Blog

  • वैदेशिक रोजगार : ९ महिनामा २२ जनाको मृत्य

    वैदेशिक रोजगार : ९ महिनामा २२ जनाको मृत्य

    पोखरा । वैदेशिक रोजगारीका सिलसिलामा चालु आर्थिक वर्षको ९ महिनामा कास्कीका २२ जनाले ज्यान गुमाएका छन् । मृतक सबै पुरुष हुन् । यस्तै, १५ जना अंगभंग तथा बिरामी भएका छन् ।

    वैदेशिक रोजगार बोर्ड, कन्सुलर सेवा विभाग तथा आप्रवासी स्रोत केन्द्रको प्रतिवेदनअनुसार वैदेशिक रोजगारी क्रममा सबैभन्दा बढीले ज्यान गुमाउने जिल्लामा गण्डकीमा नवलपुर पहिलो रहेको छ । दोस्रोमा बागलुङ र कास्की तेस्रोमा छ ।

    चालु आवको ९ महिना (चैतसम्म) कास्कीका १२ हजार तीन सय ३४ जना वैदेशिक रोजगारीमा गएका छन् । जसमा पुरुषको संख्या निकै धेरै छ । वैदेशिक रोजगारमा एक हजार छ सय ९२ जना महिला पुगेकोमा पुरुषको संख्या १० हजार छ सय ४१ जना छन् ।

    मध्ये श्रम स्वीकृत लिएर वैदेशिक रोजगारमा जानेको महिलाको संख्या एक हजार पाँच सय १७ र पुरुषको संख्या १० हजार दुई सय ७७ छ । वैदेशिक रोजगारीमा गण्डकीअन्र्तत कास्कीका महिला सबैभन्दा बढी गएका छन् ।

    गण्डकीबाट भने एक लाख छ हजार ४४ जना वैदेशिक रोजगारीमा छन् । तीमध्ये महिला १० हजार ७ सय २ छन् । यस अवधिमा जसमा १ हजार ६ सय ९२ महिला हुन् ।

    हाल एक सय ११ राष्ट्रमा श्रम आप्रवासनका लागि संस्थागतरुपमा खुला गरिएको छ । नेपाली पुरुषका लागि सबैभन्दा मुख्य गन्तव्य मलेसिया हो भने महिलाको युएई । नेपालबाट गत चैतसम्म ५ लाख ३९ हजार मानिस वैदेशिक रोजगारीमा गए ।

    एक हजार दुई सय आठ जनाको मृत्यु भयो भने तीन सय ३५ जना अंगभंग भए । विप्रेषण १२ खर्ब २० अर्ब ५६ करोड भित्रिएको छ । यो रकमले नेपालको कुल ग्राहस्थ उत्पादनमा करिब २३ प्रतिशत योगदान दिएको छ ।

  • विषादी प्रयोगबारे सचेत बन्दै कैलालीका किसान

    विषादी प्रयोगबारे सचेत बन्दै कैलालीका किसान

    कैलाली । रासायनिक मलको प्रयोगले मानव स्वास्थ्य र वातावरणमा प्रतिकूल प्रभाव पार्ने भएकाले कैलालीका किसान जैविक विषादीको प्रयोग गर्न थालेका छन् । कैलालीका किसानले रोग कीरा नियन्त्रण गर्न रासायनिक विषादीको साटो जैविक विषादीको प्रयोग गर्न थालेका हुन् ।

    विगतमा तरकारीमा कीरा लागेमा रासायनिक विषादी प्रयो गर्ने किसान आजभोलि स्वास्थ्य, वातावरण र माटो सुरक्षाका लागि सचेत बन्न थालेका छन् ।

    तरकारी तथा अन्नबालीमा रोग कीरा लाग्यो की बजारबाट रासायनिक विषादी ल्याएर प्रयोग गर्ने गोदावरी नगरपालिका–४ बास्कोटाकी दुर्गा मल्ल आजभोलि घरमै जैविक विषादी बनाएर प्रयोग गर्ने गरेको बताउँछन् ।

    ‘बाली बिरुवामा विनाशकारी कीरा, सुलसुले, जुका, चिप्लेकीरा, शङ्केकीरा, मुसा, चरा, अवान्छित झार तथा रोग सार्ने सूक्ष्म जीवाणु ढुसी, ब्याक्टेरिया, भाइरसलगायतको समस्या रहन्छ’, उनी भन्छन्, ‘विगतमा यी प्राणीलाई नाश गर्न रासायनिक विषादी प्रयोग गर्ने गरिन्थ्यो, आजभोलि घरमै बनाएर जैविक विषादी प्रयोग गर्ने गरेका छौँ ।’

    गोदावरी–४ खैरानाकी रेश्मीदेवी चौधरीले रोग कीरा लाग्यो की आफ्नै घरमा बनाएको जैविक विषादी प्रयोग गर्छिन् । ‘रासायनिक विषादीले गर्ने असरबारे जानकार थिइनँ, त्यसैले जथाभावी प्रयोग गरिरहेकी थिएँँ’, रेश्मीदेवीले भनिन्, ‘आजभोलि विषादी प्रयोगबारे सचेत भएकी छु । विषादी प्रयोगमा सावधानी नअपनाएमा वा उचित रुपमा उपयोग नगरिएमा यसले उपयोगकर्ता, मानिस, घरपालुवा पशु, वन्यजन्तु र लाभकारी कीरालाई समेत हानी पु¥याउँछ भनेर घरमै बनाएको विषादी प्रयोग गर्न थालेकी हुँ ।’

    किसानले जैविक विषादीका साथै मोहनी पासोसमेत थापेर कीरा नियन्त्रण गर्ने अभ्यास गरिरहेका छन् । यसले पनि बारीमा लगाएको बाली बचाउन सकिने उनीहरु बताउँछन् ।

    ‘जैविक विषादी तथा विभिन्न किसिमका पासोहरु थापेर कीरा नियन्त्रण गर्न सकिएन भने मात्र अलिकति रासायनीक विषादी प्रयोग गर्छौं, नभए गर्दैनौँ’, चुरे गाउँपालिका–३ काफल गैराका तेजबहादुर बोहराले भने, ‘जैविक विषादी प्रयोग गर्नु मानव स्वास्थ्यका लागि राम्रो हो । लामो र स्वस्थ जीवनका लागि जैविक विषादीको प्रयोग गर्नुपर्छ ।’

    जैविक विषादी खर्चका हिसाबले पनि राम्रो, मानव स्वास्थ्यलाई पनि हानी नगर्ने हुँदा जैविक विषादी प्रयोग गर्ने गरेको काफल गैराकै किसान मीनबहादुर शाहीको भनाइ छ । ‘मोहनी पासो र फेरोमन ट्रयापलगायतका प्रविधि कीरा नियन्त्रणमा प्रयोग गरिरहेको छु’, उनले भने, ‘तरकारीमा किसानले नजानेर धेरै विषादी प्रयोग गर्ने रहेछन्, यसबाट मानव स्वास्थ्य सङ्कटमा पर्छ ।’

    सहजपुरका किसान डबलबहादुर खडायत पनि २०५८ सालदेखि तरकारी तथा फलफूल खेती गरिरहेका छन् । उनले पहिले तरकारी तथा फलफूल खेतीमा रोग, कीरा लागेमा रासायनिक विषादी किनेर प्रयोग गर्थे । तर अहिले उनले जैविक विषादीबाहेक आफ्नो बारीमा अरु विषादी प्रयोग गर्दैनन् ।

    ‘घर वरिपरि पाइने झारपातको प्रयोग गरेर विषादी बनाउँछु’, उनी भन्छन्, ‘गाउँघरमा अहिले किसानले रासायनिक विषादी प्रयोग गर्न थाले यो नराम्रो हो भनेर सिकाउन समेत थालेको छु । रासायनिक विषादी प्रयोगले फाइदाको साटो बेफाइदा गरिरहेको छ ।’

    कैलालीको चुरे गाउँपालिकाले पनि रासायनिक विषादीको साटो जैविक विषादी प्रयोगमा किसानलाई प्रोत्साहन गरिरहेको छ । जैविक विषादीबारे पालिकाका सबै किसान जानकार भएमा सहज हुने चुरे गाउँपालिका कृषि शाखा प्रमुख दीपक पाण्डे बताउँछन् । रासायनिक विषादीका असर धेरै रहेकाले किसानलाई सचेत गराउन थालिएको उनी बताउँछन् ।

    ‘पालिकाले रासायनीक विषादीको साटो जैविक विषादीमा जोड दिइरहेको छ । जैविक विषादीको फाइदा धेरै भएकाले यसको प्रयोग बढाउन किसानलाई सुझाव छ’, प्रमुख पाण्डे भन्छन्, ‘जैविक विषादी शत्रुजीवलाई मार्न प्रयोग गरिने जैविक वस्तु हुन् । जैविक वस्तुमा विभिन्न उपयोगी जीव, मित्रजीव एवं सूक्ष्म जीवहरू पर्नुका साथै विभिन्न जीव तथा वनस्पतिको तत्व, उत्पादन वा सक्रिय तत्वहरू मिसाएर बनाइन्छ ।’

    प्रमुख पाण्डेका अनुसार जैविक विषादी वातावरण मैत्री र वातावरणीय पक्षबाट स्वस्थ हुने गर्दछ र एकीकृत शत्रुजीव व्यवस्थापनको महत्वपूर्ण अंश मानिन्छन् ।

    कृषि बाली उत्पादन गर्दा र भण्डारणमा देखिने रोग कीरा नियन्त्रण गर्न सम्भव भएसम्म रासायनिक विषादीको विकल्प खोज्नुका साथै विषादीबाट स्वास्थ्यमा हुने अल्पकालीन र दीर्घकालीन असर न्यून गर्न सचेत हुनुपर्छ । -रासस

  • पशुपतिमा साउनभर कोटिहोम महायज्ञ आयोजना गरिने

    पशुपतिमा साउनभर कोटिहोम महायज्ञ आयोजना गरिने

    गोदावरी । आगामी साउन महिनाभर पशुपति परिसरमा कोटिहोम महायज्ञ आयोजना हुने भएको छ । ‘ऐतिहासिक श्री पशुपति कोटिहोम एवं एक सय आठ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ’ नाम दिइएको उक्त विराट महायज्ञ आगामी साउन १ देखि ३२ गतेसम्म सञ्चालन हुने मानवसेवा फाउण्डेसनका व्यवस्थापक लीलामणिरमण निरौलाले जानकारी दिएका  छन् ।

    महायज्ञ अवधिभर एक सय आठ पण्डितबाट विभिन्न पुराणको पाठ पारायण,  वैदिकमन्त्रसहित अनवरत रुपमा नियमित हवन, पाँच हजार १०० दिव्य कलश पूजन, चार वेद पाठ, ११ हजार बढी बालिकाको कन्या पूजन, हजारौँको तुलादान, २१ हजार बढी ज्येष्ठ नागरिकको सम्मान, तण्डुलाचल चामलको पर्वत निर्माण लगायतको कार्यक्रम पनि नियमित रुपमा सञ्चालन हुने निरौलाले जानकारी दिए ।

    महायज्ञमा वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेल, राधिका दासी, श्री राम कथावाचक चन्द्रकला सखी र श्रीमदभागवतकी लोकप्रिय युवा कथा वाचिका देवीप्रतिभा लगायतले कथावाचन गर्ने जनाइएको छ । ललितपुरको बाँडेगाउँमा सञ्चालित मामाघर आश्रम र भक्तपुरको चाँगुनारायणमा सञ्चालित छोरीको घर ज्येष्ठ नागरिक आश्रमको भवन निर्माण सहयोगार्थ उक्त महायज्ञ आयोजना हुन लागेको  निरौलाले बताएका छन् ।

    मानवसेवा फाउण्डेसन अन्तर्गत नै अहिले मामाघर आश्रम र छोरीको घर ज्येष्ठ नागरिक आश्रम सञ्चालनमा रहेका छन् । स्थापना भएको एक वर्ष मात्र भएको र उक्त मामाघर आश्रममा देशका विभिन्न स्थानका करिब ७५ जना अभिभावकविहीन बालबालिकाले निःशुल्क रुपमा गाँस, बास, कपास, स्वास्थ्य र शिक्षा प्राप्त गर्दै आएका छन् ।

    त्यस्तै छोरीको घर ज्येष्ठ नागरिक आश्रममा पनि दर्जनबढी बेसहारा आमाबुबाले आश्रय प्राप्त गर्दै आएका छन् । हाल दुवै आश्रम भाडाको घरबाट सञ्चालन भइरहेको उनले जानकारी दिए । देश विदेशमा रहेका नेपालीको सहयोगबाट भवन निर्माण गर्न सके हजारौँ भविष्यका कर्णधार बालबालिका अनि अनुभवका खानी ज्येष्ठ नागरिक आमाबुबाले स्याहार, सत्कार र असल संस्कार सिक्ने अवसर प्राप्त गर्ने विश्वास गरिएको छ ।

  • आफ्नै रेकर्ड ताेड्दै कामिरिताले २९औं पटक सगरमाथा चढेर राखे विश्व कीर्तिमान

    आफ्नै रेकर्ड ताेड्दै कामिरिताले २९औं पटक सगरमाथा चढेर राखे विश्व कीर्तिमान

    काठमाडौं । नेपाली पर्वतारोही कामीरिता शेर्पाले २९औं पटक सगरमाथा चुचुरोमा पुगेर आफ्नै रेकर्ड तोडेका छन् ।

    शेर्पाले आइतबार बिहान ७ बजेर २५ मिनेटमा सगरमाथाको शिखरमा पाइला टेकेको सेभेन समिट ट्रेकले जानकारी दिएको छ ।

    यसअघि २८ पटक सगरमाथा चढेर शेर्पाले आफनो नामको विश्व कीर्तिमान आफैँले भंग गरेका थिए । सेभेन समिट ट्रेक्स एभरेष्ट एक्सपिडिसन २०२३ अन्तर्गत उनी जेठ ९ गते २८ औं पटक सगरमाथा पुगेका थिए ।

    कामीरिताले ‘व्यक्तिगत सगरमाथाको सबैभन्दा सफल आरोहण’ को उपाधि जितेका छन् ।

    सेभेन समिट ट्रेकमा सिनियर गाईडका रूपमा कार्यरत नेपालको सोलुखुम्बुको थामे गाउँका कामीरिता शेर्पाले आफ्नो जीवन पर्वतारोहणमा समर्पित गरेका छन् र विश्वको सर्वोच्च शिखर सगरमाथाको पर्याय बनेका छन् ।

    जनवरी २, १९७० मा जन्मेका उनले दुई दशकभन्दा बढी समयदेखि हिमाल आरोहण गर्दै आएका छन्। उनले पाकिस्तानको केटु चो ओयु, ल्होत्से र मनास्लु लगायतका अन्य चुचुराहरू पनि सफल आरोहण गरेका छन् ।

  • मादल बजाउन सिक्दै महिलाहरु

    मादल बजाउन सिक्दै महिलाहरु

    पाल्पा रामपुरका महिलाहरु मादल बजाउन सिक्दै । रामपुर नगरपालिका ६ नम्वर वडा कार्यालयले संस्कृति संरक्षण कार्यक्रम अन्तर्गत महिलालाई मादल बजाउने सिप सिकाएको हो। तस्बिर ः सुशीला रेग्मी÷रासस
  • म्यानपावरको धन्दा : भिजिट भिसा

    म्यानपावरको धन्दा : भिजिट भिसा

    काठमाडौं । नेपाल सरकारले वैदेशिक रोजगारका लागि भिजिट भिसामा जाने प्रवृत्ति रोक्न कडाइ गरेको  बताए पनि व्यवहारमा सरकारी प्रयास असफल देखिएको छ । केही महिनाअघि नक्कली कागजातसमेत बनाएर नेपाली युवायुवतीलाई पठाएको अभियोगमा प्रहरीले नेपाल वायुसेवा निगमका अधिकृतसहित काठमाडौंबाट ६ वटा ट्राभल्स एजेन्सीका सञ्चालकलाई पक्राउ गरेपछि केही सुस्त बनेको भिजिट भिसाको ठगी धन्दा पुनः संगठित बनेको देखिएको छ ।

    भिजिट भिसा प्रयोग गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यूएई पु¥याइएका युवाहरु दुबई विमानस्थलमा अवतरण भएपछि मानव तस्करीमा संलग्न गिरोहले त्यसलाई सफल वैदेशिक यात्रा भन्दै भिडियो बनाएर सामाजिक सञ्जालमार्फत व्यापकरुपमा प्रचारप्रसार गरिरहेका छन् । उनीहरुले केही महिना यूएईमा बसेपछि युरोपेली मुलुकमा सहजरुपमा जान पाउने ‘ग्यारेन्टी’ नै गर्ने गरेका छन् ।

    भिजिट भिसाको सेटिङमा पठाउँदा पूर्ववत् रुपमा गिरोहले ४४ देखि ५५ हजारसम्म लिने गरेको समाचार स्रोत बताउँछ । नेपालबाट संस्थागत अर्थात म्यानपावर कम्पनीबाट गएका कतिपय कामदारले भनेअनुसार तलब तथा सेवा सुविधा नपाएको भनि गुनासो आइरहेको छ । तर भिजिट भिसा दुरुपयोग गरी युवायुवतीलाई यूएईमा लगेको समूहले एक हजारदेखि १५ सय यूएईको मुद्रा एइडी सजिलै पाउने भएकाले कुनै समस्या वा कठिनाइ नरहेको दाबी पनि सामाजिक सञ्चालन रहेका ती भिडियोमा गर्ने गरिएको छ ।

    नेपाल सरकारले घरेलु कामदारको रुपमा जान कुवेत, ओमान, यूएई, साउदी अरेबिया, कतार र इराकलगायतका देशमा पनि रोजगारीको अवसर रहेको भन्दै सम्पर्क गर्न ह्वाट्सएप, ईमोलगायतका सामाजिक संजालको माध्यमबाट प्रचारप्रसार गर्ने गरिएको छ ।

    आकर्षक रोजगारीका लागि ठगी गर्नेहरुले यूएईलाई सुरक्षित कार्यस्थल बनाएर बसेको धेरैको अनुमान छ । विगतमा इन्टरपोल प्रहरीले ठगीका केही आरोपीलाई पक्राउ गरेपछि ठगीका अन्य अभियुक्तहरु पनि पक्राउ पर्न सक्ने आशा बढाएको थियो । तर सामाजिक सञ्जालमा देखिएका प्रचारप्रसार सामग्रीले सेटिङवालाहरु निस्फिक्री धन्दा चलाउन सक्रिय रहेको देखिएको छ ।

  • बलात्कार मुद्दामा गायक रवि ओड प्रहरी नियन्त्रणमा

    बलात्कार मुद्दामा गायक रवि ओड प्रहरी नियन्त्रणमा

    काठमाडौं । नेपाल आइडल विजेता गायक रवि ओड प्रहरी नियन्त्रणमा रहेका छन्। वैवाहिक बलात्कारसम्बन्धी मुद्दामा पक्राउ पूर्जी जारी भएका ओडले बिहीबार प्रहरी समक्ष आत्मसर्मपण गरेका हुन्।

    यही चैत २० गते रविकी श्रीमतीले कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमा उजुरी दिएकी थिइन्। कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ओड बिहीबार प्रहरी कार्यालय झलारीमा आफैं उपस्थित भएको जिल्ला प्रहरी कार्यालयले कञ्चनपुरका प्रवक्ता, डिएसपी उमेश जोशीले जानकारी दिएका छन्।

    डिएसपी जोशीका अनुसार रविलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ। ‘ बिहीबार रवि आफैं इप्रका झलारीमा हाजिर हुनुभएको हो। त्यहाँ पाँच दिनको म्याद थपेर हिरासतमा राखेर अनुसन्धान हुन्छ। अनुसन्धानपछि अदालतमा पेश गर्छौं,’डिएसपी जोशीले देशसञ्चारसँग भने।

    सांगीतिक कार्यक्रमको सिलसिलामा देश बाहिर रहेका ओडले नेपाल आएपछि प्रहरी समक्ष आत्मसर्मपण गरेका हुन्। उनको नाममा चैत २० गते श्रीमतीले उजुरी दिएसँगै अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो।

  • प्रधानमन्त्रीको प्रस्ताव नमानेपछि कांग्रेसले रविमाथि सहकारी ठगीको आरोप लगायोः ओली

    प्रधानमन्त्रीको प्रस्ताव नमानेपछि कांग्रेसले रविमाथि सहकारी ठगीको आरोप लगायोः ओली

    काठमाडौँ  । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसले प्रधानमन्त्री बन्न गरेको प्रस्ताव अस्वीकार गरेपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीको आरोप लगाएको बताएका छन्।

    पार्टीको काठमाडौँ महानगरपालिका कमिटीले शनिबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सहकारी ठगीको आरोप लगाए पनि त्यसको खण्डन संसदमा गर्न उपप्रधानमन्त्री लामिछानेलाई नदिएको जिकिर पनि गरे।

    उनले आफूले प्रधानमन्त्री बन्न गरेको प्रस्ताव नमान्दा उपप्रधानमन्त्री लामिछाने कसरी सहकारीको भ्रष्टाचारी भयो? भनि प्रश्नसमेत गरे। उनले कांग्रेसले सत्ता स्वार्थको लागि उपप्रधानमन्त्री लामिछानेले सहकारीमा ठगी गरेको भन्दै हिँडेको पनि जिकिर गरे।

    उनले नेपाली कांग्रेस लोकतान्त्रिक शक्ति नभएको भन्दै उसले सत्ता स्वार्थको लागि जे पनि गर्न थालेको टिप्पणी गरे।

    उनले भने, ‘अचम्मको कुरा के भने नेपाली कांग्रेस एउटै मान्छेलाई राति प्रधानमन्त्री बनिदिनुस् डेढ वर्षका लागि भन्न जान्छ। कागज लिएर सम्झौता गरौँ भन्न जान्छ राति। त्यो कागजमा उसले सम्झौता नगरेपछि भोलिपल्ट यो त सहकारीको भ्रष्टाचारी हो भन्दै उफ्रिन्छ। रातिसम्म त्यो मान्छे कांग्रेसको पछि लाग्ने हो भने प्रधानमन्त्री बन्न लायक भयो। कांग्रेसको पछि लागेर प्रधानमन्त्री हुन्न भन्यो भने त्यो मान्छे भ्रष्टाचारी भयो। के भएको हो कांग्रेस? संसद चल्न दिन्न भन्छ, किन? आफू बोल्छ, अरुलाई आरोप लगाउँछ। आरोपित मान्छेले जवाफ दिन्छु भन्दा जवाफ दिन दिँदैन।’

  • नेपालको नक्सा नोटमा छाप्दा अरु देशले चिन्ता गर्नुपर्दैन : अध्यक्ष ओली

    नेपालको नक्सा नोटमा छाप्दा अरु देशले चिन्ता गर्नुपर्दैन : अध्यक्ष ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको नयाँ नक्सा नोटमा समावेश गर्दा अरु देशलाई चिन्ता हुनुनपर्ने बताएका छन् ।

    नेपाल बुद्धिजीवी परिषद्को राष्ट्रिय परिषद् भेलाको शनिबार शुभारम्भ गर्दै पूर्वप्रधानमन्त्री ओलीले नेपालको संसदले पारित गरेको राजनीतिक नक्सा, नेपाल सरकारको निर्णय र नेपालकै लगानीमा मुद्रामा छापिँदा अरुले टाउको किन दुखाउनुपर्ने भनी प्रश्न गरे । उनले देशभक्ति र स्वाधीनताका लागि बुद्धिजीवीहरुको महत्वपूर्ण भूमिका रहनेमा जोड दिए ।

    भेलालाई एमाले नेताहरू भानुभक्त ढकाल, रघुजी पन्त, विद्या भट्टराईलगायतले सम्बोधन गर्दै शुभकामना दिए। दुई सञ्चालन हुने भेलामा देशभरका बुद्धिजीवीहरुको सहभागिता रहेको परिषद्का महासचिव गजेन्द्र थपलियाले जानकारी दिए ।

  • गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न माग

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न माग

    रुपन्देही । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संग सिद्धार्थ उद्योग वाणिज्य सङ्घ भैरहवारका प्रतिनिधिले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नियमति सञ्चालनको माग राख्दै ध्यानाकर्षण गराएका छन् ।

    शुक्रबार नवलपरासी (वर्दघाट सुस्ता पश्चिम) मा एक कार्यक्रममा आएको प्रधानमन्त्री दाहाललाई सङ्घका अध्यक्ष ठाकुरकुमार श्रेष्ठसहितको टोलीले ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

    “भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका नाममा साप्ताहिक रुपमा एकतर्फी मात्र उडान भैरहेकोमा अब यो उडानलाई कम्तीमा दैनिक दुईतर्फी रुपमा उडान सञ्चालन हुने व्यवस्थासहित ध्यानाकर्षण गराएका हौँ ।” सङ्घका अध्यक्ष श्रेष्ठले भने, “हामीलाई विश्वास छ गत वर्ष जेठ महिनामा एकतर्फी उडान सुरुआत भएजस्तै यस वर्षको जेठ महिनाभित्रै दैनिक दुईतर्फ हवाई उडान सुरु हुनेछ ।”

    तत्कालीन समयमा प्रधानमन्त्रीको पहलमा नेपाल एयरलाइन्सले मलेसियाबाट भैरहवा साताको एक उडान गर्दै आएको छ ।

    विमानस्थलवाट नियमित उडान नहुँदा यस क्षेत्रका पर्यटन बजारहरू चलायमान हुन नसकेको र निजी क्षेत्रको अर्बौंको लगानी जोखिममा परेको सङ्घका अध्यक्ष श्रेष्ठले बताए। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधा अन्तर्राष्ट्रिय उडानहरू सुरुवात गर्न सके केही आशाका किरणहरू देखिने उनको भनाइ छ ।

    सङ्घले ध्यानाकर्षण पत्रमा वैदेशिक रोजगारमा जानेका लागि श्रमसँगै रपन्देहीमै स्वास्थ्य परिक्षणको व्यवस्था गराउन माग गरेको छ । “श्रमको कार्य भैरहवाबाटै हुने भए पनि स्वास्थ्य परीक्षणका लागि काठमाण्डौमा नै जानु पर्ने व्यवस्था रहेको छ ।” अध्यक्ष श्रेष्ठले भने “नेपाल सरकारले वैदेशिक रोजगारमा जानेहरुको स्वास्थ्य जाँच परीक्षण भैरहवा बुटवलकै अस्पताल वा प्रयोगशालाबाट गर्न मिल्ने व्यवस्था छिटोभन्दा छिटो मिलाओस ।”

    यस्तै दुबई, कतार लगायतका देशका भिसा सेन्टरको स्थापना भैरहवामा गर्न, आइएलएस (इन्स्टमेन्ट ल्याण्डिङ सिस्टम) उपकरण विमानस्थलमा जडान रहेको तर हालसम्म पनि प्रयोगमा आउन नसकेकाले यो उपकरण सञ्चालनमा ल्याउन पनि सङ्घले माग गरेको छ ।

    भैरहवाबाट उडान गर्ने विमान सेवा कम्पनीलाई कम्तिमा यहाँको उडानको आधारमा कर छुट सहुलियत साथै कम्तीमा पाँच वर्षको लागि ग्राउन्ड ह्य्यान्ड्लिङ आफैँ गर्न सक्ने व्यवस्था गरी आकर्षित गर्न प्रधानमन्त्रीलाई सङ्घले माग गरेको छ ।

    भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने विमानलाई हवाई इन्धनको मूल्य काठमाडौंमा भन्दा सस्तो गर्न पनि आग्रह गरेको छ । अहिले तराईतिरै बाट काठमाण्डु पुग्ने हवाई इन्धनको मूल्य काठमाडौ र तराईमा एकै रहेको छ । स्थानअनुसार इन्धन मूल्य कायम गरे विमानसेवा कम्पनीको उडान खर्च कम हुने र उनीहरुलाई आकर्षित गर्न सकिने श्रेष्ठले बताए।

    चीन, थाइल्यान्ड, जापान, दक्षिण कोरिया, श्रीलङ्का, भियतनाम, कम्बोडिया म्यान्मार जस्ता बढी वृद्ध धर्म मान्ने देश हरुबाट लुम्बिनी भ्रमणमा बढी आउने गरेका छन । ती देशहरूसँग कूटनीतिक पहल गरी कम्तीमा हप्ताको एक उडानका लागि अनुरोध गर्न आग्रह गरिएको श्रेष्ठले बताए ।

    यस्तै नेपाल एयरलाईनसँगै नेपालको अर्को निजी कम्पनी हिमालय एयरलाइन्सलाई पनि साताको एउटा मात्र भए पनि उडान गराइदिने व्यस्था गर्न संघले आग्रह गरेको छ । भैरहवाबाट दिल्ली, लखनउ लगायत भारतका सहरमा उडानका लागि आफ्ना भारतीय समकक्षी समक्ष पहल गरिदिने आग्रह पनि गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए।

    विमानस्थल नियमित सञ्चालनका लागि यहाँका निजी क्षेत्रले के कार्य गर्नुपर्ने हो त्यसका लागी नेतृत्व लिनुपरे सिद्धार्थ उद्योग वाणिज्य सङ्घ तयार रहेको उनले बताए । यस विषयमा प्रधानमन्त्रीले पनि सकारात्मक चासो दिएको श्रेष्ठको भनाइ छ । सङ्घले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्रीले यसको लागि पहल जारी रहेको बताएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।