६२ कल्भर्टलगायत संरचना निर्माण गर्ने गरी ठेक्का सम्झौता भएको यो आयोजनामा हालसम्म २६ दशमलव पाँच किमी चार लेन र २२ किमी दुई लेन सडक कालोपत्र, ४२ पुल र तीन सय ८० कल्भर्ट निर्माण गरिएको छ ।

    विसं २०७९ साउन २२ मा सडक विस्तारको काम सम्पन्न गर्ने गरी २०७५ साल चैतमा यस सडक विस्तारको शिलान्यास गरिएको थियो । सडक विस्तारको काम समयमै सम्पन्न नहुँदा यो सडकखण्डको यात्रा निकै कष्टकर हुने गरेको छ । घाम लाग्दा धुलो र वर्षामा हिलोले गर्दा यो सडकखण्डको यात्रा अति कष्टकर हुने गरेको हो ।
    रासस

  • काभा महिला भलिबल : आज नेपाल र इरानबीच प्रतिस्पर्धा

    काभा महिला भलिबल : आज नेपाल र इरानबीच प्रतिस्पर्धा

    काठमाडौँ । काभा महिला नेसन्स भलिबल लिगमा आज नेपाल र इरानबीच प्रतिस्पर्धा हुँदैछ । खेल काठमाडौँको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा साँझ सवा ५ बजे सुरु हुनेछ ।

    जारी प्रतियोगितामा नेपालले २ खेलमा दुवै खेल जितेर ५ अंक हासिल गरेको छ भने इरानले ३ खेलमा २ जित र एक हारसहित ५ अंक नै हासिल गरेको छ ।

    नेपालले शनिबार भारतमाथि ३–२ को सेटमा ऐतिहासिक जित हासिल गरेको थियो भने त्यसअघि श्रीलंकालाई ३–० ले पराजित गरेको थियो ।

    त्यस्तै पहिलो खेलमा भारतसँग पराजित भएको इरानले दोस्रो खेलमा श्रीलंकालाई ३–२ ले र तेस्रो खेलमा माल्दिभ्सलाई ३–० ले पराजित गरेको थियो ।

    आजको खेलपछि नेपालले आफ्नो लिग चरणको अन्तिम खेल सोमबार माल्दिभ्सविरुद्ध खेल्ने तालिका रहेको छ ।

    नेपालसहित भारत, श्रीलंका, माल्दिभ्स र इरानको सहभागिता रहेको यस प्रतियोगितामा लिग चरणका खेलपछि शीर्ष चार देशले सेमिफाइनल खेल्नेछन् ।

  • स्याउ खेतीप्रति किसान उत्साहित

    स्याउ खेतीप्रति किसान उत्साहित

    बागलुङ– निसीखोला गाउँपालिका–२ अर्नाकोटका स्थानीय व्यावसायिक स्याउखेती गर्न थालेका छन् । समुद्री सतहबाट करिब दुई हजार मिटर उचाइमा रहेको बागलुङ अर्नाकोटमा तीन वर्ष अगाडि परीक्षणका लागि लगाइएको स्याउ फलेपछि व्यावसायिक खेती गर्न थालिएको हो ।

    विसं २०७८ सालमा गाउँका अगुवा किसानले परीक्षणका लागि स्याउखेती सुरु गरेका थिए । हाल गाउँका धेरै किसान यसप्रति आकर्षित भएका छन् । पोखराबाट इटालियन गालाफुजी जातका बिरुवा ल्याएर लगाएको एक वर्षमा फल लागेपछि किसान उत्साहित भएका हुन् ।

    पहिलो वर्ष गाउँमा किसानले कृषि ज्ञान केन्द्रबाट ६० बिरुवा अनुदानमा लिएर लगाएका थिए । बिरुवा हुर्किएर फल दिन थालेपछि दोस्रो वर्ष थप ९० वटा बिरुवा अनुदानमा लिएर लगाए ।

    यस वर्ष निसीखोला गाउँपालिकाबाट ५० प्रतिशत अनुदानमा सात सय बिरुवा लगाएको अगुवा किसान चेतबहादुर कुँवरले बताए । गाउँमा स्याउखेतीको सम्भावना देखेपछि गाउँका अधिकांशले स्याउका बिरुवा लगाउन थालेको उनको भनाइ छ ।

    अर्नाकोटमा खानेपानीको अभाव हुँदा बिरुवा हुर्काउन समस्या भएको सुनाउँदै अब सिङ्गो गाउँ नै स्याउ उत्पादनबाट आत्मनिर्भर बन्ने आशा पलाएको कुँवर बताउँछन् ।

    खानेपानी अभावमा धेरै नागरिक बसाइँसराइ गर्न बाध्य भएको सन्दर्भमा गाउँमा स्याउ उत्पादनको ठूलो सम्भावना देखिएपछि धेरै गाउँमै बस्न थालेको उनको भनाइ छ ।

    तीन वर्ष अगाडि लगाएको स्याउ थोरै भए पनि बजारमा पठाउन थालेको कुँवरले बताए । उनका अनुसार अहिले अर्नाकोटमा करिब एक सय ५० बोटमा स्याउ फलेका छन् ।

    स्थानीय किसान दुर्गाबहादुर ओलीले पहिलो वर्ष २२ वटा स्याउका बिरुवा लिएर लगाएको सुनाउँदै अहिले बिरुवा बढाउँदै गएको बताए । वर्षौँदेखि पशुपालनसँगै निर्वाहमुखी खेतीपाती गर्दै आएका उनी पछिल्लो समय स्याउखेतीलाई नै बढी जोड दिएको बताउँछन् ।

    निसीखोला गाउँपालिकाका कृषि प्राविधिक तारा परियारले स्याउखेतीतर्फ किसानको चासो बढेपछि इटालियन जातको स्याउका बिरुवा जुम्लाबाट ल्याएर वितरण गरिएको बताए ।

    गाउँपालिकाले चार लाख ११ हजार दुई सय ५० मा बिरुवा खरिद गरी ५० प्रतिशत अनुदानमा किसानलाई उपलब्ध गराएका हो । यहाँका किसानले करिब ४० रोपनी क्षेत्रफलमा स्याउका बिरुवा लगाएको उनको भनाइ छ ।

  • देशप्रति गौरव गर्न सक्दिन !

    देशप्रति गौरव गर्न सक्दिन !

    मलाई फोन आयो।
    दाइ, “मेरो देश, मेरो गौरव”
    बारे केही लेखेर पठाउनुस् भन्दै
    बहिनीले भनिन्।

    अर्को दिन प्रतियोगिता रहेछ।
    “हुन्छ, साँझसम्म लेखेर पठाउँछु”
    भन्दै फोन राखिदिएँ।

    सानैदेखि सुन्दै आएको शीर्षक,
    एकैछिनमा लेख्न सक्छु जस्तो लाग्यो।
    कक्षा आठ-नौमा पाँच पाना लेख्ने म,
    अहिले भने अक्क न बक्क भएँ।

    पाँच मिनेट भइसक्यो,
    कलमले कदमै चालेन।
    जसोतसो एक वाक्य जुर्यो,
    नेपाल एक शान्तिको देश…

    कलम रोकियो,
    वाक्य पूरा गर्ने हिम्मत आएन।
    नेपाल अनि शान्तिको देश?
    मनमा शंका उब्जिए।

    निर्मला पन्तको न्याय,
    सडकमा उत्रिएका पलहरू,
    रंगशाला बनाउन रकम,
    सीमा मिचिँदा गरेको विरोध।

    एकपछि अर्को,
    निराशाजनक घटनाहरू।
    फेरि शीर्षक पढेँ,
    के लेखेर पाना भर्ने?

    गौरव गर्न लायक तर्क,
    लेख्नै जानिनँ।
    देशप्रतिको पुरानो सोच,
    गौरव हराइसकेको थियो।

    गौरव गरौं कसरी?
    जुन देशले टाढा पारिदियो,
    मेरो दाइ, आफन्त, साथीहरू।
    कतिको घर सुनसान,
    कति आमाको काख चिसो।

    निबन्ध त लेख्नै थियो।
    सगरमाथा, गौतम बुद्ध,
    प्रकृतिको धनी देश।
    लम्बाचौडा गफ,
    बहिनीलाई पठाएँ।

    सायद “मेरो देश अनि विकृति”
    भएको भए धेरै लेख्थेँ।
    मन अतालियो,
    शान्तिको देश भनेर गौतम बुद्धको अपमान गरौं किन?

    वीर गोर्खालीको देश,
    पुर्खाहरूको प्रतिष्ठा कम गरौं किन?
    प्रकृतिले भरिपूर्ण देश,
    घमण्ड गरौं किन?

    असङ्ख्य जातजाति, धर्म संस्कृति,
    धाक लगाऔं किन?
    मलाई मेरो देशप्रति
    गौरव नलाग्ने किन?

    प्रश्नहरू थुप्रै,
    तर म लज्जास्पद छु।
    म लाचार छु,
    क्रूर छु।

    निराश छु,
    बेचैन छु।
    उत्तर छैन,
    भयभीत छु।

    शब्दहीन छु।