Blog

  • कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी क्षेत्रमा विद्युतीकरण गरिने

    कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी क्षेत्रमा विद्युतीकरण गरिने

    काठमाडौं । आगामी आर्थिक वर्षभित्र कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी रहेका क्षेत्रमा विद्युतीकरण गरिने बताइएको छ ।

    आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी क्षेत्रमा विद्युतीकरण गरिने जानकारी गराएका हुन् ।

    उनले राष्ट्रिय विद्युत् प्रणालीमा नजोडिएका र विद्युत् पहुँच नपुगेका क्षेत्रमा लघु तथा साना जलविद्युत सौर्य एवं वायु ऊर्जा प्रविधिमार्फत विद्युतीकरण गरिने बताए ।

    विद्युत् वितरण सबस्टेशनहरुलाई स्वचालित बनाइने र स्थानीय तह समेतको समन्वयमा स्मार्ट मिटर वितरण गरिने पनि सरकारको नीति तथा कार्यक्रम रहेको उनले उल्लेख गरे ।

    बुढी गण्डकी जलविद्युत आयोजना र नलसिङगाड जलाशययुक्त आयोजनाको निर्माण कार्य अगाडी बढाइने पनि भनिएको छ । त्यस्तै, दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाको निर्माण पूर्वका कार्य सम्पन्न गरिने पनि उल्लेख गरिएको छ ।

    हेटौँडा, ढल्केबर, इनरुवा प्रशारण लाइनको निर्माण सम्पन्न गरिने पनि जनाइएको छ ।

  • ट्राफिक चाप घटाउन अण्डरपास र ओभरपास निर्माणलाई प्राथमिकता दिने घोषणा

    ट्राफिक चाप घटाउन अण्डरपास र ओभरपास निर्माणलाई प्राथमिकता दिने घोषणा

    काठमाडौँ । ट्राफिक चाप घटाउन सरकारले अण्डरपास र ओभरपास निर्माणलाई प्राथमिकता दिने भएको छ । आर्थिक वर्ष २०८१/०८२ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले अण्डरपास र ओभरपास निर्माणलाई प्राथमिकता दिने घोषणा गरेका हुन् ।

    आगामी वर्षभित्र ललितपुरको ग्वार्कोमा निर्माणाधीन ओभरपास सञ्चालनमा ल्याइने राष्ट्रपति पौडेलले बताए । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले भने,‘दुर्घटना न्यूनीकरणलाई प्राथमिकतामा राखेर सडक निर्माण गरिनेछ ।’

  • सातै प्रदेशमा गाईभैंसी पालन स्रोत केन्द्र खाेलिने

    सातै प्रदेशमा गाईभैंसी पालन स्रोत केन्द्र खाेलिने

    काठमाडौं । सरकारले प्रत्येक प्रदेशमा १/१ हजार गाईभैंसी पालनका लागि पूर्वाधारसहितको स्रोत केन्द्र खोल्ने भएको छ । स्थानीय, प्रदेश र केन्द्र सरकारको सहकार्यमा केन्द्रहरु खोलिने भएको हो ।

    मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताए ।

    त्यस्तै, स्थानीय तहमा पशु अस्पताल स्थापना गरिने तथा २ वर्षभित्र पशुमा लाग्ने खोरत रोग नियन्त्रण गरिने पनि राष्ट्रपति पोडेलले उल्लेख गरे ।

    बजेटभन्दा पहिले संयुक्त सदनमा राष्ट्रपतिले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ ।

  • बंगलादेशको टी-२० विश्वकप खेल्ने टिमको घोषणा

    बंगलादेशको टी-२० विश्वकप खेल्ने टिमको घोषणा

    काठमाडौं । बंगलादेशले टी-२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ ।

    आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि बंगलादेशले नजमुल हुसेन शान्तोको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो ।  बंगलादेशको विश्वकप खेल्ने टिम- नजमुल हुसेन शान्तो (कप्तान), तस्किन अहमद, लिट्टन दास, सौम्य सरकार, तान्जिद हसन तमिम, शकिब अल हसन, तौहिद ह्रिदोय, महमुदुल्लाह रियाद, जाकेर अली अनिक, तनवीर इस्लाम, शाक महेदी हसन, रिशाद हुसेन, मुस्ताफिजुर रहमान, मुस्ताफिजुर रहमान, शोरिफुल इस्लाम र तान्जिम हसन साकिब ।

     त्यस्तै टिमको साथ जाने रिजर्भ खेलाडीमा अफिफ हुसेन र हसन महमुद रहेका छन् । 

    विश्वकपमा बंगलादेश समुह डी मा रहेको छ । यस समुहमा बंगलादेशसहित नेपाल, दक्षिण अफ्रिका, श्रीलंका र नेदरल्याण्डस रहेका छन् ।

    बंगलादेशले विश्वकपमा आफ्नो पहिलो खेल जुन ७ मा श्रीलंकासँग खेल्ने तालिका रहेको छ ।   

  • सन्दीप लामिछानेको मुद्दा सुदर्शन र अञ्जुको इजलासमा

    सन्दीप लामिछानेको मुद्दा सुदर्शन र अञ्जुको इजलासमा

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेसी उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको २ नम्बर इजलासमा परेको छ । पहिलो नम्बरमा नै पालो रहेको हुँदा आज सुनुवाइ हुन सक्ने सम्भावना छ ।

    यसअघि पनि एकपटक न्यायाधीश भट्टको इजलासमा सन्दीपको मुद्दा परेको थियो । गत वैशाख १० गते तोकिएको पेशीमा भट्ट र अर्का न्यायाधीश पुरुषोत्तम ढकालले मुद्दा ‘हेर्न नभ्याइने’ भनेर टारेका थिए । जबकि अदालतसँग यथेष्ट समय थियो ।

    आज झन् पहिलो नम्बरमा नै पालो भएकाले ‘हेर्न नभ्याइने’ भनेर टार्न सक्ने अवस्था छैन । यद्यपि, न्यायधीशले अरु कुनै बहाना बनाएर सुनवाइ स्थगित गर्न सक्ने चिन्तामा सन्दीपका वकिलहरू छन् ।

  • मुम्बईमा होर्डिङ बोर्डले थिच्दा १४ जनाको मृत्यु, ७४ घाइते

    मुम्बईमा होर्डिङ बोर्डले थिच्दा १४ जनाको मृत्यु, ७४ घाइते

    काठमाडौं । भारतको मुम्बईमा एक होर्डिङ बोर्ड ढल्दा कम्तिमा १४ जनाको मृत्यु भएको छ । घटनामा ७४ जना घाइते भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

    हिजो अपराह्न वर्षासँगै आएको हावाहुरी र आँधीका कारण १७ हजार ४० वर्गफिटको उक्त होर्डिङ बोर्ड ढलेकाे थियो । होर्डिङ बोर्ड ७० मिटर लम्बाइ र ५० मिटर चौँडाइको थियो ।

    उक्त बोर्ड वर्षा र हावाहुरी चलिरहेको अवस्थामा पेट्रोल स्टेनमा ओत लागेर बसेका मानिसहरुमाथि ढलेकाे थियो ।

    होर्डिङ बोर्ड मुनि फसेकाहरुको उद्धारका लागि धातु काट्न विभिन्न ठूला उपकरणहरू प्रयोग भइरहेको जनाइएको छ ।

  • कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा हुने

    कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा हुने

    काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी इलाकामा मुख्यतया मौसम सफा रहने बताएको छ।

    विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली हुनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्का वर्षा हुने तथा उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

    त्यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ। कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

    आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा मधेस र पहाडी भागका एक–दुई स्थानमा स्थानमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

    विभागले देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ।

  • सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै

    सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै

    काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८१-८२ को वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

    सरकारको वार्षिक बजेट अघि सङ्घीय संसद्को दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास छ । सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा, ९५ बमोजिम आज ३ बजे राष्ट्रपति पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुँदै नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

    सङ्घीय संसद्का सबै सदस्यलाई दिनको २ः४५ बजेभित्र औपचारिक पोसाकमा उपस्थिति भई आ–आफ्नो आसन ग्रहण गरिसक्न संसद् सचिवालयले आग्रह गरेको छ ।

    यद्यपि नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी घोटाला प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने भन्दै सदन अवरोध गरिरहेको छ । समिति गठन नभएसम्म सरकारलाई नीति तथा कार्यक्रम ल्याउन नदिने उसको अडानले आजको कार्यक्रम प्रभावित हुन सक्ने देखिएको छ ।

  • तीन सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

    तीन सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

    काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन आइतबार प्रतितोला रु एक लाख ३८ हजार चार सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३८ हजार एक सय निर्धारण भएको छ ।

    यस्तै, तेजाबी सुन आइतबार रु एक लाख ३७ हजार सात सय ५० मा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३७ हजार चार सय ५० निर्धारण भएको छ ।

    यसैगरी, चाँदीको मूल्य तोलामा रु १० ले ओरालो लागेको छ । आइतबार प्रतितोला रु एक हजार सात सय २५ मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार सात सय १५ निर्धारण भएको छ ।

  • कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

    कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

    विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत प्राप्त गरेका छन् ।

    प्रदेश सभामा सोमबार भएको मत विभाजनका क्रममा मुख्यमन्त्री कार्कीको पक्षमा कुल ५७ मत परेको छ ।

    कार्कीलाई एमालेका ४०, माओवादी केन्द्रका १३, एकीकृत समाजवादीका ३ र जसपाका १ जना प्रदेश सभा सदस्यले मत हालेका छन् ।

    विश्वासको मतका क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी भने तटस्थ बसेको छ। राप्रपाका ६ प्रदेश सभा सदस्य रहेका छन् ।

    उता २९ प्रदेश सभा सदस्य रहेको नेपाली कांग्रेसले भने प्रदेश सभा बैठक बहिष्कार गरेको छ ।

    कुल ९३ सदस्य रहेको प्रदेशसभामा मुख्यमन्त्री हिक्मत कार्कीलाई बहुमत ४७ मत आवश्यक थियो । मतदानमा ६२ प्रदेश सभा उपस्थित थिए ।

    कोशीमा एमालेका ४०, नेपाली कांग्रेसका २९, माओवादीका १३, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ जना सांसद छन्।

    कार्की संविधानको धारा १६८ उपधारा ५ अनुसार वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनलाई एमालेका ३९ र माओवादीका १३ सांसदको समर्थन छ ।

    तर निवर्तमान मुख्यमन्त्री केदार कार्कीले हिक्मत कार्कीको नियुक्ति असंवैधानिक रहेको भन्दै सर्वोच्चमा रिट दायर गरेका छन् ।

    उक्त रिटमा अदालतले अन्तरिम आदेश नदिए पनि जेठ ९ गते पूर्ण सुनुवाइका लागि पेसी तोकेको छ ।