Blog

  • उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिले दिए स्वीकृत

    उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिले दिए स्वीकृत

    राष्ट्रिय सुरक्षा परिषद्को मिति वैशाख १० गतेको सिफारिस र मन्त्रिपरिषद्को सोही दिनको सिफारिस अनुसार नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम सेना परिचालनको स्वीकृति दिइएको शीतल निवासले जनाएको छ ।

    नेपाली सेनाको परमाधिपति राष्ट्रपति हुने संवैधानिक व्यवस्था छ ।

  • खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

    खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

    खोटाङ ।   खोटाङमा सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा जलेर एक वृद्धको मृत्यु भएको छ । रावाबेँसी गाउँपालिका–१, हरम्टारका ८५ वर्षीय सिद्धिबहादुर श्रेष्ठको जलेर मृत्यु भएको हो ।

    खेतमा जम्मा भएको झिक्रा तथा पात डढाउन आफैँले बालेको आगो अनियन्त्रित भएर स्थानीय हरमटार मैनाचउर सामुदायिक वनमा सल्केपछि निभाउन खोज्दा श्रेष्ठको जलेर मृत्यु भएको कुभिण्डेका वडाध्यक्ष गेहेन्द्रमान राईले जानकारी दिए । खोजी गर्ने क्रममा डढेलोले जलेको अवस्थामा शव भेटिएको उनले बताए ।

    सामुदायिक वनमा लागेको डढेलो अझै नियन्त्रणमा आउन नसकेको प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिए । डढेलो नियन्त्रण गर्न स्थानीयवासीसँगै प्रहरीसमेत परिचालन गरिएको छ । दश स्थानीय तह रहेको खोटाङमा अधिकांश सामुदायिक वनमा डढेलो लागेको छ ।

    -पत्रपत्रिका

  • उपनिर्वाचनमा आजदेखि प्रचारप्रसार गर्न नपाइने

    उपनिर्वाचनमा आजदेखि प्रचारप्रसार गर्न नपाइने

    काठमाडौँ । यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ र बझाङको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ को उपनिर्वाचनका लागि निर्वाचन आचारसंहिताअनुसार आजदेखि प्रचारप्रसार गर्न निषेध गरिएको छ ।

    निर्वाचन आयोगले मतदान हुने दिन यही वैशाख १५ गतेभन्दा ४८ घण्टा अघि अर्थात् गएराति १२ बजेदेखि मतगणनाको कार्य सम्पन्न नभएसम्म प्रचारप्रसार गर्न निषेध गरिएको जनाएको छ । आयोगले यस अवधिमा उपनिर्वाचन हुने सम्बन्धित जिल्लामा आचारसंहिता प्रतिकूल हुने गतिविधिको निगरानी तथा नियन्त्रणका लागि सूक्ष्म अनुगमन गरी आचारसंहिता पालना गराउने व्यवस्थासमेत मिलाइसकेको छ ।

    निर्वाचन आचारसंहिताबमोजिम प्रचारप्रसार निषेधको अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी लगायत गर्न तथा उम्मेदवारको पक्ष या विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, एसएमएस, फेसबुक भाइबरजस्ता विद्युतीय माध्यम तथा सामजिक सञ्जालबाट समेत मत माग्न निषेध छ ।

    निर्वाचन आचारसंहिताविपरीत वक्तव्य दिने, प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा प्रसारण गर्ने, सञ्चार माध्यमबाट जित वा हारको पूर्वानुमानका सामग्री प्रकाशन तथा प्रसारण जस्ता कार्य नगरी निर्वाचनको स्वच्छता र निष्पक्षता कायम गर्न आयोगले जानकारी गराएको छ ।

    उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न÷गराउन प्रचारप्रसार निषेध अवधिको अनुगमन र निगरानी गरी सोको जानकारी आयोगलाई गराउन सम्बन्धित निकायलाई निर्देश गरिएको आयोगका उपसचिव एवं सहायक प्रवक्ता रामदत्त पाण्डेयले जानकारी दिए ।

  • सेयर बजारमा सामान्य वृद्धि, साढे २ अर्बको कारोबार

    सेयर बजारमा सामान्य वृद्धि, साढे २ अर्बको कारोबार

    काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सामान्य अंकको वृद्धि भएको छ । कारोबार खुलेदेखि उतारचढाव भएको नेप्से परिसूचक अन्तिम समयमा बढेर बन्द भएको हो ।

    बुधबार परिसूचक ०.१५ अंकले बढेर बन्द भएको छ । सामान्य अंकको वृद्धिसँगै नेप्से परिसूचक १९६९ अंकमा पुगेर रोकिएको छ । यसक्रममा बुधबार ११३ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ११७ कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै १५ वटा कम्पनीको मूल्य स्थिर कायम भएको छ ।

    बुधबार नेप्सेमा २ अर्ब ५३ करोड रुपैयाँ बराबरको ७२ लाख ८४ हजार कित्ता सेयर किनबेच भएको छ । परिसूचकमा सामान्य वृद्धि आएपनि २ कम्पनीको सेयर मूल्य बढेको छ । पोखरा फाइनान्स र गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

    दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा माइखोला हाइड्रोपावरको सेयर मूल्य भने ७.८४ प्रतिशतले घटेको छ । यसक्रममा बुधबार कारोबारमा आएका १३ वटा समूहमध्ये ३ समूहको सूचक बढेको छ । बाँकी सबै समूहको सूचकमा गिरावट आएको छ ।

  • डढेलो निभाउन गएको दमकल नै जल्यो

    डढेलो निभाउन गएको दमकल नै जल्यो

    रूपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको दमकल डढेलो निभाउन जाँदा बुधबार दिउँसो जलेर पूर्ण रुपमा क्षति भएको छ । प्रहरी चौकी मँगलापुरका अनुसार नगरपालिकाका लु १ ग ३४९ नम्बरको दम्कलमा आगलागी भएको हो ।

    तिलोत्तमा–८ गणेशनगरको जँगलमा डढेलो निभाउन गएको दमकलमा हावासँगै एक्कासी आगाको लप्काले दमकलमा टिपेपछि इन्जिनसहितको भाग पूर्ण रुपमा जलेको हो । घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

  • रूद्रकली र खगेन्द्रप्रसाद जान पाएनन् कतार

    रूद्रकली र खगेन्द्रप्रसाद जान पाएनन् कतार

    काठमाडौँ । कतारका सरकार प्रमुख अमिर शेख तमिम बिन हमाद अल थानीलाई दिने भनिएको दुई वटा हात्ती तत्काल कतार नजाने भएका छन् । कानुनी तथा प्राविधिक प्रक्रिया पुरा नभएको कारण नेपालले उपहार स्वरूप दिइने रूद्रकली र खगेन्द्रप्रसाद गरी दुई हात्ती तत्काल कतार नजाने भएका हुन् ।

    कतार पठाउनका लागि नेपालको तर्फबाट सबै तयारी पूरा भएपनि कतारको तर्फबाट कानुनी तथा प्राविधिक कुरा नमिलाएको कारण कतारका राजा शेखसँग त्यो हात्ती नगएको छ । आज सोल्टी होटलमा भएको दुई पक्षीय वार्तामा हात्ती उपहारको सम्झौता एजेण्डा पनि बनेको थिएन ।

     वन मन्त्रालयका प्रवक्ता बद्रीराज ढुङ्गानाले कतारको तर्फबाट तयारी पूर्ण नभएको कारण आजैको दिन पठाउन नमिलेको बताए । उनले भने, ‘हामीले पठाउनका लागि पुरै तयारी गरेका छौँ तर उताबाट प्रक्रिया पुरा नभएको कारण पठाउन नमिलेको हो ।’

    हात्ती दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार महासन्धि (साईटीस) को अनुसूचीमा सूचीकृत छ । सो महासन्धिमा नेपालले पनि हस्ताक्षर गरेको छ । कतारलाई हात्ती दिने विषयमा साइटिसले पनि सिफारिस गर्नुपर्छ । वन मन्त्रालयका अनुसार त्यहाँबाट पनि कुनै सिफारिस आइपुगेको छैन । साईटीसबाट कतारले सिफारिस ल्याउनुपर्ने भए पनि त्यसबारे कुनै पहल देखिएको छैन ।

  • यी हुन् नेपाल र कतारले गरेका आठ बुँदे सम्झौता तथा सहमतिहरू (बुँदासहित)

    यी हुन् नेपाल र कतारले गरेका आठ बुँदे सम्झौता तथा सहमतिहरू (बुँदासहित)

    काठमाडौं । कतारी राजा शेख तामिम बिन हमाद अल थानीको दुई दिने नेपालको राजकीय भ्रमण सकिएसँगै दुई देशका विभागीय मन्त्री तथा अधिकारीहरूले विभिन्न सम्झौता तथा सहमतिमा हस्ताक्षर गरेका छन् । नेपाल र कतारले गरेका विभिन्न सम्झौता तथा सहमतिका आठ बुँदा यस्ता छन्:

    १. नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र कतारको संस्कृति मन्त्रालयबिचमा कला तथा सांस्कृतिक सहकार्यका क्षेत्रमा सहकार्य गर्ने समझदारी

    २. नेपालको सरकारी समाचार संस्था राष्ट्रिय समाचार संस्था तथा कतारको कतार न्यूज एजेन्सीबिचमा समाचार आदानप्रदानको सहकार्यको सहमति

    ३. नेपाल सरकार तथा कतार सरकारका बिचमा शिक्षा, उच्च शिक्षा तथा वैज्ञानिक खोजका क्षेत्रमा सहकार्य गर्ने समझदारी

    ४. नेपाल सरकार तथा कतार सरकारका बिचमा युवा तथा खेलकुदका क्षेत्रमा सहकार्य गर्नेमा समझदारी

    ५. नेपाल तथा कतारका महान्यायाधिवक्ता कार्यालयका बिचमा सहकार्यको समझदारी

    ६.नेपाल सरकारको परराष्ट्र अध्ययन प्रतिष्ठान तथा कतार सरकारको विदेश मन्त्रालयको कूटनीतिक संस्था बिचमा कूटनीतिक तालिम तथा शिक्षाका क्षेत्रमा सहकार्य गर्ने समझदारी

    ७. नेपालको उद्योग वाणिज्य महासंघ र कतारको कतार चेम्बरका बिचमा साझा व्यापारिक परिषद् स्थापना गर्ने सम्झौता

    ८. नेपाल उद्योग वाणिज्य महासंघ तथा कतार चेम्बरका बिचमा समझदारी पत्रको नवीकरण

  • भूकम्पपछिको बारपाक

    भूकम्पपछिको बारपाक

    गोरखा । आज वैशाख १२ गते ।९ वर्षअघि आजकै दिन गोरखाको बारपाक केन्द्र बनाई महाभुकम्प गएको थियो ।

    वि।सं। २०७२ साल बैशाख १२ गते शनिबार ११:५६ मा गोरखाको बारपाक केन्द्रबिन्दु बनाई गएको ७.८ म्याग्निच्यूटको महाभूकम्पले करिब ९ हजार मानिसको ज्यान लिएको थियो । गोरखा, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, र उपत्यकाका तीन वटै जिल्लामा नराम्रोसँग क्षति पुग्यो ।

    आज सोही भूकम्प गएको ९ वर्ष पूरा भएको छ । करिब १५ सय भन्दा बढी घरधुरी, अधिकांश मानिसहरू बेलायती सेना र भारतीय सेनामा कार्यरत, मानिस नै अलमल पर्ने बाक्लो बस्ती, डुङ्गाले छाएको घर, बाटो भरि ढुङ्गा बिछ्याइको सुन्दर गाउँको रूपमा परिचित बारपाक २०७२ सालको भूकम्पपछि भने फेरिएको छ ।

    सो महाभूकम्पको केन्द्रबिन्दु रहेको बारपाकको अहिले मौलिकता मासिएको छ । आजभोलि बारपाक घुम्न विभिन्न जिल्ला र विभिन्न देशबाट मानिसहरू जाने गर्दछन् । सडक सञ्जालले जोडिएको र सुविधा सम्पन्न होटलहरु खुलेकाले बारपाक आन्तरिक तथा बाह्य पर्यटकका लागि नयाँ गन्तव्य बनेको छ ।

  • स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री

    स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्रमा नयाँनयाँ चुनौतीहरू देखापरिरहेकाले त्यसतर्फ सचेत रहनुपर्ने बताएका छन्।

    पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य क्षेत्रमा देखापर्ने समस्या समाधान गर्नमा विशेष ध्यान पुर्‍याउनुपर्ने बताए ।

    “स्वास्थ्य क्षेत्रमा आउन सक्ने जस्तोसुकै चुनौतिको सामना र व्यवस्थापनका लागि प्रतिष्ठानले थप पूर्वाधारहरूको विकास गर्नुपर्छ,” प्रधानमन्त्री प्रचण्डले भने, “अस्पतालको सेवालाई अझ गुणस्तरीय र प्रभावकारी बनाउन विशेष जोड दिइनेछ ।”

    नेपालको अधिकांश भू–भाग ग्रामीण क्षेत्र रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले ग्रामीण क्षेत्रमा स्तरीय स्वास्थ्योपचारका लागि दक्ष तथा सामाजिक उत्तरदायित्वको भावनाबाट प्रेरित चिकित्सक उत्पादन गर्नुपर्नेमा जोड दिए ।

    स्वास्थ्य सेवाको पहुँच ग्रामीणस्तरसम्म विस्तार गर्दै जानुपर्ने खाँचो औंल्याउँदै प्रधानमन्त्रीले सार्वजनिक स्वास्थ्य संस्थाहरू सवल र सुदृढ भएमात्र आम नेपालीले सर्वसुलभ स्वास्थोपचार सेवा प्राप्त गर्न सक्ने तथ्य कोभिड–१९ महामारीले स्पष्ट पारेको बताए ।

    सरकारले सबै सार्वजनिक अस्पतालहरूको क्षमता विकासलाई उच्च प्राथमिकतामा राखेको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, “स्वास्थ्य सेवामा सबैको पहुँच, सेवाको गुणस्तरीयताका साथै समुदायमा मानव स्वास्थ्यलाई प्रभाव पार्ने सामाजिक, सांस्कृतिक, वातावरणीय कारकतत्त्व पहिचान सहितको विशिष्टिकृत स्वास्थ्य सेवा उपलब्ध गराउन प्रतिष्ठानले अझै पहलकदमी लिनुपर्छ ।”

    प्रतिष्ठानले हाल स्थानीय सरकारसँगको सहकार्यमा स्वास्थ्य बीमा कार्यक्रम तथा समुदायमा आधारित सेवा प्रवाह गर्नु सबैको लागि अनुकरणीय कार्य भएको उनले उल्लेख गरे ।

    प्रधानमन्त्री प्रचण्डले देशभित्रका सबै चिकित्सा तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानको व्यवस्थापन, सञ्चालन र नियमनका लागि चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा रहेको दोहोरोपन हटाउन र एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्न आवश्यक भएको बताए।

    प्रधानमन्त्री प्रचण्डले भने, “सबै नागरिकलाई आधारभूत तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सबै स्वास्थ्य संस्था, सामुदायिक अस्पताल एवं सहकारी अस्पतालहरूको क्षमता विकासमा ध्यान दिनै पर्दछ ।” नेपाललाई मेडिकल शिक्षाको हबका रूपमा विकास गर्नेतर्फ सरकारले आवश्यक तयारी गरिरहेको उनले जानकारी दिए।

  • डढेलोले म्याग्दीमा सात सय हेक्टर वन सखाप

    डढेलोले म्याग्दीमा सात सय हेक्टर वन सखाप

    म्याग्दी । डढेलोले गण्डकी प्रदेशका ११ जिल्लामध्ये सबैभन्दा बढी नोक्सानी म्याग्दी जिल्लामा भएको छ । ४५ दिनको अवधिमा जिल्लाको करिब सात सय हेक्टर वन क्षेत्र सखाप भएको डिभिजन वन कार्यालयले जनाएको छ ।

    फागुन अन्तिम सातादेखि वैशाख दोस्रो सातासम्म म्याग्दीका छ ओटै स्थानीय तहका एक सय ११ वनमा डढेलो लागेको छ । डढेलोले जिल्लाको छ सय ९३ हेक्टर वन क्षेत्र सखाप भएको छ । गण्डकी प्रदेश वन निर्देशनालयले पनि प्रदेशका ११ जिल्लामध्ये डढेलोका कारण म्याग्दीको वन क्षेत्र बढी नष्ट भएको जनाएको छ ।

    डढेलोबाट आफूहरू त्रसित भएको वन क्षेत्र आसपासका स्थानीयले बताएका छन् । डढेलोका कारण वन क्षेत्र कालो देखिएको छ भने पशुपक्षी मरेका मालिका गाउँपालिका–६ का टेकबहादुर पुनले बताए । जिल्लाको बेनी नगरपालिकालगायत मालिका, मङ्गला, रघुगङ्गा, धवलागिरि र अन्नपूर्ण गाउँपालिकाका विभिन्न वनमा दिनहुँ आगलागी भइरहेको डिभिजन वन कार्यालयका प्रमुख विष्णु अधिकारीले बताए ।

    कतिपय वनमा आगो निभाइएको छ भने केही वनमा अझै धुवाँको मुस्लो  देखिएको उनी बताउँछन् । दैनिक रूपमा आगोलागीका घटना हुन थालेपछि स्थानीय र सुरक्षाकर्मीलाई अग्नि नियन्त्रण उपकरण वितरण गरेर आगो निभाउन अनुरोध गरिएको उनले जानकारी दिए ।

    वन्यजन्तु गाउँमा

    डढेलोबाट जोगिन जङ्गली जनावर गाउँ पसेर स्थानीयलाई दुःख दिइरहेका छन् । जिल्लाको मालिका र मङ्गला गाउँपालिकाका विभिन्न स्थानमा डढेलो लागेपछि वन्यजन्तु वासस्थान र आहाराको खोजिमा गाउँ पसेका पीडित स्थानीयले बताएका छन् ।

    ‘खेतबारीमा लगाएको बाली र वँदेल र बाँदरले नष्ट गरे । वन्यजन्तु अब त घर भित्र नै पसेर हैरान पार्न थालेका छन्,’ मङ्गला गाउँपालिका– ५ का किसान टिकानाथ कडेँलले भने । बँदेल, दुम्सी र बाँदर घर भित्र नै छिर्न थालेका उनले बताए । मालिका गाउँपालिकाको वडा नं ६ उपल्लो दुखु, वडा नं १ निस्कोट र वडा नं २ रुममा पनि वन्यजन्तुका कारण गाउँले पीडित भएका छन् ।

    मालिका गाउँपालिका वडा नं ६ उपल्लो दुखुकी डिलकुमारी रोका खेतबारीको बालीले नपुगेर बाँदर भकारी तथा भान्छामा पुगेका बताइन् । खेतबारीमा बँदेलले दुःख दिएको उनले गुनासो गरिन् ।

    यसैबीच, तम्घासबाट प्राप्त समाचारअनुसार खरबारीमा लगइएको आगोले रुरुक्षेत्र गाउँपालिका–५ धोबिघाटस्थित सरोज सारुको दुईतले कच्ची घर जलेको छ । आगोले घरमा भएको अन्न, लत्ताकपडा,  भाँडाकुडा नष्ट भएको छ ।

    यसैगरी, भोजपुर नगरपालिका वडा नम्वर ८, पोखरेका भरत कार्कीको १० कोठाको घरमा मङ्गलबार आगलागी हुँदा ४२ लाख बराबरको धनमाल जलेको जिल्ला प्रहरी कार्यालय प्रहरी निरीक्षक विशाल लिम्बूले जानकारी दिए । आगलागीबाट नगद चार लाख ५० हजार, १३ तोल सुन, १० तोला चाँदी, एलइडी टीभी दुई थान, मोबाइल फोन, फर्निचरलगायत घरका सबै सामग्री जलेका उनले बताए ।

    यसैगरी, तनहुँमा चालु आर्थिक वर्षमा एक सय १७ हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ । डिभिजन वन कार्यालयका अनुसार वैशाख पहिलो सातासम्म २३ वटा सामुदायिक वनमा डढेलो लागेको हो । डढेलो नियन्त्रणका लागि चेतनामूलक कार्यक्रम सञ्चालन गरिए पनि डढेलोको क्रम नरोकिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी राजकुमार श्रेष्ठले जानकारी दिए ।

    जिल्लाको ८२ हजार ५ सय ४९ हेक्टर क्षेत्रफल वनले ओगटेको छ । जिल्लाका दश वटा स्थानीय तहमा छ सय १६ सामुदायिक वन, चार सय ८५ कबुलियती वन, ६ धार्मिक वन  छन् । व्यास नगरपालिकास्थित साउनेपानी, बन्दीपुरस्थित पुरानकोट, ऋषिङस्थित जलुके कदमपानी, शुक्लागण्डकीस्थित सिमलचौर, देवघाटस्थित सोलीघोप्टे, साँढेबगर, म्याग्देस्थित मडुवा, व्यासस्थित सुन्दर, ठूलो, म्याग्देस्थित सिद्धबतासन सामुदायिक वनमा डढेलो लागेको थियो ।

    म्याग्देस्थित बाङ्गेसाल, जुरेथुम्की, व्यासस्थित सिद्धबराह, द्रुपता, भण्डारीपाखा, मुरलीभञ्ज्याङ, घिरिङस्थित जनकल्याण, भिमादस्थित शिवशक्ति, ऋषिङस्थित गुम्लेक, ज्वालादेवी र बन्दीपुरस्थित पुरानोकोट सामुदायिक वनमा पनि आगलागी भएको थियो ।

    वन ऐन, २०७६ को दफा ५० को उपदफा ४ बमोजिम दफा ४९ को खण्ड (घ) अन्तर्गत राष्ट्रिय वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा क्षति भएको बिगो असुल उपर गरी तीनवर्ष कैद वा ६० हजारसम्म जरिवाना हुने वा दुवै सजाय हुने प्रावधान छ ।