Blog

  • काभ्रेमा उत्पादित आलुको ‘ब्राण्डिङ’

    काभ्रेमा उत्पादित आलुको ‘ब्राण्डिङ’

    काभ्रेपलाञ्चोक ।  प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाको सहयोगमा यहाँ आलुको ‘ब्राण्डिङ’ थालिएको छ । आलुको ‘हब’ मानिने यस जिल्लाको पनौती नगरपालिका–३ कुशादेवीमा आलु भण्डारणसहित ‘प्याकेजिङ’ थालिएको हो । 

    ‘आलु सुपरजोन’का रुपमा जिल्लाको चिनारी बनाउन तथा यहाँको आलुको गुणस्तरीयतालाई प्रचारप्रसार गर्न स्थानीय उत्पादनलाई प्राथमिकतामा राखी ब्रान्डिङ गर्ने ध्येयले प्याकेजिङ सुरु गरिएको जनाइएको छ । 

    प्रारम्भिक चरणमा हाल दुइ किलो, तीन किलो र पाँच किलो तौलमा आलुको प्याकेजिङ हुने गरी ब्राण्डिङ सुरु गरिएको खाद्यान्न तथा बीउ आलु, अलैँची, फलफुल नर्सरी उद्योगका सञ्चालक राजेन्द्र थापाले बताए। उनका अनुसार स्थानीयस्तरमा उत्पादित आलुको ब्रान्डिङसहित बजारीकरण थालिएको हो । 

    भण्डारणका लागि प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना (सुपरजोन)को आर्थिक सहयोगमा भण्डारण कक्ष निर्माणसहित प्याकिङ गरिएको आलु बजारीकरण सुरु गरिएको थापाले बताए।

     “हाललाई एकतले भवनबाट भण्डारणसहित प्याकेजिङ थालेका छौँ, अब चालु आर्थिक वर्षमा भवनको निर्माण थप्दै प्याकेजिङको परिमाण बढाउनेछौँ”, उनले भने। उद्योगलाई भन्डार कक्ष र प्याकेजिङ सुरुआतका लागि परियोजनाले गत आवमा पहिलो चरणमा रु १४ लाख सहयोगमा गरेको थियो ।

     केही दिनअघि आलु प्याकेजिङलाई जिल्लास्थित बजार पठाइएकाले मागको अवस्थाबारे अनुगमनसमेत गर्न थालिएको उद्योगका अर्का सञ्चालक शशी अधिकारी बताउँछन् । उद्योगले ‘काभ्रेको चिनारी पोषिलो आलुको तरकारी’को नारासहित हाललाई प्रतिकेजि ८० का दरले प्याजिङ गरिएको आलु बजार पठाएको हो । 

    ‘आलुको गुणस्तर कायमै राखी बजारको मागअनुसार फरकफरक तौलमा प्याकिङ गर्ने योजना बनाएका छौँ’, अधिकारीले भने। उनका अनुसार उद्योगले फरकफरक जातको आलु ‘ग्रेडिङ’ गरी बजार पठाएको छ । 

    उपभोक्ताले आफुलाई मन पर्ने जातको आलु किनेर लैजान सक्नेगरी प्याकेजिङ गरेको जनाइएको छ । सुपरजोन समन्वय समितीका प्रमुख सुमन नेपालले ठुक्क भएर काभ्रेपलाञ्चोकमा प्याकेजिङ गरिएको आलु खान आग्रह गरेका छन् ।

     उनले भने, ‘काभ्रेमा उत्पादित आलु गुणस्तरीय रहँदै आएको छ, उपभोक्ताले विना संकोच किनेर खान सक्नुहुन्छ ।’

    उनका अनुसार यस आलु ब्राण्डिङ कार्यक्रमले अन्य ब्यवसायिक कृषकलाई उत्प्रेरण मिलेको पाइएको छ । आलु सुपरजोन कार्यलयले काभ्रेपलाञ्चोकमा आलुको उत्पादन तथा उत्पादनमा बृद्धि, मल्चिङ प्रविधिलगायतमा सहयोग आएको जनाएको छ आलुको बिउ र मल्चिङ तथा नस्ल सुधार लगाएतमा कार्यक्रम कार्यलयले सञ्चालन गर्दै आइरहेको छ । कार्यालय प्रमुख जय महतोले आगामी दिनमा जिल्लाको अन्य क्षेत्रमा आलुको प्याकेन्जिङ र ब्राण्डिङ बिस्तार गर्न कार्यलयले सहजीकरण गर्ने बताए। 

    जिल्लाको पाँचखाल, मण्डनदेउपुर, पनौती, बनेपा तथा नाला आलु उत्पादन हुने प्रमुख क्षेत्र हुन् । आलुको पकेट क्षेत्र मानिएको काभे्रको नौ हजार हेक्टर क्षेत्रफलमा बार्षिक करिब एक लाख ७५ हजार मेट्रिक टन आलु उत्पादन हुने गरेको छ ।

  • पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमताका साथ सञ्चालन गर्छौँ : प्रधानमन्त्री

    पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमताका साथ सञ्चालन गर्छौँ : प्रधानमन्त्री

    काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमताका साथ सञ्चालनमा ल्याउने बताएका छन् ।

    आज विहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले ती विमानस्थललाई कसरी पूर्ण क्षमतामा चलाउन सकिन्छ भन्ने विषयमा प्रतिवेदन दिन कार्यदल बनाएको उल्लेख गरेका छन् ।

    उनले उक्त कार्यदललाई यसै साता बस्ने मन्त्रिपरिषद्को बैठकमा एयरपोर्ट सञ्चालन सम्बन्धी योजना पेश गर्ने जिम्मेवारी दिइएको समेत जनाएका छन् ।

    प्रधानमन्त्रीले यी दुई विमानस्थल सञ्चालनमा ल्याउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप पनि घट्ने विश्वास व्यक्त गरेका छन् । उनले विमानस्थल सञ्चालन सम्बन्धी सुझाव दिन विज्ञहरुलाई अनुरोध समेत गरेका छन्

    प्रधानमन्त्री ओलीले थाइ एयर एसियाले हिजोदेखि साताको चार दिन भैरहवा–थाइल्यान्ड उडान अनुमति पाएको समेत जनाएका छन् ।

     

  • कक्षा १२ को नतिजा सार्वजनिक, ५२ प्रतिशत उत्तीर्ण

    कक्षा १२ को नतिजा सार्वजनिक, ५२ प्रतिशत उत्तीर्ण

    काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् अर्थात ग्रेडेड भएका छन् । 

    बोर्डका अनुसार ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड भएका छन्, अर्थात अनुत्तीर्ण भएका छन् ।

    आज बिहान बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो । नतिजा सार्वजनिक भएपनि अनलाइनमा अपलोड हुन भने केही समय लाग्ने बोर्डले जनाएको छ ।

    गत वैशाख १४ गतेबाट सञ्चालित कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ४९७ विद्यार्थी सहभागी थिए । ३ लाख ९० हजार परीक्षार्थी थिए । ७७ वटै जिल्ला र जापानको एकसमेत गरी १ हजार ५२६ केन्द्रमा परीक्षा सञ्चालन भएको थियो । 

    यसपटक पहिलो पटक काठमाडौं जिल्लामा परीक्षणका रुपमा स्वचालित प्रक्रियाबाट परीक्षा केन्द्र तोकेर परीक्षा सञ्चालन गरिएको थियो ।

    देशभरबाट ५ हजार ५४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी छन् । गत असारमा प्रकाशित एसईईको जस्तै कक्षा १२ को पनि लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार नतिजा प्रकाशन भएको छ । 

  • बाढीले सयौँ रोपनी धानखेत बगरमा परिणत

    बाढीले सयौँ रोपनी धानखेत बगरमा परिणत

    नुवाकोट ।  कोशीखोलामा आएको बाढीले नुवाकोटको तारकेश्वर गाउँपालिका–२ स्थित पिमलटारको सयौँ रोपनी धानखेत बगरमा परिणत भएको छ। नुवाकोट र धादिङको सीमा भएर बग्ने कोशीखोलाको बाढीले पिमलटारस्थित फाँटमा ठूलो क्षति भएको छ। त्यहाँ भर्खर रोपिएको धानखेत बगरमा परिणत भएको हो।

    स्थानीय किसान आरबी नेपालका अनुसार किसानले हालै रोपिएको खेत पूर्ण रुपमा बगर बनेको छ। ‘बाढी रोकिएपछि रोपो उठाउन कोसिस गरे पनि ग्रेगरसहितको बालुवा र लेदोले पुरेकाले धेरै क्षति भएको छ’, उनले भने, दुई सय रोपनी खेतलाई क्षति पुर्याउँदै अहिले खोला बगिरहेको छ भने चार सय रोपनी खेतमा लगाएको रोपो पनि पुरिएको छ।”

    बाढीको कारण स्यानीय समाजसेवी जनक ढुङ्गानाले व्यक्तिगत लगानीमा केही वर्षअघि निर्माण गरेको झोलुङ्गे पुलमा पनि क्षति भएको छ। पुलको पिलर बगाएसँगै आवागमन रोकिएको छ। स्थानीय किसान अरुण राईले व्यावसायिक रूपमा गर्दै आएको माछापोखरीमा पनि क्षति भयो।

    तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारीले बाढीबाट भएको क्षतिको लगत सङ्कलन गरेर किसानलाई सक्दो सहयोग गर्न आफू तत्पर रहेको बताएका छन्। उनले भने, ‘प्राविधिक प्रतिवेदन र स्थलगत अनुगमन गरेर पीडित किसानलाई सहयोग गर्नेछौँ।’

  • खुशी खोज्दा भुलिएका चाहनाहरु

    खुशी खोज्दा भुलिएका चाहनाहरु

    हरेक पटक छोरी घरबाट माइती फर्किएर आँगन मुनी, घरभन्दा अलि पर आइपुग्दा जुन खुशी देख्नुहुन्छ नि, छोरी घरमा पनि त्यति नै खुशी छिन् कि छैनन् भनेर कहिल्यै बुझ्नु भएको छ आमा ?

    अरू खबर सोध्नु भन्दा अघि “ज्वाइँ, बुबाआमा सबै आराम कुशल हुनुहुन्छ ? घरतिर सबै ठीक छ नि ?” भनेर सोध्दै गर्दा कहिल्यै “छोरी कस्तो छ तिमीलाई? सबै ठीक छ नि ?” भनेर मनदेखिको कुरा खोतल्ने, सोध्ने गर्नु भएको छ बुबा ?

    बिहे गरेर गएपछि दिदीबाट झन् धेरै आशा राख्ने भाइले “दिदी आज के ल्याइदिस?” भनेर सोध्दै गर्दा “तँलाई सबै कुराको खुशी छ नि है, दिदी ?” भनेर सोध्ने गरेको छौ कहिल्यै?

    कमै खबर सोध्ने तर माइतीबाट सबैभन्दा बढी बहिनीको चासो राख्ने, नभनी खबर राख्ने दाइले कहिल्यै बहिनीलाई “बहिनी, ठीक त छस् नि तँ, भित्रबाटै ?” भनेर सोध्ने गर्नु भएको छ कि छैन?

    छोरी, दिदी, बहिनी माइती आउँदा मात्र खुशी हुन्छिन् कि घरमा पनि त्यस्तै हुन, खुशी मिलेको छ कि छैन भनेर बुझ्ने कोसिस गर्नु भएको छ कि छैन ?

    सोध्ने गर्नु भएको छ, बुझ्ने गर्नु भएको छ भने त एकदमै राम्रो। छैन भने पनि बुझिदिने कोसिस गर्नुहोस्, उसले नभने पनि।

    उसले त जति नै दुःख पाएको भए पनि, जति नै भित्र मरेर बाँचेकी भए पनि माइत आउँदा सारा खुशी भुलिदिन्छे र लुकाइदिन सक्छे पहाड भन्दा ठूला पीडाहरू पनि !

    कहिलेकाहीँ भन्दै नभने पनि बुझिदिने कोसिस गरिदिनुहोस्, उसले लुकाएका पीडाका धर्साहरू !

    थाहा छ बुबाआमा, दाजुभाइ, दिदीबहिनीले खुशी नै खोज्नुहुन्छ आफ्नो छोरीको लागि। तर कहिलेकाहीँ त्यही खुशी खोज्ने क्रममा हामी छोरीको इच्छा, छोरीको चाहना भुलिदिन्छौं, र गलत हातमा सुम्पिदिन्छौं उसको हात !

    सबैको त भन्दिन तर अचेल धेरैजसो, छोरी आफ्नो घरमा खुशी छैन भने इज्जत, मान प्रतिष्ठालाई बचाउने चक्करमा छोरीलाई घरमा जे भए पनि सहन र जे पनि स्वीकार्न बाध्य बनाउँछौं र धकेलिदिन्छौं अन्धकारमा उसको जिन्दगी।

    कतै सुनेको थिएँ “Divorced daughter is better than a dead daughter!”

    – अनिता रेग्मी

  • चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमनमा वृद्धि

    चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमनमा वृद्धि

    चितवन ।  अघिल्लो आर्थिक वर्षको तुलनमा गत आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढेको छ । आव २०८०-८१ मा तीन लाख ६ हजार ८३७ पर्यटकले निकुञ्ज अवलोकन गरेका थिए । अघिल्लो आवमा यो सङ्ख्या दुई लाख ९९ हजार चार सय १२  थियो । 

    निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गत आर्थिक वर्षमा दुई लाख ७४ हजार दुई सय ९९ पर्यटक सौराहा क्षेत्रबाट प्रवेश गरेकामा अघिल्लो आर्थिक वर्षमा यो सङ्ख्या दुई लाख ७१ हजार सात ३१  थियो । गत आवमा भरतपुर महानगर हुँदै २७ हजार ९५६ पर्यटक आएका थिए । आव २०७९-८० मा यो सङ्ख्या २३ हजार २५७  थियो ।

    भरतपुर महानगरपालिकाका पर्यटनविज्ञ विश्व सुवेदीले चितवन भ्रमण वर्षको राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा गरिएको प्रचारले निकुञ्जमा पर्यटक बढेका बताए । उनले बाह्य मुलुकबाट धार्मिक पर्यटक आउनेगरी धार्मिक कार्यक्रम, देवघाटधाम महोत्सव, जंगल सफारी मार्ट, म्याराथन आयोजना गरिने जानकारी दिए ।

    भ्रमण वर्षका अवसरमा देवनगरमा सर्वसाधारणका लागि हेर्न मिल्ने गरी उद्धार गरिएका पाटेबाघ राखिएका छन् । दियालो बंगला पनि सर्वसाधारणका लागि खुला गरिएको छ । यो पर्यटकका लागि नयाँ गन्तव्य बनेको छ ।

  • आज साउन १५, खिर खाएर मनाइँदै

    आज साउन १५, खिर खाएर मनाइँदै

    काठमाडौँ । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खिर खाने प्राचीन कालदेखिको नेपाली परम्परा छ ।

    साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने चलन छ । दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ ।

    संस्कृत भाषामा पायस भनिने खिर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्वपूर्ण वस्तुका रुपमा वैदिक शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउछन् ।

    साउनमा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । राम्रा धेरै घाँस पाइने बेलामा गाई, भैँसीले पनि धेरै दूध दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र, चेलीबेटीलाई घरमा बोलाएर खिर खाने चलन चलेको हो ।

    साउन भगवान् शिवको महिना हो । शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खिरलगायत मिठाइ विधिपूर्वक चढाइन्छ । यसैले गर्दा साउनको मध्य पारेर खिर खाने प्रचलन चलेको हुनसक्ने धर्मशास्त्रविद् भट्टराई बताउछन् । तर यसको कुनै शास्त्रीय वचन भने छैन ।

    ऋषिमुनिको पालादेखि नै श्राद्धलगायत पितृ कार्यमा निमन्त्रणा गरिएका ब्राह्मणलाई पायस अर्थात् खिर खुवाउने गरिएको थियो । अहिले पनि वैदिक सनातन धर्मावलम्बीले श्राद्धका दिन अनिवार्य रुपमा गाईको दूधमा पायस अर्थात् खिर बनाउँछन् ।

    चामल, सावधाना, सेवइ, मकै, गाजरलगायतको खिर बनाउने गरिन्छ । सावधानालाई फलफूलकै वर्गमा राखिन्छ । यसैगरी साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खिर समेत बनाएर खाने चलन छ । खिर खाँदा देवतालाई चढाएर खानुपर्छ भन्ने धार्मिक विश्वास रही आएको छ ।

    नेपाली बृहत् शब्दकोशले ‘दूधमा पकाइएको भात, दूधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ठ खाद्य पदार्थ, पायस, तस्मै’ भनी खिरलाई परिभाषित गरेको छ ।

    नेपाली समाजमा असार १५ गते दही च्यूरा, साउन १५ गते खिर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घिउ खट्टे, माघ १५ गते मालपुवा लगायत चीजबीज बनाएर इष्टमित्र एवं छोरी चेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने लौकिक चलन रही आएको छ ।

    दूधबाट बनेको खिरले मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ । बोर्डको २०७७ फागुन १५ गते बसेको बैठकले साउन १५ लाई खिर खाने दिन अर्थात् खिर दिवसका रुपमा मनाउने निर्णय गरेको थियो ।

    नेपालको खाद्य नियमावली अनुसार मानक प्रशोधित दूधमा हुने तीन प्रतिशत चिल्लो, चार दशमलव सात प्रतिशत ल्याक्टोज र तीन दशमलव पाँच  प्रतिशत प्रोटिनको गणना गर्दा प्रति एक सय ग्राम प्रशोधित दूधबाट ६० प्रतिशत क्यालोरी शक्ति प्राप्त हुने उल्लेख छ ।

  • पोखराको स्कूल बस दुर्घटनामा आमाछोराको मृत्यु

    पोखराको स्कूल बस दुर्घटनामा आमाछोराको मृत्यु

    काठमाडौँ । पोखरामा भएको स्कुल बस दुर्घटनामा आमाछोराको मृत्यु भएको छ ।

    आज बिहान पोखरा महानगरपालिका–२१ छरछरे कृस्तीमा भएको बस दुर्घटनामा विद्यालयकी कार्यालय सहयोगी आरती बिक र उनका यूकेजीमा अध्ययनरत ५ वर्षीय छोरा प्रिन्स विकको मृत्यु भएको हो ।

    विद्यार्थी लिएर पोखरा–१७ विरौटामा रहेको एलपी देवकोटा मेमोरियल स्कूलतर्फ फर्किँदै गरेको ग१क ६२१९ नम्बरको स्कुल बस दुर्घटना हुँदा २८ जना घाइते भएको छन् । यसअघि २२ जना घाइते भएको जनाइएको थियो ।

    घाइतेको गण्डकी मेडिकल कलेज, मणिपाल शिक्षण अस्पताल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । बस घुम्तीबाट झन्डै ५० मिटर तल खसेको थियो ।

  • ग्लोबल टी-२० मा नेपाली जोडी : दीपेन्द्रले ३० रन बनाउँदा सन्दीपले लिए एक विकेट

    ग्लोबल टी-२० मा नेपाली जोडी : दीपेन्द्रले ३० रन बनाउँदा सन्दीपले लिए एक विकेट

    काठमाडौँ  ।  ग्लोबल टी-२० क्यानडा लिग अन्तर्गत आफ्नो तेस्रो खेलमा भ्यानकुभर नाइट्सका लागि नेपाली जोडी दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका छन्।

    टस जितेर भ्यानकुभरले मोन्ट्रियल टाइगर्सविरुद्ध पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो। सुरुमा ब्याटिङ गरेको मोन्ट्रियलले ७ विकेटको क्षतिमा १४४ रन बनायो।

    मोन्ट्रियलविरुद्धको बलिङमा नेपालका सन्दीप लामिछानेले एक विकेट लिए। चार ओभर बलिङ गरेका उनले २४ रन खर्चिएर एक विकेट हात पारेका हुन्। योसँगै प्रतियोगितामा उनले तीन खेल खेल्दा व्यक्तिगत चार विकेट हात पारेका छन्।

    १४५ रनको लक्ष्य पछ्याएको भ्यानकुभरका लागि नेपालका अलराउण्डर दीपेन्द्रसिंह ऐरीले भने नटआउट ३० रन बनाए। १५ बलको सामना गरेका दीपेन्द्रले तीन चौका र एक छक्का प्रहार गरे।

    नेपाली खेलाडीले राम्रो प्रदर्शन गरे पनि भ्यानकुभरले लगातार तेस्रो हार खाएको छ। यसअघिका दुवै खेलमा गुमाएको भ्यानकुभरले आइतबार रातिको खेल १० रनले गुमाएको हो। १४५ रनको लक्ष्य पछ्याएको भ्यानकुभर ६ विकेटको क्षतिमा १३४ रनमै समेटिएको हो। सन्दीप ब्याटिङतर्फ दुई बलको सामना गरेका सन्दीपले नटआउट १ रन बनाए।

    ६ टोली सहभागी प्रतियोगितमा भ्यानकुभर जितबिहीन छ। यसअघि शनिबार साँझ भएको खेलमा बंगला टाइगर्स मिसिसाउगाविरुद्ध पहिले बलिङ गरेको भ्यानकुभर २२ रनले पराजित भएको थियो।

    उक्त खेलमा लामिछानेले दुई विकेट लिएका थिए। पुरै चार ओभर बलिङ गर्दा उनले ३२ रन खर्चिएर दुई विकेट हात पारेका हुन्। ब्याटिङतर्फ २ बलको सामना गरेका दीपेन्द्रले १ रन मात्र जोडेका थिए। ब्याटिङतर्फ नटआउट रहेका सन्दीपले तीन बलको सामना गर्दै २ रन जोडेका थिए।

    भ्यानकुभरको पहिलो खेल
    पहिलो खेलमा भ्यानकुभर टोरन्टो नेसनल्ससँग ८ विकेटले पराजित भएको थियो।

    भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेटको क्षतिमा भेट्टाएका थियो। टोरन्टोका कप्तान कोलिन मुन्रोले बनाएको ४४ रन नै टोलीका लागि सर्वाधिक रह्यो।

    सन्दीपले आफ्नो स्पेलमा २९ रन खर्चेर १ विकेट लिएका थिए। ब्याटिङ तर्फ भ्यानकुभर ३ बल अगावै १ सय १० रन बनाउँदा अलआउट भएको थियो। रेजा‌ हेन्रिक र मुनिर अहमदले समान २३ रन सन्दीपले १५ रन बनाएका थिए।

  • सङ्क्रमणकालीन न्याय सम्बन्धी कार्यदलको बैठक बस्दै

    सङ्क्रमणकालीन न्याय सम्बन्धी कार्यदलको बैठक बस्दै

    काठमाडौँ– सङ्क्रमणकालीन न्यायसम्बन्धी गठित कार्यदलको बैठक आज बस्दैछ ।

    बैठक बिहान ८ बजे सिंहदरबारस्थित गृह मन्त्रालयमा बस्ने गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

    यसअघि शुक्रबार बसेको कार्यदलको बैठकले सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमाथि रहेका असहमतिमा सैद्धान्तिक सहमति भएको बताइएको छ ।

    कार्यदलमा नेपाली कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट मुख्यसचेतक महेश बर्तौला र माओवादी केन्द्रबाट उपमहासचिव जनार्दन शर्मा सहभागी छन् ।

    सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमाथि सैद्धान्तिक सहमति जुटाएको र सरोकारवालासँग छलफल गरेपछि आज अन्तिम रूप दिन बैठक बस्न लागेको बताइएको छ ।