Blog

  • इलाममा २० प्रतिशत मत खस्यो

    इलाममा २० प्रतिशत मत खस्यो

    विराटनगर । उपनिर्वाचन अन्तरगत इलाममा भइरहेको मतदानमा अहिलेसम्म २० प्रतिशत मत खसेको छ ।

    इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार अहिलेसम्म २३ हजार भन्दा बढी मत खसेको छ ।

    इलाम २ मा मतदाता १ लाख १५ हजार ८ सय ८९ मतदाता रहेका छन् । अहिले सम्म सबै मतदान केन्द्रहरूमा शान्तिपूर्ण तरिकाले मतदान भइरहेको छ ।

    बिहान ७ बजे सुरु भएको मतदान १० बजेसम्म सबैतिर मर्यादित रूपमा भइरहेको जानकारी आएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    इलाम २ मा ७९ मतदान स्थल र एक सय ४९ वटै मतदान केन्द्र छन् । उपनिर्वाचनमा १२ दल र सात स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् ।

  • बझाङमा उत्साहपूर्वक मतदान जारी

    बझाङमा उत्साहपूर्वक मतदान जारी

    बझाङ । बझाङ प्रदेशसभा निर्वाचन १ (क) मा मतदाता उत्साहपूर्वक लामबद्ध भएर मतदान गरिरहेका छन् । निर्धारित समय ७ बजेदेखि नै भोट हाल्न उत्साहित भएर मतदाता मतदान केन्द्रमा आएका मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले बताए । ।

    ७४ वटै मतदान स्थल र ९४ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान जारी रहेको जानकारी आफूलाई प्राप्त भएको उनले जानकारी दिए ।

    शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न गर्न  नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली खटिएको छ । यो चुनावमा ६१ हजार ७४८ मतदाताले भोट हाल्ने अनुमान गरिएको छ । रासस

  • अफगानिस्तानमा बाढीले ७० विद्यालय तथा मदरसा क्षतिग्रस्त

    अफगानिस्तानमा बाढीले ७० विद्यालय तथा मदरसा क्षतिग्रस्त

    काबुल । हालैको उच्च वर्षापछिको बाढीले अफगानिस्तानको उरुजगन प्रान्तमा करिब ७० वटा विद्यालय र मदरसा क्षतिग्रस्त भएको र पर्याप्त कोषको अभावले मर्मतमा बाधा पुर्याइरहेको टोलो न्युजले जनाएको छ ।

    उरुजगनका शिक्षा प्रमुख समसुल्ला कामरानले उरुजगन शिक्षा विभागसँग ती विद्यालयहरूको पुनर्निर्माण गर्न पर्याप्त रकम नभएको बताए । “वर्षा र बाढीका कारण लगभग ७० वटा विद्यालय पूर्ण वा आंशिकरूपमा क्षतिग्रस्त भएका छन्, सम्बन्धित निकायबाट विद्यालयहरूलाई उचित संरक्षण प्राप्त नभएमा उरुजगन प्रान्तले अस्वाभाविक समस्याहरूको सामना गर्नुपर्ने छ”, उनले भने ।

    प्रान्तका धेरै शिक्षक र विद्यार्थीहरूले शैक्षिक प्रक्रिया सुस्त भएको बताएका छन् । क्षतिग्रस्त विद्यालयहरूका अधिकांश विद्यार्थी अहिले खुला क्षेत्र वा निजी निवासमा पढिरहेको स्रोतले जनाएको छ ।

    “विद्यार्थीहरूले सिक्ने ठाउँको अभावमा दिन कटाइरहेका छन्”, शिक्षक सिराजुद्दिन सिराजमललाई उद्धृत गर्दै टोलो न्युजले भनेको छ । कठिन परिस्थितिलाई उजागर गर्दै एकजना विद्यार्थी जावेदले भने, “हामी घाममुनि बस्छौँ, हामीसँग केही छैन र शिक्षकहरू पनि आउनुहुन्न, यसले हामीलाई घर फर्कन बाध्य पार्छ ।”

    यसैगरी अर्का एक विद्यार्थीले पढाइ जारी राख्नका लागि आफ्ना विद्यालयहरू पुनर्निर्माण गर्न सरकारलाई आग्रह गरेका छन् । टोलो न्युजका अनुसार उरुजगनका स्थानीयवासीहरूले पनि शैक्षिक सुविधाहरू गुमाएकोमा चिन्ता व्यक्त गरेका छन् । यसबाट आफ्ना बालबालिकाको शैक्षिक विकासमा हानिकारक असर पर्ने उनीहरूको गुनासो छ । -(रासस/एएनआई)

  • नेपाल र चीनबीच  बोन म्यारो प्रत्यारोपणसम्बन्धी सम्झौतामा हस्ताक्षर

    नेपाल र चीनबीच बोन म्यारो प्रत्यारोपणसम्बन्धी सम्झौतामा हस्ताक्षर

    काठमाडौं । नेपाल र चीनबीच दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा बिहीबार आयोजित एक समारोहबीच उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।

    अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेल तथा चीनका तर्फबाट चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग संस्था (चाइना इन्टरनेसनल डेभलेपमेन्ट को–अपरेसन एजेन्सी) का प्रमुख लियु झाओ हुईले सम्झौतामा हस्ताक्षर गरे । उक्त संस्थाले चीनको वैदेशिक सहायताको रणनीति मापदण्ड बनाउने, सोसम्बन्धी नीति र योजना बनाउने तथा वैदेशिक सहायतासम्बन्धी सुधारका एजेण्डामा काम गर्दै आएको छ ।

    अर्थ मन्त्रालयसँग विश्वव्यापी विकास प्रयासका लागि मानव संशाधन विकास सहयोगसम्बन्धी र स्वास्थ्य मन्त्रालयसँग बोन म्यारो प्रत्यारोपणसम्बन्धी सम्झौता भएको हो ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गत असोजमा भएको चीन भ्रमणका क्रममा चीनले नेपालमा बोन म्यारो प्रत्यारोपण सेवा सुरु गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो ।

    सम्झौताअनुसार चीनले वीपी कोइराला मेमोरियल क्यान्स अस्पतालमा बोन म्यारो प्रत्यारोपण सेवा सञ्चालनका लागि सहयोग गर्नेछ । त्यसका लागि संरचना निर्माणदेखि चिकित्सकलाई सैद्धान्तिक र प्राविधिक तालिमसम्मका लागि चीनले आर्थिक सहायता उपलब्ध गराउने सहमतिमा छ ।

    कार्यक्रममा अर्थमन्त्री पुनले नेपालको विकासमा निरन्तर सहयोग गर्दै आएकामा चीनलाई धन्यवाद दिए । नेपाल र चीनबीच गहिरो, विविधतापूर्ण र निरन्तर दिगो सम्बन्ध रहेको चर्चा गर्दै मन्त्री पुनले एकअर्काका आकांक्षा एवं संवेदनशीलतालाई सम्मान गर्दै इमान्दारिताका साथ आपसी सहयोग र मित्रता अगाडि बढाउँदै आएको उल्लेख गरे ।

    उनले राष्ट्रपति सी चिन फिङले ५ वर्षअघि गरेको नेपाल भ्रमण तथा आफ्ना प्रधानमन्त्री पुष्पकमल दाहाल प्राचण्डको गत असोजमा गरेको चीन भ्रमणले द्विपक्षीय सम्बन्धलाई उचाईमा पुर्‍याएको बताए । उनले ती दुवै उच्चस्तरीय भ्रममणमा भएका द्विपक्षीय सम्झौतामध्ये कार्यान्यवन हुन बाँकी भएकाहरुको कार्यान्वयनमा जोड दिए ।

    चीनले पछिल्लो समय हासिल गरेको विकास लोभलाग्दो र प्रशंसनीय रहेको र नेपालमा पनि विकासको सोही गति समाउन चाहेको उनको भनाइ थियो । विश्वमै वैदेशिक लगानी गर्ने मुलुकमा चीन अग्रस्थानमा रहेको र नेपालमा पनि लगानी आउन थालेको भन्दै उनले आगामी दिनमा सहायता र लगानी बढाउन आग्रह गरे ।

  • काठमाडौँमा फेरि बढ्यो वायु प्रदूषण

    काठमाडौँमा फेरि बढ्यो वायु प्रदूषण

    काठमाडौं । काठमाडौँ उपत्यकाको वायु प्रदूषण फेरी बढेको छ । मुलुकको विभिन्न स्थानमा लागिरहेको डढेलो र धुलोका कारण वायु अस्वस्थ बनेको छ ।

    एयर क्वालिटी इन्डेक्सका अनुसार आज काठमाडौँ उपत्यकाको वायुप्रदूषण तह बढेर विश्वमै सबैभन्दा बढी रहेको छ । शुक्रबार १९४ एक्यूआइसहित काठमाडौँ शीर्ष स्थानमा रहेको छ । यो स्वास्थ्यको हिसाबले अस्वस्थ मानिन्छ ।

    त्यस्तै दोस्रो स्थानमा पाकिस्तानको लाहोर शहर रहेको छ । लाहोर १८६ एक्यूआईसहित दोस्रो स्थानमा छ भने भारतको दिल्ली १७३ एक्यूआईसहित तेस्रो स्थानमा रहेको छ । 

    प्रदुषण मापनमा शुन्यदेखि  ५० सम्मको एक्युआइलाई राम्रो मानिन्छ भने ५१ देखि १०० सम्मको एक्युआइलाई सतर्क रहनुपर्ने रुपमा लिइन्छ । १०१ देखि १५० सम्मलाई हुनुलाई श्वाशप्रश्वास र  मुटु रोगीका बिरामीलाई असर गर्छ भन्ने बुझिन्छ भने १५१ देखि २०० सम्मको एक्युआइलाई पनि अस्वस्थकरका रुपमा लिइन्छ । 

    २०१ देखि ३०० सम्मको अति अस्वस्थ अवस्थाको वायु भनेर बुझिन्छ भने ३०१ देखि ४०० सम्मलाई खतरनाक र ४०१ देखि ४५० लाई अति खतरा मानिन्छ ।  काठमाडौँ उपत्यकाको लागि वायुगुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ मा एक्युआईको मान ३०० भन्दा बढी भएको अवस्थालाई विपद्को रुपमा लिने उल्लेख छ । 

  • महोत्तरीको मटिहानी आगलागी: न खाने अन्न रह्यो, न फेर्ने लुगा

    महोत्तरीको मटिहानी आगलागी: न खाने अन्न रह्यो, न फेर्ने लुगा

    महोत्तरी ।  बुधबार दिउँसोको आगलागीबाट घरबारविहीन भएकी महोत्तरीको मटिहानी–६ जरलहवागाछीकी मैमुन खातुनका आँखा अझै ओभाएका छैनन् ।

    बनीबुतो गरेर सञ्चय गरिएको अन्नपात, लुगाफाटा र भाँडाकुडासहित घरजलेर खरानी भएपछि अब जहान परिवार कहाँ लिएर कसरी पालिने भन्ने चिन्ताले मैमुनलाई पिरोलेको छ । बनीबुतो र  खेत बढैया (अधिया) गर्दै जोहो गरिएका अन्नपात र क्षणभरमै खरानी भएपछि मैमुनका पति शेष फर्मुदका आँसु पनि थामिएका छैनन् । फर्मुद सुस्केरा हाल्दै  भन्छन्, ‘आब केना जिबै ! या अल्लाह (अब कसरी बाँच्ने हे ईश्वर) !’

    मैमुन परिवारमा मात्रै होइन घरबारविहीन सो बस्तीका एक सय ६० भन्दा बढी आगलागी पीडित परिवारको व्यथा उस्तै छ । ति परिवारसँग न खाने अन्न छ, न त फेर्ने लुगा । ‘कुछो बच नइसकल, सब जैरगेल (घरका केही सामान बचेनन्, सबै जले),’ बस्तीकी आगलागी पीडित लखनदेवी पासवान भन्छिन्, ‘आब परिवारके कोना गुजारा चलत(अब परिवारको गुजारा कसरी चल्ला !’

    बुधबार लखनदेवी उपचारका लागि भारतको सीतामढी गएकी थिइन् । घर फर्किँदा घरको ठाउँमा खरानीको थुप्रो मात्रै देखेपछि बेहोस भएकी उनलाई नगरप्रमुख हरिप्रसाद मण्डलसहितका प्रतिनिधिले ढाडस दिएपछि सम्हालिए पनि वर्षौंको थातथलो देखेर अझै बेचैन छिन् ।

    अधिकांश मुस्लिम समुदाय र धानुक, साह, मलाहसहितका जातिको बसोबास रहेको जरलहवागाछी विपन्न बस्ती हो । त्यही बस्तीमा बुधबार मध्याह्न मैमुन खातुनको परालको कुन्यूबाट सल्केको आगोले भीषण रूप लिँदै एक सय १० घर पूर्ण रूपमा जलेर खरानी बनायो ।

    आगोको लप्काले बस्तीका ५० जति अन्य घरमा क्षति पुगेको छ । सो घटनामा पाँचवटा पशुचौपाया मर्नुका साथै १५ करोडभन्दा बढीको धनमाल क्षति भएका नगरप्रमुख हरिप्रसाद मण्डल बताउँछन् । मध्याह्नतिर लागेको आयो हावाको बहाबसँगै तीव्र गतिमा बस्ती पसेको थियो ।

    आगो निभाउन मटिहानी, जलेश्वर, रामगोपालपुर र प्रदेश प्रहरी कार्यालयका दमकलसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले छ घण्टासम्म संघर्ष गर्नुपरेको थियो । आगो निभाए लगत्तै मटिहानी नगरपालिकाले तत्कालै पीडित परिवारलाई चिउरा, सख्खरसहितका तयारी खानेकुरा, ओतका लागि त्रिपाल र नेपाल रेडक्रस सोसाइटी महोत्तरीले बाल्टिन र जग उपलब्ध गराएको थियो ।

    यसैगरी प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा अग्निपीडितको सहयोगार्थ जुट्न सम्बद्ध सामाजिक संघसंस्था, मनकारी व्यक्तिहरू र विभिन्न निकायसँग अपिल गरिएको बताए । रासस

  • कक्षा १२ को परीक्षा आजदेखि

    कक्षा १२ को परीक्षा आजदेखि

    भक्तपुर । कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुनेछ । परीक्षाको  सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा  बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए  ।

    उनका अनुसार यसवर्ष परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ जना छात्र गरी तीन लाख ९० हजार आठ ४७ परीक्षार्थीहरु सहभागी हुने भएका छन् । त्यस्तै ग्रेड वृद्धितर्फ एक लाख छ सय ५० विद्यार्थी सहभागी हुने भएका छन् । देशभरका पाँच हजार पाँच सय ४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुनेछन् ।

    परीक्षाका लागि बोर्डले देशभर एक हजार पाँच सय २५ परीक्षा र देशबाहिर जापानमा एक गरि कूल एक हजार पाँच सय २६ परीक्षा केन्द्रमा निर्धारण गरेको उनले जानकारी दिए । सबैभन्दा बढी काठमाडौँमा एक सय ४४ र मनाङ÷मुस्ताङमा एक÷एक वटा परीक्षा केन्द्र निर्धारण गरेको छ । पहिलो पटक बोर्डले यसवर्ष स्वचालित (स्यान्डम) प्रक्रियाबाट काडमाडौँका परीक्षा केन्द्र निर्धारण गरेको हो ।

    परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, कर्मचारी, कार्यालय सहयोगी गरी ३४ हजार एक सय ७१ जनशक्ति र १८ हजार तीन सय प्रहरी परिचालन हुने भएका छन् ।

    परीक्षामा लागि आवश्यक पर्ने उत्तरपुस्तिकालगायतका सामग्री परीक्षा केन्द्रहरुमा पुर्याउने कार्य सम्पन्न गरिसकेको छ भने यसवर्ष पनि प्रश्नपत्र अनलाइनबाट पठाइने भएको छ । इमेलबाट प्रश्नपत्र पठाउँदा ‘टाइम पासवर्ड’ को व्यवस्था गरेको छ ।

  • टोपबहादुर रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

    टोपबहादुर रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

    काठमाडौँ । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर रायमाझीसहितलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ ।

    न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले अघिल्ला दुई तहका अदालतले गरेको आदेश सदर गरेको हो ।

    रायमाझीसँगै तत्कालीन सचिव टेकनारायण पाण्डे, सानु भण्डारी, केशव दुलाल, सन्देश शर्मा, ईन्द्रजित राई र सागर राई थुनामै रहने आदेश भएको छ ।

    सर्वोच्चले आङटावा शेर्पा र गोविन्दकुमार चौधरीलाई धरौटीमा र शमशेर मियाँलाई साधारण तारेखमा छाड्न आदेश दिएकाे छ ।

    यसअघि जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिए पनि उच्चले भने कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई भने तारेखमा छाड्न आदेश दिएकाे छ ।

    यही प्रकरणमा पूर्वगृहमन्त्री तथा एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका छाेरा फरार छन् ।

  • कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

    कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

    सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार दिउँसो बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री कँडेललाई दुई दलका २३ सांसदले विश्वासको मत दिएका हुन् । ४० जना सांसदमध्ये मतदानमा ३५ जना सहभागी थिए ।

    कँडेलको पक्षमा २३ मत परेको छ भने विपक्षमा १२ मत परेको हो भने एक मत तटस्थ रहेको छ ।

    कँडेलले माओवादी र एमाले र एकीकृत समाजवादीका सांसदको मत प्राप्त गरेको हुन् ।

    उनलाई नेकपा एमाले ९ र नेकपा माओवादी केन्द्रका १३ र एकीकृत समाजवादी १ सांसदले शर्माको पक्षमा मत हालेका छन् ।

    उनी चैत २७ गते कर्णालीको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

  • बलियो वेस्ट इन्डिज टीमसँग भिड्दै नेपाल

    बलियो वेस्ट इन्डिज टीमसँग भिड्दै नेपाल

    काठमाडौं । नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्ध घरेलु मैदानमा ५ खेलको टी–२० सिरिज खेल्दै छ । उक्त सिरिज शनिबारदेखि टीयु क्रिकेट मैदानमा सुरु हुनेछ । सिरिजका लागि दुवै टोलीले टीमको घोषणा गरिसकेका छन् ।

    दुई पटकको टी–२० विश्वकप विजेता टोली वेस्ट इन्डिज बलियो राष्ट्रमध्ये एक हो । आइसिसीको पछिल्लो टी–२० वरियतामा ७ औँ स्थानमा छ ।

    वेस्ट इन्डिजले ‘ए’ टीम पठाए पनि अधिकांश सिनियर टोलीबाट खेलिसकेका खेलाडीहरूलाई समावेश गरेको छ । वेस्ट इन्डिज ‘ए’ टीममा ३ खेलाडीबाहेकका सबै खेलाडी सिनियर टोलीबाट खेलिसकेका छन् । ‘ए’ टीम भए पनि वेस्ट इन्डिजले आफ्नो प्रमुख खेलाडीलाई टीममा समावेश गरेको छ ।

    सन् २०१२ र २०१६ मा विश्वकप जित्दा टोलीमा रहेको आन्द्रे फ्लेचर र जोनसन चाल्र्सदेखि सिनियर टीमबाट एक सयभन्दा धेरै खेल खेलिसकेका रोस्टन चेससम्मलाई वेस्ट इन्डिजले टीममा समेटेको छ । यस्तै वेस्ट इन्डिजका उदाउँदा म्याथ्यु फर्ड, एलिक एथानाज र केसी कार्टी पनि टीममा छन् । त्यसैले वेस्ट इन्डिजसँग खेल्दा नेपाललाई सिकाई पनि हुनेछ ।

    नेपालले जेठ २० गतेदेखि अमेरिका र वेस्ट इन्डिजमा हुने हुने टी–२० विश्वकप खेल्दै छ । उक्त तयारीका लागि नेपालले वेष्ट इन्डिजसँग घरेलु मैदानमा सिरिज खेल्न लागेको हो । नेपालका लागि यो तयारी मात्रै हुने छैन, आफ्नो स्तर मापन गर्ने अवसर पनि हुनेछ । किनकि नेपालले टी–२० विश्वकपको समूह चरणमा दक्षिण अफ्रिका, श्रीलङ्का, नेदरल्यान्ड र बङ्गलादेशको सामना गर्ने तालिका छ । नेपालले टेस्ट राष्ट्रसँग खेल्ने अवसर कमै पाउँछ ।

    विश्वकपको तयारी स्वरूप नेपालले पछिल्लो समय नियमित सिरिज खेलिराखेको छ । तर, प्रदर्शनमा मन जित्न नसक्दा नेपालले नियमित बलिया राष्ट्रसँग खेल्ने अवसर भने पाउन सकेको छैन । केही दिनअघि ओमन भएको एसीसी प्रिमियर कपमा नेपाल सेमिफाइनलमा युएईसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।

    तेस्रो स्थानका लागि भएको खेलमा हङकङसँग पराजित हुँदा नेपालले विश्वकपअघि क्रिकेट समर्थकलाई निराशा बनाएको थियो । नेपाल प्रिमियर कपमा ब्याटिङ, बलिङ परीक्षण गरे पनि सफल हुन सकेको थिएन । उक्त हारबाट आएको निराशालाई चिर्दै विश्वकपअघि आत्मबल बलियो बनाउने अवसर नेपाललाई छ ।

    एक दिवसीय क्रिकेटमा भारत र पाकिस्तानसँग खेलिसकेको नेपालले टी–२० मा भने खासै खेल्न पाएको छैन । सेमिफाइनलमा युएईसँग पराजित हुँदा नेपालले ओमनमा भएको एसीसी प्रिमियर कप जित्दै भारत र पाकिस्तानसँग टी–२० एसिया कप खेल्ने अवसर गुमाउन पुग्यो ।

    वेष्ट इन्डिजसँग पनि नेपालले गत वर्ष एक दिवसीय विश्वकप छनोट खेल खेलेको थियो । उक्त खेलमा नेपाल १ सय १ रनले पराजित भएको थियो ।

    यसअघि नामिबिया र नेदरल्यान्डसँग घरेलु मैदानमा सिरिज खेलेको थियो । भारतमा प्रादेशिक टीमसँग टी–२० सिरिज खेलेर एसीसी प्रिमियर कप खेल्न ओमन पुगेको नेपाली टोली शानदार प्रदर्शन गर्न सकेन ।

    अहिले वेस्ट इन्डिजसँग खेल्ने टोलीबाट विश्वकप खेल्ने टोलीमा खासै परिवर्तन हुने सम्भावना छैन । तसर्थ पनि विश्वकप अघि यो सिरिज नेपालका लागि स्तर मापन गर्ने अवसर बन्नेछ ।

    यस्तै बलिया राष्ट्रसँग खेल्ने आत्मविश्वास पनि बढाउने अवसर नेपाललाई हुनेछ । वेस्ट इन्डिजको सिरिजपछि नेपाललाई तयारीका लागि एक महिनाको मात्र समय बाँकी हुनेछ । हालसम्म यो सिरिजपछिका कुनै खेल तय भएको छैन । तसर्थ यो सिरिज विश्वकपअघि स्तर मापन रहनेछ ।

    नेपालले घरेलु मैदानमा वैशाख १५ गतेदेखि घरेलु मैदानमा ५ टी–२० खेल खेल्नेछ । नेपालले पहिलो खेल वैशाख १५ गते, १६ मा दोस्रो, १९ मा, २० मा चौथो र वैशाख २२ मा अन्तिम खेल हुनेछ । नेपालसँग खेल्न पहिलो पटक वेस्ट इन्डिज टोली नेपाल आउन लागेको हो ।