Blog

  • शिल्पीमा परियारको नाटक ‘बाजी’ 

    शिल्पीमा परियारको नाटक ‘बाजी’ 

    काठमाडौं। रूसी कथाकार एन्टोन चेखवको कथा ‘द बेट’ मा आधारित नाटक ‘बाजी’ को यहीँ बैशाख २४ गतेदेखि बत्तीसपुतली स्थित शिल्पी थिएटरमा मञ्चन सुरु भएको छ। नाटकलाई रंगकर्मी रविन परियारले नाट्य रूपान्तरण तथा निर्देशन गरेका छन्। परियारको यो पहिलो नाटक निर्देशन हो ।

    एन्टोन चेखवले सन् १८८९ मा लेखेको कथा ‘द बेट’ एक सोच उत्तेजक कथा हो। जसले मानवको प्रकृति, नैतिकता र ज्ञानको खोजीका विषयवस्तुहरू माथी अन्वेषण गरेको छ। नाटकले भौतिक सम्पत्ति र नैतिक सम्पत्तिको मूल्य बीचको भिन्नतालाई परिभाषित गर्न खोजेको छ।

    शिल्पी थिएटरको प्रस्तुति रहेको नाटक ‘बाजी’मा अनुप तिमिल्सिनाले संगीत संयोजन गरेका छन्। यसैगरी प्रकाश व्यवस्थापन प्रेम चन्द पाण्डेयको रहेको छ भने भेसभुषा संगीता उराँवले गरेकी छिन्।

    ‘बाजी’ मा कलाकारहरू गोविन्द ओली, सुमित भण्डारी, सुशीला विश्वकर्मा, धनराज सुनार, रविन परियार र जय प्रकाश ताजपुरियाले अभिनय गरेका छन्।

    नाटक यही वैशाख ३० गतेसम्म मंगलबार बाहेक हरेक दिन साँझ ५:३० बजे र शनिबार दिउँसो १ बजे अतिरिक्त शो मञ्चन हुनेछ।

  • पशुपति क्षेत्र विकास कोष राजनीति गर्ने थलो होइन: पर्यटन मन्त्री तामाङ

    पशुपति क्षेत्र विकास कोष राजनीति गर्ने थलो होइन: पर्यटन मन्त्री तामाङ

    काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले पशुपति क्षेत्र विकास कोषलाई राजनीति गर्ने थलो बन्न नदिने बताएका छन् । आज पशुपति क्षेत्र विकास कोषको ३८ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री तामाङले कोषलाई राजनीतिक स्वार्थ पूरा गर्ने थलोको रूपमा हेर्न नहुने बताए ।

    उनले विगतमा पशुपति विकास कोष गैर राजनीतिक आध्यात्मिक थलो भएको बताए । पछिल्लो समय कोष राजनीति गर्ने थलोको रूपमा प्रयोग भए पनि अब त्यस्तो हुन नदिने प्रतिबद्धता जनाए । उनले गैर राजनीतिक ठाउँमा आएर राजनीति गर्नाले नेपालको विकास हुन नसकेको दाबी गरे ।

    उनले पशुपति क्षेत्र विकास कोष गैर राजनीतिक आध्यात्मिक पवित्र थलो भएकाले आफूले धार्मिक उद्देश्य प्राप्तिको निम्ति काम गर्ने प्रतिबद्धता जनाए । उनले पशुपति क्षेत्र विकास कोषमा राजनीतिक गर्न नहुने विषयमा आफू सचेत रहेको बताए । पशुपति क्षेत्र, विश्व सम्पदा सूचिमा सूचिकृत,पूर्वीय दर्शन र पूर्वीय संस्कृतिको महत्त्वपूर्ण केन्द्र विश्वमा नेपाललाई चिनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उनको भनाई छ । मन्त्री तामाङले पशुपति क्षेत्रलाई व्यवस्थित प्रवर्द्धन गर्न सके धार्मिक पर्यटकहरूको आकर्षणको केन्द्र बन्ने बताए ।

    उनले करोडौं जनसङ्ख्या भएको हिन्दुधर्मप्रति आस्था राख्ने भारतका हिन्दु धर्मालम्वीहरुलाई सहज रूपमा भित्र्याउन पशुपति क्षेत्रमा धार्मिक पर्यटकका लागि रमणीय भौतिक र आध्यात्मिक परिवेश बनाउन आवश्यक रहेको बताए । रमणीय र आध्यात्मिक परिवेश बनाउन सके मुलुकको विकासको लागि आर्थिक उन्नति र प्रगतिमा पशुपति क्षेत्रले अभूतपूर्व योगदान पुर्याउने बताए ।

  • संघीय संसद् अधिवेशन आजदेखि

    संघीय संसद् अधिवेशन आजदेखि

    काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको वर्षे अर्थात् बजेट अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । 

    राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यही वैशाख २० गते संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेअनुरूप सदनको बजेट अधिवेशन प्रारम्भ हुन लागेको हो ।

    नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आज अपराह्न २ बजेका लागि आह्वान भएको अधिवेशनमा उपस्थितिका लागि सबै सांसद सदस्यलाई सङ्घीय संसद् सचिवालयले यसअघि नै सार्वजनिक सूचना जारी गरेर अनुरोध गरिसकेको छ ।

    आगामी आर्थिक वर्षको आयव्ययको अनुमानित विवरण (बजेट) जेठ १५ मा संसद्मा पेस गर्नुपर्ने संवैधानिक प्रावधान छ । त्यसअघि सरकारको वार्षिक नीति तथा कार्यक्रम दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपतिबाट प्रस्तुत हुनेछ ।

    अधिवेशनलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सभामुख देवराज घिमिरेले संसद्मा प्रतिनिधित्व गरेका प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग छलफल गरिसकेका छन् ।

  • मुख्यमन्त्री कार्कीले लिए शपथ

    मुख्यमन्त्री कार्कीले लिए शपथ

    विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार मुख्यमन्त्री कार्कीलाई प्रदेश प्रमुख परशुराम खापुङ शपथ गराएका हुन् ।

    यसअघि बिहीबारनै प्रदेश प्रमुख खापुङले एमाले प्रदेश संसदीय दलका नेता कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

  • खेल पर्यटन प्रवर्धन गर्न अन्तर्राष्ट्रिय ‘रक क्लाइमिङ’ प्रतियोगिता

    खेल पर्यटन प्रवर्धन गर्न अन्तर्राष्ट्रिय ‘रक क्लाइमिङ’ प्रतियोगिता

    काठमाडौं । खेल र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडि बढाउनका लागि सोलुखुम्बु जिल्लाको माप्य दूधकोशी गाउँपालिका-५ स्थित महभिरमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता हुने भएको छ ।

    साहसिक खेल ‘रक क्लाइम्बिङ’ मार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्न सोलुखुम्बुको महभिरमा आगामी असार ३ र ४ गते अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता आयोजना गर्न लागिएको हो।

    प्रतियोगिता आयोजनाका लागि बुधबार काठमाडौंमा माप्य दूधकोशी गाउँपालिका र नेपाल आरोहण खेल संघबीच सम्झौता भएको छ। सम्झौतापत्रमा गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राई र संघका अध्यक्ष हरि धरेलले हस्ताक्षर गरे।

    पर्यटन विकासको प्रचुन सम्भावना भएको माप्य दूधकोशीले गाउँपालिकाभित्रको पर्यटन प्रवद्र्धनका लागि अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष राईले बताए।

    उक्त प्रतियोगिताले माप्य दूधकोशीमात्र नभई सोलुखुम्बु जिल्लामा नै पर्यटन प्रवर्द्धननमा टेवा पुग्ने उनले बताए।

    नेपाल आरोहण खेल संघका अध्यक्ष धरेलले खेल र पर्यटन विकासमा प्रतियोगिताबाट सहयोेग पुग्ने विश्वास व्यक्त गरे।

    प्रतियोगितामा छ देशका अन्तर्राष्ट्रियस्तरका ‘क्लाइम्बर’ले भाग लिने उनकाे भनाइ छ।

    संघले राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत रहेर खेलकुदमार्फत् पर्यटन प्रवर्द्धन गर्दै आएको छ। रासस

  • कलंकीबाट हराएकी स्नेहा ८ दिनपछि पशुपति क्षेत्रमा भेटिइन्

    कलंकीबाट हराएकी स्नेहा ८ दिनपछि पशुपति क्षेत्रमा भेटिइन्

    काठमाडौं । आठ दिनअघि काठमाडौँको कलङ्कीबाट हराएकी चितवनकी २० वर्षीया स्नेहा लामिछाने बुधबार पशुपति क्षेत्रमा भेटिएकी छिन् ।

    जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले लामिछानेलाई पशुपति मन्दिरको आरतीस्थलमा फेला पारिएको जानकारी दिए । उहाँ हराउनुका कारण पत्ता लागि नसकेको र अनुसन्धान जारी रहेको बताए ।।

    “अहिले उनी विक्षिप्त अवस्थामा छिन्, ‘काउन्सिलिङ’ गरेपछि मात्रै जानकारी लिने काम हुन्छ”, प्रवक्ता अधिकारीले भने । उनको घर चितवनको कालिका नगरपालिका–६ जमुनापुर भए पनि लामो समयदेखि कलङ्कीस्थित मामाघरमा बसेर इञ्जिनियरिङ पढ्दै आएकी थिइन् । उनी यही वैशाख १९ गतेदेखि हराइरहेकी थिइन् ।

    परीक्षा आउन लागेकाले तयारीका लागि पुस्तकालयबाट पुस्तक लिन निस्किएकी उनले पछि फोन गरेर घर आउन लागेको बताएपछि सम्पर्कविहीन भएकी उनका परिवारले बताएको छ ।

  • हिजो पार्टी फुटाउने कहीँबाट सञ्चालित थिए, अब गुट बनाउने छुट कसैलाई छैन : केपी ओली

    हिजो पार्टी फुटाउने कहीँबाट सञ्चालित थिए, अब गुट बनाउने छुट कसैलाई छैन : केपी ओली

    रुपन्देही । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र गुट बनाउने छुट कसैलाई नभएको बताएका छन् ।

    ‘हिजो गलत मनसायबाट पार्टी फुटाउनेहरू कहीँबाट सञ्चालित थिए, अहिले उनीहरूको के हालत भएको छ, केही स्वार्थी व्यक्ति पार्टीमा हुँदा कति धेरै क्षति पुरायो भन्ने विषय सबैलाई प्रष्ट छ’ नेकपा एमाले कपिलवस्तुको १० औँ अधिवेशन उद्घाटन कार्यक्रममा उनले भने ।

    ‘पार्टीभित्र गुट बनाउने छुट कसैलाई छैन, यसले कसैलाई फाइदा हुँदैन, पार्टीलाई फाटो ल्याउँछ, एमालेलाई गुटबन्दी स्वीकार्य छैन, योबारे सबै नेता कार्यकर्ता स्पष्ट हुनुपर्छ, अब गुटबन्दीविरुद्ध सबै नेता कार्यकर्ता लागौँ । गुटबन्दी मुर्दावाद भनौँ’ ओलीले भने ।

    ‘हिजो एमालेभित्र रहेका केही स्वार्थीलाई पचेन, डाहा भयो, उनीहरू कहाँबाट सञ्चालित भएका हुन् रु गलत मनसायले पार्टी फुटाए, कम्युनिष्ट पार्टीको सरकार ढलाएर दक्षिणपन्थीलाई बुझाए, अझै पनि महसुस गरेका छन् वा छैनन् ?’ एमाले अध्यक्ष ओलीले भने–‘कपिलवस्तुले त्यो सबै षडयन्त्रविरुद्ध बनेको गठबन्धनविरुद्ध एकजुट भएको हो पार्टी केन्द्रले कपिलवस्तुलाई उच्च सम्मान गरेको छ । अब पनि त्यो सम्झनुपर्‍यो ।’

    अहिले धेरै ठाउँमा आकांक्षी धेरै भएको विषय उल्लेख गर्दै सकेसम्म निर्वाचनभन्दा सहमतिमै नेतृत्व छान्न आग्रह गरे । ‘लडे पनि एउटाबाहेक अरूको सिङ भाँचिने नै हो, जित्नेको पनि सिङ हल्लिएर रहने हो, त्यसैले धैर्यता गरौँ, पालो सबैको आउँछ, सकेसम्म चुनावमा नजानुस्, धैर्यता र समझदारी बनाउन सिक्नुस् । उपाय नलागे निर्वाचनका लागि ढिलाइ नगर्नुहोस्’ ओलीले भने–‘म १४ वर्ष जेल बस्दा केही ढिलो भएन, एक कार्यकाल पर्खनुस्, अर्कोमा पालो आइहाल्छ नि । भइएन छ भने अर्को ठाउँमा अवसर पाइन्छ नि । सकेसम्म एकले अर्कोलाई त्यागेर अगाडि बढ्नुस् पार्टीले कुनै दिन मूल्यांकन गर्छ, गर्छ ।’

    अध्यक्ष ओलीले नेतृत्वको लागि माथिबाट कसैलाई केही आश भरोसा नदिइएको प्रष्ट पारे । ‘माथिबाट कसैको कसैलाई समर्थन वा विरोध हुँदैन । जसले सहमतिमा टुङ्गाउँछ वा जसले बढी भोट ल्याउँछ उसैलाई समर्थन हुन्छ, तर जित्नेले कुनै घमन्ड गर्न पाउनेछैन ।’ उनले भने । अध्यक्ष ओलीले कपिलवस्तुमा पार्टीले गरेको प्रगतिको सम्मान गर्दै उचित जिम्मेवारी पनि दिएको जनाए ।

    ‘कपिलवस्तुले उल्लेख्य प्रगति गरेको छ, अवसर पनि पाएको, देशमै ८ मन्त्री हुँदा १ पाएको छ, राष्ट्रिय सभाको उपाध्यक्ष यहीबाट हुनुहुन्छ, प्रदेशमा पनि मन्त्री यहाँबाट हुनुहुन्छ,’ ओलीले भने ‘अहिलेको अधिवेशन सामान्य होइन । लुम्बिनीजस्तो ठाउँमा रहेको प्रदेशमा एमालेको एकल बहुमत नहुनु राम्रो होइन । अनेक थरी शिला खोज्नुपरेको छ सरकार बनाउन, अरुबेला सामान्य हुने पार्टी सरकार बनाउँदा तौल बढी हुन्छ, त्यसैले पार्टीलाई बलियो बनाउने गरी लाग्नुस्, ३ वटै तहमा स्पष्ट बहुमत ल्याउने मिसनमा जुट्नुहोस् ।’

    उनले मिसन ०८४ सामान्य नभएको बताउँदै एमालेको बहुमत नभएकाले धेरै विकासका काम हुन नसकेकोले अब पूर्ण बहुमतका साथ तीनै तहमा सरकार बनाउने योजनामा साथ दिन आग्रह गरे ।

    ’एमालेको काँधमा लोकतन्त्रको प्रवर्द्धन गर्ने, सुशासन ल्याउनेसँगै विकास र समृद्धिको जिम्मेवार छ, यसका लागि एकल सरकार नभई सम्भव छैन, यो कुरा बुझेर अघि बढ्न आग्रह छ । राष्ट्रियताको रक्षाका लागि, पनि एमालेलाई बलियो बनाउनुपर्दछ । तीनै तहमा बहुमत बनाउन नसके विकास असम्भव छ ।, अहिलेको अवस्थामा त यति काम गरेका छौँ, बहुमत भए कति गर्थ्यौ होला ?’ ओलीले भने ।

    अधिवेशन उद्घाटनमा एमाले केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज पद्मा अर्याल, पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज खिमलाल भट्टराई, नेताहरू मङ्गलप्रसाद गुप्ता, बृजेश गुप्तालगायतले सम्बोधन गरेका थिए । दुई दिनसम्म चल्ने अधिवेशनमा ५५९ जना प्रतिनिधि रहेका छन् ।

  • आज आमाको मुख हेर्ने दिन, मातातीर्थ कुण्डमा मेला

    आज आमाको मुख हेर्ने दिन, मातातीर्थ कुण्डमा मेला

    काठमाडौं । आज मातातीर्थ औँसी । आमाको मुख हेर्ने पर्वका रूपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका  साथ देशभर मनाइँदै छ ।

    वैशाख कृष्ण औँसीका दिन मनाइने यो पर्वमा बिहान स्नान गरी शुद्ध भएर आफ्नी आमालाई सुन्दर वस्त्र लगाइदिने तथा मीठा र तागतिला खानेकुरा खुवाएर आशीर्वाद लिने चलन छ । आमा नभएकाहरू भने आमाको श्राद्ध गरी स्मरण गर्दछन् । यसो गरेमा मातृऋणबाट मुक्ति मिल्ने शास्त्रीय मान्यता छ ।

    धर्मशास्त्रमा आमाको स्थान परमात्मा भन्दा उच्च मानिएको छ । आमालाई पण्डित, आचार्य र पिताभन्दा पनि महान् मानिएको छ । पितृऋण तिर्न माता, पितालाई जीवित हुँदा सम्मानपूर्वक खुसी राख्ने तथा मृत्युपछि श्रद्धापूर्वक श्राद्ध गर्नुपर्ने शास्त्रीय विधान  छ । आज बिहानैदेखि दिवङ्गत आमाको सम्झनामा चन्द्रागिरि नगरपालिका–६ मातातीर्थ कुण्डमा मेला लागेको छ ।

    आमा नहुने नरनारी उक्त कुण्डमा स्नान तथा हरिहर (विष्णु र शिव)को दर्शन र पूजाअर्चना गरिरहेका स्थानीय नवीन न्यौपानेले बताए । मातातीर्थ कुण्डमा स्नान गरेमा मातृऋणबाट मुक्त हुने जनश्रुति छ ।

  • भेप प्रतिबन्ध लगाउने तयारीमा सरकार

    भेप प्रतिबन्ध लगाउने तयारीमा सरकार

    काठमाडौँ । सरकारले विद्युतीय चुरोट (भेप)मा प्रतिबन्ध लगाउने प्रक्रिया सुरु गरेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले प्रतिबन्ध लगाउने प्रक्रियामा सहयोग गर्न विभिन्न मन्त्रालयलाई आग्रह गरेको छ ।

    केन्द्रका निर्देशक केशवराज पण्डितले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भन्सार विभाग र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई विद्युतीय चुरोटको उपभोग गर्न नपाउने व्यवस्था कार्यान्वयनमा सहयोग गर्न आग्रह गरेका छन् ।

    सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका २०७१ को दफा २८ को उपदफा ४ मा ‘कसैले पनि इलेक्ट्रोनिक सिगरेटको उत्पादन, आयात, बिक्री वितरण, सार्वजनिकस्थल र सार्वजनिक यातायातमा उपभोग र सञ्चारमाध्यमबाट प्रवद्र्धन तथा विज्ञापन गर्न पाइने छैन’ भन्ने व्यवस्था रहेकाले सोही कार्यान्वयन गर्नका लागि पत्राचार गरिएको उनले बताए ।

    केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक डा भक्तबहादुर केसीले अर्थ र सञ्चारमन्त्रायले निर्देशिकामा भएको कुरालाई कार्यान्वयन गर्नसाथ विद्युतीय चुरोटको नेपालबाट प्रतिबन्ध हुने बताए । उनले कतिपयले चुरोटको सेवन छाड्नका लागि विद्युतीय चुरोटको सेवन गर्ने गरेको भन्दै चुरोट जतिकै विद्युतीय चुरोटले पनि स्वास्थ्यमा हानी गर्ने बताए । उनले सुर्ती सेवनको गेट–वेका रुपमा विद्युतीय चुरोट रहेकोसमेत बताए ।

    “ विद्युतीय चुरोटको सेवनले चुरोट खान सिकाउँछ । यसले निकोटिनको लत बसाउने काम गर्दछ”, उनले भने, “त्यसैले विद्युतीय चुरोट सुर्तीजन्य पदार्थ सेवनको गेट–वेका रुपमा रहेको छ ।”

    विद्युतीय चुरोटले मानिसको मुटु र फोक्सोमा सिधैँ असर गर्नुको साथै मुख जल्ने जस्ता पनि समस्या गराउनुको साथै सेवन गरिरहेको मानिससँगै बसिरहेको अर्को मानिसलाई पनि यसले हानी गर्ने उनको भनाइ छ ।

    नेपालमा विद्युतीय चुरोट विभिन्न फ्लेवरमा आउने गरेको छ । ब्लाकवेरी, ब्लुवेरी, मेलन, पाइनापल, गाभा, म्याङ्गो जस्ता फ्लेवरमा आउने गरेको छ ।

    भन्सार विभागको तथ्याङ्कमा गत आर्थिक वर्षमा वार्षिक ३२ लाख २३ हजार छ सय ८७ थान विद्युतीय चुरोटका डिभाइस नेपाल आउने गरेको बताए ।

    तीमध्ये ३१ लाख ७५ हजार आठ सय १५ थान ती विद्युतीय चुरोट चीनबाट मात्र आउने गरेको छ । यस्तै अमेरिकाबाट दुई लाख ६५ हजार ६४०, सयुक्त अरब इमिरेट्सबाट १२ हजार नौ सय ६७ थान आउने गरेका छन् । भारत, बेलायतलगायत देशबाट पनि विद्युतीय चुरोट आउने गरेको छ ।

    केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक डा‍। केसीका अनुसार नेपालमा वार्षिक ३२ अर्ब बराबरको विद्युतीय चुरोटको व्यापार हुने गरेको छ । उनले नेपालमा विगत पाँच वर्षमा दुई सय गुणाले आयात बढेको बताए । एउटा विद्युतीय चुरोट रु १० हजारदेखि १३ हजारसम्म पर्छ ।

  • देशभर आंशिक बदली, तीन प्रदेशमा भारी पानी पर्ने पूर्वानुमान

    देशभर आंशिक बदली, तीन प्रदेशमा भारी पानी पर्ने पूर्वानुमान

    काठमाडौं । हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    अहिले मुलुकका पहाडी भागमा आंशिक बदली रही बागमती र कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको तथा बाँकी भूभागमा आंशिक बदली रहेको छ ।

    विभागका अनुसार आज दिउँसो देशभर आंशिक बदली हुनेछ ।कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै बाँकी प्रदेशको केही स्थानमा मेघगर्जन,चट्याङ र हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    यसैगरी आज राती देशभर आंशिक बदली हुनेछ । कोशी, मधेस बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन,चट्याङ र हुरीसहित हल्कादेखि मध्यम वर्षाका साथै बाँकी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन,चट्याङ र हुरीसहित हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

    आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै बाँकी प्रदेशका केही भागमा मेघगर्जन,चट्याङ र हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकोले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।