Blog

  • इलाम- २ मा एमालेका सुहाङ नेम्बाङ विजयी

    इलाम- २ मा एमालेका सुहाङ नेम्बाङ विजयी

    इलाम । इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङ विजयी भएका छन्।

    सुहाङले २७ हजार ७७२ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले २१ हजार ९४२ मत पाएका छन् ।

    पहिचानवादी उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत पाउँदा रास्वपा उम्मेदवार मिलन लिम्बुले ५ हजार ५० मत पाएका छन् ।

    ६९ हजार ३७४ मत गणना भइ सुहाङ विजयी भएका ह्रुन्।

  • नेपालमा नै विद्युतीय गाडी उत्पादन गर्न चिनियाँ कम्पनीसँग सम्झौता

    नेपालमा नै विद्युतीय गाडी उत्पादन गर्न चिनियाँ कम्पनीसँग सम्झौता

    काठमाडौं । नेपालमा विद्युतीय गाडी उत्पादन गर्न चिनियाँ कम्पनीसँग सम्झौता भएको छ । चिनियाँ कम्पनीसँगको साझेदारीमा विराटनगरमा कोशी एनके मोटर्सले विद्युतीय गाडी उत्पादन गर्ने भएको हो ।

    चिनियाँ कम्पनी सेमन गोल्डेन ड्रागन अटो बडीसँग कोशी एनके मोटर्स प्रालीले लगानी सम्मेलनमा सम्झौता गरेका हुन् ।

    चीनको फुजियन प्रान्तमा रहेको सेमन गोल्डेन ड्रागन अटो बडी र कोशी एनके मोटर्स बीच ४ पाङ्ग्रे विद्युतीय गाडी नेपालमा उत्पादन गर्ने सम्झौता भएको हो ।

    नेपालमा गाडी उत्पादन गर्ने दुई कम्पनीले पहिलो चरणमा ३ अर्ब लगानी गर्नेछन् । यसभन्दा पहिले पनि चीनको मोटेक्स कम्पनीले नेपालमा विद्युतीय गाडी उत्पादन गर्ने भनेर सम्झौता गरेको थियो । तर, सम्झौता भएको करिब ६ वर्ष हुँदा पनि उत्पादनको कुनै टुङ्गो लगेको छैन ।

  • बझाङ प्रदेशसभामा एमालेका दमन भण्डारी विजयी

    बझाङ प्रदेशसभामा एमालेका दमन भण्डारी विजयी

    कैलाली । उपचुनावअन्तर्गत बझाङ प्रदेशसभामा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी विजयी भएका छन् ।

    नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गर्दै दमनले सुदूरपश्चिम प्रदेशसभाको सीट सुरक्षित गरेका छन् ।

    एमालेका भण्डारीले ११६१२ मत ल्याउँदा कांग्रेसका सिंह ११३४३ मा रोकिए । दुईजनाबीचको मतान्तर २६६ रहेको छ ।

    यहाँ नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले ३८३१ मत ल्याउँदा नेकपा एसका दिलबहादुर सिंहले २५१४ मत ल्याए ।

  • बझाङको मतगणना अन्तिम चरणमा, एमालेको अग्रता

    बझाङको मतगणना अन्तिम चरणमा, एमालेको अग्रता

    बझाङ । बझाङ–१ प्रदेश सभामा नेकपा एमालेले अग्रता कायम राखेको छ । २८ हजार ५६८ सदर मत गन्दा एमालेले ३४२ मतको अग्रता बनाएको हो । एमाले उम्मेदवार दमनबहादुर भण्डारीले ११ हजार १०३ मत ल्याउँदा कांग्रेस उम्मेदवार अभिषेकबहादुर सिंहले १० हजार ७६१ मत ल्याएका छन् ।

    त्यस्तै, नेकपा माओवादी केन्द्रका उम्मेदवार जनकबहादुर बुढाले ३ हजार ७९७ मत तथा नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ५१० मत ल्याएका छन् ।

  • भाेट छिटाे गन्न इलाममा गणक टाेली थप

    भाेट छिटाे गन्न इलाममा गणक टाेली थप

    विराटनगर । इलाममा भइरहेको मतगणनाको परिणाम छिटो दिन गणना स्थल बढाइएको छ । आज बिहानबाट ३ स्थानबाट मतगणना भइरहेको छ । इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले ३ वटा टोली खटाएर मतगणना सुरु गरिएको बताए ।

    ६ वटा पालिकाको ४२ वटा वडा मध्ये अहिले सम्म २ वटा गाउँपालिकाको मतगणना सकिएको छ । फाकफोकथुम र चुलाचुली गाउँपालिकाको मतगणना सकिँदा अहिले माङ्सेवुङ्ग गाउँपालिकाको मतगणना चलिरहेको छ । माङ्सेबुङ्गको वडा नम्बर १ को मतगणना भने सकिएको छ । अहिले माङ्सेवुङ्ग वडा नम्बर २ र ३ को गणना जारी रहेको छ ।

    अहिलेसम्म २१ हजार ८१० मतगणना भएको छ । सो क्षेत्रमा भएको निर्वाचनमा ६९ हजार २८७ मत खसेको थियो । मतगणनामा ढिलाइ भएपछि गणना टोली बढाइएको प्रमुख जिल्ला अधिकारी यादवले बताए ।

    हिजो दिउँसोबाट मतगणना सुरु भए पनि अहिलेसम्म १४ वटा वडाको मात्र मतगणना भएको छ ।

  • इलाममा अग्रता बढाउँदै एमाले

    इलाममा अग्रता बढाउँदै एमाले

    इलाम । प्रतिनिधि सभा अन्तगरत इलाम–२ मा भएको उपनिर्वाचनमा नेकपा एमालेले आफ्नो अग्रता बढाउँदै लगेको छ । फाकफोक थुम गाउँपालिका र चुलाचुली गाउँपालिकाको १, २, ३ र ५ वडाको मत गन्दा एमाले उम्मेदवार सुहाङ नेम्वाङले १ हजार ९२४ को मतान्तर बनाएका हुन् ।

    सुहाङले ७ हजार ३३ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी डम्बरबहादुर खड्काले ५ हजार १०९ मत ल्याएका छन् ।त्यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ३ हजार ५१३ मत ल्याउँदा रास्वपा उम्मेदवार मिलन लिम्बु १ हजार १०२ मत सहित चौथो स्थानमा सीमित छन् ।

  • वेष्ट इन्डिज ‘ए’ सँग नेपाल १० रनले पराजित

    वेष्ट इन्डिज ‘ए’ सँग नेपाल १० रनले पराजित

    काठमाडौं । दोस्रो टी-२० खेलमा नेपाल वेष्ट इन्डिज ‘ए’ सँग १० रनले पराजित भएको छ ।

    वेष्ट इन्डिज ‘ए’ ले दिएको १६१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५० रन मात्र बनाउन सक्यो ।

    नेपालका लागि कप्तान रोहित पौडेलले ७१ रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन ।

    लोकेश बम १७, कुशल भुर्तेल २, गुल्सन झा २६, दीपेन्द्रसिंह ऐरी ३, आरिफ शेख १२, सोमपाल कामी ३, अनिलकुमार शाह एक र कुशल मल्ल शुन्य रनमा आउट भए ।

    बलिङमा वेष्ट इन्डिज ‘ए’ गुडाकेश मोती र ओबेद म्याककोयले दुईदुई विकेट लिए ।

    यसअघि टीयु क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको वेष्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६० रन बनाएको थियो ।

    वेष्ट इन्डिज ‘ए’ का लागि आन्द्रे फ्लेचर ४३, कप्तान रोस्टन चेज २३, केसी काटी १०, जोनसन चाल्र्स ११ र एलिक अथान्ज ६ रनमा आउट भएका थिए । गुडाकेश मोती ८ बलमा ३१ र म्याथ्यु फर्ड ६ बलमा ११ रनमा अविजित रहे ।

    वेष्ट इन्डिज ‘ए’ ले पछिल्लो दुई ओभरमा ४१ रन जोड्यो । स्पीनर कुशल भुर्तेल र सागर ढकालले २-२, दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए ।

    सोमपाल कामीले एक विकेट लिए । नेपालले शनिबार भएको खेलमा वेष्ट इन्डिज ‘ए’ लाई ४ विकेटले पराजित गरेको थियो । योसँगै नेपाल र वेष्ट इन्डिज ‘ए’ बिचको सिरिज १-१ को बराबरीमा पुगेको छ ।

  • नेपालसामु जितका लागि १ सय ६१ रनको लक्ष्य

    नेपालसामु जितका लागि १ सय ६१ रनको लक्ष्य

    काठमाडौँ । मैत्रीपूर्ण टी–२० शृङ्खलाको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपालसामु जीतका लागि १ सय ६१ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६० रन बनाएको हो ।

  • ‘रित्तो गाउँ’ को काठमाडौंमा विशेष प्रदर्शन, दर्शकको उत्कृस्ट प्रतिक्रिय

    ‘रित्तो गाउँ’ को काठमाडौंमा विशेष प्रदर्शन, दर्शकको उत्कृस्ट प्रतिक्रिय

    काठमाडौं । युवा डाइरेक्टर तथा लेखक एबम संचारकर्मी रामजी ज्ञवालीको पछिल्लो डकुमेन्ट्री सर्ट फिल्म ‘रित्तो गाउँ’ को काठमाडौंमा विशेष प्रदर्शन गरिएको छ।शुक्रबार बेलुका कमलपोखरीस्थित बिग मुभिजनमा गरिएको प्रदर्शनमा नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलसहित व्यवसायी, विभिन्न संघसंस्थाका कर्मचारी, सञ्चारकर्मी लगायतको उपस्थिति रह्यो।फिल्मका कलाकारहरू हिउँवाला गौतम, सुवास गजुरेल, मुकुन भुसाल र सविना राउतसहित निर्माण टिमका सदस्यहरू विशेष प्रदर्शनमा उपस्थित रहे।

    रामजी ज्ञवालीको लेखन एवं निर्देशनमा तयार ‘रित्तो गाउँ’ ले युवा पलायनले रित्तिंदै गएको गाउँको कथा प्रस्तुत गरेको छ। यसअघि आधा दर्जन बढी सर्ट फिल्म केही म्युजिक भिडिओ निर्माण गरेका ज्ञवालीले त्रिभुवन विश्वविद्यालय जनसंख्या अध्ययन केन्द्रीय विभागका प्रा.डा उद्धव सिग्देलको नेतृत्वमा गरिएको अनुसन्धानमा आधारित रहेर डकुमेन्ट्री सर्ट फिल्म निर्माण गरिएको बताए।रोटरी क्लब अफ ग्रिनल्याण्ड काठमाडौंको आयोजनामा विशेष प्रदर्शन गरिएको थियो।

    निर्देशक ज्ञवालीले काठमाडौंबाट फिल्मको विशेष प्रदर्शन सुरूआत गरिएको बताए। उनका अनुसार अब देशका विभिन्न ठाउँसँगै विदेशमा समेत ‘रित्तो गाउँ’ प्रदर्शन गर्ने तयारी छ।बुटवल, हेटौंडामा छिट्टै विशेष प्रदर्शन गर्ने तयारी रहेको बताउँदै ज्ञवालीले जापान, हङकङ र अमेरिकामा पनि फिल्मको प्रदर्शन तय भएको जानकारी दिए।आनन्दराज प्रोडक्सनको ब्यानरमा राम्रो इन्टरटेनमेन्टले निर्माण गरेको यस फिल्मका निर्माता आनन्दराज शर्मा वाग्ले हुन्। कुनाल कयाल, प्रेम भुर्तेल, नारायण कंडेल कार्यकारी निर्माताका रूपमा छन्।

    निरज कंडेलको छायांकन रहेको फिल्मको सम्पादन नहकुल खड्काले गरेका हुन्। फिल्ममा कलर ग्रेडिङ राजेन्द्र मोक्तानले गरेका छन् भने साउण्ड डिजाइनर भरत कंडेल हुन्।

  • फाकफोकथुमबाट इलाम २ को मतगणना सुरु, यस्तो छ गाउँपालिकाको दलीय शक्ति सन्तुलन

    फाकफोकथुमबाट इलाम २ को मतगणना सुरु, यस्तो छ गाउँपालिकाको दलीय शक्ति सन्तुलन

    विराटनगर । बहुप्रतिक्षित रहेको इलाम २ को मतगणना फाकफोकथुम गाउँपालिकाबाट सुरु हुँदैछ । त्यसपछि क्रमशः चुलाचुली,माङसेबुङ गाउँपालिका र माइ,देउमाइ र इलाम नगरपालिकाको हुनेगरी सर्वदलीय सहमति भएको छ ।

    मतगणना शुरु हुने फाकफोकथुमको परिणाम कस्तो होला ? उम्मेदवारको ढुकढुकी बढाइरहेको छ ।

    वडा नम्बर १ बाट गणना शुरु गरेर प्रत्येक वडाको अलग अलग परिणाम सार्वजनिक गर्ने तयारी छ । एउटा वडाका जतिवटा मतदान केन्द्र भए पनि ती सबै मत एकै ठाउँमा मिसाएर गनिनेछ ।

    फाकफोकथुम गाउँपालिका २ वर्षअघि भएको स्थानीय तह निर्वाचनमा नेकपा एमालेले जितेको ठाउँ हो । तत्कालीन सत्ता गठबन्धनका डिकबहादुर थापालाई नेकपा एमालेका दिपेन्द्र खनालले ५ सय मतको अन्तरले अध्यक्ष पदमा पराजित गरेका थिए ।

    एमालेका खनालले ५ हजार ३२२ मत पाउँदा कांग्रेसका थापाले ४ हजार ८ सय २१ मत पाएका थिए । कांग्रेसलाई माओवादी र नेकपा एसको पनि साथ थियो ।

    फाकफोकथुमको उपाध्यक्षमा पनि एमालेकी कल्पना राई ५ हजार १५८ मतसहित बिजयी हुँदा गठबन्धनबाट माओवादीका कुलवहादुर राईले ४१७४ मत पाएका थिए । ७ वडा वडामध्ये कांग्रेसले वडा नम्बर १,२,४ र ७ मा कांग्रेस र बाँकी ३ वडाध्यक्ष एमालेले जितेको थियो ।
    २ वर्षअघिको स्थानीय तहको निर्वाचनको मत र अहिलेमा धेरै फरक आइसकेको छ ।

    त्यसबेला कांग्रेसको साथमा रहेका माओवादी केन्द्रले यसपटक एमालेलाई साथ दिएको छ भने नेकपा एसले आफ्नै उम्मेदवार उठाएको छ । त्यसबेला अस्तित्वमा नरहेको रास्वपा र पहिचानवादी शक्तिका उम्मेदवारले उल्लेख्य मतको अपेक्षा गरेका छन् ।